सुन तस्करीमा 'उच्चस्तरीय छानबिन आवश्यक': शेखर कोइराला

संसद् बैठक

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सुन प्रकरणलाई लिएर प्रतिपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक एक साता पछि सारिएको छ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी भएको विषय छानबिनका लागि उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको निष्कर्ष सत्ता गठबन्धनले निकालेको छ।

सोमवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

"वास्तवमा भन्ने हो भने उच्चस्तरीय आयोग माग्नु भनेको अहिले भइरहेको छानबिनलाई अवरोध गर्नु र यो मुद्दालाई फितलो बनाउनु हो," बैठकपछि पाण्डेले भने।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै आएको छ।

त्यसलाई बल पुग्ने गरी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कुनै न्यायाधीशको नेतृत्वमा उक्त मामिलाको जाँचबुझ हुनुपर्ने अभिव्यक्ति दिएका छन्।

गठबन्धन बैठक

तस्बिर स्रोत, RSS

एक महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदाममा पुगेको '१०० किलोग्राम' भनिएको सुन तस्करीको मामिलालाई नेता कोइरालाले "अन्तर्राष्ट्रिय तस्करीको जालोको एउटा सानो अंश मात्रै भएको हुनसक्ने" दाबी गरेका छन्।

एमालेसहित विपक्षी दलहरूले सोमवार पनि प्रतिनिधिसभामा सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदनको बैठक अवरुद्ध गरेका छन्।

प्रमुख प्रतिपक्ष नेकपा एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। तर आफूहरू सदनको कामकारबाही नियमित गर्न दवाब दिनका लागि उठेको रास्वपा सभापति रवि लामिछानेले बताए।

निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको सोमवार बसेको बैठकले भने स्थायी र नियमित सरकारी निकायहरूबाटै सुन प्रकरणमा अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको छ।

“यस्ता प्रकृतिका अपराधजन्य कार्यका लागि अनुसन्धान र अभियोजन गर्ने प्रयोजनका लागि नै गठन भएको केन्द्रीय अनुसन्धान ब्यूरो लगायत सरकारी निकायहरूले छानबिन गरिरहेका छन्,” कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने।

“निष्पक्ष स्वतन्त्र र गहिराइका साथ अनुसन्धान गर्न कांग्रेस संसदीय दलको बैठक सरकारसँग माग गर्दछ।”

रमेश लेखक

तस्बिर स्रोत, RSS

उनले सुन तस्करी जस्ता गैरकानुनी कार्य पूर्ण रूपले निस्तेज एवं नियन्त्रण हुनुपर्ने पार्टीको धारणा रहेको बताए।

"नेपाली कांग्रेस संसदीय दलको यो बैठक नेपाल सरकारलाई यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन अनुरोध गर्दछ," बैठकपछि जारी वक्तव्यमा भनिएको छ।

कांग्रेसले एमालेलाई सुन प्रकरणलाई लिएर भैरहेको सदन अवरोध अन्त्य गर्न पनि अपिल गरेको छ।

‘सयौँ टन सुन तस्करी’

बीबीसी न्यूज नेपालीसँग सोमवार बिहान कुरा गर्दै नेता कोइरालाले नेपालबाट बर्सेनि सयौँ टन सुन भारततर्फ तस्करी भइरहेको आफूलाई जानकारी प्राप्त भएको बताएका थिए।

“हेर्नुहोस् भारतलाई वार्षिक आवश्यकता १,३०० देखि १,४०० टन सुन छ। त्यसमध्ये उसले आयात गर्छ करिब ८०० देखि ९०० टन। अपुग भएको बाँकी ४०० देखि ५०० टन सुनमध्ये ९० प्रतिशतजति नेपालबाटै तस्करी भएर जान्छ,” कोइरालाले दाबी गरे।

शेखर कोइराला

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सुन तस्करीको जालोबारे उच्चस्तरीय छानबिन हुनुपर्ने माग नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि गरेका छन्

“या त म्यान्मारसँगको सिमानाबाट या त अलिअलि चीनसँगको सिमानाबाट जाँदो होला। बाँकी त नेपालबाटै जाँदो होला,” कोइरालाले भने।

“हामी यहाँ सय किलो वा नौ किलो सुनको चर्चा गर्दै छौँ तर टनका टन गइरहेको छ।”

यो जानकारी आफूले नेपालकै अवकाशप्राप्त प्रहरी अधिकारी एवं सुरक्षा अधिकारीहरूसँग बुझेर प्राप्त गरेको कोइरालाले बताएका छन्।

राष्ट्र ब्याङ्कले थाल्यो बरामद सुन पगाल्ने काम

नेपाल राष्ट्र ब्याङ्कको टक्सार महाशाखाले त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन गालेर तौल लिने प्रक्रिया सोमवार सुरु गरेको थियो।

“यो गालिसकेपछि किलोको तौल त निक्लिहाल्छ। यसको 'टच' के हो, यसको गुणस्तर के हो भन्ने हामी राम्ररी यकिन गर्छौँ,” राष्ट्र ब्याङ्कको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले सोमवार भने।

तस्करहरूले 'ब्रेक शू'मा लुकाएर ल्याएको सुन गालेर छुट्ट्याउनुपर्ने राष्ट्र ब्याङ्कले जनाएको छ।

आचार्यका अनुसार राष्ट्र ब्याङ्कलाई जिम्मा लगाइएको एउटा कार्टुनमा २० वटा 'ब्रेक शू' छन्।

सुन गालेर तौल लिने कार्यमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, राजस्व अनुसन्धान, नेपाल राष्ट्र ब्याङ्क र टक्सार महाशाखाका प्रतिनिधि सहभागी छन्।

बरामद सुन

भारतमा कति सुन खपत हुन्छ?

भारत विश्वकै अग्रणी सुन उपभोक्ता मध्येको देश हो।

वर्ल्ड गोल्ड काउन्सिलले दिएको जानकारीअनुसार भारत सुनको गहनाको विश्वकै दोस्रो ठूलो बजार हो। सन् २०२१ मा त्यहाँ सुनका गहनामात्रै ६११ टन खरिद भएको उसले जनाएको छ।

सन् २०२२ मा भारतमा कुल ७७४ टन सुन खपत भएको उसको तथ्याङ्कले देखाउँछ। सुन खपतमा चीन पहिलो स्थान र भारत दोस्रो स्थानमा रहेको देखिन्छ।

काउन्सिलका अनुसार सन् २०२२ मा विश्वभरिको कुल सुन उत्पादन झन्डै ३६ सय टन थियो।

सुनका गहना

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सन् २०२१ मा भारतमा ६११ टन सुनका गहना खरिद भएको वर्ल्ड गोल्ड काउन्सिलले जनाएको छ

नेपालमा अहिले कानुनी रूपमा आयात गर्न पाइने भनेको जम्मा १० किलोग्राम सुन प्रतिदिन हो।

“जबकि यहाँका व्यवसायीहरूसँग बुझ्दा माग त्योभन्दा निकै धेरै रहेको भनिन्छ। एक वर्षमा ७०० किलोग्रामजति सुन त यहीँ अपुग छ। त्यो अनि भारतमा अपुग भएको ४०० टनको उल्लेखनीय हिस्सा तस्करीमार्फत् आउने गरेको अनुमान गर्न सकिन्छ,” नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक हेमन्त मल्लले भने।

नेपाल प्रहरीको आधिकारीक तथ्याङ्कमा विगत नौ वर्षमा तस्करी गरी भित्र्याइँदै गरेको ६६० किलोग्राम सुन बरामद गरिएको उल्लेख छ।

“नेपालमा त सुन उडेर, गुडेर अनि हिँडेर समेत आइरहेको छ,” हवाई तथा स्थलमार्गबाट समेत सुन तस्करी भइरहेको इङ्गित गर्दै मल्लले भने।

सुन
तस्बिरको क्याप्शन, नेपालको बाटो हुँदै सुनको तस्करी ठूलो मात्रामा हुने गरेको र त्यसमा अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको जानकारहरूको आशङ्का छ

अन्तर्राष्ट्रिय जालो

यति ठूलो परिमाणमा सुनको तस्करीको पछाडि अन्तर्राष्ट्रिय तस्करहरूको जालो जिम्मेवार भएको विषय अब नलुकेको नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताए।

उक्त जालोमा भारत, चीनसहित नेपालका तस्करहरू संलग्न भएको उनको आशङ्का छ।

“त्यसकारण मैले उच्चस्तरीय छानबिन समितिको माग गरेको हुँ। यसमा संसदीय छानबिन समितिले हुँदैन। न्यायाधीश वा पूर्वन्यायाधीशको नेतृत्वमा प्रहरीको सीआईबी समेत राखेर यो समिति बनाउनुपर्छ,” कोइरालाले भने।

सुन तस्करीका कारण नेपालको आन्तरिक राजनीति तथा कर्मचारीतन्त्र भ्रष्ट भइरहेको तथा अर्थतन्त्रमा विदेशी मुद्राको स्वाभाविक आर्जन हुन नसकेको पूर्वडीआईजी मल्लले भने।

अहिले प्रत्येक एक केजी सुनमा भन्सार शुल्क मात्र १२ लाख रुपैयाँभन्दा धेरै तिर्नुपर्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए।

सोझो हिसाबमै पनि १०० केजी अवैध सुन भित्र्याउँदा १२ करोड रुपैयाँ भन्सार नोक्सानी हुन्छ भने त्यस्तो अवैध सुन नेपालभित्रै खपत गर्ने हो भने पनि स्रोत देखाउन नसक्दा वैध बजारमा कारोबार हुन पाउँदैन।

“वैध बजारमा त्यस्ता अवैध सुनले कागजात देखाउन सक्दैनन्। ती अवैध रूपले किनबेच हुन्छन् र कालो धन फैलिन्छ। त्यसमा न कसैले आयकर तिर्छ न अन्य कर तिर्छ। सबैतिर छली गरेर कालो धन थुप्रिन्छ,” बज्राचार्यले भने।

त्यसमाथि देशभित्र भन्दा पनि त्यस्ता अवैध सुन खुला सिमानाको दुरुपयोग गर्दै भारत जाने गरेको सबैको जानकारीमा रहेको उनले बताए।

“यस्ता सङ्गठित तथा अन्तर्राष्ट्रिय गिरोहबाट हुने तस्करीको जालोमा राजनीति परेको देखिन्छ। सबभन्दा डरलाग्दो कुरा यसले हाम्रा राजनीति अनि कर्मचारीतन्त्र भ्रष्ट बनाइरहेको छ,” पूर्व डिआइजी हेमन्त मल्लले भने।

सुन तस्करहरूले नेपाल भित्रने विदेशी मुद्रालाई निशाना बनाउने र त्यसले गर्दा यहाँ हुण्डी मौलाउने मल्लले बताए।

यसले बाह्य मुलुकसँगको सम्बन्धमा तनाव उत्पन्न गर्ने पनि जानकारहरू बताउँछन्।

यस्ता तस्करीमा लागुऔषधबाट आर्जित रकम लगानी हुने अनि सम्पत्ति शुद्धीकरणजस्ता अपराध फस्टाउने उनीहरू चेतावनी दिन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।