रोबोटलाई कर लगाउने समय आएको हो?

रोबोट सोफिया

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सोफिया नामक मानवजस्तै देखिने रोबोटले गोष्ठीहरूमा भाग लिएकी छन् र उनलाई साउदी अरेबियाले नागरिकता पनि दिएको छ

"अटोमेसनका कारण उत्पादन उद्योग भएका नगरहरू नराम्ररी प्रभावित भएका छन्। ती नगरहरूमा विवाहको दर घटिरहेको छ, अपराध बढेका छन्, अनि आत्महत्या, मद्यपान तथा लागु औषध प्रयोगका कारण हुने मृत्यु बढेका छन्," डा कार्ल फ्रे भन्छन्।

अक्सफोर्ड विश्वविद्यालयका यी अनुसन्धानकर्ताले विगतमा उत्पादनमार्फत आर्थिक वृद्धिको नेतृत्व सम्हालेका तर हाल खस्किएर 'रस्ट बेल्ट' भनेर चिनिएका फ्लिन्ट, डेट्रोइट तथा क्लिभल्यान्डजस्ता अमेरिकाको औद्योगिक भेगका शहरहरूबारे निराशाजनक तस्बिर प्रस्तुत गरेका छन्।

डा फ्रे भन्छन् यी शहरहरूमा मानिसहरू रोबोटहरूसँग हारिरहेका छन्।

अटोमेसन अर्थात् स्वचालित प्रविधिको प्रयोगमार्फत मानिसलाई मेशिनले यसरी विस्थापन गरेमा आखिर के हुनेछ त?

राजस्वको प्रश्न

यदि कामदार बेरोजगार भए उसले कर तिर्नेछैन र कतिपय पश्चिमा देशहरूमा उसले बेरोजगार सुविधा पाउनेछ। अर्थात् राज्यको लागि यो दोहोरो मार हुनेछ।

उदाहरणका लागि अमेरिकामा संघीय राजस्वको ४८ प्रतिशत व्यक्तिगत आयकरमार्फत आउने गर्छ भने ३५ प्रतिशत सामाजिक बिमा करमार्फत आउने गर्छ। जबकि संस्थागत वा करपोरेट करमार्फत उठ्ने स्रोतको हिस्सा केवल नौ प्रतिशत छ।

आयकर वापत उठ्न स्रोतको क्षतिपूर्तिका निम्ति अब रोबोटलाई कर लगाउनु पर्ने विचार कतिपयको छ।

प्रविधिको प्रभाव

विज्ञान तथा प्रविधिमा हुने प्रगतिले सधैँ सकारात्मक एवम् नकारात्मक प्रभाव पार्दै आएका छन्।

पहिलो औद्योगिक क्रान्तिले मानवलाई पशुमाथिको निर्भरताबाट बाहिर निस्कन सघायो।

दोस्रो क्रान्तिले वृहत् विद्युतीकरण तथा वृहत् उत्पादन भित्र्यायो।

कम्प्युटरको युगले कामको प्रभावकारिता बढाइदिएको छ तथा सूचनाको तीव्र गतिमा विस्तार सम्भव गरिदिएको छ।

तियान्जीन बन्दरगाहमा एक चालकरहित ट्रक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चालकरहित ट्रकहरूको सीमित प्रयोग सुरु भएका छन्

चौथो औद्योगिक क्रान्ति कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टलिजेन्स (एआइ) तथा रोबोटिक्ससँग जोडिएको छ।

यसले उत्पादन, व्यवस्थापन तथा शासनका सम्पूर्ण प्रणालीमा आधारभूत परिवर्तन ल्याउने ठानिन्छ।

यसको व्यापकता, वेग तथा गहिराइको कुनै ऐतिहासिक दृष्टान्त छैन।

परिणती

सन् २०१३ मा डा फ्रे ले निकालेको हिसाब अनुसार आगामी ३० वर्षमा अमेरिकामा कम्तीमा ५० प्रतिशत रोजगारको अवसर एआइ तथा रोबोटिक्समा भएका प्रगतिका कारण जोखिममा पर्न सक्छन्।

खासगरि औद्योगिक कामदार, कानुनी निकायका तल्ला कर्मचारी तथा ठूला ट्रक ड्राइभरका काम हराउन थाल्नेछ।

"हामीले अझसम्म अटोमेसनको विरुद्ध कुनै त्यस्तो प्रतिक्रिया देखेका छैनौँ जस्तो विश्वव्यापिकरणको विरुद्ध देखा परेको थियो। ट्रक ड्राइभरको काम अमेरिकाबाट चीनमा पठाउन त सकिन्न तर अटोमेसन मार्फत हटाइदिन सकिन्छ," फ्रेले बीबीसी विश्व सेवाको विजिनेस डेली कार्यक्रमलाई बताए।

तर के रोबोटमाथि कर लगाएर सम्भावित नकारात्मक प्रतिक्रिया पन्छाउन सकिन्छ?

करको कुरो

दुई वर्ष अगाडि अर्बपति परोपकारी तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले क्वार्टज पत्रिकालाई दिएको अन्तर्वातामा रोबोट करको कुरा उठाएका थिए।

एक कारखानामा रोबोट

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कैयौँ कारखानाहरूमा रोबोटले कामदारलाई विस्थापित गरिदिएका छन्

गेट्स भन्छन्: "निश्चय पनि अटोमेसनमा पनि कुनै प्रकारको कर हुनेछन्।"

"हाल जब कुनै एक मानिसले कारखानामा ५० हजार डलरको काम गर्छ भने उसले आयकर, सामाजिक सुरक्षा कर जस्ता तिर्छ। यदि रोबोटले त्यही काम गर्छ भने तपाईँलाई लाग्न सक्छ कि उसलाई पनि सोही स्तरको कर लगाउनु पर्छ।"

प्रविधि कम्पनीका अर्बपति एलन मस्कपनि रोबोटमाथि कर लगाउने पक्षमा छन्।

उनीहरूको प्रस्ताव सरल छ: रोबोटमाथि कर लगाउ र त्यो स्रोत स्वास्थ्य उपचार र शिक्षामा खर्च गर वा सबैलाई आधारभूत आय देउ।

कसरी?

तर रोबोटलाई कर कसरी लगाउने?

"तपाईँले कुनै रोबोटलाई खोज्दै जानुपर्दैन। अटोमेसनमाथि कर लगाए पुग्छ। ती व्यापार वा कम्पनी जसले कम रोजगार पैदा गर्छन् तिनलाई लक्षित गर्न सकिन्छ। साथै सरकारहरूले श्रममाथि कर घटाउनुपर्छ," ब्रिटेनस्थित सरे विश्वविद्यालयका कानुन तथा स्वास्थ्य उपचारसम्बन्धी प्राध्यापक र्‍यान एबटले भने।

रोबोट चित्र कोर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रोबोटहरू निकै क्षमतावान् तथा बुद्धिमान बन्दैछन् - जस्तो कि यो चित्र कोर्न सिपालु रोबोट

अन्य कतिपयको जस्तै उनी केवल रोबोटमाथि कर मात्र होइन कि सम्पूर्ण एआइको प्रयोगबारे करको सुझाव दिन चाहन्छन्।

यस्ता करका पक्षधर भन्छन् यी अतिरिक्त स्रोतलाई श्रमको क्षमता अभिवृद्धि गर्न तथा व्यापक स्तरमा हुन सक्ने बेरोजगारीका कारण समाजमा उत्पन्न हुने हिंसात्मक विभाजनको सम्भावना घटाउन प्रयोग गर्न सकिन्छ।

"यो समान स्तरमा भइरहेको लडाइँ होइन। करको मामिलामा रोबोटहरू फाइदाजनक अवस्थामा छन्। जब कम्पनीहरूले अटोमेसन गर्छन् तिनले करमा उल्लेखनीय रकम जोगाउनेछन्। त्यसले ती कम्पनीहरूलाई अटोमेसनमा लगानी गर्न प्रेरित गर्छ," उनले भने।

नीति

सन् २०१७ मा दक्षिण कोरिया पहिलो देश बनेको छ जसले अटोमेसनबाट प्राप्त हुने कर छूट घटाइदिएको छ ताकि प्रविधिका कारण रोजगार बजारमा पर्ने प्रभावको दर कम पार्न सकियोस्।

टोक्योको पसलमा रोबोट

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, निकट भविष्यमा रोबोटहरूले अफिसका रिसेप्सनिस्टको काम लिने ठानिन्छ

युरोपेली युनियनमा रोबोटमाथि कर लगाउने एउटा प्रस्ताव हालसालै युरोपेली संसदमा पराजित भयो। त्यसको साटो रोबोटको उदयलाई नियमन गर्ने कानुन बनाउने बाटो उसले रोज्यो।

अनि अमेरिकामा चाहिँ यो विषयप्रति विस्तारै राजनितिक ग्राह्यता बढ्दो छ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार एन्ड्र्यु याङले सबैका निम्ति न्युनतम आधारभूत आम्दानीका लागि स्रोत जुटाउन अटोमेसनमा कर लगाउने प्रस्ताव गरेका छन्।

"जनसङ्ख्याको करिब ३ प्रतिशत यातायातमा कार्यरत छन्। अटोमेसनको सम्भावना तथा चालकरहित गाडीका कारण वृहत सामाजिक समस्या उत्पन्न हुन सक्छ। मानिसहरूलाई पुन: प्रशिक्षण गर्न तथा सामाजिक सुविधा प्रदान गर्न जरूरी छ। तर यदि सरकारहरूसँग यसो गर्न पर्याप्त कर आम्दानी छैन भने त्यसले समस्या झन् खराब हुन सक्छ," र्‍यान भन्छन्।

खराब योजना

तर सबैजना यसमा सहमत छैनन्।

"रोबोटमाथि कर लगाइनु यसको समाधान होइन किनकि यसो गरिए नियमबाट छुटकारा पाउन कम्पनीहरूले उद्योग अन्यत्र सार्न सक्छन्। यसबाट केवल साना तथा मझौला घरेलु उद्योगले दु:ख पाउनेछन्," आइटी सेवा कम्पनी स्टोरी स्ट्रीमका मुख्य विज्ञान अधिकृत डा ज्यानेट बस्टिम्यानले भने।

"मानिसहरू उत्पादनमूलक क्षेत्रको साटो अन्यत्र काममा लागेका छन्। कम्पनीहरूको नाफा बढेका छन् र तिनमाथि कर लगाउन सकिन्छ," उनले भनिन्।

माइन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विस्फोटक पदार्थ 'माइन' सफा गर्ने जस्ता खतरनाक काममा रोबोट प्रयोग गरिन्छन्

रोबोटलाई तथा एआइ प्रणालीमाथि कर लगाइएमा त्यसले मानिसहरूलाई नयाँ काम गर्नबाट हतोत्साही बनाउने उनले बताइन्।

स्वीस इञ्जिनियरिङ कम्पनी एबीबीका पूर्व कार्यकारी प्रमुख उल्रिक स्पिसहोफर पनि रोबोटलाई कर लगाउने प्रस्तावप्रति खुसी छैनन्।

गेट्सको प्रस्तावप्रति टिप्पणी गर्दै उनले भने, "यदि तपाईँ विश्वका सबभन्दा कम बेरोजगारी दर भएका मुलुकहरूको अर्थतन्त्रलाई हेर्नुहुन्छ भने त्यसलाई रोबोटिक्ससँग जोडेर हेर्न सकिन्छ: जर्मनी, जापान, दक्षिण कोरिया जस्ता देशमा सबभन्दा धेरै रोबोटिक दर पाइन्छ - करिब १० हजार कामदारमध्ये ३ सय रोबोट त्यहाँ छन्, र तिनै देशमा सबभन्दा कम बेरोजगारी दर पनि रहेको छ।"

सन् २०१७ मा सीएनबीसीसँग कुरा गर्दै उनले भनेका थिए, "रोबोट तथा अटोमेसन, सम्पत्ति तथा सम्पन्नता साथसाथ चल्छन्।"

तर आलोचक भन्छन् प्रविधिले तेज तथा सुविधाभोगीहरूलाई नै थप सम्पत्ति बटुल्न सघाउ पुग्छ जबकि सर्वसाधारणलाई थोरै मात्र फाइदा हुन्छ।

रोजगारमा नोक्सानी

तर ठूलो स्तरमा रोजगारीको नोक्सानी अझसम्म भइसकेको देखिँदैन। शायद यी निराशाजनक खबर पूर्ण सत्य होइनन्।

वाष्प इञ्जिन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वाष्प इञ्जिनको सुरुवातसँगै पशुमार्फत गरिने ढुवानी हराउँदै गयो

कार्ल फ्रे आफूले सन् २०१३ मा गरेको अनुमानप्रति अझै अडिग छन्। तर गत वर्ष ब्रिटेनमा कन्सल्टिङ फर्म पीडब्लुसीले त्यहाँ अटोमेसनबाट हुने रोजगारीको नोक्सानीको क्षतिपूर्ति नयाँ रोजगारीको सिर्जनाबाट हुने प्रक्षेपण गर्‍यो।

यसको उदाहरण खेलकूदको दुनियाँमा भेटिन्छ।

क्रिकेट र फुटबलमा अचेल कठिन निर्णय लिनका निम्ति मैदानमा रहेका अम्पायरमात्र नभइ प्रविधिको प्रयोग गर्न थालिएको छ।

यसबाट मानव त्रुटिका कारण हुने कमजोरी हटाइ निर्णयको गुणस्तर बढाउन मद्दत पुग्छ।

तर यस्ता प्रविधिको प्रयोगले अम्पायर तथा रेफ्रीका काम अनावश्यक बनेका छैनन्। बरू यसले अन्य प्राविधिकको काम सिर्जना गरेको छ।

तर कारखानामा हुने रोजगार कटौतीको कथा बेग्लै छ।

रोबोटमाथि कर लगाउने विषयमा अझै राजनीतिक सहमति भएको छैन। तर राजनीतिज्ञहरू विस्तारै यसलाई प्राविधिक उन्नतिले ल्याएका परिवर्तनसँग जुध्ने माध्यमको रूपमा हेर्न थालेका छन्।