प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित विषय व्याख्या गर्ने तीन अर्थशास्त्रीलाई नोबेल पुरस्कार

अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।

पुरस्कार समितिले "नवप्रवर्तनबाट उत्प्रेरित आर्थिक वृद्धिको व्याख्या गरेकोमा" जोएल माकर, फिलिप एगिअन र पीटर हाउइटलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

समितिका अनुसार उक्त पुरस्कार दुई भाग लगाइएको छ। त्यसमध्ये एक भाग "प्राविधिक उन्नतिमार्फत् हुने दीर्घकालीन वृद्धिका आधारभूत पक्ष पहिचान गर्ने" माकरले र बाँकी भाग "सिर्जनात्मक विनाशमार्फत् दीर्घकालीन वृद्धिको सिद्धान्त" प्रतिपादन गर्ने एगिअन र हाउइटले पाउने छन्।

मोकरको जन्म द नेदरल्यान्ड्समा भएको हो। उनी हाल संयुक्त राज्य अमेरिकामा प्राध्यापन गर्छन्। एगिअनको जन्म फ्रान्समा भएको हो। उनी फ्रान्स र यूकेमा प्राध्यापन गर्छन्। हाउइटको जन्म क्यानडामा भएको हो। हाल उनी अमेरिकाको ब्राउन यूनिभर्सिटीसँग आबद्ध छन्।

सन् १९६९ देखि यो विधामा पुरस्कार दिन थालिएको हो। अहिलेसम्म २६ वर्ष एकल विजेता छानिएका छन् भने अरू वर्षमा दुई वा तीन जना संयुक्त रूपमा पुरस्कार दिइएको छ।

यस विधामा अहिलेसम्म ५७ पटक पुरस्कार दिइएकोमा ९९ जना पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा तीन महिला छन्।

सन् २०१९ मा अरू दुई जनासँग संयुक्त रूपमा पुरस्कृत फ्रान्सेली अर्थशास्त्री एस्टेर डुफ्लो यो विधामा अहिलेसम्मकै सबैभन्दा कम उमेरकी नोबेल विजेता हुन्। नोबेल पुरस्कार पाउँदा उनी ४६ वर्षकी थिइन्।

सन् २००७ का संयुक्त विजेता लिओनिड हुर्विच नोबेल पुरस्कार पाउँदा ९० वर्षका थिए। उनको जन्म रुसमा भएको थियो भने मृत्यु २००८ मा संयुक्त राज्य अमेरिकामा भयो।

नोबेल पुरस्कार पाउने महिला एलिनर ओस्ट्रम (२००९), एस्टेर डुफ्लो (२०१९) र क्लाउडिया गोल्डिन (२०२३) हुन्।

यसअघि कसले पाएका थिए?

  • सन् २०२४: अमेरिकाका डारोन एसिमोग्लु, साइमन जोन्सन र जेम्स रोविन्सनलाई कुनै देशहरू किन धनी र कुनै देशहरू किन गरिब छन् भन्ने विषयमा अनुसन्धान गरेकाले
  • २०२३: क्लाउडिया गोल्डिनलाई श्रमबजारमा महिलाले पुर्‍याएको योगदानबारे विशिष्ट अध्ययन गरेकाले
  • २०२२ः बेन बेर्नाकेलाई डग्लस डाइअमन्ड र फिलिप डिब्भिगलाई ब्याङ्क तथा वित्तीय सङ्कटबारे गरिएको अनुसन्धानका लागि
  • २०२१: डेभिड कार्डलाई श्रम अर्थशास्त्रको क्षेत्रमा पुर्‍याएको योगदानका लागि, तथा डी एन्ग्रेस्ट र गुइडो डब्ल्यू इम्बेन्सलाई कारण सम्बन्धहरूको विश्लेषणमा पद्धतिगत योगदानका लागि
  • २०२०: पोल मिल्ग्रोम र रोबर्ट बी विल्सनलाई लिलामी सिद्धान्तमा सुधार र नयाँ लिलामी ढाँचाको विकासका लागि
  • २०१९ः अभिजित बनर्जी, एस्टेर डुफ्लो र मिखाइल क्रेमरलाई विश्वव्यापी गरिबी निवारणसम्बन्धी प्रयोगात्मक शैलीका लागि"
  • २०१८ः विलियम डी नोर्डहाउसलाई जलवायु परिवर्तनलाई दीर्घकालीन बृहत् आर्थिक विश्लेषणमा एकीकृत गर्ने कार्यका लागि, तथा पोल रोमरलाई दीर्घकालीन म्याक्रोइकोनोमिक विश्लेषणको एकीकृत प्राविधिक विकास गर्ने कार्यका लागि
  • २०१७ः रिचर्ड थ्यालरलाई व्यवहारवादी अर्थशास्त्रमा उनको योगदानको लागि
  • २०१६ः ओलिभर हार्ट र ब्याङ्ट थोलस्ट्रौमलाई करार सिद्धान्तमा उनीहरूले पुर्‍याएको योगदानका लागि
  • २०१५ः एङ्गस डीटनलाई खपत, गरिबी र कल्याणबारे उनको विश्लेषणका लागि

सन् २०२४ को नोबेल पुरस्कार ककसले पाए?

कहाँ हुन्छ निर्णय

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्वीडनको स्टकहोममा प्रदान गरिन्छ।

नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ।

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोना पाउँछन्।

यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ। उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ।

नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।