मलेशिया पुर्याएर ‘कामविहीन’ बनाइएका सयौँ नेपालीको उद्धारका लागि के गर्दैछ सरकार?

तस्बिर स्रोत, Ramesh Pajjiyar
मलेशिया पुर्याएर रोजगारदाताले काम नदिइकन न्यूनतम अत्यावश्यक सुविधासमेत नभएको आवासमा राखिएका सयौँ नेपाली कामदारको “उद्धार वा रोजगार पुनर्स्थापना”का लागि पहल थालिएको अधिकारीहरूले बताएका छन्।
नेपालको परराष्ट्र मन्त्रालयकी प्रवक्ता एवं क्वालालम्पुरस्थित नेपाली दूतावासका अधिकारीकाअनुसार मलेशियाली निकायसँगको समन्वयमा त्यस्तो कार्य थालिएको हो।
मलेशियामा आप्रवासी कामदारको हकहितका लागि काम गर्ने एउटा गैरसरकारी संस्थाको पहलमा ‘दयनीय अवस्था’मा नेपाली र बाङ्ग्लादेशी कामदारलाई राख्ने कम्पनीविरुद्ध त्यहाँको श्रम विभागमा उजुरी समेत दिइएको विवरण प्राप्त भएको छ।
दुई महिनाअघि देखि अलपत्र अवस्थामा रहेका नेपाली श्रमिकहरूले चाहिँ रोजगारदाताले आफूहरूलाई “मलेशियामै रोजगारीको व्यवस्था गर्नुपर्ने वा क्षतिपूर्ति सहित नेपाल फर्किने वातावरण मिलाउनुपर्ने” बताएका छन्।
घटना के हो?
मलेशिया पुगेर काम नपाएका कामदार तथा उनीहरूको उद्धार तथा पुनर्स्थापनाको पहलमा जुटेकाहरूका भनाइमा नेपालबाट मलेशियाको एउटा कम्पनीले ठूलो सङ्ख्यामा कामदारहरू लगेको थियो।
उक्त कम्पनीले नेपालका तीन/चारवटा म्यानपावर कम्पनीमार्फत कामदार त्यहाँ पुर्याएको विवरण सार्वजनिक भएको छ।
त्यो कम्पनीले बाङ्ग्लादेशबाट पनि ठूलो मात्रामा कामदारहरूले लगेको थियो।
तर ती कामदारहरूलाई न्यूनतम सुविधासमेत नदिइएको र दुई महिनादेखि काम समेत नदिइएको अवस्था रहेको बताइएको छ।
“हामी कामदारहरू बसेको स्थानमा पुग्दा त्यहाँ न्यूनतम सुविधा समेत थिएन। कामदारहरूलाई खानका लागि खाद्यान्न त थिएन नै उनीहरूसँग किन्ने पैसा पनि थिएन,” मलेशियामा आप्रवासी कामदारको हकहितबारे पैरवी गर्ने एउटा संस्था नर्थ-साउथ इनिसिएटिभमा जोडिएका एक नेपाली रमेशकुमार पजियारले बीबीसीसँग भने।
“नेपाल र बाङ्ग्लादेशबाट आएका ठूलो सङ्ख्यामा कामदारहरूलाई न्यूनतम सुविधा र रोजगारी नदिइकन अमानवीय हिसाबले राखेको जानकारी आएपछि हामी त्यहाँ पुगेका थियौँ।”
उनका अनुसार त्यसबारे मलेशियास्थित नेपाली दूतावाससहित त्यहाँको श्रम विभाग र मानव संशाधन मन्त्रालयलाई समेत जानकारी गराएर आवश्यक कारबाहीका लागि आग्रह गरिएको छ।
मलेशियाको श्रम विभाग र मानव संशाधन मन्त्रालयले “न्यूनतम मापदण्ड पूरा नगरी आवासमा राख्ने र रोजगारी नदिइ अलपत्र पार्ने कार्य उपयुक्त नभएको” भन्दै उक्त कम्पनीलाई कारबाही गर्ने जनाएको उनले बताए।
उजुरीपछि मलेशियाको श्रम विभाग अन्तर्गतको एउटा निकायले नेपाली र बाङ्ग्लादेशी कामदारहरूलाई पुरानो आवासबाट अर्को सुरक्षित आवास भवनमा सारेको क्वालालम्पुरस्थित नेपाली दूतावासका श्रम सहचारी दिलिप खड्काले बीबीसीलाई बताए।
उनले मङ्गलवार हाल नेपाली कामदारहरू राखिएको आवास भवनको निरीक्षण समेत गरेका थिए।

तस्बिर स्रोत, Ramesh Pajiyar
कति छन् अलपत्र कामदार?
क्वालालम्पुरस्थित नेपाली दूतावासका अधिकारीका अनुसार उक्त रोजगारदाता भनिएको कम्पनीले करिब एक हजार जना विदेशी कामदार ल्याउने कोटा पाएको थियो।
त्यसमध्ये करिब साढे पाँच सय जति नेपालबाट लैजानका लागि उसले मागपत्र प्रमाणीकरण गराएको थियो।
त्यसमध्ये हालसम्म २७८ जना नेपाली उक्त कम्पनीमार्फत काम गर्न मलेशिया पुगिसकेको प्रारम्भिक विवरण प्राप्त भएको श्रम सहचारी खड्काले बताए।
“उनीहरूलाई अहिले नयाँ होस्टेलमा सारिएको छ, यहाँको श्रम विभाग अन्तर्गतको एउटा निकायले त्यसका लागि पहल गरेको हो,” उनले भने।
“होस्टलमा अहिले कुल २७८ जना रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ त्यसलाई थप पुष्टि गर्न बाँकी छ। त्यसमध्ये नेपाली कामदारले दिएको जानकारी अनुसार ४३ जना बाहेक अरु कामविहीन छन्।”
उक्त आवासमा बाङ्ग्लादेशी कामदारहरूलाई पनि राखिएको छ।
“अहिले राखिएको होस्टलको अवस्था हेर्दा ठिकै देखिन्छ,” उनले भने।



तस्बिर स्रोत, Reuters
उद्धार र पुनर्स्थापनाको पहल
उक्त आवासमा रहेका धादिङ घर भएका एकजना नेपाली कामदारले दुई महिनादेखि कामविहीन बनेको र पैसा नभएर खानेकुराको समेत अभाव भएको अवस्था रहेको बताए।
“हाम्रो अवस्था एकदमै ठिक छैन। गाउँमा ऋण गरेर आएका हामी सकेसम्म यहाँ काम पाए यतै बस्ने हो। त्यो भएन भने पनि क्षतिपूर्तिसहित हामीलाई फिर्ता गर्ने व्यवस्था होस्,” उनले भने।
श्रम सहचारी खड्काले दिएको जानकारी अनुसार न्यूनतम पूर्वाधार नपुगेको आवासमा राखेको विषयमा रोजगारदातालाई त्यहाँको श्रम विभागले कारबाही गर्ने लगभग तय जस्तै देखिएको छ।
“कामदारका हकमा पनि सुरुमा यहाँको श्रम विभागले त्यो कम्पनीसँग छलफल गरेर रोजगारीको बन्दोबस्त गर्ने पहल गर्छ। त्यसरी रोजगारी भएन भने हामीसँग समन्वय गरेर सबैलाई नेपाल पठाउने व्यवस्था गर्ने कुरा भएको छ,” उनले भने।
अधिकांश कामदारहरूले ऋण गरेर आएकाले सकेसम्म मलेशियामै उक्त कम्पनीमा नभए अन्यत्र भए पनि काम पाउन पाए हुन्थ्यो भन्ने बताएका छन्।
तर त्यसो हुन नसकेमा उनीहरूलाई स्वदेश फर्काइनेछ।
पराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, “त्यस विषयमा हामी जानकार छौँ। हामीले दूतावासलाई आवश्यक पर्ने सबैखाले पहल गर्न निर्देशन समेत दिइसकेका छौँ।”


म्यानपावरका सञ्चालकको मृत्यु
मलेशियास्थित रोजगारदाताले दुई महिनादेखि कामदारलाई काम नलगाइ न्यूनतम मापदण्ड समेत पूरा नगरेको अवस्थामा राखेको गुनासो सम्बोधन गर्ने भन्दै त्यहाँ पुगेका एकजना म्यानपावर सञ्चालक मृत भेटिएको अधिकारीले बताएका छन्।
उनी पनि नेपाली कामदारहरू राखिएको आवासमै कामदारसँगै बसेका थिए।
तर सोलुखुम्बु ठेगाना भएका ४७ वर्षे रिन्जी राई चैत २४ गते आवासको एउटा कोठाको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका बताइएको छ।
“उनको मृत्युको कारण झुन्डिएर नै भएको प्रहरीले बताएको छ। पोस्टमोर्टमपछि आवश्यक प्रक्रिया पूरा गरेर उनको शव नेपाल फर्काइने पहल भइहरेको छ,” खड्काले भने।
परराष्ट्रकी प्रवक्ता लम्सालले पनि शव ल्याउनका लागि मन्त्रालय र दूतावासले आवश्यक पहल गरिरहेको जानकारी दिइन्।








