उत्तर कोरियाली नाबालिगहरूको यौनशोषणको अभियोगमा दक्षिण कोरियाली पादरीलाई जेल

चुन कि-वन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिरः सन् २००४ मा आफ्नो मिशनलाई आर्थिक सहयोग जुटाउन एउटा चलचित्र प्रवर्धन गर्दै चुन कि-वन
    • Author, फ्रान्सिस माओ
    • Role, बीबीसी न्यूज

दक्षिण कोरियामा एक इसाई पादरीलाई उत्तर कोरियाबाट भागेर आएका नाबालिगहरूको यौनशोषण गरेको अभियोगमा जेल सजाय सुनाइएको छ।

उत्तर कोरियाबाट सयौँ मानिसलाई भाग्न र दक्षिणतिर आउन सघाएको भनेर दक्षिण कोरियामा ती पादरीलाई नायक मान्दै आइएको थियो।

एउटा अदालतले सउलस्थित आफ्नो आवासीय विद्यालयमा बसेका नाबालिगहरूको ति ६७ वर्षीय चुन कि-वनले यौनशोषण गरेको ठहर गरेको हो।

उनले पाँच वर्ष कारागारमा बस्नुपर्ने छ।

दशकौँसम्म उनलाई उद्धारक र संरक्षक मानिन्थ्यो। उनले उत्तर कोरियाबाट भागेका मानिसहरूलाई सघाउन गरेको कामको मानिसहरूले प्रशंसा गर्दै आएका थिए।

उनी गत सेप्टेम्बर महिनामा सउलमा पक्राउ परेका थिए।

कुन आधारमा दोषी ठहर

प्रहरीले उनले छ जनाको यौनशोषण गरेको आरोप लगाएको थियो। शोषणमा परेकाहरू उत्तर कोरियाबाट भागेर आएका नाबालिग भएको र उनीहरूलाई चुनले स्थापना गरेको मिशनको आवासगृहमा राखिएको प्रहरीले जनाएको थियो।

चुनले आफूविरुद्ध लगाइएका अभियोगहरू अस्वीकार गरेका थिए।

तर अदालतले पीडितहरूले पेस गरेको प्रमाण "अकाट्य" भएको भन्दै उनलाई दोषी ठहर गर्‍यो।

"पीडितहरूले उस्तै बयान दिएका छन् र बयानमा आफू स्वयं त्यस्तो परिस्थितिमा नपरी भन्न नसकिने कुरा पनि छ...," सउलस्थित अदालतका न्यायाधीश किम सङ-जङले भने।

न्यायाधीशले चुनले आफ्नो "वर्चस्व भएको" स्थानमा ती अपराध गरेको ठहर गरे।

नाबालिगसँग दुर्व्यवहार गरेको भन्ने छमध्ये पाँचवटा मुद्दामा उनी दोषी ठहर भए। शोषणमा परेका केही नाबालिग आफैँ भागेर आएका थिए भने केही चुनको मिशनको सहयोगमा सपरिवार उत्तर कोरियाबाट भागेका थिए।

उत्तर कोरियालीलाई भाग्न सघाउने संस्था

चुनले स्थापना गरेको 'दुरिहाना' लाई दक्षिण कोरियामा एउटा अग्रणी गैरसरकारी संस्था मानिन्छ। उक्त संस्थाले चीनको बाटो हुँदै उत्तर कोरियालीहरूलाई भाग्न सघाउँछ।

आफूले विगत २५ वर्षमा उत्तर कोरियाबाट १,००० जनाभन्दा बढी मानिसलाई भाग्न सघाएको दाबी चुनले गर्दै आएका छन् । उत्तर कोरियालीलाई भाग्न सघाएकाले प्योङ्याङले व्यक्तिगत रूपमा आफ्नो निन्दा गरेको पनि उनी बताउँछन्।

सन् २००२ मा चीनमा सात महिनाका लागि जेल पर्दा उनीबारे निकै चर्चा भयो।

उत्तर कोरियाली बालबालिकाका लागि उनले स्थापना गरेको एउटा वैकल्पिक विद्यालय र उनले गरेका अन्य कामबारे सीएनएन, द न्यूयोर्क टाइम्स र न्याश्नल जिओग्रफिकले समाचार तथा डक्यूमेन्टरी बनाए।

सञ्चारमाध्यममा प्रकाशित विवरणमा उनलाई होलकास्टका बेला १,१०० यहुलीको उद्धार गर्ने ओस्कार शिन्ड्लर नामक व्यापारीसँग तुलना पनि गरेको देखियो।

उनी पक्राउ परेको र दोषी ठहर भएको कुराले दक्षिण कोरियामा धेरै मानिस छक्क परेका छन्। यो साता चुनको मुद्दा र सुनुवाइको समाचारले स्थानीय सञ्चारमाध्यममा ठूलो स्थान पायो।

टेलिभिजनमा प्रसारित समाचारमा केश फुलेका र सेतो पोसाक लगाएका चुनलाई हतकडी लगाएर सुरक्षाकर्मीहरूले अदालत लगेको दृश्य देखिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।