तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हङ्गेरीका लास्लो क्राज्नाहोर्काइलाई नोबेल साहित्य पुरस्कार
यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन्।
क्राज्नाहोर्काइलाई "प्रभावशाली र दूरदर्शी रचनाहरू जसले प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्छन् तिनका लागि" पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार समितिले जनाएको छ।
उनको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हङ्गेरीको एउटा सानो सहरमा भएको थियो। उक्त स्थान रुमेनियाको सीमानजिकै पर्छ। नोबेल पुरस्कार पाउने उनी हङ्गेरीका दोस्रा साहित्यकार हुन्। सन् २००२ मा इम्रे केर्टेस पनि उक्त पुरस्कारबाट सम्मानित भएका थिए।
उनका कैयौँ कृति हङ्गेरियन भाषामा प्रकाशित छन्। उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका छन्। उनका कृतिहरू अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्वीडिश भाषामा पनि छापिएका छन्।
क्राज्नाहोर्काइले कैयौँ साहित्यिक पुरस्कार पाएका छन्।
सन् १९०१ देखि अहिलेसम्म साहित्यतर्फ ११८ पटक पुरस्कार प्रदान गरिएको छ भने १२२ साहित्यकार पुरस्कृत भएका छन्।
यस वर्षका लागि हालसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ। अब शान्ति र अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुन बाँकी छ। पुरस्कार आगामी डिसेम्बरमा वितरण हुने छ।
रोचक जानकारी
यसअघि यो विधाको पुरस्कार दुई-दुई लेखकलाई चार पटक (सन् १९०४, १९१७, १९६६ र १९७४ मा) संयुक्त रूपमा दिइएको थियो। तर अरू विधामा भन्दा यसमा एकल विजेताहरू अत्यधिक छन्।
अहिलेसम्म कुनै साहित्यकारले पनि दोहोर्याएर नोबेल पुरस्कार पाएका छैनन् भने दुई जनाले पुरस्कार लिन अस्वीकार गरेका छन्।
सन् १९५८ मा विजेता घोषित तात्कालिक सोभियत सङ्घका बोरिस पास्टर्नाकले "सरकारी पक्षको दबावका कारण" पुरस्कार लिएनन्। जाँ पाल सार्त्रले आफूले सबै खालका सम्मान नलिएको भन्दै सन् १९६४ मा नोबेल पुरस्कार पनि अस्वीकार गरे।
सन् २०२४ सम्म कुल १८ महिलाले यो पुरस्कार हात पारेका छन्।
नोबेल साहित्य पुरस्कार पाउने सबैभन्दा कान्छा लेखक रड्यार्ड किप्लिङ हुन्। सन् १९०७ मा पुरस्कृत हुँदा उनी ४१ वर्षका थिए।
सन् २००७ मा पुरस्कार पाउँदा डोरिस लेसिङ ८१ वर्षकी थिइन्। नोबेल पुरस्कारबाट सम्मानित हुने उनी वृद्धतम साहित्यकार हुन्। उनको जन्म सन् १९१९ मा तात्कालिक पर्सियामा भएको थियो।
अहिलेसम्म केवल एक जनालाई मरणोपरान्त साहित्यतर्फको नोबेल पुरस्कार दिइएको छ। सन् १९३१ मा स्वीडनका कवि एरिक आक्सेल कार्ल्फेल्ट सम्मानित भएका थिए। सन् १९६१ मा डाग ह्यामर्शोल्डले पनि मरणोपरान्त नोबेल शान्ति पुरस्कार पाए।
तर सन् १९७४ मा नोबेल फाउन्डेशनको विधानमा विजेताको नाम घोषणा भएपछि मृत्यु भएमा बाहेक कसैलाई पनि मरणोपरान्त पुरस्कार नदिने प्रावधान राखियो।
सन् २०१८ मा र विश्वयुद्धका बेला छ वर्ष साहित्यतर्फ नोबेल पुरस्कार कसैलाई पनि दिइएन।
सन् १९३५ मा चाहिँ योग्य पात्र नभेटिएको भन्दै पुरस्कार प्रदान गरिएको थिएन।
धेरैलाई ब्रिटिश नेता विन्स्टन चर्चिलले नोबेल शान्ति पुरस्कार पाएका थिए भन्ने लाग्छ। तर उनी सन् १९५३ मा साहित्यतर्फ पुरस्कृत भएका थिए। नोबेल समितिका अनुसार सन् १९४५ देखि १९५३ सम्म चर्चिलको नाम २१ पटक साहित्यततर्फ र दुई पटक शान्तितर्फ मनोनयनमा परेको थियो।
यद्यपि साहित्यतर्फ पुरस्कारका लागि प्रत्येक वर्ष हुने मनोनयन र पुरस्कार विजेता छान्ने समितिका सदस्यहरूले लेख्ने धारणा ५० वर्ष गोप्य राखिने गरेको छ।
सन् १९१३ मा भारतीय कवि रवीन्द्रनाथ ठाकुर नोबेल पुरस्कारबाट पुरस्कृत भए। नाम मनोनयनमा परेकै वर्ष उनलाई उक्त पुरस्कार दिइएको थियो।
उनी नोबेल पुरस्कार हात पर्ने प्रथम एशियाली र गैरयुरोपेली मूलका व्यक्ति हुन्।
भीएस नइपालको 'नेपाल साइनो'
ट्रिनिडाडमा जन्मिएका उपन्यासकार भीएस नइपालले सन् २००१ मा नोबेल पुरस्कार पाए। उनको पूरा नाम विद्याधर सुरजप्रसाद नइपाल हो।
नोबेल पुरस्कार वितरण समारोहमा गरेको भाषणमा उनले आफू भारतीय मूलका हिन्दू र मुस्लिम समुदायको बसोबास भएको ठाउँमा हुर्केबढेको बताउँदै बुवापट्टिका पूर्वजको सम्बन्ध नेपालसँग भएको जनाएका थिए। उनका पूर्वजहरू नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशबाट बसाइँ सरेर ट्रिनिडाड गएको ठानिन्छ।
"हामीले भारतबारे वा [भारत] छोड्ने परिवारहरूबारे सोधखोज गर्दै गरेनौँ।...हामीले जान्न खोज्दा निकै ढिलो भइसकेको थियो। मलाई मेरा बुवापट्टि केही कुरा पनि थाहा छैन, मलाई के थाहा छ भने उहाँहरूमध्ये कोही नेपालबाट आउनुभएको थियो," उनले भनेका थिए।
उनले आफूलाई एक नेपालीले बनारसमा 'नेपाल' थर भएका नेपाली समुदायको बसोबास भएको प्रमाण समेटिएको र सन् १८७२ मा प्रकाशित एउटा ब्रिटिशकालीन दस्तावेजका केही पन्ना पठाइदिएको प्रसङ्ग कोट्याए। "मसँग भएको कुरो त्यही हो," उनले भने।
उनका उपन्यासहरूमा औपनिवेशिक र उत्तर-औपनिवेशिक समाज र तिनमा विद्यमान सांस्कृतिक विविधताको सजीव चित्रण भएको पाइन्छ। सन् १९६१ मा प्रकाशित 'अ हाउस फर मिस्टर विस्वास' ले उनलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनिन सघायो। उनको पहिलो पुस्तक 'द मिस्टिक मसुर' सन् १९५१ मा प्रकाशित भएको थियो। उक्त पुस्तक लेख्न उनले तीन वर्षभन्दा बढी समय लगाएका थिए।
अगस्ट १९३२ मा जन्मिएका नइपालको मृत्यु अगस्ट २०१८ मा लन्डनमा भयो।
साहित्यमा नोबेल पुरस्कार यसअघि कसले पाएका थिए
- सन् २०२४ः दक्षिण कोरियाकी हान काङलाई "ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने चरम काव्यात्मक गद्यका लागि"
- सन् २०२३: नर्वेका लेखक यून फोसालाई "व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले"
- सन् २०२२: फ्रान्सेली साहित्यकार एनी एर्नोलाई "विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेकाले"
- सन् २०२१ः अब्दुलरजाक गुरनाहलाई "उनको औपनिवेशिक असर तथा संस्कृति र महादेशहरूबीचमा शरणार्थीको भाग्यबारे उनको सम्झौताबिनाको र प्रतिबद्ध प्रभावका लागि"
- सन् २०२०: अमेरिकी कवि लुइस ग्लकलाई "सुन्दर काव्यात्मक आवाज का लागि"
- सन् २०१९: अस्ट्रियाका नाटककार पिटर हान्कलाई ''सरल भाषामा मानव अनुभूतिको परिधिलाई उजागर गरेकाले"
- सन् २०१८: पोल्यान्डका लेखक ओल्गा तोकाचुकलाई "जीवनको परिधिहरूभन्दा माथि गएर कथात्मक परिकल्पना गर्न सक्ने क्षमताका लागि"
विगतमा साहित्यतर्फको पुरस्कार अर्नेस्ट हेमिङ्वे, ग्याब्रिअल गार्सिया मार्खेज र टोनी मोरिसनजस्ता उपन्यासकार तथा पाब्लो नेरुडा, जोसेफ ब्रोड्स्की र रवीन्द्रनाथ ठाकुर तथा ह्यारोल्ड पिन्टर र युजीन ओनील लगायतका नाटककारले प्राप्त गरेका छन्।
सन् २०१६ मा गायक बब डिलनले साहित्यतर्फको पुरस्कार स्वीकार गर्लान् कि नगर्लान् भन्ने अन्योल देखा परेको थियो।
अन्ततः उनले सन् २०१७ को जुन महिनामा उक्त पुरस्कारका लागि मन्तव्य दिएका थिए।
सन् २०२५ मा अरू विधामा नोबेल पुरस्कार
- चिकित्साशास्त्र : प्रतिरोध प्रणालीसम्बन्धी खोज तथा अनुसन्धानका लागि मेरी ब्रन्को, फ्रेड र्याम्स्डेल र शिमोन साकागुची
- भौतिकशास्त्र : क्वान्टम मेकानिक्ससँग सम्बन्धित खोजका लागि जोन क्लार्क, मिशेल एच डेभोर र जोन एम मार्टिनिस
- रसायनशास्त्र : 'मेटल-अर्ग्यानिक फ्रेमवर्क' (एमओएफ) विकास गरेको हुनाले सुसुमु कितागावा, रिचर्ड रब्सन र ओमर यागी
- नोबेल शान्ति पुरस्कार : शुक्रवार घोषणा हुने छ
- अर्थशास्त्र : सोमबार घोषणा हुने छ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।