उत्तरी गाजामा खाद्यान्न सहायता पुर्याउन खोज्दा इजरेलको अवरोध: डब्ल्यूएफपी

तस्बिर स्रोत, Reuters
- Author, जर्ज राइट
- Role, बीबीसी न्यूज
उत्तरी गाजामा खाद्यान्न सहायता पुर्याउन दुई साताको अवधिमा गरिएको पहिलो प्रयासमा इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)ले अवरोध पुर्याएको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले जनाएको छ।
उक्त राष्ट्रसङ्घीय निकायका अनुसार खाद्यान्न सहायता बोकेका १४ वटा लरीलाई आईडीएफले एउटा सुरक्षा जाँच स्थलमा “फिर्ता पठाइदियो” र पछि सहायताको “व्यग्र प्रतीक्षामा रहेका” मानिसहरूले ती सामग्री लुटेर गए।
त्यसबारे प्रतिक्रिया लिनका लागि बीबीसीले आईडीएफसँग सञ्चार सम्पर्क गरेको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले उत्तरी गाजामा भोकमरीका कारण बालबालिका ज्यान गुमाइरहेका बताएको एक दिनपछि इजरेली फौजले सहायता पुर्याउन रोकेको हो।
'व्यापक असफल'
डब्ल्यूएफपीले एउटा विज्ञप्तिमा भनेको छः मङ्गलवार पुनः खुलेका क्षेत्रमा “अत्यावश्यक खाद्यान्न आपूर्ति” गर्ने प्रयास गरिए पनि त्यो “व्यापक रूपमा असफल रह्यो।”
वादी गाजा सुरक्षा जाँच स्थलमा तीन घण्टा कुर्न लगाएर आईडीएफले सहायता बोकेका लरीहरूलाई फर्काइदिएको डब्ल्यूएफपीले बताएको छ।
त्यसपछि ती लरीलाई अर्को बाटोबाट फर्काउँदै गर्दा सहायताको “व्यग्र प्रतीक्षामा रहेका मानिसहरूले त्यसलाई रोकेर करिब दुई सय टन खानेकुरा लुटेर गएको” उक्त निकायले उल्लेख गरेको छ।
प्रतिक्रियाका लागि बीबीसीले आईडीएफलाई सम्पर्क गर्दा त्यसले गाजामा सहायता आपूर्ति हेर्ने इजरेली रक्षा मन्त्रालयको एउटा संयन्त्रलाई प्रश्न सोध्न भन्यो।
पन्ध्र दिनमा उत्तरी गाजामा खाद्यान्न आपूर्ति गर्ने डब्ल्यूएफपीको यो पहिलो प्रयास थियो।
कुनै संयन्त्रले काम नगर्दा पछिल्ला आपूर्तिका क्रममा हिंसात्मक लुटपाट र अस्तव्यस्तता झेल्नुपरेको भन्दै फेब्रुअरी २० मा डब्ल्यूएफपीले सहायता स्थगित गर्ने बताएको थियो।
गत बिहीवार गाजाको पश्चिमी क्षेत्रमा इजरेली फौजको सुरक्षामा निजी ठेकेदारहरूले सहायता पुर्याउन जाँदा भिड अघि बढ्ने क्रममा सय जनाभन्दा बढी प्यालेस्टिनी नागरिक मारिएका थिए।
'भोकमरी अवश्यम्भावी'
इजरेली फौजले गोली चलाउँदा दर्जनौँ मारिएका प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन्।
तर इजरेली सेनाले तीमध्ये अधिकांश लरीहरूले किचिएर मारिएका बताउने गरेको छ।
आफूहरूतिर भिड अगाडि बढ्दा खतरा देखेर गोली चलाएको इजरेली सेनाको दाबी रहिआएको छ।
यसैबीच, संयुक्त राज्य अमेरिकाले जोर्डनसँग समन्वय गरी मङ्गलवार उत्तरी गाजामा ३६ हजार खानाका प्याकेट विमानबाट खसालेको छ।

तस्बिर स्रोत, US CENTRAL COMMAND
केही दिनयता अमेरिकाले त्यसरी खानेकुरा खसालेको यो दोस्रो पटक हो।
आवश्यक कदम नचालिए गाजामा भोकमरी निम्तिन “लगभग अवश्यम्भावी” रहेको भन्दै डब्ल्यूएचओले उत्तरी क्षेत्रमा बालबालिकाले भोकमरीबाट ज्यान गुमाउन थालेका जनाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले गाजामा थप सहायता सामग्री पुग्न नदिन इजरेलले “कुनै बहाना खोज्न नहुने” मङ्गलवार बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








