भारतले चामल निर्यात रोक्दै, नेपालको हकमा विशेष सुविधाको सरकारी अपेक्षा

किराना पसल
तस्बिरको क्याप्शन, किराना पसलहरूमा चामलको भाउ बढ्न थालेको पाइएको छ
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

गएको जुलाई २० तारिख भारत सरकारले बासमती बाहेकका सेता चामलको निर्यात बन्द गर्ने घोषणा गर्‍यो।

त्यसले अन्तर्राष्ट्रिय जगतमा १५ प्रतिशतसम्म मूल्यवृद्धि हुनसक्ने चर्चा चल्न नपाउँदै नेपालका खुद्रा पसलहरूमा त्यसका असर देखिन थालिसकेको पाइन्छ।

नक्सालका किराना व्यापारी रामशरण श्रेष्ठले केही समय यता २५ किलोग्रामको बोरामै तीन सय रुपैयाँसम्म भाउ बढिसकेको अनुभव सुनाए।

खुद्रा व्यापार संघका सचिव राजु मास्केका अनुसार भारतले निकासी रोक्न लाग्यो भन्नासाथ थोक व्यापारीहरूले भाउ बढाइदिएका छन्।

“डेढ-दुई हप्ता अगाडिसम्म स्टिम जिरामसिनो चामल बोराको १९ सयबाट २ हजार अनि २१ सय पुगिसक्यो,” उनले भने।

रेडलाइन
रेडलाइन

हल्लाकै भरमा मूल्यवृद्धि?

उत्पादकहरूले चाहिँ अहिले धानचामलको भाउ नबढाएको बताएका छन्।

“अहिले वास्तवमा तीन महिनालाई पुग्ने मौज्दात रहेको छ। हामीले त भाउ बढाएका छैनौँ,” नेपाल चामल, दाल, तेल उत्पादक संघका महासचिव दीपककुमार पौडलले बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालका अनुसार अहिले बजारमा चामलको भाउ बढाउनु पर्ने अवस्था छैन।

“बजारमा मूल्यवृद्धिको हल्ला फिँजाएको सरकारले हेरिरहेको छ। ती हल्ला झुटा हुन्। सरकारले मूल्यवृद्धि हुन दिँदैन,” मन्त्री रिजालले बीबीसीलाई भने।

आपूर्ति व्यवस्था खल्बलिँदा हुने मूल्यवृद्धिलाई रोक्न सरकारले कडिकडाउ गर्ने प्रतिबद्धता उनले जनाए।

साथै यस मामिलामा भारतसँग कुराकानी गर्न पनि आफू तत्पर रहेको मन्त्रीले बताएका छन्।

“हामीले भारतसँग कुराकानी सुरु गरेका छौँ। पहिले नै माग गरेकाहरूको हकमा उहाँहरूले केही खुकुलो पनि गर्ने गर्नुभएको छ। विगतमा पनि हामीले माग गरेबमोजिम उहाँहरूले दिने गर्नुभएको छ,” उनले भने।

“हामीले आयात गर्नु पर्ने कति हुन्छ भनेर हिसाब निकाल्छौँ र त्यसपछि भारतसँग कुराकानी गर्नेछौँ। हामीलाई दिन उहाँहरू तयार हुनुहुन्छ। मोटामोटी कुरा भइसकेको छ।”

किराना पसल
तस्बिरको क्याप्शन, हरेक वर्ष लाखौँ मेट्रिक टन चामल भारतबाट आयात गरिन्छ

कति हुन्छ आन्तरिक उत्पादन?

नेपालको वार्षिक सरदर धान उत्पादन ५५ लाख मेट्रिक टन जति रहेको कृषि विभागकी उपमहानिर्देशक एवं प्रवक्ता जानुका पण्डितले बताइन्।

“त्यसमा ६/७ लाख मेट्रिक टन बाहिरबाट ल्याइने गर्छ,” उनले भनिन्।

वास्तवमा चामलका प्रकार र उपभोग प्रवृत्तिमा आधारित भएर उत्पादन र आयातको यकिन विश्लेषण गर्न बाँकी रहेको बताइन्छ।

“हामीकहाँ नै उत्पादन हुने मोटो धानका चामल नखाने र मसिनो अनि बास्नादार खोज्ने चलनले गर्दा पनि आयात धेरै भएको देखिन्छ,” उनले भनिन्।

नेपाल चामल, दाल, तेल उत्पादक संघका अनुसार वर्षमा करिब १५ लाख मेट्रिक टन धान अथवा १० लाख मेट्रिक टन धानका साथै अढाइ लाख मेट्रिक टन चामल भारतबाट आयात गर्नुपर्ने अहिलेको अवस्था छ।

“धान ल्याएर कतिपय चाहिँ कनिका, भुस, ढुटो उत्पादनमा पनि प्रयोग हुने गर्छन्,” संघका महासचिव दीपककुमार पौडलले बताए।

नेपाल राष्ट्रब्याङ्कले नियमित प्रकाशित गर्ने आँकडा हेर्दा असारमा सकिएको एक आर्थिक वर्षको एघार महिनामा करिब ३३ अर्ब बराबरका धानचामल आयात भएको देखिन्छ।

त्यो सबै चामलकै रूपमा प्रयोग हुने गरेर ल्याइएको हो वा अन्य प्रयोजनका निम्ति ल्याइएको भन्ने स्पष्ट विश्लेषण हुन नसकेको प्रवक्ता पण्डित बताउँछिन्।

हाल देशको कूल गार्हस्थ उत्पादनमा कृषिको योगदान २४ प्रतिशत वा झन्डै एक चौथाइ रहेको छ। कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धानको मात्रै योगदान १५ प्रतिशत रहेको छ।

अर्थात् देशको अर्थतन्त्रमा धान उत्पादनले ठूलै हिस्सा ओगट्छ। खाद्य सुरक्षाको दृष्टिकोणबाट त झन् चामलको महत्त्व सर्वाधिक देखिन्छ।

अघिल्लो वर्ष साढे १४ लाख हेक्टर क्षेत्रफलमा धानको रोपाइँ भएको थियो भने उत्पादन झन्डै ५५ लाख मेट्रिक टन रहेको थियो।

खेत जोत्दै

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपालमा धानको उत्पादन अर्थतन्त्र तथा खाद्य सुरक्षाको मामिलासँग जोडिन्छ

भारतको निर्णयले कस्तो पार्ला असर?

यो वर्ष नेपालको मुख्य खाद्यान्न धानको उत्पादन कति होला भन्ने चिन्ता व्याप्त छ।

एकातिर वर्षाको बेला अहिलेसम्म तराई क्षेत्रमा पर्याप्त पानी नपर्दा समयमै रोपाइँ हुन नसकेका विवरण आएका छन् भने अर्कोतिर चैतयता फैलिएको लम्पी स्किन रोगको प्रकोपले गर्दा किसानका झन्डै ५० हजार गाईभैँसी मरिसके।

दश लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन्। जसले गर्दा रोपाइँमा गोरूको प्रयोगमा समेत धेरै किसानलाई कठिनाइ भएका विवरण आएका छन्।

साउनको मध्यसम्म आइपुग्दा अझै एक तिहाइ जति भूभागमा रोपाइँ हुन नसकेका विवरण पनि आएका छन्।

रोपाइँ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, धान उत्पादनका लागि आकाशे पानीको अत्यधिक भर पर्नु पर्ने बाध्यता विद्यमान छ

यदि वर्षाको बाँकी अवधिमा पनि ती ठाउँमा पर्याप्त पानी परेन भने त यसको सोझो असर धान उत्पादनमा पर्ने देखिन्छ। धान लगाइसके पछि जरा लाग्ने, गाँज हाल्ने, फूल फूल्ने हरेक चरणमा मौसम अनुकूल भए उत्पादन बढ्छ।

त्यसमाथि भारतको पछिल्लो निर्णयको पनि केही असर भने पक्कै पर्नेमा व्यवसायी तथा सरकारी अधिकारीहरू एकमत छन्।

“भारतले निकासी बन्द गर्‍यो भने त्यसको असर अन्तर्राष्ट्रिय जगतमा पर्ने चर्चा छ। नेपाल पनि त्यसबाट पक्कै अछुतो त रहन नसक्ला। तर कति परिमाणमा कस्तो असर पर्छ भन्ने चाहिँ यकिन विश्लेषण भएको छैन,” कृषि विभागकी प्रवक्ता जानुका पण्डितले भनिन्।

भारत विश्वकै अग्रणी चामल निर्यातकर्ता हो - विश्वव्यापी व्यापारको ४० प्रतिशत हिस्सा भारतको छ।

गत वर्ष भारतले सवा दुई करोड टन चामल १४० देशमा निकासी गरेको थियो।

यो वर्ष भारतमा समेत खाद्यान्नको मूल्यवृद्धि चर्को भयो तर त्यसैलाई मत्थर पार्न भारत सरकारले बासमती बाहेकका चामल निकासीमा रोक लगाएको छ।

साथै युक्रेन र रुसको युद्धका कारण युक्रेनले गर्ने खाद्यान्न निर्यात पनि निकै प्रभावित भएको छ।

यिनै कारणका माझ विश्वभरि नै खानेकुराको मूल्य बढ्दो छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।