ग्रीस डुङ्गा दुर्घटना: सुखद समाचारको प्रतीक्षामा ६०० भन्दा बढी यात्रुका आफन्तहरू

तस्बिर स्रोत, Shaheen Sheikh Ali
- Author, लिना शेखुनी, फर्नान्डो डुआर्टे र कवून खामूश
- Role, बीबीसी वर्ल्ड सर्भिस
एक पारिवारिक ह्वाट्सएप समूहमा चिन्ताजनक संवाद देखेपछि शाहिन शेख अलीले केही नराम्रो भएको थाहा पाए।
ग्रीसको तटबाट ८० किलोमिटर टाढा भूमध्यसागरमा एउटा माछा मार्ने डुङ्गा डुबेको थियो। त्यसमा उनका चार जना आफन्त रहेको आशङ्का गरिएको छ। उनीहरू सबै पुरुष थिए र ३० वर्षभन्दा कम उमेर समूहका थिए।
"मानिसहरू सुखद समाचार पर्खिरहेका छन्," उनले बीबीसीसँग भने। तर उनीहरू सबै जना अति त्रसित छन्।
एकतीस वर्षीय अली हाल जर्मनीमा छन्, तर उनी सिरियाली हुन्। उनी कोबेन सहरको बहुसङ्ख्यक कुर्दिश समुदायबाट आएका हुन्। उनले दुर्घटनाग्रस्त डुङ्गामा भएको विश्वास गरिएका १२ जनालाई चिन्छन्।

तस्बिर स्रोत, Shaheen Sheikh Ali
पछिल्ला वर्षहरूमा आप्रवासीहरूले भोगेको वियोगमध्ये यसलाई सबैभन्दा त्रासदीपूर्ण ठानिएको छ। घटनामा करिब ८० जनाले ज्यान गुमाए र कम्तीमा १०० जनाको उद्धार गरिएको छ। तर त्यस डुङ्गामा एक सय बालबालिकासहित ७५० जना सवार हुन सक्ने अनुमान गरिएको छ।
“हामीले धेरै दिनदेखि उनीहरूबारे कुनै खबर पाएका थिएनौँ र उनीहरू साँच्चै डुङ्गामा थिए वा थिएनन् भन्ने पनि थाहा थिएन,” अलीले भने। उनका अनुसार त्यसरी हिँडेको समूह र सिरियामा रहेका आफन्तहरूबीच लगभग एक साताअघि पछिल्लो पटक सम्पर्क भएको थियो।
जुनको १४ तारिखदेखि उनी र उनको परिवारले ती आफन्त जीवित छन् वा छैन भन्नेबारे आपसमा बाझिने खबरहरू पाएका छन्।
"यस्ता घटनाहरूमा, कोही जीवित छन् वा मरिसके भनेर निश्चित रूपमा थाहा पाउन सकिँदैन। केवल एक शब्दले सम्पूर्ण परिवारको मनोबल कमजोर पार्न सक्छ," उनले भने।
ब्रिटिश-पाकिस्तानी पत्रकार राजा फर्याद खानका लागि उनका २२ वर्षीय भतिज अदनान बशीर जिउँदै उद्धार भएकामध्ये एक भएको कुरा खुसीको खबर थियो।

तर पाकिस्तान प्रशासित कश्मीरस्थित उनको गाउँका १६ जनासम्म त्यस डुङ्गामा सवार हुन सक्छन् भन्ने कुराले उनलाई राहत दिलाउन सकेन।
खान आफ्ना भतिजलाई भेट्न यूकेबाट ग्रीसको बन्दरगाह सहर कालामाटासम्म पुगे। सुरक्षाकर्मीले उनलाई केही क्षण मात्रै भतिजसँग भेट्न दिए।
"(मेरो भतिजका अनुसार) डुङ्गा हल्लिरहेको थियो। यो एकतर्फ कोल्टियो र त्यसपछि डुङ्गा समुद्रमा डुब्यो," खानले सुनाए।
लिबियासँगको सम्बन्ध
आफ्ना आफन्तले तय गरेको यात्राबारे जर्मनीमा बसी बताइरेका अली अनिश्चितताको पीडामा बाँचिरहेका छन्।
सिरियाबाट तस्करी गरेर लेबनान पुर्याइएका उनीहरू त्यसपछि लिबिया पुगेका थिए। त्यहाँबाट भूमध्यसागर पार गरेर इटाली पुग्ने पर्खाइमा ४० दिन बिताएका थिए।
अलीका अनुसार उक्त समूहले तस्करहरूलाई कम्तीमा ५,००० अमेरिकी डलर तिरेको थियो। तर पैसाले उनीहरूलाई तस्करहरूको दुर्व्यवहारबाट जोगाउन सकेन।
"तस्करले उनीहरूलाई विमानस्थलबाट लिएर हिँडे र जहाँ सक्छन् त्यहीँ छोडेर हिँडे,” उनले भने।
उनका अनुसार ती आफन्तलाई फर्निचर नभएको 'कङ्क्रिटको भवन'मा राखिएको थियो र साह्रो भुईँमा ओच्छ्याइएको कम्बलमा सुत्नुपरेको थियो।


अन्तिम पटक उनले जुन महिनाको सुरुवातमा समूहमा रहेका आफन्तसँग कुरा गरेका थिए। त्यति बेला केहीले निकट भविष्यमा नै सीमा पार गर्न सकिने बताएका थिए।
"उनीहरूले मलाई गर्मी चर्किएको र समुद्र शान्त रहेका कारण त्यस ठाउँ चाँडै छोड्ने बताएका थिए," अलीले सम्झिए।
उनका आफन्तहरूले पठाएका तस्बिरहरूले खतराको सङ्केत गरेका थिए। "मैले उनीहरूका आँखामा उदासी देखेँ, तर यो थकान पनि हुन सक्थ्यो।"
सन् २०१६ मा सिरियाको युद्धबाट उम्कनका लागि उनी स्वयंले आफ्नो ज्यान जोखिममा पारेको अनुभवले उनको पीडा थप गम्भीर भएको थियो।
तर त्यति बेला आप्रवासीका लागि प्रशस्त मार्गहरू उपलब्ध भएका कारण आफूहरूलाई युरोप पुग्न निकै सजिलो भएको उनले बताए।
अलीले ग्रीससम्म पुग्न साना डुङ्गामा यात्रामा गर्नुअघि टर्कीको सीमा पार गरेका थिए।
"मैले ग्रीस पुग्नका लागि सानो आकारको डुङ्गा चढेँ, तर त्यो यात्रा जम्मा चार किलोमिटरको थियो," उनले भने। "अघि बढेपछि हामीले केही ग्रीक टापुहरूमा बत्तीको उज्यालो देखेका थियौँ।"

तस्बिर स्रोत, Getty Images
लिबियादेखि इटालीसम्मको दूरी कम्तीमा ७२५ किलोमिटर छ। अलीले विगतमा आफूले गरेको यात्रा र अहिले आफन्तहरूको यात्राबीच एक भिन्नता औँल्याए- उनी सवार डुङ्गामा सबै यात्रुहरूले लाइफ ज्याकेट लगाएका थिए। तर ग्रीकका तटरक्षकले दुर्घटनाग्रस्त माछा मार्न प्रयोग हुने डुङ्गामा सवार कसैले पनि त्यस्तो पहिरन लगाएको नदेखेको जनाएको छ।
अलीले ती आफन्तको ठाउँमा आफैँलाई राखेर त्यस डुङ्गामा चढ्नुअघि "के सोचिरहेका हुन सक्थे" भन्ने कल्पना गर्न सक्छन्।
"अगाडि के हुन्छ कसैलाई थाहा हुँदैन। कोही मर्न सक्छ वा कोही डुङ्गाबाट खस्न सक्छ भन्ने चिन्ता हुन्छ," उनले भने। "मैले जति प्रयास गरे पनि यो त्रासदी कस्तो महसुस हुन्छ भनेर व्याख्या गर्न सक्दिनँ।“


अली तस्करहरूले गरेको व्यवहारप्रति आक्रोशित थिए र उनीहरूले "मानिसहरूलाई मासुसरह व्यवहार" गरेको आरोप लगाए।
"मलाई लाग्छ ती तस्करहरूले डुङ्गामा कति जनालाई राखेका छन् भनेर समेत गणना गरेका थिएनन्। उनीहरूले परिणामको वास्ता हुँदैन।"
त्यसपछि उनले वास्तविकता बुझ्न र ऐक्यबद्धता जनाउन आग्रह गरे।
"मानिसहरूलाई सुरक्षित मार्ग चाहिन्छ। युरोपेली राज्य वा अन्य कुनै, कसैले पनि आप्रवासन रोक्ने छैनन्," उनले भने।
"मेरा आफन्तजनले युरोपमा काम गर्न आउने र परिवारको जीविकोपार्जन गर्ने सपना मात्र देखिरहेका थिए।"




