अविरल वर्षाका कारण पश्चिम बङ्गाल र सिक्किममा क्षति, दार्जिलिङ क्षेत्रमा २३ जनाको मृत्यु

    • Author, प्रभाकर मणि तिवारी
    • Role, बीबीसी हिन्दीका लागि

भारतको पश्चिम बङ्गाल राज्यमा पर्ने दार्जिलिङमा शनिवार बिहानदेखि भएको अविरल वर्षाका कारण धनजनको ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन्।

स्थानीय प्रशासक रिचर्ड लेप्चाका अनुसार अहिलेसम्म दार्जिलिङ र मिरिकमा गरी कम्तीमा २३ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का अधिकारीहरूले गरेका छन्।

अविरल वर्षाका कारण दार्जिलिङसँग सीमा जोडिएको नेपालको पूर्वी पहाडी जिल्ला इलाममा धनजनको ठूलो क्षति भएको छ। दार्जिलिङ र मिरिक नेपालीभाषीहरूको बाहुल्य भएको क्षेत्र हो।

ठूलो वर्षाका कारण मिरिक र दूधिया जोड्ने फलाममा क्षति पुगेको छ। सो क्षेत्रमा कैयौँ घरहरू भत्किएका छन्।

अधिकारीहरूका अनुसार कैयौँ दुर्गम स्थानबाट धनजनको क्षतिबारे विवरण आउन बाँकी नै छ।

हजारौँ पर्यटक अलपत्र

अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोका कारण भारतको अर्को राज्य सिक्किमको सडक सम्पर्क अन्य राज्यसँग विच्छेद भएको छ। उत्तर बङ्गालमा नदीहरूमा जलस्तर अचानक बढेकाले कैयौँ क्षेत्रहरू डुबानमा परेका छन् भन्ने हजारौँ पर्यटकहरू अलपत्र परेका छन्।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले पर्यटकहरूलाई धैर्य कायम राख्न आग्रह गर्दै उनीहरूको उद्धार गरिने आश्वासन दिएकी छन्।

राहत र उद्धारकार्यमा विभिन्न सुरक्षा निकायका टोलीहरू परिचालित छन्।

उत्तर बङ्गाल विकासमन्त्री उदयन गुहाले अहिलेसम्म कैयौँ मानिसहरू हराइरहेका र मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्।

स्थानीयवासी के भन्छन्

स्थानीय बासिन्दाहरू विगत २७ वर्षमा दार्जिलिङ क्षेत्रमा यसपालिको जस्तो विनाश आफूले नदखेको बताउँछन्।

"पानी त शनिवार बिहानदेखि नै पर्दै थियो। तर साँझ पर्नासाथ ठूलो वर्षा भयो। रातिभरि एक मिनेट पनि नबिराई वर्षा भइरह्यो," बीबीसीसँग फोनमा कुरा गर्दै दार्जिलिङका बासिन्दा विवेक प्रधानले भने।

उनका अनुसार पर्यटकहरू आउने "पीक सीजन" भएकाले दार्जिलिङमा भिडभाड थियो। तर सिलिगुडीसम्म पुग्ने सबै सडक अवरुद्ध भएकाले हजारौँ पर्यटकहरू पहाडी क्षेत्रमै फसेका छन्।

भारतको मौसम विभागको तथ्याङ्कअनुसार शनिवार बिहान ८ बजेदेखि २४ घण्टाको अवधिमा दार्जिलिङमा मात्रै २६१ मिमि वर्षा भएको देखिन्छ।

राज्यकी मुख्यमन्त्री ममता बनर्जीले धनजनको क्षति भएकोमा शोक व्यक्त गरेकी छन्।

सडक सम्पर्क विच्छेद

खर्साङका वरिष्ठ प्रहरी अधिकारी अभिषेक रायका अनुसार दार्जिलिङ र खर्साङको बीचमा पर्ने दिलारामनजिकै पहिरोका कारण राजमार्ग बन्द भएको छ।

मिरिक र दूधिया जोड्ने पुल भत्किएकाले दार्जिलिङबाट सिलिगुडी जाने वैकल्पिक बाटो पनि बन्द भएको छ।

सिक्किम र कालिम्पोङको सडक सम्पर्क पनि भङ्ग भएको छ।

मौसम विभागले केही स्थानमा अझै ठूलो वर्षा हुन सक्ने चेतावनी दिएको छ।

भारतका बाँकी भागलाई सिक्किमसँग जोड्ने राजमार्ग कैयौँ स्थानमा टिस्टा नदीले डुबाएको छ।

सिक्किममा पनि सयौँ पर्यटक फसेका छन्।

विगत पाँच दिनअघि सिक्किम पुगेका कोलकाताका शुभोजित घोषालले आफूहरू लामो र घुमाउरो बाटो हुँदै सिलिगुडी पुग्ने प्रयासमा भएको बीबीसीलाई फोनमा बताए। "तर वैकल्पिक सडक पनि कैयौँ ठाउँमा भत्किएको छ।"

उत्तर बङ्गालमा बाढी

भुटानमा विगत केही दिनदेखि भएको अविरल वर्षा र स्थानीय भेगमा शनिवार राति भएको वर्षाका कारण उत्तर बङ्गालका केही जिल्लामा बाढी आएको छ।

उक्त क्षेत्रका कैयौँ नदीमा जलस्तर बढेको छ। स्थानीय अधिकारीहरूले जलपाईगुडी र अलीपुरदुआरमा 'रेड अलर्ट' जारी गरेका छन्।

"तोर्षा नदीमा पानीको मात्रा अचानक बढेका कारण कूचबिहारका कैयौँ क्षेत्र डुबानमा परेका छन्। सबै नदीमा पानीको मात्राले खतराको निसान नाघेका छन्," एक स्थानीय अधिकारीले भने।

डुअर्स इलाकामा पर्ने गोरुमारा राष्ट्रिय निकुञ्जनजिकै जलढाकामा एउटा एकसिङ्गे गैँडाको र नक्सलबाडीमा मेची नदीमा हात्तीको एउटा छावाको शव पानीमा डुबेको अवस्थामा फेला परेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।