इरानको शासनसत्ता फेर्ने हुनसक्छ इजरेलको अन्तिम दाउ

    • Author, अमीर अजिमी
    • Role, सम्पादक, बीबीसी पर्सिअन

इरानको परमाणु क्षमताबाट अस्तित्वकै औँल्याउँदै त्यसलाई नष्ट गर्ने इजरेलको घोषित लक्ष्य पछाडी तेहरानमा शासन सत्ता परिवर्तन गर्ने बेन्जमिन नेतन्याहूको फराकिलो दाउ छ।

यस परिदृश्यमा ती अभूतपूर्व हमलाहरूले इस्लामिक गणतन्त्रलाई ध्वस्त पार्ने गरी अशान्ति निम्त्याउने शृङ्खलाबद्ध प्रतिक्रिया सुरु गर्ने उनी ठान्न सक्छन्।

शुक्रवार साँझ उनले एक विज्ञप्तिमा भने: "इरानी जनताले दुष्ट र दमनकारी शासनबाट आफ्नो स्वतन्त्रताको लागि खडा भएर यसको झण्डा र यसको ऐतिहासिक विरासत वरिपरि एकताबद्ध हुने समय आएको छ।"

धेरै इरानीहरू अर्थतन्त्रको अवस्था, अभिव्यक्ति स्वतन्त्रताको अभाव, महिला अधिकार र अल्पसङ्ख्यक अधिकारबाट असन्तुष्ट छन्।

वास्तविक खतरा

इजरेली हमलाले इरानी नेतृत्वलाई वास्तविक खतरा खडा गरिरहेको छ।

ती हमलामा परेर इस्लामिक रेभलुशन गार्ड कोर (आईआरजीसी)का कमाण्डर, सेना प्रमुख र अन्य कैयौँ वरिष्ठ आईआरजीसी प्रमुखहरू मारिएका छन्। र इजरेली हमला अझै सकिएको छैन।

इरानले शुक्रवार दिउँसो बदला लिने क्रममा "दर्जनौँ निशाना, सैन्य अखडा र हवाई अड्डा"मा आक्रमण गरेको आईआरजीसीले जनाएको छ।

घटनाक्रम द्रुत गतिमा बढिरहँदा इरानको जबाफी मिसाइल आक्रमणपछि नेतान्याहूले "अझै धेरै" हमला हुँदै गरेको चेतावनी दिएका छन्।

इरानका अन्य धेरै नेताहरू निशानामा पर्न सक्छन्।

इजरेलको आक्रमण र हत्याले शासन सत्तालाई अस्थिर पार्न सक्ने जनविद्रोहका लागि बाटो खोल्न सक्ने मूल्याङ्कन गर्न सक्छ।

इजरेली जुवा

कम्तीमा नेतन्याहूले यही आशा गर्छन्। तर यो एउटा ठूलो जुवा हो।

यस्तो शृङ्खलाबद्ध प्रतिक्रिया पहिलो चरणमै सुरु हुनेछ भन्ने कुनै सङ्केत छैन। तर यदि त्यो सुरु भयो भने पनि यस्तो प्रक्रियाले कहाँ पुर्‍याउन सक्छ भन्ने कुरा स्पष्ट छैन।

इरानमा सेना र अर्थतन्त्रलाई नियन्त्रण गर्ने मानिसहरू नै सबैभन्दा शक्तिशाली छन्। तीमध्ये धेरैजसो आईआरजीसी र केही अन्य निर्वाचित नहुने निकायमा रहेका कट्टरपन्थीहरूको हातमा छ।

उनीहरू पहिले नै सत्तामा रहेकाले तिनलाई विद्रोह आवश्यक छैन र उनीहरूले इरानलाई अझ द्वन्द्वात्मक दिशामा लैजान सक्छन्।

अर्को सम्भावित परिणाम भनेको इरानमा अराजकता सिर्जना भएसँगै शासन सत्ता पतन हुनु हो।

झन्डै नौ करोड जनसङ्ख्या भएको देशमा हुने घटनाहरूको प्रभाव मध्यपूर्वभर पर्नेछ।

इजरेलले चाहेको परिणाम एक विद्रोह जस्तो देखिन्छ जुन ऊ अनुकूलको शक्तिले कब्जा गरेपछि समाप्त होस्।

तर त्यस्तो विकल्प को हुन सक्छ भन्ने प्रश्न अहम् छ।

कस्ता विकल्प?

हालैका वर्षमा इरानी विपक्षी शक्तिहरू अत्यधिक रूपमा फुटको अवस्थामा छन् र यहाँ कुनै प्रस्ट विकल्पहरू छैनन्।

सन् २०२२ मा भएको "महिला जीवन स्वतन्त्रता" आन्दोलन भनेर चिनिने आन्दोलनका क्रममा इरानको अधिकांश भाग आँधीबेहरी जस्तै अवस्था बन्यो। त्यसबेला केही विपक्षीहरूले इस्लामिक गणतन्त्र विरोधी समूह र कार्यकर्ताहरूको विस्तारित गठबन्धन बनाउने प्रयास गरे।

यद्यपि गठबन्धनको नेतृत्व कसले गर्छ र मौजुदा व्यवस्था ध्वस्त पारेपछि शासनको आकार कस्तो हुनेछ भन्ने बारेमा उनीहरूमा रहेको मतभिन्नताका कारण त्यो लामो समय टिकेन।

इजरेलका नेताहरूले यीमध्ये केही समूह वा व्यक्तित्वहरूलाई उपयुक्त विकल्पको रूपमा देख्न सक्छन्।

जस्तो, इरानका पूर्वयुवराज रेजा पहलवी। उनका बुवा इरानका पूर्व राजा थिए। सन् १९७९ को इस्लामिक विद्रोहबाट उनी अपदस्थ भएका थिए।

उनी हाल निर्वासनमा छन् र आफ्नो उद्देश्यलाई साथ दिन विदेशी शक्तिहरूलाई सक्रिय रूपमा प्रभाव पार्ने प्रयास गरिरहेका छन्।

उनले हालैका वर्षमा इजरेलको भ्रमण समेत गरेका थिए। केही इरानीहरूमाझ उनी लोकप्रिय रहे तापनि त्यो चाँडै शासन परिवर्तनको लागि शक्तिमा परिणत हुन सक्छ वा सक्दैन भन्ने अझै प्रस्ट छैन।

त्यहाँ एक निर्वासित विपक्षी समूह मुजाहिद्दिन-ए खाल्क (एमईके) पनि छ। यो इस्लामिक गणतन्त्रको पतनपक्षधर भए तापनि राजतन्त्रको विरुद्धमा छ।

वामपन्थी मुस्लिम समूहको रूपमा स्थापित यसले पहिले पनि यहाँका 'शाह'को कडा विरोध गरेको थियो।

क्रान्तिपछि एमईके इराक पुग्यो र सन् १९८० को दशकको सुरुमा इरानविरुद्धको युद्धको क्रममा सद्दाम हुसेनसँग सामेल भयो।

यसकारण उनीहरू धेरै इरानीहरूमाझ अलोकप्रिय बने। यो समूह अझै पनि सक्रिय छ र यसको सञ्जाल अमेरिकासम्म छ। त्यहाँ उनीहरू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कित्तानजिक छन्।

यद्यपि यसको प्रभाव ट्रम्पको पहिलो कार्यकालको तुलनामा ह्वाइटहाउसमा कम देखिन्छ। त्यसबेला माइक पोम्पेओ, जोन बोल्टन र रुडी जुलियानी लगायतका वरिष्ठ अमेरिकी अधिकारीहरू एमईकेका भेलाहरूमा देखा परेर उनीहरूको समर्थनमा भाषण गरेका थिए।

इरानमा धर्मनिरपेक्ष लोकतन्त्र स्थापना गर्न चाहनेहरूदेखि संसदीय राजतन्त्र खोज्नेहरूसम्म अन्य राजनीतिक शक्तिहरू पनि छन्।

शुक्रवारका आक्रमणको अहिल्यै पूर्ण विश्लेषण गर्नु हतार हुन सक्छ। तर गत वर्ष इरान र इजरेलबीच भएका दोहोरो हमलाका समयमा इरानीहरूले ती परिस्थितिहरूलाई शासन ढाल्ने अवसरको रूपमा हेरेको कुनै बलियो सङ्केत देखिएको थिएन।

इरानी सत्ता के चाहन्छ?

हामीले अब इरानको अन्तिम लक्ष्य के हो भनेर पनि सोध्नु पर्छ।

इजरेलमा धेरै निशानाहरूमा लक्षित गरे तापनि इरानसँग उत्तम विकल्प नभएजस्तो देखिन्छ।

कतिपयले अमेरिकासँग वार्तामा संलग्न रहनु र त्यहाँबाट तनाव कम गर्ने लक्ष्य राख्नु सबैभन्दा सुरक्षित बाटो हुने देख्न सक्छन्।

तर ट्रम्पले माग गरेझैँ वार्तामा फर्कनु इरानका नेताहरूको लागि कठिन विकल्प हो। यसको अर्थ उनीहरूले हार स्वीकार गरेको मानिनेछ।

अर्को विकल्प इजरेलविरुद्ध प्रतिशोधात्मक आक्रमणहरू जारी राख्नु हो जुन उनीहरूको सबैभन्दा उपयुक्त विकल्पजस्तो देखिन्छ।

यो इरानी नेताहरूले आफ्ना समर्थकहरूलाई वाचा गरेको कुरा पनि हो। तर आक्रमणहरू जारी रहँदा समेत यसले थप इजरेरी हमलाहरू निम्त्याउन सक्छ। तेहरानले विगतमा अमेरिकी सैन्य अड्डा, दूतावास र त्यस क्षेत्रमा उसका स्वार्थ रहेका ठाउँहरूलाई लक्षित गर्ने धम्की दिने गर्थ्यो।

तर यो सहजै हासिल हुने कुरा होइन। अमेरिकामाथि आक्रमण भए परिस्थिति सिधै मुठभेडमा पुग्छ जुन इरानले कमै चाहेको कुरा हो।

यीमध्ये कुनै पनि विकल्प दुवै पक्षका लागि सहज छैनन् र त्यसको परिणाम भविष्यवाणी गर्न कठिन छ।

यहाँ के परिवर्तनहरू भएका छन् भन्ने बुझ्न परिस्थिति शान्त हुँदासम्म पर्खनुको विकल्प छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।