नेपालमा इन्टरनेट: घरमा सस्तो, मोबाइलमा महँगो

तस्बिर स्रोत, Getty Images
- Author, संजीव गिरी
- Role, बीबीसी नेपाली सेवा
विश्वका २३० देशको इन्टरनेट मूल्यबारे गरिएको एउटा अध्ययनले नेपालमा ब्रोडब्यान्ड इन्टरनेट र मोबाइल डेटाको मूल्यमा ठूलो अन्तर देखाएको छ।
इन्टरनेट मूल्यबारे अध्ययन गर्ने ब्रिटिश संस्था केवलले सन् २०१८ मा गरेको अध्ययनले सस्तो ब्रोडब्यान्ड इन्टरनेट हुने देशको सूचीमा नेपाल चौधौँ स्थानमा रहेको देखाएको छ।
तर मोबाइलमा चलाउने इन्टरनेटको मूल्यको सूचीमा भने नेपाल पैँतालिसौँ स्थानमा रहेको छ।
यो मूल्य माल्दिभ्सपछि एक्षिण एशियामा दोस्रो महँगो हो।
इन्टरनेट सेवा प्रदायक भायानेटका विनय बोहरा भन्छन्, "ब्रोडब्यान्ड इन्टरनेटमा तीव्र प्रतिस्पर्धाका कारण हामीले लिने फाइदा सीमित छ।"
किन भयो डेटा महँगो?
नेपालमा डेटाको मूल्य ब्रोडब्यान्ड भन्दा महँगो हुनुको मुख्य कारण दूरसञ्चार सेवाप्रदायक कम्पनीको सङ्ख्या सीमित हुनुलाई मानिन्छ।
नेपालमा हाल पाँचवटा दूरसञ्चार सेवाप्रदायक कम्पनी सञ्चालनमा छन्।
तर तीमध्ये नेपाल टेलिकम र एनसेलको मात्र देशैभरि सञ्जाल रहेका छन्।
इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष सन्तोष सिग्देलका अनुसार नेपालमा डेटा महँगो हुनुको कारण दूरसञ्चार सेवा प्रदायकहरूले इजाजतपत्र नवीकरण गर्नका लागि ठूलो रकम खर्चिनुपर्ने अवस्था हो।
दूरसञ्चार सेवाप्रदायकहरूले इजाजतपत्र नवीकरण गर्नका लागि प्रत्येक पाँच वर्षमा २० अर्ब रुपैयाँ सरकारलाई बुझाउनुपर्ने हुन्छ।

तस्बिर स्रोत, Getty Images
किन छ ब्रोडब्यान्ड सस्तो?
इन्टरनेट व्यवसायीहरूको संस्था आईस्पानका पूर्वअध्यक्ष पनि रहेका बोहराका अनुसार प्रयोगकर्ताबीच गति बाँढिने हुँदा ब्रोडब्यान्ड सस्तो हुन्छ।
उनी भन्छन्, "तर पहिले जस्तो ठ्याक्कै यति जना प्रयोगकर्तामा बाँड्ने भन्नेचाहिँ हुँदैन।"
"औसत प्रयोगका आधारमा कुन प्रयोगकर्तालाई कति गति आवश्यक पर्छ भन्ने हिसाब निकालेर गति बाँड्ने कार्य गर्छौँ।"
- सेवाप्रदायकले दिने भनिएको इन्टरनेटको गति प्रयोगकर्ताहरूबीच बाँडिएको हुन्छ
- चार देखि आठ जनासम्मले सो गति प्रयोग गर्छन्
- त्यसो हुँदा इन्टरनेट मूल्य पनि कम हुन जान्छ
तर मूल्य कम हुनुको कारण सेवाप्रदायकहरूबीचको तीव्र प्रतिस्पर्धा नै भएको उनको भनाइ छ।
त्यसबाहेक नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने झन्डै ८० प्रतिशतले भिडिओ हेर्ने हुँदा कम मूल्यमा तीव्र गतिको सेवा दिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
ग्रामीण भेगमा सीमित सेवाप्रदायक पनि जोड्ने हो भने एक सयभन्दा बढी इन्टरनेट कम्पनीले सञ्चालनको अनुमतिपत्र लिएका छन्।
बोहराका अनुसार तीमध्ये सात वा आठवटा कम्पनीले मात्र बजारमा ठूलो हिस्सा ओगटेका छन्।

तस्बिर स्रोत, Getty Images
गुणस्तरबारे के भन्छन् प्रयोगकर्ता?
ब्रोडब्यान्ड र डेटामा मूल्यको ठुलै अन्तर देखिए पनि गुणस्तरको विषयमा भने उल्लेख्य भिन्नता नभएको प्रयोगकर्ताहरूको भनाइ छ।
काठमाण्डू वसुन्धरा बस्ने सुस्मिता बन नेपालको इन्टरनेटमा पूर्ण रूपमा भर पर्न सक्ने अवस्था नरहेको बताउँछिन्।
गतिको समस्याकै कारण पछिल्ला पाँच वर्षमा तीनवटा सेवाप्रदायक फेर्नुपरेको उनको अनुभव छ।
"इन्टरनेट जडान गरेको पहिलो केही दिनसम्म सबै कुरा ठिक हुन्छ। तर प्रयोग गर्दै गएपछि भने समस्या आइरहन्छ," उनले थपिन्।
काठमाण्डूकै अर्की प्रयोगकर्ता जीना बस्नेतको अनुभव पनि त्यस्तै छ।

यो पनि पढ्नुहोस्

खासगरी काठमाण्डूबाट बाहिर जाँदा समस्या झन् जटिल हुने उनको भनाइ छ।
"महँगै परे पनि डेटा चलाउनुको विकल्प छैन। तर पैसा तिर्दा पनि आफूले सोचेजस्तो चल्दैन," उनले थपिन्।
"डेटा प्याक किन्दा केही सस्तो पर्ने हुँदा राहत मिलेको छ।"
के भन्छ नियामक निकाय?
नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनाल नियमित दरलाई आधार मानिएको हुँदा डेटा महँगो देखिएको हुन सक्ने बताउँछन्।
नवीकरण शुल्क महँगो भएकाले मूल्यमा असर परेको भन्ने कुरामा सहमत हुन सकिँदैन।
नियमित दर हेर्दा प्रतिएमबी तीन रुपैयाँसम्म दूरसञ्चार प्रदायकहरूले लिने गरेको देखिछ।
तर विभिन्न किसिमका योजनाअन्तर्गत डेटा प्याक लिँदा प्रतिएमबी १५ पैसा मात्र मूल्य पर्ने खनालको भनाइ छ।
सेवाप्रदायककै सङ्ख्या कम भएकाले डेटाको मूल्य उच्च रहेको भन्ने कुरामा भने उनी पनि सहमत देखिन्छन्।
ठूला सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले वार्षिक ४० देखि ६० अर्बसम्मको कारोबार गर्ने बताउँदै खनालले भने, "नवीकरण शुल्क महँगो भएकाले मूल्यमा असर परेको भन्ने कुरामा भने सहमत हुन सकिँदैन।"
के छ दक्षिण एशियाको अवस्था?
नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको मासिक औसत मूल्य १६.४७ अमेरिकी डलर रहेको छ जुन दक्षिण एशियाको सन्दर्भमा हेर्ने हो भने श्रीलङ्कापछि दोस्रो सस्तो मूल्य हो।
श्रीलङ्काको ब्रोडब्यान्ड इन्टरनेटको औसत मूल्य ५.६५ अमेरिकी डलर रहेको छ।
मोबाइल डेटाको हकमा भने नेपालको मूल्य माल्दिभ्सपछि दोस्रो महँगो रहेको उक्त अध्ययनले देखाएको छ।
मोबाइल डेटाको औसत मूल्य प्रति जीबी २.२५ अमेरिकी डलर रहेको छ।
दक्षिण एशियाली मुलुकमध्ये भारतको डेटा संसारकै सबैभन्दा सस्तो हो।
त्यहाँ एक जीबी डेटाको मूल्य ०.२६ अमेरिकी डलर पर्छ भने सबैभन्दा महँगो माल्दिभ्समा प्रति जीबी ५.२७ अमेरिकी डलर पर्छ।
के छ विकसित देशको अवस्था?
विकसित देशहरूमा नितान्त फरक अवस्था देखिन्छ।
केवलले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यूके, अमेरिका, चीन र अस्ट्रेलिया आदि देशहरूमा ब्रोडब्यान्डको तुलनामा डेटाको मूल्य निकै सस्तो पर्छ।
यूकेमा एक जीबी डेटाको औसत मूल्य ६.६६ अमेरिकी डलर छ भने ब्रोडव्यान्डको औसत मासिक मूल्य ३९.५८ अमेरिकी डलर छ।
त्यसबाहेक नेपाली कामदारहरूका लागि रोजगारीको प्रमुख गन्तव्य साउदी अरब र कतारमा पनि ब्रोडब्यान्डको तुलनामा डेटा निकै सस्तो छ।








