भारतीय उद्यमी रतन टाटाको व्यावसायिक यात्राका मुख्य सफलता र विफलता

तस्बिर स्रोत, Getty Images
भारतका ख्यातिप्राप्त उद्यमी रतन टाटाको ८६ वर्षको उमेरमा बुधवार निधन भएको छ। उनलाई अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा चर्चित भारतीय उद्यमीहरूमध्ये एक मानिन्थ्यो।
उनको टाटा ग्रूपलाई "सल्ट टू सफ्टवेअर कङ्ग्लोमरट" मानिन्छ किनकि यसअन्तर्गतका १०० भन्दा बढी कम्पनीहरूको उत्पादन तथा व्यापार कुनै एउटा व्यवसायमा मात्र सीमित छैन। तीमध्ये टाटा मोटर्स र टाटा स्टीललगायत केही अत्यधिक चर्चित छन्।
विगत दुई दशकमा उनका कम्पनीहरूमा छ लाख ६० हजारभन्दा बढी मानिसले रोजगारी पाएको मानिन्छ भने यी कम्पनीले वार्षिक रूपमा १०० अर्ब डलरभन्दा बढी रकम कमाएको तथ्याङ्क छ।
'धनको आडम्बर नदेखाउने उद्यमी'

तस्बिर स्रोत, Getty Images
'स्टोरी अफ टाटा' पुस्तकका लेखक पीटर केसीका अनुसार टाटा ग्रूपका मूल्यमान्यतामा "पुँजीवाद र परोपकारको मिश्रण" पाइन्छ र "अरूको जीवनलाई थप राम्रो बनाउने गरी व्यवसाय गरेर" त्यो उद्देश्य प्राप्त गरिन्छ।
यस समूहको 'होल्डिङ कम्पनी'का रूपमा रहेको 'टाटा सन्स'मा कतिपय निजी तथा कतिपय सार्वजनिक व्यापार गर्ने कम्पनी भए पनि "मूलतः तिनीहरूमा पनि परोपकारी कोषको स्वामित्व छ," उनी भन्छन्।
दिल्लीस्थित बीबीसी संवाददाता विकास पाण्डेका अनुसार धेरै भारतीयहरूले सामाजिक सञ्जालमा टाटाको निधनलाई "व्यक्तिगत क्षति"का रूपमा अर्थ्याएका छन्। त्यसको मुख्य कारण उनले कहिल्यै पनि धनको आडम्बर नदेखाउनु रहेको उनको भनाइ छ।
उनले लेखेका छन्, "महँगा कारका लामो लस्करमा उनी विरलै देखिए। न त उनी बलिवुड र क्रिकेट स्टारलाई घरमा बोलाएर समाचारमा छाए।"

तस्बिर स्रोत, Getty Images
रतन टाटा सन् १९३७ मा भारतको एक उच्चशिक्षित तथा सम्पन्न परिवारमा जन्मिएका थिए। त्यसको तीन वर्षपछि उनका आमाबुवा छुट्टिएका थिए।
उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका गएका रतन टाटाले 'आर्किटेक्चर'को अध्ययनसँगै गाडी र विमान चलाउन पनि सिके। हेलिकप्टर तथा जहाज चलाउँदा इन्जिनमा समस्या उत्पन्न भएका बेला आफूले 'ग्लाइड' गरेर बाँचेको उनले एक अन्तर्वार्तामा बताएका छन्।
पछिसम्म पनि उनी आफ्नो कम्पनीको जेट विमान आफैँ चलाउँथे।
सन् १९६२ मा हजुरआमा लेडी नवाजबाई बिरामी परेर फिर्ता बोलाएपछि रतन टाटा भारत फर्किए। त्यति बेला उनकै परिवारका एक सदस्य जेआरडी टाटाले उनलाई टाटा ग्रूपमा सामेल हुन भने।
"उनी मेरा सबैभन्दा ठूला मेन्टर थिए। मेरा लागि उनी बुवा र दाजुजस्तै थिए, उनीबारे खासै कुरा गरिएकै छैन," एक अन्तर्वार्तामा रतन टाटाले भनेका छन्।
कसरी पुगे नेतृत्वमा

तस्बिर स्रोत, Getty Images
त्यसपछि उनलाई पूर्वी भारतको जमशेदपुरस्थित स्टील कारखानामा काम गर्न पठाइयो। त्यहाँको व्यवस्थापकको सहायकका रूपमा काम गर्नुअघि उनले कारखानामै केही वर्ष काम गरे।
सन् १९७० को दशकमा उनलाई रेडिओ र टीभी तथा कपडा बनाउने दुई 'रुग्ण' कम्पनीको जिम्मा दिइयो। तीमध्ये पहिलोमा उनी सफल भए भने कपडा कारखानामा मिश्रित परिणाम निकाले।
आधा शतकभन्दा लामो समयसम्म टाटा ग्रूपको नेतृत्व गरेका जेआरडी टाटाले सन् १९९१ मा रतन टाटालाई आफ्नो उत्तराधिकारी नियुक्त गरे। त्यति बेला उनीभन्दा वरिष्ठ अन्य अधिकारीहरू पनि नेतृत्वमा पुग्न चाहन्थे।
"तपाईँले त्यतिबेलाका पत्रपत्रिका हेर्नुभयो भने व्यक्तिगत रूपमा नै आलोचना भएको थियो। जेआरडी नातावादमा फसे भनिएको थियो र मलाई गलत रोजाइका रूपमा चित्रित गरिएको थियो," रतन टाटाले धेरै पछि भने।
तर उनको नेतृत्वमा टाटा ग्रूप विश्वव्यापी ब्र्यान्डका रूपमा स्थापित हुन थालेको केसीले लेखेका छन्।
ब्रिटिश ब्र्यान्ड किन्न सक्ने भारतीय

तस्बिर स्रोत, Reuters
आफ्नो नेतृत्वमा रतन टाटाले विभिन्न कम्पनीहरूलाई आफ्नो समूहमा गाभ्ने निर्णय गरे। तीमध्ये एङ्ग्लो-डच स्टील कम्पनी कोरस र यूकेका कार ब्र्यान्ड ज्याग्वर र ल्यान्ड रोभरलाई आफ्नो समूहमा भित्र्याउने उनका निर्णय चर्चित बने।
यीमध्ये केही निर्णयले कम्पनीलाई फाइदा दिए पनि केही निर्णयका कारण टाटा ग्रूप घाटामा गयो।
सन् २००० मा टाटाले 'टेट्ली' किनेसँगै यो संसारको दोस्रो ठूलो चिया कम्पनी बन्यो। यो कुनै पनि भारतीय कम्पनीले लिएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय ब्र्यान्ड थियो।
त्यसको केही वर्षपछि भारत भ्रमणमा आएका यूकेको एक पत्रिकाका पत्रकारले रतन टाटालाई भारतीय कम्पनीले ब्रिटिश ब्र्यान्ड किन्दाको "विरोधाभास"बारे सोधेका थिए।
"ईस्ट इन्डिया कम्पनीका एक सम्पन्न व्यक्तिजसरी आफ्नो सफलता चित्रित गरिँदा उनी एकदमै स्पष्ट तर एकदमै धक मानेको अवस्थामा थिए," ती पत्रकारले पछि लेखे।
नानोको निराशा

तस्बिर स्रोत, Reuters
तर टाटाको सुरक्षित र सुलभ कार बनाउने प्रयास भने निराशामा बदलियो। सन् २००८ मा खुबै प्रचार गरेर 'टाटा नानो' सार्वजनिक गरियो। यसको सबैभन्दा सस्तो मोडेल एक लाख भारतीय रुपैयाँमै उपलब्ध गराइयो।
तर उत्पादन तथा बजार व्यवस्थापनसम्बन्धी केही विषयका कारण यो ब्र्यान्डले अन्य उत्पादकहरूसँग प्रतिस्पर्धा गर्न सकेन।
पछि रतन टाटाले भनेका थिए, "नानोलाई संसारको सबैभन्दा सस्तो कार भन्नु ठूलो गल्ती थियो। मानिसहरू संसारको सबैभन्दा सस्तो कार चलाउने मान्छेका रूपमा आफूलाई देखाउन नचाहने रहेछन्।"
कर्मचारीप्रतिको उदारता
तर त्यसअघि नै सन् २००८ नोभेम्बर २६ को मुम्बई आतङ्कवादी आक्रमणमै क्षतिबाट पुनः लयमा फर्कने रतन टाटाको क्षमता देखिइसकेको थियो।
रेल्वे स्टेशन, अस्पताल र अन्य ठाउँसँगै उनको ताजमहल होटेललाई पनि आक्रमणको निसाना बनाइएको थियो। उक्त घटनामा मारिने १६६ जनामध्ये ३३ जना उक्त होटेलमा बसेका थिए।
त्यति बेला टाटाले मारिएका वा घाइते भएका सबै कर्मचारीका परिवारको हेरचाह गर्ने प्रतिबद्धता मात्र जनाएनन्, उनीहरूले स्वस्थ भएर कम्पनीमा काम गरिरहँदा जति कमाउँथे, त्यो तलब पनि दिए।
एक्काइस महिनामै होटेललाई पुरानो स्वरूपमा फर्काउन उनले एक अर्ब डलर खर्च गरे।
सन् १९८९ मा टाटा कम्पनीको पुनेस्थित एक कारखानामा कर्मचारीले हड्ताल गर्दा काम प्रभावित भएको थियो। त्यतिबेला उनले पत्रकारहरूलाई भनेका थिए, "सायद हामीले हाम्रा कामदारको बेवास्ता गर्यौँ होला। हामीले सोच्यौँ कि हामीले उनीहरूका लागि सके जति सबै गरेका छौँ, तर सम्भवतः हामीले त्यसो गर्न सकेका छैनौँ।"
श्रद्धाञ्जलीको ओइरो

तस्बिर स्रोत, Reuters
रतन टाटाको निधन भएसँगै भारतमा मात्र नभएर विश्वमा अन्य क्षेत्रका उद्योगीव्यापारीले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनबाट आफू "अत्यन्त दुःखमा परेको" बताएका छन् भने विपक्षी कांग्रेसका नेता राहुल गान्धीले उनलाई "सपना भएको मानिस"का रूपमा सम्झेका छन्।
भारतका चर्चित उद्यमी मुकेश अम्बानीले "आफूले प्रिय मित्र गुमाएको" बताएका छन्।
गुगलको माउ कम्पनी एल्फबेटका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले रतन टाटाले "असाधारण व्यावसायिक तथा परोपकारी विरासत छाडेको" बताए।
भारतका चर्चित खेलाडी तथा चलचित्रकर्मीले पनि उनको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।
भारतको महाराष्ट्र राज्य सरकारले टाटाको निधनमा राज्यभरि एक दिन शोक मनाउने र उनको 'राजकीय अन्तिम संस्कार' गरिने निर्णय गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




























