रुसी वाग्नर समूहका भाडाका लडाकुहरू हिजोआज कहाँ छन्

    • Author, इलिआ बाराभनोभ र अनास्तासिआ लोटारेभा
    • Role, बीबीसी रुसी सेवा

भाडाका लडाकु राख्ने वाग्नर समूहका नेता येभ्गेनी प्रिगोजिनको मृत्यु भएको एक वर्षयता उनको साम्राज्य र युक्रेन, सिरिया र अफ्रिकाका विभिन्न भागमा भाडाका लडाकुहरूको सम्झौताहरूबारे के भयो भन्नेबार स्पष्ट छैन। मस्कोविरुद्ध थोरै समयका लागि गरिएको विद्रोह र एउटा विमान दुर्घटनामा प्रिगोजिनको मृत्यु भएपछि के भयो भन्नेबारे बीबीसी रुसी सेवाले भूतपूर्व लडाकु तथा वाग्नर समूहसँग नजिक रहेका व्यक्तिहरूसँग कुराकानी गरेको छ।

सन् २०२३ को सेप्टेम्बरमा ठूलो गाँठी र नीलो आँखा भएका एक नौजवान इस्तान्बुलको अन्तर्राष्ट्रिय विमानस्थलको चेक-इन काउन्टरअघि उभिए।

केफिया (गम्छा जस्तै टाउको छोप्ने परम्परागत अरबी वस्त्र) लगाएका उनी जागिरको खोजीमा लिबिया र अरू अफ्रिकी देश जान खोजिरहेका थिए।

उनी येभ्गेनी प्रिगोजिनले गठन गरेको अस्पष्ट तर बृहत् वाग्नर समूहका एक लडाकु थिए।

'भविष्य छैन'

सिरिया, माली, सेन्ट्रल अफ्रिकन रिपब्लिक, सुडान र लिबियामा सञ्चालित यस समूहले अर्बौँ डलरबराबरका कम्पनी र आयोजनामाथि नियन्त्रण गरेको थियो । यो समूहका लडाकुहरू युक्रेनमाथि रुसी अतिक्रमणका केन्द्रमा रहे।

त्यो ज्यानुअरीमा यूकेको रक्षा मन्त्रालयले युक्रेनमा ५० हजार जनाभन्दा बढी वाग्नरका भाडाका लडाकु रहेका अनुमान गरेको थियो।

तर बीबीसी रुसी सेवाले प्राप्त गरेको एउटा सूचीअनुसार सानो सहर बख्मुटमा लडाइँका क्रममा करिब २० हजार लडाकु मारिए। तीमध्ये अधिकांश भूतपूर्व कैदीबन्दीहरू थिए।

रुसी रक्षा मन्त्रालयसँग हातहतियारको अभाव रहेको भन्दै प्रिगोजिनले सन् २०२३ को मेमा बाँकी लडाकुहरूलाई फिर्ता बोलाए।

केफिया लगाएका ती पुरुष उम्किन सफल भए। अर्को महिना “मार्च अफ जस्टिस”मा सहभागी हुन भन्दै टेलिग्रामको च्याटमा उनले सन्देश पाए।

उनी वाग्नर लडाकुहरूमध्ये एक थिए जसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गरेर विश्वलाई आश्चर्यचकित बनाए। सो क्रममा उनीहरूले रुसको दक्षिणी सहर रोस्टोभ-अन-डोनमाथि कब्जासमेत गरे।

तर प्रिगोजिनलाई उनले एउटा कार चढ्दै गरेको, सेल्फी खिचाउन पोज दिएको र त्यसपछि सहर छोड्दै गरेको अवस्थामा अन्तिम पटक देखे।

मस्कोमा प्रदर्शन गर्ने वाग्नर समूहको सुरुवाती धम्की फिर्ता भयो। बरु वाग्नर लडाकुहरू या त रुसी सेनामा भर्ती हुने या त प्रिगोजिनसँगै बेलारुस जाने सहमति भयो।

केफिया लगाएका यी पुरुष त्यही बेला वाग्नर समूहमा अब भविष्य नरहेकोमा पहिलो पटक विश्वस्त भए।

“सम्झौता हुन थालेपछि अनिर्णयको अवस्था देखियो। केही बेलारुसतर्फ, कोही अन्तै जाने देखियो। मैले आफ्ना लागि जे सही लाग्यो त्यही गरेँ,” उनले भने।

लडाकुका विकल्पहरू

त्यसको दुई महिनापछि सन् २०२३ को अगस्ट २३ मा प्रिगोजिन सवार एउटा निजी विमान उत्तरी मस्कोमा दुर्घटनाग्रस्त हुँदा उनीसहित वाग्नरका धेरै सदस्यको ज्यान गयो।

षड्यन्त्र भएका हल्लाहरूको क्रेम्लिनले खण्डन गर्‍यो। तर भूतपूर्व लडाकुसहित धेरै त्यसमा विश्वस्त हुन सकेनन्।

“उनीहरूले जब उन [प्रिगोजिन] लाई मारे। त्यसपछि मेरा लागि रुसमा केही बाँकी रहेन,” उनले भने।

जब उनले विकल्पहरूको लेखाजोखा गरे, त्यति बेला वाग्नर समूहका सम्पत्ति र उसका कारबाहीहरू रुसी सरकार तथा सेनाको नियन्त्रणमा पुग्न थाल्यो।

केफिया लगाएका यी पुरुषसँग वैध पासपोर्ट थियो, केही बचत थियो भने लडाइँको अनुभव थियो।

उनी सिरिया जाने निर्णयमा पुगे। त्यहाँ उनले पहिला पनि लडाइँ गरेका थिए।

दुईवटा स्रोतले बीबीसीलाई बताएअनुसार सिरियामा रहेका भाडाका लडाकुहरूलाई रुसी सेनासँग सम्झौता गर्न प्रस्ताव गरिएको थियो।

भूतपूर्व लडाकुका अनुसार कि रुसी रक्षा मन्त्रालयसँग सम्झौता गर्ने कि छोडेर जाने विकल्प मात्र थियो।

उनले सम्झौता गर्न चाहेनन् र करिब दुई महिनासम्म त्यसै बसे। तर त्यति बेलासम्म पनि नगदमै तलब पाइरहे। अफ्रिकामा काम गर्न जाने उनको निर्णयको कसैले विरोध गरेनन्।

अफ्रिकामा चासो

त्यही बेला रुसी उपरक्षामन्त्री युनुस-बेक येभकुरोभ पनि उत्तरी अफ्रिकाको भ्रमणमा गइरहेका थिए।

रुसी सेनाको गुप्तचर निकाय जीआरयूका वरिष्ठ अधिकारीहरूसहित उनले वाग्नर सक्रिय रहेको लिबिया, बुर्किनाफासो, सेन्ट्रल अफ्रिकन रिपब्लसक र मालीलगायतका देशको भ्रमण गरे। त्यसपछि निजेरको भ्रमणमा पुगे।

यूकेमा अवस्थित थिङ्कट्याङ्क रोयल यूनाइटेड सर्भिसेस इन्स्टिट्यूट (रुसी) को एउटा प्रतिवेदनअनुसार “वाग्नरले पहिला गरेका वाचाहरूको सम्मान गरिने छ” भन्ने सन्देश उनले दिए, तर अब “सीधै रुसी रक्षा मन्त्रालयसँग सम्झौता हुने छ” भनेर भने।

माली, निजेर र बुर्किनाफासोमा पछिल्ला वर्षहरूमा सैनिक कू भएका छन् र रुससँग बढ्दो निकटताबीच ती देशहरूले फ्रान्ससँग लामो समयदेखि रहेको सम्बन्धलाई अस्वीकार गरिरहेका छन्।

उक्त प्रतिवेदनअनुसार लिथिअम, सुन र युरेनिअमजस्ता खनिजमा रुसको रुचि देखिएको छ।

यसैबीच रुसी रक्षा मन्त्रालयले सन् २०२३ को अन्त्यबाट “अफ्रिकी कोर” भर्ती गर्ने घोषणा गर्‍यो।

केफिया लगाएका यी पुरुषले आफ्नो दिमागमा पहिलेदेखि रहेको अफ्रिकी देशमै उनी गएको बताए।

भाडाको लडाकु हुनुलाई पनि अरू जागिर सरह लिएको बताउने उनले युक्रेनमा वा बेलारुसमा भन्दा जीवन राम्रो हुने सोचेको उल्लेख गरे।

उनका अधिकांश पूर्वसहकर्मीहरू रुसी रक्षा मन्त्रालयअन्तर्गत भर्ती भइसकेका छन् र नयाँ गठन भएका एकाइमातहत काम गर्न गइसकेका छन्।

वाग्नर समूहको 'नयाँ नेता'?

यद्यपि यसअघि येभ्गेनी प्रिगोजिनसँग सम्बद्ध एउटा स्रोतका अनुसार उनका छोरा पाभेलको केही हदसम्म प्रभाव छ।

“रुसी स्वार्थसँग नबाझिने गरी मस्कोले यी उत्तराधिकारीलाई उनका बुवाका कामलाई निरन्तरता दिन हरियो झण्डा देखाइसकेको छ,” स्रोतले बीबीसीसँग भन्यो।

तीस वर्ष पनि नलागेका पाभेलले बाँकी रहेको वाग्नर समूह रुसको न्याश्नल गार्ड 'रस्गभार्डिआ'अन्तर्गत सञ्चालन गरिरहेका प्रारम्भिक अड्कलबाजीहरू सुनिएका थिए।

यूकेको रक्षा मन्त्रालयले वाग्नरका तीनवटा साना समूहहरू 'रस्गभार्डिआ'मा समावेश गरिएको र तिनीहरूलाई युक्रेन अनि अफ्रिकामा परिचालन गर्न सकिने गत फेब्रुअरीमा बताएको थियो।

तर पाभेलको भूमिकाबारे कुनै औपचारिक धारणा सार्वजनिक भएको छैन् र बीबीसीले प्रतिक्रिया माग्दा पाभेलले कुनै जवाफ दिएनन्।

वाग्नर लडाकुहरूलाई के भयो र अहिले बाँकी रहेकालाई कसले परिचालन गरिरहेको छ भन्नेबारे आधिकारिक जानकारी एकदम न्यून छ।

यद्यपि सो समूहको आधिकारिक टेलिग्राम च्यानलले नाम नखुलाइएका ठाउँमा खटिनका लागि भर्ती हुन अझै पनि विज्ञापनहरू राख्ने गरेको छ।

रुसी सरकारले चलाउँदै छ कि अन्यले?

युक्रेनमाथि अतिक्रमण गरेपछि रुसी सैन्य गुप्तचर निकायले वाग्नरकै स्वरूपमा भाडाका लडाकुका समूहहरूको सञ्जाल बनाएको छ र त्यसलाई सामूहिक रूपमा 'रिडट' नाम दिइएको छ।

गत अक्टोबरमा रेडिओ फ्री युरोपले गरेको एउटा अनुसन्धानले 'रिडट पीएमसी' ब्यानरअन्तर्गत २० वटाभन्दा बढी एकाइहरू भर्ती गरिएको पहिचान गरेको थियो।

अनुसन्धानले रुसी सेनाको गुप्तचर निकाय 'जीआरयू'द्वारा सञ्चालित त्यो एउटा “नक्कली निजी सैन्य कम्पनी” रहेको निष्कर्ष निकाल्यो।

बीबीसीले आधिकारिक कम्पनी दर्ता सूचीमा 'रिडट'लाई फेला पार्न सकेन र थुप्रै स्रोतले त्यो जीआरयू र रुसी रक्षा मन्त्रालयसँग सम्बद्ध रहेको बताए।

त्यसबारे बीबीसी जिज्ञासामा 'रिडट' र क्रेम्लिन कसैले पनि जवाफ दिएनन्।

बीबीसीले 'मेद्‌भेदी-बीअर्स' – अथवा 'एटी फर्स्ट स्पेशल अपरेशन्स ब्रिगेड' भनिने एउटा एकाइमा भर्ती भएका भूतपूर्व वाग्नर लडाकुहरूसँग कुरा गरेको छ।

फ्रेन्च भाषा बोल्ने एक अनुसन्धाता एवं पश्चिम अफ्रिका सुरक्षाविज्ञ नोमेड साहेलिएनका अनुसार उनीहरू एकदम नजिक ढङ्गले 'रिडट'सँग सम्बद्ध रहेका र उनीहरूले आफूलाई विशेष ब्रिगेडको ठान्ने गरे पनि उनीहरू निजी सैनिक कम्पनीका कामदार जस्तै हुन्।

सन् २०२३ को अगस्टमा सैनिक समर्थक एउटा रुसी सामाजिक सञ्जालको पेजमा लडाकु भर्नाबारे थुप्रै विज्ञापन आएका थिए।

“हामीलाई पाइलट, प्राविधिक, एएन-२, एमआई-८ हेलिकप्टर र एमआई-२४ मेकानिक्सहरू चाहिएको छ,” एउटा विज्ञापनमा लेखिएको थियो।

पूर्वलडाकु कहाँकहाँ छन्?

विज्ञापनमा क्राइमीयामा लड्नका लागि भर्ती गरिने भनिए पनि सो समूहले बुर्किनाफासोको राजधानीमा पनि मुख्यालय खडा गरेको नोमेड साहेलिएन बताउँछन्।

समूहले भाडाका सैनिकलाई मासिक साढे दुई हजारदेखि चार हजार डलर दिने प्रस्ताव गर्ने गरेको छ।

बीबीसीले भूतपूर्व वाग्नर लडाकुहरूसँग गरेको कुराकानीलाई बुझ्दा धेरैले बुर्किनाफासोसहित अफ्रिकी मुलुकमा बस्ने निर्णय गरेको देखियो।

भूतपूर्व वाग्नर लडाकुहरूका लागि अर्को सम्भावित गन्तव्य भनेको दक्षिणी रुसी गणतन्त्र चेचेन्या रहेको पाइयो।

गत एप्रिलमा चेचेन नेता रमजान कादिरोभले तीन हजार जना चेचेन्याको अखमत विशेष बलमा भर्ती हुने बताएको रुसी समाचारसंस्था 'टास'ले जनाएको छ।

तीमध्ये कति जना त्यहाँ पुगिसकेका छन् भन्ने कुराको बीबीसीले पुष्टि गर्न सकेन।

गत जुलाईको २८ तारिखमा टुआरेग विद्रोही र इस्लामवादी लडाकुहरूले रुसी भाडाका लडाकु र मालीका सैनिकहरूलाई धरापमा पारेको घटनापछ भूतपूर्व वाग्नर लडाकुहरू पुनः चर्चामा आए।

'वाग्नर पीएमसी'को आधिकारिक टेलिग्राम च्यानलले आफ्ना एक कमान्डरसहित केही लडाकु मारिएका एउटा दुर्लभ वक्तव्यमार्फत् जनाकारी गरायो। यद्यपि मारिनेको सङ्ख्याबारे उसले केही बताएन।

भाडाका लडाकुहरू 'अफ्रिकन कोर'को हिस्सा बनेको बुझिन्छ। तर न त त्यसले न त रुसी रक्षा मन्त्रालयले नै त्यसबारे केही भनेको छ।

केफियामा रहेका ती पुरुषले त्यसयता हाम्रा जिज्ञासाबारे केही बोलेका छैनन्। उनकी आमाले चलाउने सामाजिक सञ्जालको खातामा कसैको स्मृतिमा राखिने मैनबत्तीको तस्बिर देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।