युक्रेनी ड्रोनले ध्वस्त पार्‍यो रुसी सुपरसोनिक बमवर्षक विमान

दुर्घटनाको सार्वजनिक तस्बिर

तस्बिर स्रोत, X (TWITTER)

    • Author, ग्रीम बेकर
    • Role, बीबीसी न्यूज

युक्रेनी ड्रोन आक्रमणमा परी रुसको लामो दूरीको बमवर्षक विमान नष्ट भएको विवरणहरू सार्वजनिक भएका छन्।

सामाजिक सञ्जालमा साझा गरिएको र बीबीसीले विश्लेषण गरेको तस्बिरहरूमा सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी–२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू–२२ विमानमा आगो लागेको देखिएको छ।

मस्कोले आफूले एउटा ड्रोनमा साना हतियारले प्रहार गरेको भए पनि उक्त ड्रोनले विमानलाई क्षति पुर्‍याउन सफल भएको बताएको छ। यसबारे युक्रेनले कुनै प्रतिक्रिया जनाएको छैन।

पछि रुसी हवाई प्रतिरक्षाले मस्को क्षेत्रमा दुई वटा ड्रोन खसालेको मेयर सर्गेई सोब्यानिनले जानकारी दिए।

रक्षा अधिकारीहरूका अनुसार युक्रेनी सीमाको उत्तर–पूर्वमा रहेको ब्रायन्स्क क्षेत्रमा अन्य दुई वटा ड्रोनलाई रोकिएको थियो।

घटनाक्रमका बीच मस्कोका तीन ठूला विमानस्थलमा उडानहरू स्थगित गरिएका थिए। यद्यपि पछि शेरेमेत्येभो र डोमोडेडोभोका दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलहरू पुनः सञ्चालनमा आए।

'हताहत भएको छैन'

ध्वस्त पारिएको रुसी टीयू–२२ बमवर्षक ध्वनिको गतिभन्दा दुई गुना बढी गतिमा उडान गर्न सक्थ्यो। रुसले उक्त विमान युक्रेनका सहरहरूमा आक्रमण गर्न व्यापक रूपमा प्रयोग गर्दै आएको छ।

मस्कोको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, “मस्कोको समयअनुसार शनिवार बिहान १० बजे “कोप्टर टाइप यूएभी”ले आक्रमण गरेको हो।

विज्ञप्तिमा घटना भएको स्थान सोल्टसी–२ अवस्थित “नोभगोरोड क्षेत्रको सैन्य हवाई अखाडा” भएको जनाइएको छ।

“यूएभीबारे हवाई क्षेत्रको निरीक्षण गर्ने निकायले पत्ता लगाएको थियो र त्यसलाई साना हतियार प्रयोग गरेर आक्रमण गरिएको थियो,” मन्त्रालयले उल्लेख गरेको छ।

“एउटा विमान क्षतिग्रस्त भएको छ। उक्त आतङ्कवादी कार्यको परिणामस्वरूप कुनै हताहती भएको छैन।“

हवाई अखाडाको पार्किङ स्थलमा लागेको आगो तत्काल निभाइएको पनि विज्ञप्तिमा लेखिएको छ।

तर सामाजिक सञ्जाल टेलिग्राममा सार्वजनिक गरिएका तस्बिरहरूमा टीयू–२२ को अघिल्लो भागमा भीषण आगलागी भएको देखिएको छ। बीबीसी भेरिफाईले ती तस्बिरहरूको विश्लेषण गरेको छ र ती विश्वसनीय भएको ठानेको छ।

रुसको क्षमतामा कस्तो असर?

एउटा विमान नष्ट हुनुले मस्कोसँग हाल भएका त्यस्ता प्रकृतिका ६० वटा बमवर्षकको शक्तिमा ठूलो प्रभाव पार्दैन। तर यो घटनाले रुसी भूभागका भित्री क्षेत्रहरूमा लक्षित गर्न सक्ने किएभको बढ्दो क्षमता सङ्केत गर्छ।

किएभले हालैका महिनाहरूमा सयौँ किलोमिटर टाढा रहेको मस्कोमा आक्रमण गर्न दर्जनौँ फिक्स्ड-विङ्ग प्रकृतिका उच्च स्थानमा उड्ने मानवरहित विमानहरू प्रक्षेपण गरेको छ। सोल्ट्सी-२ युक्रेनको सीमाबाट करिब ६५० किलोमिटर टाढा छ।

यद्यपि रुसी रक्षा मन्त्रालयले उक्त ड्रोनलाई “कोप्टर टाइप यूएभी” को रूपमा व्याख्या गर्नुले त्यसलाई सस्तो र छोटो दूरीमा प्रक्षेपण गरिने व्यावसायिक रूपमा उपलब्ध उपकरणको सङ्केत गर्छ।

टीयू-२२ शीतयुद्ध कालको सुपरसोनिक बमवर्षक विमान हो जसलाई नेटोले “ब्याकफायर” नाम दिएको छ र यसलाई युक्रेनी सहरहरूमा गरिएको आक्रमणमा व्यापक रूपमा प्रयोग गरिएको छ।

यसको टीयू-२२ एम ३ जस्ता आधुनिक संस्करणहरूले २,३०० किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्न सक्छन् र क्षेप्यास्त्र सहित २४,००० किलोग्रामसम्म हतियारहरू बोक्न सक्छन्।

सिरिया, चेचन्या र जर्जिया तथा पछिल्लो समय युक्रेनमा भएको द्वन्द्वमा यस्ता विमानको प्रयोग हुँदै आएको छ।

तस्बिर विश्लेषणले के देखाउँछ?

किएभका अभियोजकहरूका अनुसार गत ज्यानुअरीमा टीयू–२२ बाट प्रहार गरिएको क्षेप्यास्त्रले निप्रोको एक आवासीय भवनको भागमा लाग्दा ३० जनाको मृत्यु भएको थियो।

रुसको ५२ औँ गार्ड्स बम्बर एभिएसन रेजिमेन्टले उक्त आक्रमण गरेको बताइएको छ। उक्त रेजिमेन्ट सोल्ट्सी-२ मा अवस्थित छ।

बीबीसी भेरिफाईले विमानहरूको उपस्थितिजस्ता दृश्यहरूलाई हवाई अखाडाको पुराना स्याटलाइट तस्बिरसँग तुलना गरेर सोल्ट्सी–२ मा युक्रेनी ड्रोन आक्रमण भएको स्थानको पुष्टि गरेको छ।

आक्रमण हुँदाको मौसमी अवस्था चिसो र बादल लागेको थियो जुन सार्वजनिक तस्बिरहरूमा देखिएको अवस्थासँग मेल खान्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनी पाइलट

दृश्यमा देखिएका विमानका अवशेषहरू टीयू–२२ एम ३ सँग मिल्दोजुल्दो छन्।

बीबीसी भेरिफाईले विश्लेषण गरेको ऐतिहासिक स्याटलाइट तस्बिरले यस प्रकारका विमानहरू आधार शिविरमा तैनाथ रहेको देखाउँछ।

सोमवार युक्रेनको रक्षा गुप्तचर सेवाका प्रवक्ताले रुसको कालुगा क्षेत्रमा ड्रोन आक्रमणमा अर्को सैन्य विमानमा क्षति पुगेको बताएका थिए।

रुसी सञ्चारमाध्यमले पनि आक्रमण भएको जानकारी दिए पनि कुनै क्षति नभएको जनाएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।