एमाले नेताहरूको जिल्ला भ्रमण रोक्ने सिमरा घटनापछि उठेको प्रश्न

बारामा नेकपा एमालेको पूर्वनिर्धारित कार्यक्रममा बाधा पुग्ने गरी स्थानीय युवाहरूको समूहले अवरोध गरेपछि राजनीतिक वृत्तमा उक्त घटनाको चर्को विरोध भएको छ। ठूला दलका नेताहरूका राजनीतिक पार्टीहरूलाई स्थानीय तहमा जान नदिई सरकारले कसरी चुनाव गराउन खोजेको हो भन्दै दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमालेका नेताहरूले प्रश्न पनि गरेका छन्।

एमालेको भ्रातृसङ्गठन युवा सङ्घले आयोजना गर्न लागेको 'मधेश जागरण सभा'लाई सम्बोधन गर्न महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत बुधवार बिहान सिमरा विमानस्थल हुँदै परवानीपुर जान लागेका थिए। तर काठमाण्डूबाट विमान उड्नुभन्दा केही समयअघि मात्रै सिमरामा जेन जी युवा र एमालेका कार्यकर्ताबीच भिडन्त हुन थाल्यो।

त्यसपछि बारा जिल्ला प्रशासन कार्यालयले ठाउँ र समय तोकेर कर्फ्यू आदेश जारी गर्‍यो। दिउँसो १२:३० देखि सुरु भएको बेलुका ८ बजेसम्म जारी रहने छ।

कर्फ्यू लगाइएपछि अहिले अवस्था सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

"बिहान प्रदर्शन गर्ने समूहहरू तितरबितर भइसके," बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले भने, "कर्फ्यू लगाइएसँगै स्थिति शान्त छ।"

काठमाण्डूबाट केन्द्रीय नेताहरू सहभागी हुन नपाए पनि परवानीपुरमा युवा सङ्घको कार्यक्रम भएको छ।

"सानातिना अवरोधले नेकपा एमाले र युवा सङ्घको अभियान रोकिन्न भन्ने यसको स्पष्ट उदाहरण हो," एमाले नेता महेश बस्नेतले फेसबुकमा लेखेका छन्।

कसरी पैदा भयो कर्फ्यूको स्थिति

विमानस्थलजस्तो संवेदनशील स्थाननजिकै तनाव र हिंसा हुने स्थिति उत्पन्न भएपछि कर्फ्यू लगाउनुपरेको प्रशासन कार्यालयले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार बिहान १० बजेतिर करिब १५० जनाजति प्रदर्शनकारीहरू विमानस्थल पुगेका थिए।

"उनीहरूले विमानस्थलको ढोका फुटाउने र विमानस्थल घेराउ गर्ने कोसिस गरेपछि कर्फ्यूको स्थिति पैदा भएको हो," उनले भने, "विमान आएको भए विमानलाई क्षति पुर्‍याउन पनि सक्थे। त्यस कारणले उड्न लागिसकेको विमानलाई उता 'होल्ड' गरियो र यतातिर सुरक्षा व्यवस्थापन गरियो।"

विमानस्थलनजिकै झडप भएपछि "सरकारी सम्पत्ति, पदाधिकारी, सरकारी कार्यालयलगायत निजी सम्पत्ति क्षति हुन नदिन साथै परिस्थिति थप बिग्रिन नदिन" भन्दै कर्फ्यू आदेश भएको थियो।

सिमराका बाँकी उडान अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बिहान ९ बजेतिर पहिलो उडान भएको र विमानस्थल बन्द भएका कारण सिमरा जाने बुधवारका सबै उडान स्थगित भएको बताए।

"दोस्रो उडानको तयारी भइसकेको थियो र जहाज स्टार्ट भइसकेको थियो। तर उताको स्थिति राम्रो नभएपछि उडेन। त्यसमा कोको थिए भन्ने चाहिँ मलाई थाहा भएन।"

एमाले नेता बस्नेतले पनि विमानमा बसिसकेपछि आफूहरूलाई सिमराको स्थितिबारे जानकारी गराइएको बताए।

"बिहान १०:३५ बजेको उडान थियो तर डिले भनेर ११:०५ तिर उडाउन खोज्दै थिए," बस्नेतले भने, "प्रदर्शनका कारण विमानस्थल बन्द भएको भनेर जहाज उडाइएन। प्रदर्शन भएकाले विमानस्थल बन्द भयो, खुलेपछि उडाउँछौँ भने।"

कर्फ्यू आदेश जितपुर सिमरा उपमहानगरपालिकाभित्र गण्डक नहरदेखि पथलैया सडकखण्ड राजमार्गको दायाँबायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटरसम्म कसैले आवतजावत गर्न पनि नपाउने गरी जारी भएको छ।

एमाले नेता के भन्छन्

घटनालगत्तै फेसबुक पोस्टमार्फत् एमाले नेता बस्नेतले "सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यू लगाइएको" भन्दै बुधवार बिहानको घटनाप्रति आपत्ति व्यक्त गरे।

"दलहरूको गतिविधिलाई रोकेर फागुन २१ गते चुनाव गराउँछु भन्नु हास्यास्पद छ," उनले बीबीसीसँग भने।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद तोकिएको प्रसङ्ग उल्लेख गर्दै सो पार्टीका उपमहासचिव विष्णु रिमालले "महासचिवको कार्यक्रम रोक्न" विरोधको प्रायोजन, विमानस्थल बन्द र कर्फ्यू लागु गरिएको दाबी गरेका छन्।

"सरकार! यसै गरी चुनाव गर्ने हो?!" उनको प्रश्न छ।

काङ्ग्रेस नेता के भन्छन्

नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरामा एमालेलाई निषेध गर्न खोजिएको आशयसहित उक्त घटनालाई "दुःखद" को सङ्ज्ञा दिएका छन्। "एकफेरा भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ?" उनले अन्तरिम प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सोधेका छन्।

"सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेन जी कसैको 'समाज भ्रमण अधिकार'विरुद्ध उभिन सक्दैनन्। अतः सिमरा घटना जेन जी भावना होइन, त्यसको दुरुपयोग हो। निषेधको राजनीति कसैले नगरौँ," उनले सामाजिक सञ्जालमा लेखेका छन्।

एमाले चुनावको विपक्षमा रहेको प्रसङ्ग उल्लेख गर्दै शर्माले उक्त दललाई पनि चुनावमा आउन आग्रह गर्नुपर्ने र मधेश प्रदेशको राजनीतिमा एमालले "सही कर्म गरेन" भन्दै त्यसविरुद्ध दबाव दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

मधेश प्रदेशमा एमालेको नेतृत्वमा प्रदेश सरकार गठन गरिएकोमा त्यहाँ अन्य दलहरूले विरोध गर्दै आएका छन्। तात्कालिक प्रदेश प्रमुखले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको विषय निकै विवादित बनेको छ।

एमालेका नेताहरूले जेन जी आन्दोलनविरुद्ध गरेका टिप्पणीहरूतिर इङ्गित गर्दै उनीहरूलाई संयमित भएर बोल्न भन्नुपर्ने उनको सुझाव छ।

"तर आफ्ना कुरा राख्न कहीँ पनि भ्रमण गर्ने संविधानप्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन। त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो।"

प्रदर्शनकारीका अगुवा के भन्छन्

विमानस्थल क्षेत्रमा आयोजित विरोधप्रदर्शनको नेतृत्व गर्नेमध्येका सम्राट उपाध्यायले एमाले नेता बस्नेतका "जेन जी [आन्दोलन]विरोधी अभिव्यक्तिहरूका कारण" आफूहरू आक्रोशित भएको बताए।

आफूहरूले शान्तिपूर्ण कार्यक्रम गर्न खोजेको तर एमालेका कार्यकर्ताहरूले अवरोध गरेको उनको दाबी छ।

"पछि प्रहरीले हाम्रा साथीहरूलाई कुटिसकेपछि उनीहरूले (विमानस्थलको) गेट झारेका हुन् तर भित्र कोही पनि छिरेका थिएनन्।"

पूर्वसूचना

जिल्ला प्रशासन कार्यालयका अनुसार जेन जी समूहले पूर्वअनुमति नलिए पनि उनीहरूले विरोधप्रदर्शन गर्नसक्नेबारे आफूहरू पहिलेदेखि नै जानकारी भएको जनाएको छ।

"उक्त समूहले सामाजिक सञ्जालमा त्यहाँ (विमानस्थल) जानुपर्छ भनेका कुराहरू लगायत हामीलाई जानकारी थियो र मङ्गलवारबाटै नजिकबाट हेरिरहेका थियौँ र सुरक्षा व्यवस्था पनि त्यही हिसाबले गरिराखेका थियौँ। स्थिति हेरेर तत्कालै सुरक्षा समितिको बैठक बसेर कर्फ्यू जारी गरेका हौँ," सहायक प्रजिअ भट्टराईले भने।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले स्थितिलाई नियन्त्रणमा लिने क्रममा भएको धक्कामुक्कीमा केहीलाई सामान्य चोट लागेको हुन सक्ने तर कसैलाई पनि पक्राउ नगरिएको बताए।

"काठमाण्डूबाट नेताहरू जाने र त्यहाँबाट र्‍याली गरेर कार्यक्रमस्थल जाने एमालेको कार्यक्रम थियो। जेन जीहरूले अवरोध गर्ने तयारी गरिराखेका थिए। त्यही विषयमा स्थानीय एमालेका युवाहरूसँग विवाद र सामान्य हातपात भएको हो।"

जेन जी प्रदर्शनकारीहरू विमानस्थलभित्र छिर्न र तोडफोड गर्न खोजेपछि प्रहरीले "सामान्य बल प्रयोग" गर्नु परेको तामाङले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।