तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेनी सैन्य तालिम केन्द्रमा रुसी हमला, ज्यान गुमाउने ५१ जनामध्ये सैनिकहरू पनि
- Author, जेमी ह्वाइटहेड
- Role, बीबीसी न्यूज
- Author, निक बीक
- Role, युरोप संवाददाता
रुसले मध्ययुक्रेनको पोल्ताभा सहरमा गरेको एउटा क्षेप्यास्त्र आक्रमणमा परेर कम्तीमा ५१ जनाको मृत्यु भएको र अन्य २७१ जना घाइते भएका छन्।
एउटा सैन्य प्रशिक्षण केन्द्र र नजिकै रहेको एउटा अस्पताल क्षेप्यास्त्रको निसानामा परेका थिए। युक्रेनले उक्त आक्रमणमा आफ्ना स्थलसैनिकहरूको पनि ज्यान गएको पुष्टि गरेको छ।
हवाई आक्रमण हुन लागेको चेतावनी दिइएको भए पनि मानिसहरूले सुरक्षित आश्रयस्थलसम्म पुग्न पर्याप्त समय नपाएको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो हमलाको मूल्य रुसले चुकाउनुपर्ने भन्दै हवाई प्रतिरक्षाका लागि थप सहयोग आह्वान गरेका छन्। सहयोग पाए युक्रेनले आफैँ लामो दूरीका क्षेप्यास्त्रहरू प्रहार गरेर आफ्नो रक्षा गर्न सक्ने उनको तर्क छ।
मस्कोले पोल्ताभामा भएको कारबाहीबारे कुनै प्रतिक्रिया दिएको छैन। तर उक्त आक्रमणको एक दिनपछि रुसले युक्रेनमाथि फेरि अर्को हमला गरेको छ।
युक्रेनी पक्षले रुसी क्षेप्यास्त्रहरू खसाउने प्रयास गर्दा किएभमा विस्फोटनको आवाज सुनिएको थियो।
युक्रेनी सेनाले पश्चिमी सहर लिभिभमा ड्रोन हमला गरिएको भन्दै पूरै देशमा हवाई हमलासम्बन्धी चेतावनी जारी गरिएको जनाएको छ।
प्रत्यक्षदर्शीहरू के भन्छन्?
यो आक्रमणलाई युक्रेनमाथि रुसले यो वर्ष गरेको सबैभन्दा घातक कारबाही मानिएको छ। क्षेप्यास्त्र आक्रमण हुँदा नजिकै बसिरहेका मानिसहरूले विस्फोटनका कारण घरका सिसाहरू फुटेको जनाएका छन्।
दुई साताअघि पोल्ताभास्थित मिलिटरी कम्युनिकेशन इन्स्टिट्यूटमा भर्ना भएका २६ वर्षका प्रशिक्षार्थी मिक्ता पेट्रोभले मङ्गलवार बिहान स्थानीय समयानुसार ९ बजेतिर आक्रमण भएको र पहिलो क्षेप्यास्त्र हमलाको तीन सेकन्डभित्रै दोस्रो आक्रमण भएको जानकारी दिए।
“म बाहिर भागेँ। सबैतिर धुवाँ र धुलो थियो।…धेरै मानिस बाहिर बसेर चुरोट तान्दै थिए र धेरैले ज्यान गुमाए।”
त्यहाँ "एकदमै धेरै रगत बगेको र धेरै शव भएको" सम्झँदै त्यहाँ देखेको दृश्यका कारण आफूलाई मानसिक प्रभाव परेको उनले बताए।
यसअघि रुसी सैनिक ब्लगरहरूले उक्त स्थानमा सैन्य प्रशिक्षार्थीअरू परेड गर्न भेला भएको जनाएका थिए। यद्यपि युक्रेनी रक्षा मन्त्रालयले आक्रमण भएको बेला त्यहाँ परेड नभएको जनाएको छ।
स्थानीय समयानुसार ९ः०८ बजे चेतावनीको घण्टी बजेको थियो र सबै जना सुरक्षित आश्रयस्थलतर्फ अघि बढेको मन्त्रालयको भनाइ छ। तर त्यसको एकाध मिनेटमा नै विस्फोटन सुरु भएको थियो।
त्यसरी आश्रयस्थल जान प्रयास गर्नेमा ३० वर्षीया याना कुलिशोभा पनि थिइन्। उनी हवाई आक्रमणको जनाउ दिने साइरनका कारण बिउँझिइन् तर उनीसँग सुरक्षित ठाउँमा जान सक्ने समय थिएन। उनका पति डोन्बास क्षेत्रमा अग्रमोर्चामा लडाइँमा छन्।
“यहाँ सैनिकहरूले ज्यान गुमाएका छन्। मलाई थाहा छ भग्नावशेषमुनि पनि सैनिकहरू छन्। उनीहरूका पत्नीहरूले उनीहरूलाई पर्खिरहेका छन्।”
युक्रेनका सांसद ओलेक्सी गोन्चारेन्कोले बीबीसीलाई पोल्ताभामा हवाई आक्रमणको जनाउ दिने साइरन र क्षेप्यास्त्र खस्नुबीचको दुई मिनेटको अवधि "अपर्याप्त" भएको बताए।
“तपाईँ आफू कुनै भवनको छैटौँ तल्लामा रहेको अनुमान गर्नुहोस् र तपाईँले तल ओर्लनुपर्ने कल्पना गर्नुहोस्। दुई मिनेटभित्रै त्यसो गर्न कतिसम्भव हुन्छ?"
“यस्तो जीवन र यस्ता घटना प्रत्येक दिन खेप्नुपर्ने परिस्थितिको कल्पना गर्नुहोस्। हामी यसरी चल्न सक्दैनौँ। यो राम्रो होइन।”
टेलिग्राममा राखिएको एउटा विज्ञप्तिमा युक्रेनी स्थलसेनाले क्षेप्यास्त्र आक्रमण गरिँदा उक्त केन्द्रको सुरक्षाका लागि पर्याप्त कदम चालिएको या नचालिएकोबारेमा अनुसन्धान भइरहेको जनाएको छ।
उसले अन्य सैन्य शिविरहरूको सुरक्षा सुनिश्चित गर्नका लागि थप कदमहरू चालिने पनि जनाएको छ।
अग्निनियन्त्रकहरूले भवनका भग्नावशेष सफा गरेका थिए भने सैनिकहरूले बाहिरका मानिसलाई नजिकै जान दिएका छैनन्। घटनास्थलको संवेदनशीलताका कारण त्यस्तो गरिएको जनाइएको छ।
पोल्ताभामा बस्ने ओलेना सर्द्युकका अनुसार “हवाई आक्रमणको जनाउ दिने चेतावनी दिन थालिएको एक मिनेटमै दुइटा विस्फोटन" भएका थिए।
“तत्कालै हामी घरभित्र बच्चा लिएर बाथरुमतिर दौडियौँ र चुपचाप बस्यौँ।” उनले आफू बस्ने ठाउँनजिकै बमबाट जोगिनका लागि विशेष आश्रयस्थल नभएको बताइन्।
पोल्ताभाका क्षेत्रीय प्रशासक फिलिप प्रोनिनले उक्त हमलालाई "धूर्त र कुटिल रुसी आक्रमण" भनेका छन्।
उनले घटनास्थलमा अझै पनि खोजीकार्य चलिरहेको भन्दै १० वटा आवासीय भवनमा आक्रमणबाट क्षति पुगेको बताए।
मध्ययुक्रेनमा रहेको पोल्ताभामा युद्धअघि झन्डै तीन लाख मानिसको बसोबास थियो।
यो सहर किएभबाट ३०० किलोमिटर पूर्वमा पर्छ। त्यहाँस्थित सैन्य प्रशिक्षण केन्द्रमा सञ्चारसम्बन्धी तालिम दिइन्छ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया कस्तो
युक्रेनी राष्ट्रपतिले आफ्नो वेबसाइटमार्फत् दिएको भिडिओ सन्देशमा रुसलाई जबाफदेही बनाउने बताएका छन्। उनले एउटा पूर्णस्तरको अनुसन्धानका लागि आदेश दिइएको भन्दै "सबै आवश्यक निकायहरूलाई उद्धारकार्यमा खटाइएको" बताए।
अमेरिकी राष्ट्रपति जो बाइडनले पोल्ताभाको घटनालाई "निन्दनीय आक्रमण" भन्दै त्यो "स्वतन्त्र जनताको इच्छा भत्काउने पुटिनको क्रूर प्रयासको दुःखद उदाहरण" भएको बताए।
ब्रिटेनका विदेशमन्त्री डेभिड ल्यामीले उक्त आक्रमणलाई "घिनलाग्दो" को सङ्ज्ञा दिँदै रुसी सैन्य कारबाहीको निन्दा गरे।
अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद् जोन किर्बीले उक्त आक्रमणले "युक्रेनी नागरिकप्रतिको पुटिनको बर्बरतालाई पुन: सम्झाएको" भन्दै वाशिङ्टनले किएभलाई आगामी साताहरूमा थप सैन्य सहयोग उपलब्ध गराउने जनाए।
देशको सैनिक नेतृत्वलाई बारम्बार आलोचना गर्ने एक युक्रेनी सांसद मारिया बेजुग्लाले अधिकारीहरूले सैनिकहरूलाई खतरामा पारेको आरोप लगाइएकी छन्। “यस्ता दुखःद घटनाहरू दोहोरिरहेका छन्। यी कहिल्यै रोकिन्छन्?”उनले टेलिग्राममा लेखेकी छन्।
अस्त्र उत्पादनसम्बन्धी युक्रेनी मन्त्रीले मङ्गलवार राजीनामा दिएका थिए र राष्ट्रपति जेलेन्स्कीको दलका एक वरिष्ठ सांसदले आधाभन्दा बढी मन्त्रीहरू फेरिने गरी "सरकारमा महत्त्वपूर्ण परिवर्तन" हुने जनाएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गोलिया भ्रमणमा भएको बेला रुसले पोल्ताभास्थित युक्रेनी सैन्य प्रशिक्षण केन्द्रमा आक्रमण गरेको हो।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले गत वर्ष पक्राउपुर्जी जारी गरेयता पुटिनले कुनै आईसीसी सदस्यराष्ट्रमा गरेको यो पहिलो भ्रमण हो।
काइला हेर्मान्सनको थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।