इजरेलमा रहेका नेपाली : कोही 'निकै भयभीत' कोही 'डराउनु पर्दैन' भन्दै ढुक्क

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

इरानले इजरेली सहर तेल अभिभसहित कैयौँ क्षेत्रमा गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारपछि उक्त देशमा रहेका कैयौँ नेपालीले यसअघिका लडाइँका तुलनामा आफूहरू "निकै भयभीत भएको" र "अवस्था अझै बिग्रने चिन्ताले सताएको" बीबीसीलाई बताएका छन्।

यद्यपि त्यहाँ कार्यरत कतिपय नेपालीहरूले "अझै पनि इजरेली प्रतिरक्षा प्रणालीप्रति आफूहरू ढुक्क रहेको" बीबीसीलाई बताए।

बीबीसीसँग कुराकानी गरेका आफ्नो नाम उल्लेख गर्न नचाहने कम्तीमा दुईजना नेपालीहरूले चाहिँ "हवाई सेवा उपलब्ध भएमा तत्काल इजरेल छाडेर नेपाल फर्कन चाहेको तर त्यो सम्भव नहुँदा चिन्तित बनेको" बताएका छन्।

केअरगिभर भनिने वृद्ध वृद्धा, बिरामी र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह गर्ने काममा लागि इजरेलमा पाँच हजार भन्दा बढी सङ्ख्यामा नेपालीहरू कार्यरत छन्।

इजरेलस्थित नेपाली राजदूतावासले त्यहाँका नेपालीहरूलाई सुरक्षासम्बन्धी निर्देशनहरू पालन गर्न र आपत्कालीन अवस्थामा सहयोगका लागि दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।

बीबीसीले इजरेलको तेल अभिभ, जेरुसलेम र हाइफामा रहेका नेपालीहरूसँग कुराकानी गरेको छ।

'निकै भयानक अवस्था छ'

प्रभा घिमिरे, जेरुसलेम

म केअरगिभरका रूपमा इजरेल आएको १८ वर्ष भयो। नेपालमा मेरो घर चितवन हो। यहाँ आएपछि धेरै पटक हामीले विभिन्न प्रकारका यस्ता लडाइँ भोगी सक्यौँ।

इजरेलमा सबैभन्दा राम्रो भनेको कुनै पनि खतराको सङ्केत हुनेबित्तिकै हामीलाई मोबाइलमा त्यसको सन्देश आउँछ र अर्लाम बज्छ। साइरन पनि बज्छ अनि हामी बङ्करमा गइहाल्नु पर्छ।

यस्तो कार्य नियमित जस्तै नै हुन्थ्यो। तर यसपालि धेरै नै भयानक अवस्था देखिएको छ।

हुन त जेरुसलेममा खासै ठूलो केही भएको छैन। तर पनि मलाई पहिलेको भन्दा निकै डर लागेको छ।

यहाँ हामी पहिले घरैमा भएको वा छिमेकमा भएको बङ्करमा जान्थ्यौँ तर अस्तिदेखि हामी अलि परको सामुदायिक बङ्करमा जान थालेका छौँ।

यहाँका सर्वसाधारण पनि डराइरहेका छन्। बजारमा सडकमा पनि कुनै चहलपहल भएको छैन।

पहिलेपहिले माथि आकाशमा मिसाइलहरू ध्वस्त पारिन्थे अहिले खसिरहेकाले पनि डर लागिरहेको छ।

तर बङ्करको सुविधा निकै राम्रो छ अनि सामुदायिक बङ्कर भएकाले धेरै मानिसहरू हुन्छन् र त्यहाँ रमाइलो पनि हुन्छ।

गए राति त हामी धेरै थियौँ र सबैजना मिलेर रमाइलो पनि गरियो। तर मलाई इजरेल आययताकै सबैभन्दा धेरै डर लागिरहेको छ।

आशा गरौँ- यो अवस्था चाँडै अन्त्य हुन्छ।

'अहिलेकोजस्तो अवस्था पहिले अनुभव गरेको थिइनँ'

मातृका तिमल्सिना, तेल अभिभ

मेरो घर नेपालमा ललितपुर जिल्ला हो। म यहाँ आएको झन्डै २० वर्ष भयो। मैले हालसम्म यस्तो अवस्थाको अनुभव गरेको थिइनँ।

अहिलेसम्म हामी सुरक्षित छौँ। तर तेल अभिभमा बसिरहेकाले यहाँ भइरहेको हमला प्रत्यक्ष रूपमा देखिरहेको छु।

त्यसले गर्दा अहिलेसम्मको डरलाग्दो अवस्था भन्न सकिन्छ।

बङ्करमा पुग्दासम्म सुरक्षित होइन्छ भन्ने हो तर यसपालिको हेर्दा चाहिँ यहाँका पूर्वाधारहरूले पनि कति थाम्छन् भन्ने हो।

म सन् २००६ को लेबनन युद्ध हुनुभन्दा अघि नै आएको थिएँ। तर त्यस बेलाभन्दा अहिले निकै गम्भीर अवस्था बनेको देखिन्छ।

अहिले तत्काल नेपाल फर्कने अवस्था छैन किनभने एअरपोर्ट सबै बन्द छ। अहिले तत्काल फर्कन चाहनेहरू पनि फर्कन सक्ने अवस्था छैन।

तर म सबै नेपाली समुदायका साथीभाइलाई के अपिल गर्छु भने अहिले सुरक्षित हुने उपाय भनेकै सुरक्षासम्बन्धी निर्देशन पालन गर्नु हो।

"आऽऽऽ साइरन बज्दै गर्छ म यतै बस्छु" भन्ने ठानेर असुरक्षित स्थानमा बस्नु हुँदैन।

'डराइहाल्नु पर्दैन तर सुरक्षित र सचेत रहनुपर्छ'

नितु खतिवडा, तेल अभिभ

म यहाँ केअर गिभरका रूपमा आएको १७ वर्ष भयो। यहाँ पहिलेभन्दा केही खतरा बढेको अवस्था त हो तर धेरै डराउनु पर्ने अवस्था छैन।

यहाँ डराएर पनि समस्याको समाधान हुँदैन। सबैभन्दा राम्रो पक्ष के हो भने इजरेल सरकारले आफ्ना नागरिक र हामीजस्ता बाहिरबाट आएर काम गर्नेलाई पनि एकै खालको व्यवहार गरेको छ।

हामी सुरक्षित हुनका लागि बङ्करहरू बनाइएका छन्। यहाँ समय समयमा साइरन बज्छ अनि अर्लाम पनि बज्छ। त्यसपछि हामी सुरक्षित स्थलमा गइहाल्नु पर्छ।

त्यसो गरियो भने हामीलाई खासै खतरा हुन्न। यहाँ हामीलाई इजरेली परिवारले पनि निकै सहयोग गर्नुहुन्छ।

हामी केअरगिभरका रूपमा आएकाले पनि विशेषगरी वृद्ध वृद्धाहरूको सेवा गर्छौँ र उहाँहरूलाई रातिको समयमा उठाएर बङ्करसम्म लैजान चाहिँ कहिलेकहीँ कठिनाइ हुन्छ।

प्राय: उहाँहरूको छोराछोरीले "असुरक्षित अवस्थामा तिमी जाऊ" भन्नु हुन्छ त्यो भनेको एकदमै उहाँहरूले ख्याल गरेको अवस्था हो।

हामी पनि लामो समयदेखि कुनै परिवारका लागि काम गर्दा गर्दा एउटा छुट्टै खालको भावनात्मक सम्बन्ध विस्तार भएको हुन्छ र परिवारकै सदस्य बनेका हुन्छौँ।

त्यस्तो अवस्थामा बिरामीलाई छाडेर जान सक्दैनौँ। उहाँहरूलाई साथमै लिएर जान्छौँ।

यहाँको सरकारले आफ्ना नागरिक र हामीमा सुरक्षाका लागि कुनै विभेद गरेको छैन अनि इजरेल सरकार धेरै शक्तिशाली भएकाले पनि नेपालीहरूले डराउनु पर्ने अवस्था छैन। तर सुरक्षित स्थानमा बस्नु चाहिँ बुद्धिमानी हुन्छ।

'अहिले डराउनुपर्ने अवस्था छैन'

विश्व खरेल, हाइफा

मेरो घर झापा हो र म सन् २०२२ मा यहाँ केअरगिभरका रूपमा आएको हुँ। अहिले उता (इरान) बाट केके आइरहेका छन्। तर यहाँ राम्रो प्रणाली बनाइएकाले खासै डर लागेको छैन।

पहिले अलि पातलो खालको मात्र हमला हुन्थ्यो र थोरै रकेटहरू आउँथे। त्यस बेला अलर्ट पनि धेरै हुँदैन थियो। तर दुई/तीन दिनदेखि त्यो निकै बढेको छ।

अहिले ज्यानै जानेजस्तो अवस्था छैन। इरानबाट यहाँसम्म आउन १०/१२ मिनेट लाग्छ। त्यसबीचमा हामीलाई सुरक्षित अवस्थामा जाने र बङ्करमा जाने पर्याप्त टाइम हुन्छ।

उताबाट क्षेप्यास्त्र आउन लाग्यो भन्ने सुरुमै म्यासेज आउँछ र हामीले सुरक्षित स्थानमा जाने समय पाउँछौ। त्यसैले डराउनु पर्ने वा आत्तिएर घरै जानुपर्ने अवस्था छैन।

म अहिले नेपालको वृद्धाश्रमजस्तो स्थानमा काम गर्छु। यहाँ वृद्ध वृद्धा र बिरामीका लागि राख्न पनि भवनमा एकातिर निकै बलियो बनाइएको हुन्छ अनि अर्कोतिर ठिकैको हुन्छ।

जब त्यस्तो अवस्था (खतरा) आउँछ हामी बिरामीलाई सुरक्षित स्थानमा लैजान्छौँ र हामी पनि बङ्करमा गएर सुरक्षित हुन्छौँ।

अहिलेको अवस्थामा घरै फर्किनु पर्ने अवस्था आएको छैन। अहिले ज्यानै तलमाथि हुने अवस्था छैन। तर यदि कसैले लापरबाही गर्‍यो भने त भन्न सकिँदैन।

उनीहरूले भनेको सुरक्षा मापदण्ड पूरा गर्ने अनि उनीहरूले भनेको स्थानमा तोकेको समयसम्म बस्दा खसै केही फरक पर्दैन। हामी डराउनु पर्ने अवस्था छैन।

इजरेलस्थित नेपाली राजदूत के भन्छन्?

इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले हालसम्म त्यहाँ रहेका सबै नेपालीहरू सुरक्षित भएको बताएका छन्।

बीबीसीसँग कुरा गर्दै उनले भने, "अहिलेसम्म सबै नेपालीहरू सुरक्षित छौँ र यदि उनीहरू असुरक्षित हुने अवस्था आयो र यहाँबाट उद्धार गर्नुपर्ने अवस्था आयो भने हामी तयार छौँ।"

उनले इजरेली निकायहरूसँग पनि आफूहरू निरन्तर सम्पर्कमा रहेको र नेपालीहरूलाई सुरक्षाका लागि दिइएका निर्देशनहरू पालन गर्न आग्रह गरिएको बताए।

"अधिकांश नेपालीहरूले आफूहरू सुरक्षित रहेकाले नेपाल फर्कन नचाहेको बताएका छन्," उनले भने, "यहाँ पाँच/सात हजार नेपालीहरू रहेको अनुमान छ। उहाँहरू अधिकांश यतै बस्न चाहनुहुन्छ।"

धेरै नेपालीहरू केअरगिभरका रूपमा रहेकाले इजरेली नागरिक असुरक्षित भएको अवस्थामा मात्र उनीहरू पनि असुरक्षित हुने पण्डितको भनाइ छ।

पण्डितले भने, "अहिले आत्तिनु पर्ने अवस्था छैन र दूतावासले नेपालीलाई असुरक्षित महसुस गरेमा आवश्यक सहयोग पनि गर्नेछ। त्यसका लागि सम्पर्क गर्न हामीले भनेका छौँ र काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयमा पनि हामी निरन्तर सम्पर्क र समन्वयमा छौँ।"

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको पनि मृत्यु भएको थियो भने हमासले बन्धक बनाएका भनिएका विपिन जोशीको अवस्था हालसम्म अज्ञात छ।

ती विद्यार्थीहरू काम गर्दै सिक्ने योजनाअन्तर्गत इजरेल गएका थिए। उक्त कार्यक्रम नेपाल र इजरेल सरकारबीच भएको सम्झौताअन्तर्गत पर्छ।

उक्त घटनापछि इजरेलमा तनाव बढेका बेलामा उक्त देशमा रहेका नेपाली नागरिकका आफन्तहरू निकै चिन्तित हुने गरेका छन्।

'दिउँसै साइरन बज्यो, बङ्करमा बस्नु पर्‍यो'

यसैबीच कृषि र सहकारी क्षेत्रको अध्ययन भ्रमण गराउनका लागि भनेर इजरेली विदेश मन्त्रालयको निम्तोमा उक्त देशको सेफायम पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले त्यहाँ आफूले अनौठो अनुभव गरेको बताएका छन्।

आइतवार बीबीसीसँग टेलिफोनमा कुराकानी गर्दै उनले भने, "म मरुभूमिमा खेति कसरी गरिन्छ भनेर हेर्न आएको थिएँ तर यस्तो परिस्थिति बनेर अहिलेसम्म हेर्न पाइएन।"

"म अहिले पनि बङ्करमा नै छु। यहाँ विभिन्न देशका अन्य प्रतिनिधिहरू पनि सँगै हुनुहुन्छ। म राजदूतज्यू र नेपालमा परराष्ट्रमन्त्रीज्यूसँग पनि निरन्तर सम्पर्कमा छु। अहिलेसम्म सुरक्षित छु।"

आफू १५/१६ जना अन्य देशका प्रतिनिधिसहित उक्त स्थानमा रहेको र अघिल्लो सोमवार त्यहाँ पुगेको उनले बताए।

उनले भने, "अहिले म एउटा सहकारीको भवनको होटलमा बसेको छु र साइरन बजेपछि यसैको बङ्करमा पस्नुपर्छ। यो मेरा लागि निकै अनौठो अनुभव भयो।"

"यस्तो मैले कहिल्यै अनुभव गरेको थिइनँ। मिसाइल हानेको र त्यसलाई इन्टरसेप्ट गरेको पनि देखियो। यो मेरा लागि निकै अनौठो कुरा हो।"

"हिजो अस्तिसम्म राति मात्र साइरन बज्थ्यो आज (आइतवार) चाहिँ दिउँसो पनि साइरन बजेर बङ्करमा पस्नु परेको छ। यहाँ साइरन बजेपछि डेढ मिनेटभित्र बङ्करमा पुग्नुपर्ने रहेछ अनि त्यसको १० मिनेटपछि निस्कन पाइने रहेछ।"

उनले आफूले त्यहाँस्थित नेपालीहरूसँग कुराकानी गर्न नपाएकाले अन्यको अवस्था के छ भन्ने थाहा नभएको बताए।

उनले आफूलाई अब 'हवाई सेवा सुरु भएपछि मात्र फर्कन पाउने हो वा के हुने हो' भन्ने थाहा नभएको बताए।

यद्यपि इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितसँग स्थलमार्गबाट जोर्डन गएर नेपाल फर्कन सकिने विकल्पबारे पनि कुराकानी भइरहेको उनले बताए।

विराटनगरबाट विक्रम निरौलाको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।