तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुई सय वर्ष पुरानो कन्डम 'दुरुस्त अवस्थामा'
- Author, बारबारा टास र डानाइ नेस्टा कुपेम्बा
- Role, बीबीसी न्यूज
करिब २०० वर्ष पुरानो कन्डम 'नयाँ जस्तै अवस्थामा' एम्सटरडमस्थित राइक्सम्युजिअममा प्रदर्शनका लागि राखिएको छ।
यो भेडाको एपेन्डिक्सबाट बनेको ठानिएको छ र यसमा एक नन र तीनजना पादरीको स्पष्ट चित्रण गरिएको छ।
यो दुर्लभ वस्तु सन् १८३० मा बनेको हो र यसलाई गत वर्ष एक लिलाम बढाबढमा खरिद गरिएको हो। यो १९ औँ शताब्दीमा वेश्यावृत्ति र यौनिक शीर्षकको प्रदर्शनको एक अङ्ग हो।
राइक्सम्युजिअमकी क्युरेटर जोइस जेलेनले बीबीसीलाई भनिन्, उनीहरूले यसलाई पहिलो पटक देख्दा "हाँसो उठेको' थियो भने।
"यसलाई कसैले हेरिरहेका थिएनन्" र आफूहरूले मात्र त्यसलाई किन्ने इच्छा जाहेर गरेको जेलेनले बताइन्।
किनिसकेपछि उनीहरूले त्यसलाई पराबैजनी प्रकाशमा परीक्षण गरेका थिए र त्यो प्रयोग नभएको कन्डम भएको निश्चित गरेका थिए।
जेलेनले भनिन्, "यो नयाँ अवस्थाको जस्तै छ।"
यो प्रदर्शनमा राखेपछि सङ्ग्रहालयमा तन्नेरीदेखि वृद्धसम्मका मानिसहरूको घुइँचो लागिरहेको छ।
"आश्चर्यजनक प्रतिक्रिया प्राप्त भइरहेको छ" उनले भनिन्।
जेलेनका अनुसार उक्त कन्डम फ्रान्सको एउटा 'फ्यान्सी' वेश्यालयबाट प्राप्त 'विलासी सजाउने वस्तु' रहेको विश्वास गरिएको छ र यस्ता दुई वस्तु मात्र अहिलेसम्म जोगिएका छन्।
सङ्ग्रहालयका अुनसार यो अस्वाभाविक वस्तुले यौन स्वास्थ्यको राम्रो र नराम्रो दुवै पक्ष बोकेको छ।
यो त्यसबेलाको वस्तु हो जतिबेला यौन आनन्दको विषयसँग नइच्छाइएको गर्भधारण र यौन सम्पर्कका कारण बढ्ने सिफिलिस जस्ता रोग लाग्ला कि भन्ने त्रास जोडिएका हुन्थे।
यो कन्डममा एक नन तीन पुरुषका अगाडि बसेर आफ्नो लुगा माथि सारेर खुट्टा फैलाएर बसेकी छन् र उनले ती पादरीहरूप्रति औँला सोझ्याएकी छन्, अनि तीन पादरीहरू आफ्ना लुगा माथि उठाएर उनका अगाडि उभिएका छन्।
कन्डममा "त्यहाँ मेरो रोजाइ छ" भन्ने अर्थ लाग्ने शब्दहरू अङ्कित छन्।
सङ्ग्रहालयले यसमा छापिएको विषयलाई "ब्रह्मचर्य र ग्रीक पौराणिक कथाको जजमेन्ट अफ प्यारिस दुवैको ठट्यौलो प्रस्तुती"का रूपमा लिनुपर्ने बताएको छ।
प्यारिस नाम भएका एक मिथकीय ट्रोजन राजकुमारको प्राचीन कथाअनुसार ती राजकुमारलाई एफ्रोडाइट, हेरा र एथेनामा सबभन्दा सुन्दर देवी कुन हुन् भन्ने तय गर्नु थियो।
डच सङ्ग्रहालयका अनुसार उनीहरूको प्रीन्ट रुम सङ्ग्रहमा ७ लाख ५० हजार किसिमका छापिएका वस्तु छन् तर तस्बिर छापिएको कन्डम भने त्यस्तो वस्तुको एक मात्र उदाहरण हो।
जेलेन भन्छिन्, "अहिलेसम्म हामीलाई थाहा भएअनुसार हामी मात्रै त्यस्तो कला सङ्ग्रहालय हौँ जहाँ छापा अक्षर/तस्बिर अङ्कित कन्डोम छ।"
उनले आफ्नो सङ्ग्रहालय त्यो वस्तु प्रदर्शनका लागि अरू सङ्ग्रहालयलाई "उपलब्ध गराउने" बारे खुला रहेको तर त्यो असाध्यै नाजुक वस्तु भएको बताइन्। नोभेम्बरको अन्त्यसम्म त्यो प्रदर्शनमा रहने बताइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।