तीन देशका तीन वैज्ञानिकले हात पारे रसायनशास्त्रतर्फ नोबेल पुरस्कार

यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका तीन वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन्।

पुरस्कार समितिका अनुसार 'मेटल-अर्ग्यानिक फ्रेमवर्क' (एमओएफ) विकास गरेकाले जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागीलाई सन् २०२५ को नोबेल पुरस्कार दिन लागिएको हो।

समितिका अनुसार उनीहरूले 'मलिक्यूलर आर्किटेक्चर' को नयाँ शैली विकास गरेका छन्। धातुका आयन र प्राङ्गारिक अणुहरू मिलेर बन्ने स्फटिकजस्ता र सूक्ष्म प्वालहरू भएको संरचना नै एफओएफ हो। पर्यावरण शुद्धीकरणसहित विभिन्न प्रयोजनमा यसको प्रयोग हुन सक्ने विज्ञहरू बताउँछन्।

यसअघि नोबेल पुरस्कार समितिले सोमवार चिकित्साशास्त्रतर्फ र मङ्गलवार भौतिकशास्त्रतर्फ विजेताहरूको नाम घोषणा गरेको थियो। अब बिहीवार साहित्य, शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्र विधामा विजेताको नाम घोषणा हुने छ।

यो वर्षका विजेता र खोज

कितागावाको जन्म सन् १९५१ मा जापानमा भएको हो। उनी क्योटो विश्वविद्यालयमा प्राध्यापक छन्।

रब्सनको जन्म सन् १९३७ मा यूकेमा भएको हो। अहिले उनी मेल्बोर्न विश्वविद्यालयमा प्राध्यापन गर्छन्।

यागीको जन्म सन् १९६५ मा जोर्डनमा भएको हो। उनी बर्क्लीस्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियामा प्राध्यापक छन्।

पुरस्कार घोषणा सभामा फोनमार्फत् बोल्दै प्राध्यापक कितागावाले आफ्नो खोज पुरस्कृत भएकोमा सम्मानित महसुस भएको बताए।

उनीहरूको सन् १९९२ देखि २००३ मा भिन्नाभिन्नै एमओएफबारे खोज गरेका थिए।

त्यसपछि रसायनशास्त्रीहरूले हजारौँ एमओएफ निर्माण गरेका छन्।

नोबेल पुरस्कार समितिका अनुसार तीमध्ये केही पदार्थ पानीबाट पीएफएएस भनिने कृत्रिम रासायनिक पदार्थ छुट्ट्याउन, वातावरणमा सूक्ष्म मात्रामा चुहिएका एन्टिबायोटिकजस्ता औषधीय पदार्थलाई टुक्र्याउन, कार्बन डाइअक्साइड जम्मा गर्न वा मरुभूमिको हावाबाट पानी सङ्कलन गर्न प्रयोग गर्न सकिन्छ।

यो वर्ष चिकित्साशास्त्र विधामा प्रतिरोध प्रणालीसम्बन्धी खोज तथा अनुसन्धानका लागि मेरी ब्रन्को, फ्रेड र्‍याम्स्डेल र शिमोन साकागुचीले नोबेल पुरस्कार हात पार्ने भएका छन्।

भौतिकशास्त्रतर्फ क्वान्टम मेकानिक्ससँग सम्बन्धित खोजका लागि अमेरिकामा कार्यरत तीन वैज्ञानिक जोन क्लार्क, मिशेल एच डेभोर र जोन एम मार्टिनिसलाई नोबेल पुरस्कार दिने घोषणा पुरस्कार समितिले गरेको छ।

केही रोचक जानकारी

रसायनशास्त्रतर्फ सन् १९०१ देखि अहिलेसम्म ११७ पटक गरी २०० विजेताले नोबेल पुरस्कार हात पारेका छन्। तर दुई वैज्ञानिक दुई-दुई पटक यो विधामा पुरस्कृत भएकाले विजेताको कुल सङ्ख्या १९८पुगेको छ।

सन् २०१९ मा अरू दुई वैज्ञानिकसँग संयुक्त रूपमा नोबेल पुरस्कार पाउँदा जोन गुडइनफ ९७ वर्षका थिए। उनलाई लिथिअम-आयन ब्याटरी विकासका लागि पुरस्कृत गरिएको थियो।

उनी सन् १९२२ मा जर्मनीमा जन्मिएका थिए। उनको मृत्यु संयुक्त राज्य अमेरिकाको टेक्ससमा जुन २०२३ मा भयो।

सन् १९३५ मा अर्का एक वैज्ञानिकसँगै संयुक्त रूपमा नोबेल पुरस्कार पाउँदा फ्रेडेरिक योल्यो केबल ३५ वर्षका थिए। उनको जन्म सन् १९०० मा र मृत्यु सन् १९५८ मा प्यारिसमा भएको थियो।

नयाँ रेडिओधर्मी तत्त्वको निर्माण गरेकाले उनीहरू पुरस्कृत गरिएको थियो।

यो विधामा दुई-दुई पटक नोबेल पुरस्कार पाउने वैज्ञानिकहरू फ्रेडेरिक साङ्गर र ब्यारी शार्पलेस हुन्।

यसअघि कसले पाएका थिए पुरस्कार

  • सन् २०२४ः डेभिड बेकरलाई 'कम्प्युटेशनल प्रोटीन डिजाइन'का लागि अनि 'गुगल डीपमाइन्ड'का डेमिस हसाबिस र जोन एम जम्परलाई प्रोटीनको 'स्ट्रक्चर प्रेडिक्शनन'का लागि
  • २०२३ः मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलाई 'क्वान्टम डट' विकास गरेकाले
  • २०२२ः क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्प्लेसलाई 'क्लिक केमिस्ट्री' पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि। उनीहरूको खोज क्यान्सरविरुद्ध उपचारविधि निर्माण गर्न उपयोगी बनेको थियो। त्यसले सोझै ट्यूमर गराउने कोषहरूलाई लक्ष्य बनाउन सघाएको थियो।
  • २०२१: बेन्जामिन लिस्ट र डेभिड म्याक्मिलनलाई एक अर्काको प्रतिबिम्ब हुने अणुहरू निर्माणका लागि
  • २०२०: एमानुएल शार्पन्टिएर र जेनिफर डाउड्नालाई डीएनए सम्पादन गर्ने प्रविधिका लागि
  • २०१९: जोन बी गुडइनफ, एम स्टान्ली ह्विटिङहम र अकिरा योशिनोलाई लिथिअम-आयन ब्याटरीको विकासका लागि
  • २०१८: अमेरिकी वैज्ञानिकहरू फ्रान्सेस आर्नोल्ड र जोर्ज पी स्मिथ र ब्रिटेनका वैज्ञानिक ग्रेगरी विन्टरलाई एन्जाइमबारे गरिएका अनुसन्धानका लागि।
  • २०१७: ज्याक डुबोचे, युआकिन फ्रान्क र रिचर्ड हेन्डर्सनलाई जैविक अणुहरूको तस्बिरलाई परिस्कृत बनाएकाले
  • २०१६: जीन-पिएर सोभाज, फ्रेजर स्टोडार्ट र बर्नार्ड फेरिङ्गालाई अणुहरूको आकारमा सूक्ष्म यन्त्र बनाएकाले
  • २०१५: थोमस लिन्डाल, पोल मोर्ड्रिच र अजिज सान्चरलाई डीएनए मर्मतको अन्वेषणका लागि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।