तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल त्रिकोणात्मक क्रिकेट शृङ्खलाको फाइनलमा
हङ्कङलाई लगातार दुई खेलमा पराजित गरेको नेपाल त्रिकोणात्मक टी-२० आई शृङ्खलाको फाइनलमा पुगेको छ।
दुई दिन अगाडिको खेलमा हङ्कङलाई ६ विकेटले पराजित गरेको नेपालले शनिवार ७९ रनले पछि पार्यो।
टस जितेको नेपालले कुशल मल्लको विस्फोटक ब्याटिङको मदतमा २१३ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। हङ्कङले त्यसलाई पछ्याउन सकेन र १३४ रनमा समेटिन पुग्यो।
हङ्कङले पूरै ओभरको खेल सकिँदा ८ विकेट गुमाएको थियो।
नेपालले शनिवार गरेको दुई निर्णय महत्त्वपूर्ण रह्यो। पहिलो टस जितेर ब्याटिङ गर्ने निर्णय र अर्को युवा खेलाडी प्रतिश जिसीलाई टिममा समावेश गर्ने।
त्रिकोणात्मक शृङ्खलाको अघिल्लो दुई खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई पहिलो ब्याटिङ अभ्यास जरुरी थियो।
लामो समय बेञ्चमा बस्दै आएका प्रतिश जिसीलाई पनि पहिलो रोजाइमा मौका दिनु आवश्यक भइसकेको टोलीले महसुस गरेको देखियो।
साथै चोटपछि स्पिनर ललित नारायण राजवंशी टिममा फर्किनु पनि नेपाली समर्थकहरूको लागि सुखद समाचार बन्यो।
लगातार तीन जितसँगै नेपाल शृङ्खलाको फाइनलमा प्रवेश गरेको छ।
मल्लको अर्धशतक
नेपालको इनिङ्सको मुख्य आकर्षण कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको ब्याटिङ रह्यो।
पाँचौँ खेलाडीका रूपमा मैदानमा आएका मल्लले ९२ रन जोडे। नेपालको सुरुआत राम्रो थिएन।
ओपनर कुशल भुर्तेल २ रनमा आउट भएका थिए।
त्यसपछि तेस्रो ब्याटरका रूपमा सोमपाल कामीलाई पठाइयो। तर १२ बल खेलेर उनी ८ रनमै आउट भए।
आसिफ शेख पनि २० रनमा आउट भए भने कप्तान रोहित पौडेलले पनि ११ रन मात्र जोड्न सके।
यस्तो अवस्थामा दीपेन्द्र/ कुशलले खेललाई गजबले सम्हालेका हुन्। यी दुईले पाँचौँ विकेटका लागि १४५ रनको शानदार साझेदारी गरे।
कुशलले ४१ बलमा विस्फोटक ९२ रन जोडे। जसमा ३ चौका र ९ वटा छक्का थियो। यो उनको टी २० आईको दोस्रो अर्ध शतक हो।
कुल ४१ रन बनाएर खेलिरहँदा उनी जोगिएका थिए। पछि उनले १ बल खेल्नु अगाडि मात्र आउट भएका थिए।
मल्ललाई साथ दिएका ऐरीले ५७ रनको अर्धशतकीय पारी खेले। उनले ३४ बल खेल्ने क्रममा ६ चौका र २ छक्का प्रहार गरेका थिए।
सन्दीप जोरा र गुलशन झा १/१ रनमा अविजित रहे।
बलिङको धार
करण केसीले हङ्कङ विरुद्ध पहिलो बलमा नै विकेट लिएका थिए।
उनको जादुले सोमवार पनि निरन्तरता पायो। आज भने उनले दोस्रो बलमा मार्टिन कोइट्जलाई बोल्ड गरेका थिए।
कप्तान निजाकत खान पनि दुई रनमा ललित नारायण राजवंशीको सिकार बने।
त्यसपछि अंशुमन रथले ४५, इजाज खानले २५ तथा बाबर हायातले २० रन बनाएर हङ्कङलाई अगाडि बढाउन खोजेका थिए।
तर ऐरी, कामी र राजवंशी चम्किएपछि हङ्कङले नेपालले छोडेको चुनौतीपूर्ण स्कोर पछ्याउने सङ्केत देखाउन सकेन।
नेपालका लागि करण केसी, सोमपाल कामी र ललित राजवंशीले २-२ विकेट लिए भने प्रतिश जिसी र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।