कोरोना भाइरस: लकडाउनयता डेटा खपतमा वृद्धि, भिडिओ हेर्ने ह्वात्तै बढे

तस्बिर स्रोत, Getty Images
दूरसञ्चार प्राधिकरणले नेपालमा कोरोनाभाइरसका कारण लकडाउन घोषणा गरिएयता डेटा प्रयोग गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ।
लकडाउन अगाडिको समयमा भन्दा अहिले खासगरी भिडिओ हेर्ने प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि भएको उसले उल्लेख गरेको छ।
“युट्यूब हेर्ने र भिडिओ गेम खेल्ने प्रयोगकर्ता धेरै बढेको देखिन्छ। त्यसपछि फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सञ्जालहरू धेरै चलाइएको देखिन्छ,” प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बीबीसीलाई भने।
उनका अनुसार लकडाउनपछिको तथ्याङ्क हेर्दा ७५.६ प्रतिशतले युट्यूब, ७४ प्रतिशतले फेसबुक, ४० प्रतिशतले इन्स्टाग्राम अनि १८ प्रतिशतले टिकटकका प्रयोगकर्ता बढेका छन्।
नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम लगायतका सबै दूरसञ्चार प्रदायक कम्पनीको तथ्याङ्क हेर्दा लकडाउनअघि र पछिको समयमा मोबाइल डेटा र भ्वाइस (फोनकल) मा पनि निकै परिवर्तन आएको छ।
“भ्वाइस ट्राफिक (फोन कलको परिमाण) करिब ३५ देखि ४० प्रतिशतले घटेका छन् भने डेटा ट्राफिक ३५ देखि ४० प्रतिशतले नै बढेको देखिन्छ,” अध्यक्ष खनालले भने।
किन घट्यो भ्वाइस ट्राफिक?
लकडाउनका कारण अधिकांश उमेर समूहका मानिस घरमै रहँदा फोन गर्नुपर्ने आवश्यकता कम भएको सेवा प्रदायकहरूको अनुभव छ।
विद्यालय र धेरैजसो कार्यालय बन्द रहँदा पनि भोइसको प्रयोगमा कमी आएको मात्र होइन, आजकाल कल पनि अरू माध्यममार्फत् हुन थालेका छन्।
खासगरी बालबालिकादेखि वयस्कसम्म सबैले मोबाइल वा अन्य ग्याजेटमा इन्टरनेट चलाउँदा डेटाको खपत बढेको बताइन्छ।
मानिसहरू फोनबाट भन्दा इन्टरनेटमार्फत् चलाइने भिडिओ कलहरूमा अभ्यस्त हुन थालेकाले पनि भ्वाइसमा भन्दा डेटा प्रयोगकर्ता बढ्न थालेको बताउँछन् नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी।
उनले भने, “विदेशमा रहेकाले खासगरी अन्तर्राष्ट्रिय रोमिङ गर्नेमा पनि अहिले कमी आएको छ। कामविहीन भएर बसेका कारण उनीहरूले फोनमा खर्च गर्न नसकेको पनि हुन सक्छ।”
घरमा बस्ने अधिकांशले मनोरञ्जनात्मक भिडिओहरू वा सामाजिक सञ्जाल धेरै चलाएको पाइएको उनले बताए।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

फेसबुकभन्दा गुगलमार्फत् भिडिओ हेर्ने प्रयोकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र त्यसबाहेक भिडिओ कन्फेरेन्सका लागि जूमको प्रयोग पनि निकै भएको देखिएको उनले बताए।
“अहिले गुगलमार्फत् कोरोनाभाइरससम्बन्धी जानकारी खोज्ने र भिडिओ हेर्ने धेरै छन्। हामीले हेर्दा युट्यूब चलाउनेको सङ्ख्या बढी देखिएको छ। त्यसपछि फेसबुक र टिकटक चलाउने प्रयोगकर्ता धेरै देखिन्छन्,” अधिकारीले नेपाल टेलिकमका प्रयोगकर्ताबारे बीबीसीलाई भने।
मानिसहरूले सञ्चारका लागि भ्वाइसभन्दा डेटा प्याकको प्रयोग गरेर भाइबर, ह्वाट्सय्याप, फेसबुक म्यासेन्जरलगायतका माध्यममार्फत् कुराकानी गर्दा पनि डेटा प्रयोगकर्ता बढेको र भ्वाइस प्रयोगकर्ता घटेको दूरसञ्चार प्रदायक कम्पनीहरूको अनुभव छ।
‘इन्टरनेट जतिबेला पनि व्यस्त’
लकडाउनपछि देखिएको अर्को परिवर्तन मोबाइल प्रयोगकर्ताले कतिबेला धेरै इन्टरनेट चलाउँछन् भन्ने ‘पीक आवर’मा पनि आएको टेलिकमका प्रबन्ध निर्देशक अधिकारी बताउँछन्।

तस्बिर स्रोत, Getty Images
“पहिला राति ९ देखि ११ बजेको समयमा मानिसहरूले एकदमै धेरै इन्टरनेट चलाउँथे। अहिले दिउँसो १२ देखि १ बजेको समयमा एकदमै धेरै ट्राफिक देखिन्छ। बिहानको समयभन्दा १० बजेपछिको समयमा मानिसहरूले धेरै चलाएको देखिन्छ।”
नेपाल दूरसञ्चार प्राधिकरणले भ्वाइस कलमा कमी आएको साथै डेटा महसुल दरमा पनि सेवा प्रदायकहरूले छुट दिएका कारण राजस्व कम उठ्ने आकलन गरेको छ।
यसअघि नेपाल सरकारले सम्पूर्ण सेवा प्रदायकलाई दूरसञ्चार सेवामा न्यूनतम २५ प्रतिशत छुट दिन निर्देशन दिएको थियो ।
यसरी स्वत: भ्वाइस कलमा आएको कमी र महसुल दरमा छुट दिएको कारण यसपालि ३० प्रतिशतसम्म राजस्व घट्न सक्ने अनुमान प्राधिकरणको छ।
“कामका लागि फोनको प्रयोग निकै घटेको छ र त्यसले गर्दा राजस्व २५ देखि ३० प्रतिशत घट्ने देखिन्छ,” प्राधिकरणका अध्यक्ष खनालले भने।
डेटाको प्रयोग धेरै भएको देखिए पनि अधिकांशले विभिन्न अफरहरू, सहुलियत वा बोनसमार्फत् डेटा प्रयोग गर्ने भएकोले राजस्व वृद्धिमा त्यसले भूमिका नखेल्ने ठान्छन् नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारी।
“फागुनको दाँजोमा चैत महिना हेर्दा करिब १६ प्रतिशत राजस्वमा कमी आएको छ। यो भ्वाइस प्रयोग कम भएको असर हो। डेटा धेरै प्रयोग भएर त्यसले राजस्वमा धेरै वृद्धि हुँदैन,” अधिकारीले भने।








