कलेजको प्रवेशपरीक्षा ९० सेकेन्ड अगाडि सकिएको घण्टी बजेपछि मुद्दा दायर

यो वर्ष दक्षिण कोरियामा ५० लाखभन्दा बढी विद्यार्थीहरू कठिन सन्याङ प्रवेशपरीक्षामा सहभागी भएका थिए

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, यो वर्ष दक्षिण कोरियामा ५० लाखभन्दा बढी विद्यार्थीहरू कठिन सन्याङ प्रवेशपरीक्षामा सहभागी भएका थिए

दक्षिण कोरियामा विश्वविद्यालयमा भर्ना पाउन लिइएको प्रवेशपरीक्षा निर्धारित समयभन्दा ९० सेकेन्ड अगाडि नै सकिएपछि केही विद्यार्थीहरूले सरकारविरुद्ध मुद्दा हालेका छन्।

मुद्दामा विद्यार्थीहरूको उक्त समूहले प्रतिव्यक्ति दुई करोड वोन (१५,४०० अमेरिकी डलरजति) क्षतिपूर्ति मागेका छन्। त्यो रकम फेरि परीक्षा दिने समयसम्म अध्ययन गर्न लाग्ने खर्च हो।

उनीहरूका वकिलका अनुसार एउटा विषयको परीक्षा निर्धारित समयावधिअघि नै सकिएकाले विद्यार्थीहरूको बाँकी विषयको परीक्षा पनि प्रभावित भएको थियो।

के हो सन्यङ

दक्षिण कोरियामा कलेजको प्रवेशपरीक्षालाई छोटकरीमा 'सन्यङ' भनिन्छ। यसमा विद्यार्थीहरूले विभिन्न विषयमा एकपछि अर्को गर्दै निरन्तर आठ घण्टा लामो जाँच दिनुपर्छ।

गत नोभेम्बरमा सम्पन्न परीक्षामा ५० लाखभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।

विश्वभरि लिइने सबै परीक्षामध्ये सन्यङलाई कठिन मानिन्छ। कोरियाली समाजमा यो परीक्षाको ठूलो महत्त्व छ।

कोरियाली समाजमा सन्याङ परीक्षाको ठूलो महत्त्व छ

तस्बिर स्रोत, YONHAP/EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, सन्याङ परीक्षा दिन गएका आफ्ना छोराछोरी सफल होऊन् भनेर सोलस्थित एउटा बौद्ध मन्दिरमा मानिसहरूले प्रार्थना गरेका थिए

यो परीक्षाबाट विश्वविद्यालयमा पढ्न र पछि जागिर खान पाउने बाटो खुल्छ। यो परीक्षा भविष्यमा हुने सम्बन्धको आधार पनि बन्छ।

प्रत्येक वर्ष एक पटक लिइने यो परीक्षामा विद्यार्थीको ध्यान अन्त नमोडियोस् भनेर विभिन्न उपाय गरिन्छ। परीक्षाको दिन देशको आकाशमा विमान उड्दैनन् र शेअर बजार पनि ढिलो गरी खुल्छ।

परीक्षाको दिन के भएको थियो

यो वर्षको प्रवेशपरीक्षाको नतिजा गत डिसेम्बर ८ मा प्रकाशित भइसकेको छ।

सरकारविरुद्ध कम्तीमा ३९ विद्यार्थीले मङ्गलवार मुद्दा हालेका हुन्। देशको राजधानी सोलस्थित एउटा केन्द्रमा कोरियाली भाषाको परीक्षा सकिएको जनाउ दिने घण्टी समय नभई बजेको उनीहरूको दाबी छ।

केही विद्यार्थीले तत्काल आपत्ति व्यक्त गरेका थिए। तैपनि निरीक्षकहरूले आफ्नो कापी खोसेको उनीहरू बताउँछन्।

दक्षिण कोरियामा कलेजको प्रवेशपरीक्षा दिने तयारी गरेका विद्यार्थीहरू

तस्बिर स्रोत, YONHAP/EPA-EFE/REX/Shutterstock

अर्को विषयको परीक्षा सुरु हुनुअघि शिक्षकहरूले पहिला गल्ती भएको महसुस गरे र खाजा खाने समयमा डेढ मिनेट समय थपिदिए। त्यो समयमा परीक्षार्थीहरूलाई आफ्नो कापीमा देब्रेपट्टि खाली लाइन तान्न मात्र दिइएको थियो तर लेखिसकेको उत्तरमा थपघट गर्न दिइएको थिएन।

विद्यार्थीहरूले त्यसपछि आफूहरू दुःखी भएको र बाँकी परीक्षामा ध्यान दिन नसकेको योन्हाप समाचारसंस्थालाई बताएका छन्। केही विद्यार्थी त परीक्षा नै छोडेर घर फर्किएको विवरण पनि प्रकाशित भएको छ।

सरकार के भन्छ

मुद्दा हाल्ने विद्यार्थीहरूका वकिल किम वू-सुले स्थानीय सञ्चारमाध्यमलाई सरकारी निकायले उक्त घटनाबारे क्षमायाचना नगरेको बताएका छन्।

सरकारी प्रसारक केबीएसले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै परीक्षाका दिन उक्त केन्द्रका मुख्य निरीक्षकले समय हेर्न गल्ती गरेको आफ्नो विवरणमा जनाएको छ।

परीक्षा सकिएको जनाउ दिने घण्टी चाँडै बजेको भनेर मुद्दा परेको यो पहिलो पटक भने हैन।

गत एप्रिल महिनामा सोलस्थित एउटा अदालतले सन् २०२१ को सन्याङ परीक्षामा दुई मिनेट चाँडै घण्टी बजेकाले आफू मर्कामा परेको भन्दै परेको मुद्दामा विद्यार्थीहरूको पक्षमा फैसला गरेको थियो।

अदालतले उनीहरूलाई ७० लाख वोन (५,२५० अमेरिकी डलर) क्षतिपूर्ति दिन सरकारलाई आदेश दिएको थियो।

चीनमा जेल सजाय

परीक्षाका बेला अरू देशमा पनि त्यस्तो गल्ती हुने गरेको छ।

सन् २०१२ मा चीनको हुनान प्रान्तस्थित एउटा केन्द्रमा देशव्यापी कलेज प्रवेशपरीक्षाका बेला झन्डै पाँच मिनेटअगाडि समय सकिएको जनाउ दिने घण्टी बजेको थियो।

त्यहाँको अदालतले ती व्यक्तिलाई त्यो गल्तीका लागि एक वर्षको निलम्बित जेल सजाय सुनाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।