खोइ फाइभजी? नेपाल टेलिकमलाई दूरसञ्चार प्राधिकरणको प्रश्न

तस्बिर स्रोत, Getty Images
नेपाल टेलिकमले ज्यानुअरी १ देखि गर्ने भनेको फाइभजी (5G) मोबाइल सेवाको परीक्षण सुरु नभएपछि नेपाल दूरसञ्चार प्राधिकरणले कारणसहित लिखित जबाफ मागेको छ।
नेपालका लागि फाइभजीको आधिकारिक उपकरण आपूर्तिकर्ता ह्वावेईले आफ्नो पक्षमा आवश्यक तयारी सकिएको बताएपछि नेपाल टेलिकमसँग प्रश्न सोधेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।
“आपूर्तिकर्ताले सबै तयारी भएको बताएपछि परीक्षणको बाँकी जिम्मेवारी नेपाल टेलिकमको हो। त्यसैले लिखित जबााफ मागेका हौँ,” उनले बीबीसीसँग भने।
नेपाल टेलिकमले भने सार्वजनिक परीक्षण गर्न नसके पनि आन्तरिक रूपमा पूर्वाधार र उपकरणहरूको तयारी जारी रहेको बताएको छ।
“हामीले पाएको निर्देशनबमोजिम आन्तरिक रूपमा साइट बनाउनेदेखि आन्तरिक परीक्षणको काम गरिरहेका छौँ। त्यो सकिएपछि सार्वजनिक परीक्षणमा जान्छौँ,” एनटीसीका सहप्रवक्ता रञ्जित लोहियाले भने।
किन समयमा हुन सकेन परीक्षण?
नेपालमा सूचना तथा प्रविधि मन्त्रालयले टेलिकमलाई फाइभजी परीक्षण गर्ने अनुमति गत वर्ष कात्तिक महिनामा दिएको थियो। लगत्तै ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि २०७८’ अन्तर्गत सेवा सञ्चालन गर्ने आधार तयार पार्ने बताएको थियो।
नेपालमा प्रविधि तटस्थताको नीति आइसकेको अवस्थामा ७००, ८००, ९००, १८००, २३००, २६०० र ३५०० मेगाहर्ज ब्यान्डमै फाइभजी परीक्षण गर्नेगरी अघि बढाएको बताइएको थियो।
नेपाल टेलिकमले काठमाण्डू, पोखरा, विराटनगर र वीरगन्जमा फाइभजी प्रविधि परीक्षण गर्ने जनाएको थियो।

तस्बिर स्रोत, EPA
नेपाल टेलिकमले २०७८ मै परीक्षण गर्न थाल्ने बताए पनि हालसम्म सुरु गर्न नसक्नुको कारण के हो त?
प्राविधिक कठिनाइ र नेपालमा अझै फाइभजी समर्थन गर्ने मोबाइललगायत उपकरणको पर्याप्त प्रयोग नभएकाले समस्या देखा परेको लोहियाको भनाइ छ।
“नेपालमा फाइभजी चल्ने उपकरणहरू नै निकै कम प्रयोगमा छन्। प्रविधि द्रुत रूपमा परिष्कृत भइरहेको छ तर हामी धेरै नेपालीसँग भएको उपकरणहरूले फाइभजी सपोर्ट नगर्ने जस्ता समस्या देखिएका छन्,” उनले भने।
“बिस्तारै नयाँ प्रविधिहरू भित्रिएपछि फाइभजी वहन गर्ने मोबाइलहरू बढ्छन्।“
फाइभजीको परीक्षण कहिले सम्भव होला?

तस्बिर स्रोत, Thinkstock
नेपाल टेलिकमले सबै तयारी सके पनि सार्वजनिक परीक्षण कहिले सुरु हुन्छ भन्ने नसकिने उनले बताए।
आफूहरूले क्रमिक रूपमा काम गरिरहेको र परीक्षण समेत कति लामो हुन्छ भन्ने नसकिने उनको भनाइ छ।
सेवा प्रदायकले परीक्षण गर्न थालेपछि त्यस क्रममा देखिएका असर, समस्या र चुनौती तथा सल्लाह सुझावसहितको प्रतिवेदन हरेक तीन-तीन महिनामा प्राधिकरणमा पेस गर्नुपर्ने हुन्छ।
त्यसैले नेपालमा फाइभजी सञ्चालनका चुनौतीहरूबारे थप परीक्षण अवधि सुरु भएपछि मात्रै थाहा हुने जानकारहरू बताउँछन्।
कसकसले लिएका छन् परीक्षणको अनुमति?
नेपाल टेलिकमलाई जस्तै परीक्षण अधिकारको लागि निजी कम्पनी एनसेलले पनि माग गर्दै आएको छ। तर उसले हालसम्म परीक्षण अनुमति पाइसकेको छैन।
एनसेललाई पनि फाइभजी परीक्षणको अनुमति दिने पहल भइरहेको दूरसञ्चारका अध्यक्ष खनालले जानकारी दिए। प्राधिकरणले सरकारसमक्ष एकभन्दा बढी कम्पनीहरूलाई यसको अधिकार दिनुपर्ने बताइरहेको उनको भनाइ छ।
उनले भने,”एनटीसीले फाइभजी सेवा दिँदैन भने एनसेलले सुरु गर्न सक्छ कि? विकल्प हुनुपर्छ। हामीले सरकारसँग एउटा कम्पनीलाई मात्र दिनु हुँदैन भन्ने आग्रह गरिरहेका छौँ।"
“हामीले कुनै सेवा प्रदायकलाई परीक्षण गर्नबाट रोक्न सक्दैनौँ। तर सञ्चार मन्त्रालयमा नयाँ मन्त्री नियुक्त नभएसम्म यस विषयमा छलफल हुन सक्दैन,“ खनालले जानकारी दिए।

तस्बिर स्रोत, SANA JASEMI/BBC
फाइभजीमा के हुन्छ?
थ्रीजी, फोरजी र फाइभजी मोबाइल इन्टरनेटको गतिसँग सम्बन्धित छन्।
नयाँ प्रविधिको प्रयोग सुरु भएपछि मोबाइल इन्टरनेट प्रयोगकर्ताहरूले हाल उपलब्ध टूजी, थ्रीजी वा फोरजीभन्दा सजिलो तरिकाले द्रुत डेटा चलाउन पाउने अधिकारीहरू बताउँछन्।
मोबाइल सेवा प्रदायकद्वारा वितरण हुने फाइभजी, हालसम्मकै सबैभन्दा विशिष्टीकृत मोबाइल नेटवर्कको पाँचौँ संस्करण (जेनरेशन) हो। सामान्यतया फाइभजी सिग्नलमा इन्टरनेटको गति द्रुत र क्षमता अधिक हुन्छ।
यसको उच्च उपलब्धताका कारण प्राविधिक रूपमा फाइभजी बढी विश्वसनीय ठानिने जानकारहरू बताउँछन्।
एनटीसीका सहप्रवक्ता लोहिया भन्छन्,“फाइभजी अति द्रुत गतिको इन्टरनेट सेवासँग सम्बन्धित छ। अहिलेसम्म हामी एमबीपीएसको कुरा गर्दै छौँ। उक्त सेवा सञ्चालन भएपछि हामी जीबीपीएसको कुरा सुरु हुन्छ।”
यस सेवाले उपकरणदेखि उपकरणसम्मकै सञ्चार सहज, सरल र परिष्कृत बनाउने उनको भनाइ छ। “फाइभजीले स्मार्ट कनेक्टिभिटीको समय ल्याउँछ,” उनले भने।
फाइभजी सेवामा मोबाइल इन्टरनेटको गतिसँगै गुणस्तर पनि तुलनात्मक रूपमा राम्रो हुने बताइन्छ।

तस्बिर स्रोत, Getty Images
कस्ता मोबाइलमा फाइभजी चल्छ?
यद्यपि यो जुनसुकै मोबाइल फोनमा चल्दैन। यो सेवा उपलब्ध हुन सम्बन्धित उपकरण निर्माणका क्रममा केही मापदण्ड पूरा गरिएको हुनुपर्छ।
के हुन् त ती मापदण्ड?
फाइभजी सेवा प्रयोग गर्न फाइभजी सिग्नल प्रशोधन गर्न सक्ने चिपसेट प्रयोग भएको मोबाइल आवश्यक हुन्छ। मोबाइलमा फाइभजी समर्थन गर्ने चिपसेट हुनुका साथै विभिन्न फाइभजी ब्यान्ड उपलब्ध हुनुपर्छ।
भूगोल वा सेवा प्रदायकका अनुसार फाइभजी भिन्नाभिन्नै फ्रिक्वेन्सी ब्यान्डमा उपलब्ध हुन्छन्। मोबाइलमा फाइभजीको धेरै ब्यान्ड भएको खण्डमा उक्त मोबाइलमा विभिन्न फाइभजी प्रदायकहरूको सिम चल्छ।
मोबाइलमा फाइभजी सिग्नलको विभिन्न ब्यान्ड भएको खण्डमा फाइभजीको कार्य क्षमता थप प्रभावकारी हुने बताइन्छ।
नयाँ बन्ने धेरै जसो फोनहरू फाइभजी सिम चल्नेगरी बन्छन्। साथै साबिकका विभिन्न मोबाइल फोन कम्पनीका नयाँ संस्करणहरू फाइभजी चल्नेगरी परिमार्जित गरिएका छन्।
उत्पादकहरूले फाइभजी समर्थन गर्ने हो भन्ने बुझाउन फोनको नामको पछाडि फाइभजीको सङ्केत राख्ने गरेका छन्। आइफोन १४ सिरीज, साम्सङ ग्यालेक्सी एस२२ अल्ट्रा, वनप्लस १० प्रो, गुगल पिक्सेल ६, गुगल पिक्सेल ७ र ७ प्रोजस्ता चल्तीका केही फोनहरूमा सहजै फाइभजी चल्छ।











