विमानमा कर्मचारीलाई 'मुक्का हान्ने र थुक्ने' यात्रुलाई सीटमा बाँधेर राखियो

    • Author, मेरिल सेबास्टियन
    • Role, बीबीसी न्यूज, कोची

अबुधाबीबाट मुम्बईका लागि उडेको एउटा भारतीय विमानमा एक विदेशी यात्रुलाई विमानका कर्मचारीहरूले सीटमा बाँधेर राखेको विवरण सार्वजनिक भएको छ।

इटलीकी ती महिलाले चालकदलका "एक सदस्यलाई मुक्का हानेको र अर्का कर्मचारीलाई थुकेको" हुनाले त्यसो गरिएको बताइएको छ।

आरोपित महिला एअर विस्ताराको विमानमा चढेर भारत आएकी थिइन्। उनलाई सोमवार मुम्बईमा पक्राउ गरिएको थियो। पछि उनी धरौटीमा छुटिन्।

उनका वकिलले ती महिलाले कसैलाई पनि मुक्का नहानेको र नथुकेको दाबी गरेका छन्। ती यात्रुमाथि झुट्टा आरोप लगाइएको उनको दाबी छ।

तर एअर विस्ताराले ती महिलाको "अविच्छिन्न उच्छृङ्खल आचरण र हिंसक व्यवहार" रोक्न आफ्ना कर्मचारीले उनलाई नियन्त्रण गर्नुपरेको जनाएको छ।

विमानभित्र लुगा फुकालेको र फोहोर गरेको आरोप

टाइम्स अफ इन्डिया पत्रिकाका अनुसार विस्ताराका एक कर्मचारीले प्रहरीमा दिएको उजुरीमा ती महिलाले आफूलाई मुक्का हानेको र आफ्ना एक सहकर्मीलाई थुकेको दाबी गरिएको छ।

उक्त उजुरीअनुसार ती महिलाले 'इकोनमी क्लास'को सीट छोडेर 'बिज्निस क्लास'मा बस्न गएपछि विमानका कर्मचारीले रोक्न खोजेका थिए।

ती महिलामाथि विमानभित्र "कपडा फुकालेको र फोहोर गरेको" आरोप लगाइएको छ।

एअर विस्ताराले एउटा विज्ञप्तिमा विमानका चालकले ती यात्रुलाई "चेतावनी दिए र आचरणका कारण उनलाई नियन्त्रणमा लिने निर्णय लिए" भनेको छ।

मदिराले नमातेको दाबी

बीबीसीसँग कुरा गर्दै ती महिलाका वकिल प्रभाकर त्रिपाठीले उनलाई दिइएको सीट "असजिलो" भएकाले उनले "अर्को खाली सीटमा सार्न अनुरोध गरेको" र त्यसैमा विमानका कर्मचारीसँग "मतभेद" भएको बताएका छन्।

आकाशमा विमान हल्लिएको कारण देखाउँदै उनलाई शौचालय पनि जान नदिइएको त्रिपाठीले बताए।

"पछि उनलाई शौचालय जान दिइयो, तर फर्किएपछि उनलाई फेरि सीटमा बाँधियो," त्रिपाठीले भने।

दुर्व्यवहार गरेका कारण ती महिला कानुनी कारबाहीको दायरामा परेको मुम्बई प्रहरीका एक वरिष्ठ अधिकारीले संवाददाताहरूलाई बताएका छन्।

"हामीले उनलाई सूचना दियौँ र अदालतमा पेस गर्‍यौँ। त्यसपछि उनलाई जान दिइयो," मुम्बई प्रहरीका उपायुक्त दीक्षित गेदामले भने।

भारतमा बढ्दै दुर्व्यवहारका घटना

भारतमा विमानभित्र यात्रुले गर्ने दुर्व्यवहारका घटनाको निगरानी बढाइएको छ।

गत महिना एअरइन्डियाको एउटा विमानमा एक महिला यात्रुको शरीरमा पिसाब फेरिदिएको आरोप लागेपछि एक व्यक्तिलाई पक्राउ गरिएको थियो।

उक्त घटनाको सन्दर्भमा एअरइन्डियाको व्यवहारको चर्को आलोचना भएको थियो।

त्यसपछि अरू उडानहरूमा पनि उच्छृङ्खल गतिविधि भएका विभिन्न घटनाहरू सार्वजनिक भएका छन्।