हमासले प्रस्ताव नमानेपछि सुरक्षा परिषद्को निर्णयबाट वार्तामा क्षति पुगेको इजरेली दाबी

इजरेल युद्ध

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रफाहमा इजरेलले गरेको हवाई आक्रमणमा विस्थापित प्यालेस्टिनीहरूको मृत्यु भएको विवरण आएको छ

गाजामा युद्धविरामका लागि सहमति गर्न हमासले अस्वीकार गरेपछि इजरेलले त्यसलाई 'तत्काल युद्धविराम हुनुपर्ने' भन्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌बाट पारित प्रस्तावका कारण पुगेको 'हानि' का रूपमा अर्थ्याएको छ।

हमासका मागलाई "भ्रामक" भन्दै इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको कार्यालयले इजरेलले त्यसका अगाडि घुँडा नटेक्ने टिप्पणी गरेको छ।

हमासले अहिले जारी युद्ध अन्त्य हुनुपर्ने र इजरेली सेना गाजाबाट पूर्ण रूपमा फिर्ता गरिनुपर्ने माग राखेको छ।

संयुक्त राज्य अमेरिकाले इजरेली भनाइ "सबै हिसाबले गलत रहेको" प्रतिक्रिया दिएको छ।

हमासका सैन्य विभागका उपनेता मारिएको दाबी

सुरक्षा परिषद्‌को बैठक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यूकेसहित १४ देश युद्धविरामको प्रस्तावमा उभिएका थिए भने संयुक्त राज्य अमेरिका मतदानमा सहभागी भएको थिएन

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले हमासको प्रस्ताव सोमवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा भएको मतदानअघि तयार पारिएको बताएका छन्।

यसैबीच इजरेली सेनाले हमासको सैन्य विभागका एक उपनेता मारिएको पुष्टि भएको दाबी गरेको छ।

इजरेलका अनुसार शरणार्थी शिविरमुनि रहेको एउटा सुरुङमा गरिएको आक्रमणमा मर्वान इस्सा नुसरतको ज्यान गएको थियो।

"हामीले सबै जासुसी सूचनाहरू जाँच गरेका छौँ," इजरेली सैन्य प्रवक्ताले भने, "कारबाहीमा मर्वान इसा मारिए।"

हमासको राजनीतिक विभागका अधिकारी इज्जत अल-रिश्कले इजरेली दाबी आफूले नपत्याएको र आफ्नो समूहको सैन्य नेतृत्वले नै त्यसबारे "वास्तविकता बाहिर ल्याउने" बताए।

इजरेली सैन्य प्रवक्ताले इस्सा गत अक्टोबर ७ मा दक्षिणी इजरेलमा भएको हमलाका जिम्मेवारमध्ये तेस्रो नम्बरमा रहेका व्यक्ति भएको बताए।

इजरेलमा भएको आक्रमण १,२०० जनाभन्दा बढी मानिसको ज्यान गएको थियो भने २४० भन्दा बढी मानिसलाई हमासले बन्धक बनाएको थियो।

त्यसपछि गाजामा इजरेलले गरेको आक्रमणमा हालसम्म ३४,४०० जनाभन्दा बढीको मृत्यु भएको दाबी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गरेको छ।

इजरेली कारबाहीमा परीविगत २४ घण्टामा थप ८१ जनाको मृत्यु भएको उसले जनाएको छ।

गाजा युद्धबाट प्रभावित परिवार

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गाजामा इजरेली आक्रमणमा परेर हताहत हुनेमा बालबालिका पनि छन्

इजरेलको आक्रोशित प्रतिक्रिया

गाजा युद्धको विषयमा महिनौँदेखि गतिरोध कायम छ। त्यहाँ तत्काल युद्धविराम गर्न आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पहिलो पटक प्रस्ताव पारित गरेपछि इजरेलले आक्रोशित प्रतिक्रिया दिएको छ।

सुरक्षा परिषद्‌का १५ मध्ये १४ राष्ट्रले उक्त प्रस्तावको पक्षमा मतदान गरे।

उक्त प्रस्तावमा पहिलो पटक गाजामा तत्काल र दीर्घकालीन युद्धविराम माग गरिएको छ।

प्रस्तावमा सबै बन्धकहरूको तत्काल र बिनासर्त रिहा गर्न समेत माग गरिएको छ।

यसअघिका तीनवटा प्रस्तावमा विशेषाधिकार अर्थात् भीटो प्रयोग गरेको अमेरिका आफ्नो अडान फेर्दै यस मतदानमा सहभागी भएन।

त्यसलाई युद्धमा इजरेलले अवलम्बन गरेको शैलीप्रति अमेरिकी असन्तुष्ट रहेको सङ्केतका रूपमा हेरिएको छ।

विरोधस्वरूप इजरेलले गाजाको रफाह सहरमा आफूले गर्न सक्ने सम्भावित स्थल कारबाहीबारे छलफल गर्न वाशिङ्टन पठाउन लागेको आफ्नो प्रतिनिधिमण्डलको भ्रमण रद्द गर्‍यो।

उक्त सहरमा १० लाखभन्दा बढी मानिस बसेका छन्। तीमध्ये धेरै उत्तरी गाजाबाट विस्थापित भई त्यहाँ शरण लिन गएका हुन्।

त्यहाँ गरिने पूर्ण रूपको सैन्य कारबाहीले मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी अमेरिकाले दिएको छ।

त्यसपछि दोहामा भएको एउटा अप्रत्यक्ष वार्तामा अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूले पेस गरेको युद्धविरामसम्बन्धी नयाँ योजनालाई हमासले अस्वीकार गर्दै विज्ञप्ति जारी गर्‍यो।

उक्त समूहले गाजामा स्थायी युद्धविराम र पूर्ण रूपमा इजरेली सैनिकहरूको फिर्ताको माग गरेको छ भने उसले विस्थापित प्यालेस्टिनीहरूको पुनर्स्थापनाको पनि माग राखेको छ।

'अप्रत्यक्ष वार्ता जारी छ'

यद्यपि कतारको विदेश मन्त्रालयका प्रवक्ता मजेद अल-अन्सारीले "अप्रत्यक्ष वार्ता चलिरहेको र नरोकिएको" दोहामा आयोजित पत्रकार सम्मेलनमा बताएका छन्।

"वार्ताको लागि कुनै समयतालिका छैन। तर त्यो जारी छ, हाम्रा साझेदारको मध्यस्थता गर्ने प्रयासहित,

उनले भने। उनका अनुसार अहिले प्राविधिक टोलीहरूको तहमा वर्ता भइरहेको छ।

यद्यपि इजरेली सञ्चारमाध्यम र समाचारसंस्था रोएटर्सले इजरेली अधिकारीहरूलाई उद्धृत गर्दै कतारमा १० दिनको वार्तापछि इजरेलले आफ्नो टोली फिर्ता बोलाएको विवरण प्रकाशित गरेका छन्।

अहिले हमासले अस्वीकार गरेको प्रस्तावमा छ साताका लागि लडाइँ रोक्ने र इजरेली जेलमा रहेका ८०० प्यालेस्टिनीको साटो हमासको नियन्त्रणमा रहेका ४० बन्धक मुक्त गर्ने विषय समाविष्ट थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।