६० केजी सुन तस्करी: २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

सुन
तस्बिरको क्याप्शन, सुन तस्करी काण्ड अन्तरदेशीय सङ्गठित अपराध भएको नेपाल प्रहरीको ठहर छ
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

झन्डै दुई महिनादेखि चर्चाको चुलीमा रहेको सुन तस्करीबारे पहिलो चरणको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बुधवार आफ्नो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

हङ्‌कङबाट आएको विमानमा ल्याइएका आठ बाकस ब्रेक प्याड (ब्रेक शू) भित्र ६०.७ किलोग्राम सुन भेटिएको थियो।

उक्त तस्कारी काण्डको अनुसन्धान गर्दा प्रहरीले भेटेको प्रमाणले त्यसबाहेक सुन निकाली पुन: प्याकिङ गरिएको अवस्थामा बरामद ब्रेक प्याडको तौलका आधारमा उक्त गिरोहले ३०० केजीभन्दा बढी सुन नेपाल भित्र्याएको देखिएको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार उक्त गिरोहले ३६२.७७८ केजी सुन तस्करी भित्र्याएको देखिएको छ।

अहिलेको बजारमूल्यको आधारमा ३.५ अर्ब रुपैयाँको सुन अवैध पैठारी भएको पुष्टि भएको सीआईबीले जनाएको छ।

मुद्दा चलाउन सिफारिस

यस मामिलामा प्रहरीले २३ नेपाली र नौ विदेशीसहित ३२ जनालाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार सुन तस्करीमा संलग्न भएको आशङ्का गरिएका चार नेपाली र १४ विदेशीसहित १८ जना फरार छन्।

अनुसन्धानको दायरामा ५० जना आएको बताइएको छ। सीबाईबीका प्रवक्ता नवराज अधिकारीले २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए।

सीआईबीले उनीहरूविरुद्ध भन्सार ऐन अवैध सुन पैठारी तथा सङ्गठित अपराधअन्तर्गतका मुद्दा चलाउन सिफारिस गरेको छ।

पक्राउ परेकामध्ये पाँच विदेशी नागरिकले नेपाली नागरिकता तथा राहदानी समेत लिएको खुल्न आएकाले त्यसमा पनि मुद्दा चलाउन सिफारिस गरिएको छ।

सुन गाल्ने उपकरण
तस्बिरको क्याप्शन, अपराधमा संलग्नहरूले सुन लुकाउन र गाल्न प्रयोग गर्ने उपकरण पनि प्रहरीले बरामद गरेको छ

सीमा वारपारको सङ्गठित अपराध

सुन तस्करी काण्डको अनुसन्धानको नेतृत्व गरेकी सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले यो घटना "अन्तरदेशीय अपराध"को स्पष्ट उदाहरण भएको बताइन्।

“हङ्‌कङ र मकाउ बस्ने चिनियाँ नागरिक, ताइवानी नागरिक, भारतीय नागरिक समेतको यसमा संलग्नता देखियो,” उनले बीबीसी न्यूज नेपालीसँग भनिन्।

नेपालभित्र चाहिँ राजनीतिक तथा उच्च प्रशासकीय संरक्षणको प्रत्यक्ष संलग्नता अहिलेसम्म नखुलेको उनले जनाएकी छन्।

तर प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्ध र सम्पर्क दुरुपयोग भएको छनक भने आएको उनले बताइन्।

उनका अनुसार सुन तस्करी गर्ने यो गिरोहका नाइकेहरूले इटली वा जापानका माफिया सङ्गठनहरूले प्रयोग गर्ने जटिल शैली अपनाएको देखिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सीआईबी प्रमुखलाई प्रश्न: सुन तस्करी अनुसन्धानमा कस्ता चुनौती देखिए?

“अपराधकार्यको सम्पूर्ण नियन्त्रण बाह्य व्यक्तिबाट भएको देखिन्छ,” प्रहरी उपरीक्षक तथा एक प्रमुख अनुसन्धानकर्ता सञ्जयसिंह थापाले भने।

हङ्‌कङका मिस्टर लिन, मिस ली अनि नाम नखुलाइएका अन्य तीन जना यो अपराध जालोका ‘किङ्पिन’ वा मुख्य नाइके देखिएको सीआईबी अनुसन्धानमा उल्लेख छ। यसमा थप खुल्न अझ बाँकी भएको हुनसक्ने पनि बताइएको छ।

यहाँ तस्करीमा संलग्न व्यक्तिहरूमाझ अपराध कार्य तथा पैसा भुक्तानीमा 'लेयरिङ' अर्थात् आवश्यकताका आधारमा मात्र एकले अर्कालाई चिन्ने गरेको खुलेको छ।

“एकदम सङ्गठित अपराध रहेछ। आधुनिक शैली अनि डिजिटल भुक्तानी गरेको देखिन्छ,” बज्राचार्यले भनिन्।

सञ्जयसिंह थापा
BBC
अपराध कार्यको सम्पूर्ण नियन्त्रण बाह्य व्यक्तिबाट भएको देखिन्छ
सञ्जयसिंह थापा
प्रहरी उपरीक्षक तथा प्रमुख अनुसन्धानकर्ता. सीआईबी

सुनको अन्तिम गन्तव्य भारत नै रहेको सङ्केत पाइएको हुनाले यसबारे थप बुझ्न सीआईबीले हङ्‌कङ र भारतमा आफ्ना अनुसन्धान अधिकृतहरू पठाएको थियो।

त्यहाँबाट सहयोग भइरहेको तर अदालतमा स्वीकार्य हुने किसिमका दस्तावेज तथा प्रमाण बटुल्न पारस्परिक कानुनी सहयोगका सहमति आवश्यक पर्ने हुनाले त्यसका निम्ति गृह तथा परराष्ट्र मन्त्रालयको सहयोगमा पहल भइरहेको सीआईबीले जनाएको छ।

साथै अपराधीहरूले प्रयोग गर्ने शैली, वस्तु, उपकरणजस्ता विषयको सूचना प्राप्त गर्न हाल प्रहरीले इन्टरपोलको सहयोगमा 'पर्पल नोटिस' पनि जारी गरेको छ।

कसरी भएको थियो सुन तस्करी?

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको बाहिर राजस्व अनुसन्धान विभागले शङ्का लागेर समातेको ब्रेक प्याडका थानमा सुन लुकाइएको भेटिएको थियो।

विभागले १९ दिन अनुसन्धान गरेपछि थप छानबिन गर्न प्रहरीलाई प्रतिवेदन बुझाएको थियो। प्रहरीको सीआईबीले एक महिनाभन्दा बढी अनुसन्धान गरेर अपराधको प्रकृतिबारे प्रारम्भिक जानकारीहरू दिएको छ।

हङ्‌कङबाट ल्याइएको उक्त सामानलाई नेपाल ल्याएर बेचबिखन गर्न त्यहाँबाट नै केही व्यक्तिले अपराध सञ्जाल सञ्चालन गरेको उसको ठहर छ।

हङ्‌कङमा रहेका उक्त गिरोहका नाइकेहरूले अपराधकार्य गर्न नेपालमा सातवटा कम्पनी दर्ता गराएको उसले फेला पारेको छ।

सुन
तस्बिरको क्याप्शन, राजनीतिक संरक्षण विना ठूलो परिमाणमा सुन तस्करी गर्न सम्भव नहुने कतिपय जानकारहरूको भनाइ छ (फाइल फोटो)

ती कम्पनीमार्फत् ब्रेक प्याड र विभिन्न विद्युतीय उपकरणहरू आयात गरेको देखिएको छ। सुरुमा परीक्षणका रूपमा थोरै परिमाणमा सामान झिकाएर पैठारीका प्रक्रिया तथा भन्सार छुटाउने प्रक्रिया अध्ययन गरेको समेत देखिएको अनुसन्धानकर्ता सञ्जयसिंह थापाले बताए।

तिनले लाजिम्पाट र टोखामा सुन गाल्ने उपकरण जडान गरेर लुकाएर ल्याइएको सुन निकाल्ने काम गरेका थिए। भन्सारबाट छुटेपछि सुन बालुवाटारको एउटा गोदाममा लैजाने अनि त्यसपछि गाल्ने गरिएको सीआईबीको आकलन छ।

सुन किन्ने व्यक्ति समेत हङ्‌कङबाटै पहिचान गरी नेपालमा "गुप्त भाषा" प्रयोग गरेर सुन दिने गरिएको पाइएको उसले बताएको छ।

पैसा भुक्तानी गर्न डिजिटल माध्यमका साथसाथै क्रिप्टोकरेन्सीको प्रयोग हुने गरेको उसको अनुसन्धानले देखाएको छ।

अहिलेको अनुसन्धानले सबै पाटो नसमेटेका हुनाले थप अनुसन्धान गरी पूरक अभियोजन गरिने सीआईबीका अधिकारीहरूले बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।