गाजामा सहायता वितरणका क्रममा भएको घातक घटनाको निष्पक्ष छानबिन हुनुपर्छः राष्ट्रसङ्घका महासचिव

तस्बिर स्रोत, AFP
- Author, टमस म्याकिनटश
- Role, बीबीसी न्यूज
संयुक्त राष्ट्रसङ्घका महासचिवले गाजामा सहायता वितरणको क्रममा १०० जनाभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन्।
बिहीवार सहायता बोकेका लरीवरिपरि भिड हुँदा कम्तीमा ११७ जनाको मृत्यु भएको थियो भने ७६० जना घाइते भएका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले घटनाको भर्त्सना गर्दै "हताश मानिसहरूलाई" तत्काल राहत चाहिएको बताए।
इजरेलले मानिसहरूमाथि गोली चलाएकोले उक्त घटना भएको हमासको दाबी छ।
इजरेलले भने चेतावनीस्वरूप हवाई फायर गर्दा भागदौड भएको र त्यसमा परेर धेरैको ज्यान गएको बताएको छ।
आलोचना
यो घटनापछि अन्तर्राष्ट्रिय स्तरमा इजरेलको चर्को आलोचना भएको छ।
बिहीवार फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले "इजरेली सैनिकले सर्वसाधारणलाई निसाना बनाएको" आरोप लगाए।
युरोपेली सङ्घको परराष्ट्रनीति प्रमुख जोसेप बोरेलले घटनालाई "पूर्ण रूपमा अस्वीकार्य नरसंहार" को सङ्ज्या दिए। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पनि घटनालाई "नरसंहार" भनेको छ।
सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै महासचिव गुटेरसले आफ्नो जीवन जोगाउने उद्देश्यमा सहायता लिने क्रममा १०० जनाभन्दा बढीको ज्यान गएको घटनाको "आफूले भर्त्सना गर्ने" स्पष्ट पारे।
"राष्ट्रसङ्घ एक साताभन्दा बढी समयदेखि पुग्न नसकिरहेको उत्तरी क्षेत्रमा रहेका मानिससहित गाजाका सबै हताश बासिन्दाहरूलाई तत्काल मद्दतको आवश्यकता छ। "
यसैबीच राष्टसङ्घको सुरक्षा परिषद्ले घटनामा छलफल गर्न आह्वान गरेको आकस्मिक बन्द बैठकमा परिषद्का अरब प्रतिनिधि एल्जिरिआले इजरेली सेनालाई गोली चलाएकोमा दोषी देखाउने मस्यौदा अगाडि सार्यो।
संयुक्त राष्ट्रसङ्घका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचारसंस्था एपीले सो प्रस्तावमा परिषद्का १५ मध्ये १४ सदस्यले समर्थन जनाएको बतायो। तर संयुक्त राज्य अमेरिकाले त्यसलाई रोक्यो। अमेरिकी राजदूत रोबर्ट वुडले घटनाका तथ्य अझै अस्पष्ट रहेको धारणा प्रकट गरे।
बिहीवारको घटना गाजाको दक्षिण पश्चिममा रहेको नबुलसी घुम्तीमा स्थानीय समयानुसार पौने पाँचतिर घटेको थियो।
इजरेलको भनाइ
सो घटना घट्दा इजिप्टले पठाएको सहायता बोकेका ३० वटा लरी इजरेलले "मानवीय करिडोर" तोकेको मार्गबाट अगाडि बढ्दै थियो। ती लरीहरूलाई इजरेल डिफेन्स फोर्सेसले सुरक्षा दिएको भनिएको छ।
आईडीएफका प्रमुख प्रवक्ता रेअर एड्मिरल ड्यान्यल हगारीका अनुसार मानिसहरूले लरी घेरेर तिनमा चढ्न थालेका थिए।
"कसैकसैले धकेल्न र कुल्चिन सुरु गरे र सहायता सामग्री लुट्न थाले," उनले भने। "त्यसो गर्दा दर्जनौँ गाजावासीहरूको दुःखद निधन भयो र अन्य धेरै घाइते भए।"
उनका अनुसार इजरेली ट्याङ्कहरूले चेतावनी दिन हवाई फायर गर्दै सावधानीपूर्वक भिडलाई तितरबितर पार्ने खोजेका थिए।
“तर सयौँको सङ्ख्या बढेर हजारौँमा पुगेपछि ती ट्याङ्क फिर्ता भए र स्थिति अनियन्त्रित भयो।”

तस्बिर स्रोत, Israel Defense Forces
हमासद्वारा खण्डन
हमासले आईडीएफको भनाइको खण्डन गरेको छ।
इजरेली सैनिकहरूले “नागरिकहरूमाथि सोझै गोली हानेको र तत्काल मर्ने गरी टाउकोमै निसाना बनाएको” आफूसँग “अकाट्य प्रमाण” भएको हमासको दाबी छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरेली कारबाहीका कारण गाजामा अहिलेसम्म ३०,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको जानकारी दिएको छ। मृतकमध्ये २१,००० बालबालिका र महिला छन्।
भोकमरीको चेतावनी
राष्ट्रसङ्घका महासचिव गुटेरसले भने, “गाजाको द्वन्द्वमा भएको मानवीय क्षतिका कारण म स्तब्ध छु – ३०,००० जनाभन्दा बढीको मृत्यु भएको र ७०,००० जनाजति घाइते भएको बताइएको छ।“
“म तत्काल मानवीय युद्धविराम र बिनासर्त सबै बन्धक मुक्त गर्न फेरि आह्वान गर्छु,” उनले भने।
राष्ट्रसङ्घले गाजा स्ट्रिपको उत्तरी भेगमा भोकमरी उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। त्यहाँ तीन लाखजति मानिस थोरै खानेकुरा वा स्वच्छ पानीको भरमा बस्नु परेको अनुमान गरिएको छ।
गत अक्टोबर ७ मा आफ्नो इजरेली भूमिमा धावा बोलेर हमासले १,२०० जनाजतिको ज्यान लिए तथा २५३ जनालाई बन्धक बनाएर लगेपछि इजरेली सेनाले गाजामा सैन्य कारबाही थालेको हो।
इजरेलले हमासलाई सखाप पार्ने उद्देश्य राखेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








