कोरोना भाइरस मलेशिया: प्रकोपबीच कोही नेपाली बेरोजगार, कोही जोखिम मोलेरै काम गर्दै

क्वालालम्पुर
    • Author, रामचन्द्र गिरी
    • Role, बीबीसी न्यूज नेपालीका लागि

कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण काम गर्दै आएको रेष्टुराँ बन्द गरिएपछि गोरखाका राजन गिरी होस्टलमा बसेको डेढ महिना भइसक्यो।

कोरोनाभाइरसको कहर कहिले सकिएला र काम गर्न पाइएला भन्ने आशामा उनको दिन बितिरहेको छ।

गिरी भन्छन्, "कोरोनाभाइरस साम्य भएपछि खुला गर्ने भनेका छन्। होस्टलमा बस्दा दिक्क लागिसक्यो । न घर जान पाइन्छ, न काम गर्न।"

तर मलेशियाकै एक आवासीय क्षेत्रमा सुरक्षा गार्डको काम गर्ने तनहुँका मोहन अधिकारीलाई भने भ्याई-नभ्याई छ।

मलेशियाले कोरोनाभाइरसको सङ्क्रमण रोक्न मार्च १८ देखि आवागमन नियन्त्रण गरिरहेको छ जसका कारण कैयौँ नेपालीहरूको रोजगारी अन्योलमा परेको छ।

काममा नियमित गइरहेका तनहुँका अधिकारीसहित अन्य नेपालीलाई भने कोरोनाभाइरस सङ्क्रमणको डर छ ।

अधिकारी भन्छन्, "दैनिक धेरै मानिसहरूको ओहोरदोहोर हुन्छ। भित्र आउनेको तापक्रम जाच्ने काम समेत मैले नै गर्नुपर्छ।"

"एउटा मास्क र एक जोर पञ्जाको भरमा काम गर्नुपर्दा सङ्क्रमण हुने पो हो कि भन्ने निकै डर लागिरहेको छ।"

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

तीन लाख नेपाली

मलेशियास्थित नेपाली दूतावासका अनुसार त्यहाँ तीन लाख २५ हजार नेपाली वैदेशिक रोजगारीमा छन्।

आवागमन नियन्त्रण गरिएपनि कैयौँ उद्योग र कलकारखानाहरू भने सञ्चालन हुँदै आएका छन्।

विद्युतीय र दैनिक उपभोग्य सामग्री, स्वास्थ्यसम्बन्धी सामग्री र सुरक्षासँग सम्बन्धित उद्योगहरू सञ्चालनमा छन्।

सरकारी अधिकारीहरूका अनुसार सङ्क्रमणबाट जोगिन सामाजिक दूरी, सुरक्षित सेवा र सुरक्षासम्बन्धी अन्य सबै मापदण्ड पालना गरेरमात्रै ती उद्योग सञ्चालन गर्न पाइन्छ।

ती क्षेत्रमा कार्यरत नेपालीहरू कारोनाभाइरस सङ्क्रमणको जोखिममा रहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरसः स्वीडनमा कोभिड-१९ फैलिन नदिन कुखुराको सुली प्रयोग गरिँदै

एघार नेपाली सङ्क्रमित

मलेशियाली स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आइतवार अपरान्हसम्मको तथ्याङ्कअनुसार त्यहाँ कोरोनाभाइरसबाट ६,२९८ जना सङ्क्रमित भएकोमा ४,४१३ जना निको भइसकेका छन्।

सङ्क्रमितमध्ये ८११ विदेशी नागरिक रहेका र तीमध्ये ११ जना नेपाली छन्।

सङ्क्रमित नेपालीमध्ये दुई जना निको भइसकेका छन् भने बाँकी उपचारमा रहेको र उनीहरूको अवस्था सामान्य रहेको नेपाली दूतावासले जनाएको छ।

कोरोनाभाइरसका कारण मलेशियामा हालसम्म १०५ जनाले ज्यान गुमाइसकेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सङ्क्रामक रोग बढिरहेछ कि छैन भन्ने थाहा दिने 'आर' के हो

सयौँ आप्रवासी पक्राउ

अन्तराष्ट्रिय श्रमिक दिवसको दिन मलेशियामा विभिन्न स्थानबाट सयौँ कामदारलाई पक्राउ गरिएको छ।

स्थानीय न्यूज पोर्टल 'द मले मेल' का अनुसार प्रशासनले मे १ मा ५८६ जना गैरकानुनी विदेशी आप्रवासीलाई पक्राउ गरेका थिए।

तर पक्राउ पर्नेमा नेपाली नरहेको नेपाली दूतावासका एक अधिकारीले बीबीसीलाई बताए।