तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'युवालाई काम र थप मद्दत खोज्न सहयोग गर्ने' सरकारी एपबारे तपाईँले थाहा पाउनुपर्ने कुरा
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
वैदेशिक र आन्तरिक रोजगारीको समेत खोजी गर्नका लागि युवाहरूलाई सहयोग गर्ने दाबी गर्दै सरकारले सञ्चालनमा ल्याएको 'श्रम संसार' एपमा मङ्गलवारसम्म ५,००० भन्दा बढी नेपालीहरूले रोजगारीको खोजी गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलयले जनाएको छ।
अहिले यो एप एन्ड्रोइड फोनमा उपलब्ध छ भने छिट्टै आईफोनमा पनि डाउनलोड गर्न सकिने बताइएको छ।
गत साता परराष्ट्रमन्त्री आरजु राणा देउवा र श्रममन्त्री शरतसिंह भण्डारीले उक्त एपको उद्घाटन गरेका थिए।
तर त्यसअघि मे १ तारिखमा पर्ने श्रम दिवसकै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त एप उद्घाटन गरेपछि औपचारिक रूपमा सञ्चालनमा आइसकेको बताइएको थियो।
कतिले प्रयोग गरे?
श्रम मन्त्रालयका अनुसार त्यसयता उक्त एपमा अहिलेसम्म ५२४ रोजगारदाता जोडिन आइसकेका छन्।
उक्त एपमा रोजगारीका लागि २६३ विज्ञापन खुलेका र जागिर खान खोज्ने ८०१ मध्ये पाँच जनाले रोजगारी पाइसकेको श्रम मन्त्रालयका सूचना अधिकारी हुमनाथ पराजुलीले बीबीसीलाई जानकारी दिए।
"यो एप नेपालभित्र रहेका र नेपाल बाहिर रोजगारीमा गएका सबै नेपालीका लागि ल्याइएको हो," सूचना अधिकारी पराजुलीले भने।
"यसमार्फत् श्रम गर्नेहरूले विज्ञापनदेखि तालिम र अन्य सेवाहरूसमेत पाउन सक्छन्।"
एपका 'फीचर'हरूमा अझै पनि काम भइरहेको र यसलाई अझै परिष्कृत गरिँदै लगिने अधिकारीहरूले बताएका छन्।
उद्देश्य के हो?
देशभित्रै र विदेशमा रोजगारीमा गएका नेपालीहरूलाई सहज होस् भन्ने हेतुले एप सञ्चालनमा ल्याइएको अधिकारीहरूले बताएका छन्।
श्रम गन्तव्य देशहरूमा रहेका नेपालीहरूको विवरण सङ्कलन गर्ने र आवश्यक पर्दा उनीहरू आफ्नो सम्पर्कमा आउन सून् भन्ने उद्देश्य राखेर 'श्रम संसार' नाम दिइएको एप सञ्चालनमा ल्याइएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए।
"हामीले गर्न खोजेको श्रम बजारको सबै जानकारी त्यहाँ उपलब्ध होओस् र सबै कूटनीतिक नियोगहरूमा डेटा शेअर गरेपछि उहाँहरूले वैदेशिक रोजगारी सूचना व्यवस्थापन प्रणाली (एफइआईएमएस) को डेटा राख्न र हेर्न सकिने वातावरण मिलाउनका लागि यसो गरिएको हो," उनले भने।
"नियोगहरूलाई पनि डेटामा पहुँच भएपछि हामीले जुन नीतिगत निर्णयमा परिवर्तन गर्छौँ, त्यो सबै रहन्छ। त्यसबाहेक अनुगमनको कुरा पनि त्यहाँ रेकर्ड रहन्छ।"
त्यसबाहेक कतिपय बेला नेपालीहरू श्रम गन्तव्य देशमा वैधानिक हुने तर श्रम स्वीकृतिको मिति सकिएका कारण नेपालमा भने अवैध भएको अवस्थामा एपमार्फत् नै उनीहरूलाई श्रम स्वीकृतिको अवसर दिई अवैधताबाट जोगाउने उद्देश्यले पनि काम अगाडि बढाइएको उनले बताए।
यो एपले बृहत् क्षेत्र समेटेको तर अहिले यो विस्तार हुने क्रममै रहेको प्रवक्ता डण्डुराज घिमिरेले बताए।
"श्रम तथा रोजगारीसम्बन्धी सबै प्रणालीका डेटाहरू श्रम संसार एपमा आएर आदानप्रदान हुने भएका कारण यसले सजिलो हुन्छ," उनले भने।
'विशेष परिस्थितिमा सजिलो'
झन्डै तीन साताअघि इजरेल-इरान युद्ध सुरु भएपछि त्यहाँ रोजगारीमा गएका नेपालीहरूको विवरण अनलाइन फर्ममार्फत् माग गरिएको थियो।
त्यस्तो परिस्थितिका लागि पनि सजिलो होस् र नेपालीहरूको अवस्था थाहा होस् भन्ने हेतुले यो एप ल्याइएको अधिकारीहरूले बताएका छन्।
विदेशमा रहेका नेपालीहरूले यो एपमा आफ्नो विवरण दर्ता गराएपछि उनीहरू कहाँ, कुन अवस्थामा र कति सङ्ख्यामा नेपालीहरू रहेका छन् भन्नेबारे सूचना प्राप्त गर्न सकिने र त्यसअनुसार परराष्ट्र र श्रम मन्त्रालयलाई त्यहाँका नेपाली नियोगमार्फत् समन्वयनका लागि सहज हुने बताइएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले 'श्रम संसार' एपमा भरेको विवरणको आधारमा सरकारले आवश्यकताअनुसार सेवा दिन सक्ने बताए।
"कुनै समस्या पर्दा उहाँहरूलाई उद्धार गर्न सकिने कुरा भयो, कुनै ठाउँमा कुनै खास समस्या परे त्यस्तो बेला प्रभावकारी सेवा दिन सकिन्छ भन्ने नै हो," प्रवक्ता क्षेत्रीले भने।
"त्यो एपमा नेपाली दूतावासको पहुँच पनि हुन्छ र आवश्यकताअनुसार भूमिका पनि रहन्छ।"
यो एप विदेशमा रहेका नेपालीहरूका लागि सरकारसँग जोडिने माध्यम भएका कारण उनीहरूले आफ्नो विवरण प्रविष्ट गर्नुपर्ने अधिकारीहरू बताउँछन्।
गत साता परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त एपबारे संसद्मा पनि बोलेकी थिइन्।
उनले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका नेपालीहरू सूचनाकै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासाहरू मन्त्रालयमा आउने गरेकाले अब यो एप सञ्चालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उनीहरूलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताएकी थिइन्।
उनले यो एपले खास गरी श्रम स्वीकृति नलिई श्रम गन्तव्य देश पुगेका तर त्यहाँ कागजातविहीन भएकाहरूलाई सजिलो हुने पनि बताइन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।