जम्मूदेखि गाम्बियासम्म खुवाइएको विष

- Author, विनीत खरे
- Role, बीबीसी संवाददाता (द गाम्बिया र जम्मूबाट फर्किएपछि)
डेढ वर्षका श्रेयांश, तीन वर्षका लामिन, तीन वर्षकी सुरभी शर्मा, २२ महिनाका अमीनाटा, अढाई वर्षका अनिरुद्ध र अरू कैयौँ बच्चाहरू….
उनीहरू भारत र द गाम्बियाका बालबालिका हुन्। उनीहरूका बुवा आमाले उनीहरूले अन्तिम सास फेरिरहेको देखे। उनीहरू दुई महिनादेखि पाँच वर्ष उमेर भएका बच्चाहरू हुन्।
उनीहरूको मृत्युको कारण खोकीको कथित विषाक्त औषधि थियो। त्यो सेवन गर्दा पिसाब बन्द हुने, शरीर सुनिने र मिर्गौला खराब हुने समस्या देखा पर्थ्यो। बच्चाहरू रुने गर्थे र आफ्नो पीडा सुनाउन सक्दैन थिए।
पछिल्लो वर्ष जुलाई र अक्टोबरको बीचमा गाम्बियामा करिब ७० बच्चाहरूको मृत्यु भएको थियो। जबकि सन् २०१९ को डिसेम्बर र ज्यानुअरी २०२० को बीचमा जम्मूको रामनगरमा कम्तीमा १२ बालबालिकाको ज्यान गएको थियो।
ती निधनहरूका लागि भारतीय कम्पनीहरूले बनाएका कफ सिरपलाई जिम्मेवार ठहर्याइएको थियो। कम्पनीले ती आरोपहरू गलत भएको बताएको भए पनि पीडित परिवारले त्यसप्रति विश्वास जनाएनन्।
प्रहरीले जम्मूमा बच्चाहरूको निधनबारे अनुसन्धान गरेको थियो र यसबारेको मुद्दा अदालतमा विचाराधीन छ।
गाम्बियामा बच्चाहरूको मृत्युपछि तयार पारिएको एउटा सरकारी प्रतिवेदनले भारतीय कम्पनीले बनाएको सिरपलाई ती मृत्युहरूका लागि जिम्मेवार ठहर गरेको थियो।
एउटै पीडा

जम्मू र गाम्बियाको बीचमा करिब १० हजार किलोमिटरको दूरी छ। तर जो पीडित भएका छन् उनीहरूको एकै प्रकारको पीडा छ र उनीहरूले एकै खालको न्यायका लागि लडाइँ गरिरहेका छन्। त्यो अझै पनि जारी छ।
मृतकहरूमध्ये झन्डै पाँच लाख जनसङ्ख्या रहेको राजधानी बैंजुलमा बस्ने गरेका तीन वर्षका लामिन पनि थिए।
लामिन आफ्ना बुवाले गाडी चलाइरहँदा उनको काखमा बस्न ज्यादै रुचाउँथे।
अघिल्लो वर्षको सेप्टेम्बरमा जब उनलाई खोकी लाग्यो तब डाक्टरले जे औषधिहरू दिए त्यसमा कफ सिरप पनि थियो।
लामिन दबाइ खान मान्दैनथे तर उनको परिवार उनलाई चाँडै निको होस् भन्नेमा थियो। ड्राइभरका रूपमा काम गर्ने उनका पिता एब्रिमा सानिया उक्त क्षणलाई याद गर्दै भन्छन्, “मैले लामिनलाई जबरजस्ती औषधि खान भने।”
एब्रिमा शायदै त्यसलाई भुल्न सक्छन्। त्यो क्षण सम्झने बित्तिकै उनी रुन थाले। औषधि खाएको केही समयपछि लामिनको खाना र पिसाब दुवै कम हुन थाल्यो।
डाक्टरले परीक्षण गर्दा लामिनलाई मिर्गौलामा समस्या भएको पत्ता लाग्यो। उनको ओठ कालो हुन थालेको थियो। एब्रिमाले भने, “लामिनले मतिर हेर्यो। मेरो आँखामा हेर्यो। मैले सोधेँ, लामिन तिमीलाई के भयो?”
“मलाई उसको अनुहार, उसका आँखा सधैँ सम्झिरहन्छु किनकि उसले मेरो आँखामा हेरिरहेको थियो। म पनि उसका आँखामा हेरिरहेको थिए।”
परिवारका अनुसार कफ सिरप खाएका कारण सात दिनमा लामिनको ज्यान गयो। बच्चाहरूको अचानक निधन भएपछि चोट खेपिरहेका अभिभावकहरूलाई अझै पनि आफ्ना सन्तानले पीडाबाट तड्पिएर ज्यान गुमाएको परिस्थितिले पिरोल्छ।

एक जना पिताले भने, “मेरी छोरी निरन्तर यति धेरै कराइरहेकी थिइन् कि अन्तिममा उनको मुखबाट आवाज निक्लिनै बन्द भयो। अन्तिम क्षणमा उनले आमाको नाम लिइरहेकी थिइन्। आमाबाट उनले मद्दत खोजिरहेको जस्तो अवस्था थियो।”
लामिनको घरको नजिक नै २२ महिनाकी अमीनाटा बस्थिन्।
अमीनाटाको बुवा आमालाई पनि आफ्नी छोरीलाई के भइरहेको छ भन्ने सम्झन गाह्रो भयो।
काठ बेचेर गुजारा चलाउने अमीनाटाका पिता मोमोदू डैंबेलेले थप पैसा खर्च गरेर छोरीलाई उपचारका लागि छिमेकी देश सेनेगलसम्म पठाए।
उनी सम्झन्छन्, “उसको शरीर सुन्निइरहेको थियो। उनी सकिँदै गइरहेकी थिइन्। हामीलाई उसको शरीर भित्र के भइरहेको छ भने थाहा भइरहेको थिएन।”
उनले अन्तिम पटक छोरीको अनुहार भिडिओ कलमा हेरे। अमीनाटा सेनेगलको एक अस्पतालमा बेहोस भएर पल्टिरहेकी थिइन्।
मोमोदू सम्झन्छन्, “मैले उसको टाउको हल्लिरहेको देखेँ। उसलाई म उसको पिता हुँ भन्न चाहन्थेँ।”
उक्त भिडिओ कलको केही समयपछि नै अमीनाटा रहिनन्।
गाम्बियामा मृत्युको शृङ्खला र जाँच

पछिल्लो वर्ष जुलाईमा संसारको सबैभन्दा गरिब देशमध्ये एक गाम्बियामा स्वास्थ्य अधिकारीहरूले एक्यूट किड्नी इन्जरी (एकेआई) का समस्या बढिरहेको देख्न थाले। यस्तो समस्या पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूमा देखिएको थियो।
एकेआईको अर्थ मिर्गौलामा समस्या देखिनु हो जसको असर शरीरका अरू अङ्गहरूमा पनि पर्थ्यो। त्यसबाट ज्यानसमेत जान सक्छ।
गाम्बियाको सरकारले पछि एकेआईका कारण ६९ बच्चाको मृत्यु भएको जानकारी दिएको थियो। गाम्बियाको सरकारले यसको सूचना विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)लाई दिएको थियो र त्यसपछि उक्त निकायले सो विषयको जाँच गर्यो।
गएको वर्ष अक्टोबरमा डब्ल्यूएचओले उक्त मामिला चार कफ सिरपसँग जोडिएको बताएको थियो। उसको चेतावनीमा ती सिरपहरू भारतीय कम्पनी मेडन फर्मास्युटिकल्सले बनाएको बताइएको थियो।
डब्लूएचओले ती कफ सिरपको नमुना परीक्षण गर्दा त्यसमा अधिक मात्रामा डाइइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल पाइएको थियो। ती दुवै विषालु पदार्थ हुन्।
उक्त सङ्गठनले जनाए अनुसार त्यही कारणले पेट दुख्ने, झाडापखाला, पिसाब गर्न समस्या, टाउको दुख्ने,मानसिक स्थितिमा परिवर्तन र मिर्गौलामा गम्भीर समस्या देखिएका थियो।
डब्ल्यूएचओले प्रोमिथाजाइन ओरल सोल्यूशन, कोफेक्सामलिन बेबी कफ सिरप, मेकअफ बेबी कफ सिरप र मैगरिप एन कोल्ड सिरपलाई इङ्गित गरेको थियो जुन सिरप मेडन फर्मासुटिकलले बनाउने गर्छ।
त्यसपछि भारत सरकारले पनि अनुसन्धान थालेको थियो। गाम्बियामा भएको मृत्युबारेको संसदीय अनुसन्धानको प्रतिवेदन र हालै जारी गरिएको ‘एक्यूट किड्नी इन्ज्युरी’ जाँच प्रतिवेदनमा पनि भारतको मेडन फर्मासुटिकल्स कम्पनीले बनाएको कफ सिरपलाई जिम्मेवार ठहराइएको थियो।
उक्त प्रतिवेदनमा जानकार र प्रमाणहरूलाई उद्धृत गर्दै त्यसमा ज्यान लिने तहको इथिलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलको मात्रा रहेको जनाइएको थियो।
मेडन र भारत सरकारले लगातार यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्।

भारत सरकारका अनुसार मेडनको कफ सिरपका नमुनाको जाँचमा तिनीहरू उच्च गुणस्तरको रहेको पत्ता लागेको थियो।
अगस्ट महिनामा संसद्मा भएको सवाल जबाफमा सरकारले गाम्बिया मामिलाको जाँचमा असल उत्पादन अभ्यासको उल्लङ्घन भएको पत्ता लागेको थियो।
त्यसपछि मेडन फर्मालाई एउटा सूचना पठाइएको थियो र कम्पनीको सबै उत्पादनसँग सम्बन्धित गतिविधि तुरुन्तै बन्द गरिएको थियो।
हामीले मेडन फार्मास्युटिकल्सको प्रतिक्रिया लिन उसँग सम्पर्क गरेको र उसको कार्यालयमा पुगेको भए पनि कसैसँग कुराकानी हुन सकेन।
तर उनीहरूले समाचार एजेन्सी रोएटर्ससँग कुरा गर्दै भारतीय नियामक निकाय र न्यायिक प्रक्रियाप्रति पूरा विश्वास रहेको र आफूहरूले केही गलत नगरेको बताएका छन्।
यो प्रकरणको असर
फर्मास्यूटिकल्स एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इन्डियाका अनुसार सन् २०२२-२३ मा भारतले १.२ अर्ब भन्दा बढी मूल्यको औषधि गाम्बियामा पठाएको थियो। उक्त वर्ष उसले अफ्रिकामा पठाएको औषधिको मूल्य ४८४ अर्ब भन्दा बढी थियो।
गाम्बियामा आयातित औषधिको परीक्षणका लागि प्रयोगशाला समेत छैन। र त्यहाँ अरू अफ्रिकी देशहरू जस्तै ठूलो परिमाणमा भारतीय दबाइ पनि पुग्ने गर्छ।
गाम्बियामा मात्रै नभई उज्बेकिस्तान, इराक, क्यामरुनबाट पनि कफ सिरपसँग जोडिएका मामिलाहरू बाहिर आए जसले गर्दा भारतीय फर्मास्यूटिकल कम्पनीहरूमाथि प्रश्न उठेका थिए।
इराकबारेको ताजा चेतावनीमा ड्ब्ल्यूएचओले कफ सिरपमा अस्वीकार्य मात्रामा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल पाइएको जनाएको छ।
फर्मास्यूटिकल एक्सपोर्ट प्रोमोशन काउन्सिल अफ इन्डियाका डाइरेक्टर जनरल उदय भास्करका अनुसार “गाम्बिया, उज्बेकिस्तान र अरू स्थानहरूमा भएका घटना दुर्भाग्यपूर्ण छन्।”
उनले थपे, “यसले भारतीय फर्मास्यूटिकल उद्योगको छविमा आँच पुर्याएको छ तर तपाईँ हाम्रो निर्यातलाई हेर्नुहुन्छ भने त्यसले केही असर पारेको छैन।”
भारत सरकारले फर्मा कम्पनीहरूलाई डब्ल्यूएचओको असल उत्पादन पद्धतिलाई पालना गर्न भनेको छ। त्यसको लागि एउटा समय सीमा पनि दिइएको छ।
भारतमा झन्डै तीन हजार कम्पनीका १० हजार औषधि उद्योग छन्। सन् २०३० सम्म यो उद्योग १३० अर्ब डलरको पुग्ने ठानिएको छ।
तर जसरी डब्ल्यूएचओले चेतावनी जारी गरेको छ यसले धेरै देशहरूलाई पुनर्विचार गर्ने अवस्थामा पुर्याएको छ।

गाम्बियामा हामीले जति मानिसहरूसँग कुरा गर्यौँ उनीहरूले भारत सरकार र भारतीय कम्पनीको खण्डनप्रति विश्वास व्यक्त गरेनन्।
ती मृत्युबारे रिपोर्ट बनाउने न्याश्नल एसेम्बलीको सेलेक्ट कमिटी अफ हेल्थका प्रमुख अमाडु कमाराले भने, “म यसप्रति पूरै असहमत छु। किनभने हामीसँग प्रमाण छ। हामीले ती औषधिहरूको जाँच गरेका छौँ। ती औषधिमा अस्वीकार्य परिमाणमा इथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल थियो। त्यो मेडनले बनाएको हो र त्यसलाई सिधै भारतबाट आयात गरिएको थियो।”
बालबालिकाको मृत्युले भारतमा बनेको औषधिबारे कैयौँ मानिसहरूको मनमा अविश्वास पैदा गरिदिएको छ।
नौ महिनाको सन्तान गुमाएका लामिन डाँसो भन्छन्, “जब म भारतमा बनेको कुनै औषधि देख्छु, म त्यो औषधिलाई छुँदा पनि छुन्न।”
तर जानकारहरूका अनुसार भारतमा निर्मित औषधिहरूसँग गाम्बियाको निर्भरता जारी रहनेछ।
खोज पत्रकार मुस्तफा दारबोइ भन्छन्, “मैले जो जो औषधि विक्रेताहरूसँग कुरा गरे, अधिकांशले भारतमा बनेका औषधि लिएर आएका छन्। अमेरिका वा युरोपबाट आयातित औषधिभन्दा ती सस्ता छन्।”
गाम्बियामा कैयौँ कदमहरू उठाउने प्रतिवद्धता जनाइएको छ र औषधि नियामक निकाय मेडिसिन्स कन्ट्रोल एजेन्सीका दुई जना शीर्ष अधिकारीहरूलाई बर्खास्त गरिएको छ।
तर परिवार त्यसबाट खुसी छैनन् र उनीहरू न्यायको माग गरिरहेका छन्। उनीहरूका अनुसार पछिल्लो एक वर्षमा गाम्बियाको स्वास्थ्य व्यवस्थामा केही पनि परिवर्तन देखिएको छैन।
पीडित परिवारको समूहका प्रवक्ता एब्रिमा सैडी भन्छन्, “स्वास्थ्यमन्त्रीसहित यो अपराधमा सामेल भएका जो कोहीप्रति न्याय व्यवस्था पूर्ण कडाइका साथ प्रस्तुत हुनपर्छ।”
केही परिवारले मेडन फर्मा र स्थानीय आधिकारिक संस्थाहरूलाई चुनौती दिँदै अदालतमा मुद्दा दायर गरेका छन्। उनीहरूले भारतीय वा अन्तर्राष्ट्रिय अदालतको ढोका ढकढक्याउन पनि नहिचकिचाउने जनाएका छन्।

जम्मूमा पनि न्यायको माग
न्यायको माग जम्मूको रामनगरबाट पनि गरिँदैछ जहाँ डिसेम्बर २०१९ र ज्यानुअरी २०२० को बीचमा पाँच वर्षभन्दा कम उमेरका १२ बालबालिकाको मृत्यु भएको थियो।
स्वास्थ्य अभियानकर्ता दिनेश ठाकुर र वकिल प्रशान्त रेड्डीले आफ्नो पुस्तक ‘द ट्रुथ पिल’ मा रामनगरको मृत्युलाई भारतमा विषका कारण भएको पाँचौँ ठूलो घटना भनेका छन्।
किताबमा जम्मूभन्दा पहिला चेन्नई, मुम्बई, दिल्ली र बिहारमा भएका मृत्युहरूको चर्चा गरिएको छ। ज्यान गुमाउनेमा अधिकांश तल्लो वर्गका मानिसहरू थिए।
जम्मुमा ज्यान गुमाउनेमा अढाई वर्षका अनिरुद्ध पनि थिए। ज्यान गुमाउनुभन्दा तीन दिन पहिला रेकर्ड गरिएको अन्तिम भिडिओमा अनिरुद्ध एउटा अस्पतालको विछ्यौनामा सुतिरहेको देखिन्छन्।
उनको हात तारसँग जोडिएको छ र पछाडि मसिनको आवाज सुन्न सकिन्छ।
रुँदै गरेकी आमा विनाकुमारी, चम्चाबाट खाना खुवाउने कोसिस गरिरहेकी छन्।
केही दिन पहिले अनिरुद्धलाई खोकी र छातीमा सङ्क्रमण भएपछि उनका मातापिताले कफ सिरप दिएका थिए।
त्यो एक जना औषधि पसलेबाट खरिद गरिएको थियो।

बच्चाको राम्रो डाक्टर नभएका कारणले कैयौँ परिवार ती औषधि विक्रेताकोमा बच्चालाई लिएर जाने गर्थे र उनले दिने औषधि बच्चाहरूलाई दिने गर्थे।
पछि चिकित्सकहरूले उनको मिर्गौलामा धेरै क्षति पुगेको बताए।
अनिरुद्धका पिता अशोक कुमार भन्छन्, “यस्तो कसरी भयो भन्ने सम्झिएर हाम्रो भुईँ तलको जमिन नै हल्लियो। बान्ता र झाडापखला लागेकै कारण मिर्गौलामा क्षति पुग्दैन।”
धेरै समय नबित्दै अनिरुद्धलाई ब्रेन हेमोरेज (मस्तिष्कमा रक्तस्राव) भयो।
अशोक कुमार सम्झन्छन्, “उसलाई ब्रेन हेमोरेज भयो। नाकबाट रगत बग्न थाल्यो। उसको फोक्सोमा समस्या देखियो। चिकित्सकले बच्चा ९९ प्रतिशत समाप्त भइसकेको बताउन थाले। त्यो नौ जनवरीको दिन हामी कहिल्यै बिर्सँदैनौँ।”
जम्मूमा मृत्युको जाँच
स्थानीय अभियानकर्ता सुकेश खजूरिया रामनगरमा भएको बच्चाहरूको मृत्युबारे निरन्तर लेख्ने र बोल्ने गर्छन्।
उनले भने, “ज्यान गुमाउनेहरू विना कारण मारिए। जुन कम्पनीले यो औषधि बनायो र जुन ड्रग्स कन्ट्रोलरका अधिकारीहरू थिए, उनीहरूले आफ्नो काम गरेनन्। उनीहरूले जाँच नगरिकन अवैध औषधिलाई विक्री गर्न दिए। यदि सरकारले त्यो बेला पूर्ण जानकारी लिएको भए गाम्बियामा यस्तो हुँदैन थियो।”
जम्मू र कश्मीरकी ड्रग कन्ट्रोलर लोतिका खजुरियाका अनुसार औषधिको नमुना लिएर परीक्षणका लागि क्षेत्रीय औषधि प्रयोगशाला चन्डीगढमा सुरुमा पठाइएको थियो। “त्यहाँबाट जे प्रतिवेदन आयो त्यसमा डाइथिलिन ग्लाइकोल ३४ प्रतिशत भन्दा धेरै थियो। त्यो अन्तिम प्रतिवेदन थिएन। हामीले फेरि नमुना सीडीएल कोलकाताको प्रयोगशालामा पठायौँ त्यहाँबाट पनि ३४ प्रतिशत भन्दा केही धेरै डाइथालिन ग्लाइकोल भएको प्रतिवेदन आयो। त्यसपछि हाम्रो जाँच सुरु भयो।”

बालबालिकाकी चिकित्सक भवनीत भारती रामनगरमा भएको बालबालिकाको निधन जाँच गर्ने एउटा टोलीकी प्रमुख थिइन्।
उनी भन्छिन्, "टक्सिन (विष) दिएका कारण उनीहरूको किड्नी फेल भयो। यदि मस्तिष्कमा असर हुन्थ्यो भने शारीरिक असक्षमता आउँथ्यो। उनीहरूलाई भेन्टिलेटरमा राख्नुपर्ने आवश्यकता आउन सक्थ्यो। धेरै बच्चाहरू भेन्टिलेटरमा पनि राखिए।”
प्रहरीले उक्त विषयमा जाँच पनि गर्यो र अहिले यो सवाल अदालतमा पुगेको छ। यसमा डिजिटल भिजन नामक कम्पनीमाथि आरोप लागेको थियो। तर कम्पनीका मालिक परषोत्तम गोयलले बच्चाहरूले आफ्नो कम्पनीले बनाएको कफ सिरप सेवन नगरेको दाबी गरेका छन्।
हिमाचल प्रदेशमा उनको कारखानामा फोनमा कुराकानी हुँदा उनले भने, “हामी बच्चाहरूको ज्यान लिनलाई बसेका हौँ र? हामी त्यहाँ कुनै बच्चालाई किन मार्छौँ? हामी औषधि बनाइरहेका छौँ, कुनै विषादी होइन। हामी भगवानबाट डराउने मानिस हौँ। कसैप्रति हामीले अन्याय गर्नुपर्ने कारण के छ?”
बालबालिकाको निधन भएपछि ६ महिनासम्म उक्त उद्योगलाई बन्द गरिएको हामीलाई बताइएको थियो। तर अदालतको आदेशपछि उद्योगहरू पुनः खुलेका छन्।
अभियानकर्ता र लेखक दिनेश ठाकुर प्रणालीमा पारदर्शिताको कमी रहेको आरोप लगाउँछन्।

उनका अनुसार जब भारतीय कम्पनीहरू अमेरिका र युरोपका लागि औषधि बनाउँछन् तब उनीहरूका मापदण्ड अलग हुन्छन्। तर जब तिनीहरूले भारत या अफ्रिकी देशका लागि औषधि उत्पादन गर्छन् उनीहरूले अलग्गै मापदण्ड अँगाल्छन्।
फर्मास्युटिक एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इन्डियाका निर्देशक जनरल उदय भास्कर यी आरोपप्रति सहमत छैनन्।
उनी भन्छन्, “अफ्रिका हाम्रो तेस्रो ठूलो निर्यात बजार हो। दक्षिण अफ्रिका, घाना, नाइजेरिया र धेरै देशहरू छन् जहाँका नियामक संस्थाहरू ज्यादै मजबुत छन्।”
बाँचेका बालबालिका
रामनगरमा यस्ता परिवार पनि छन्, जो आफ्ना बच्चाहरूले कथित विषालु कफ सिरप सेवन गरेपनि बाँचेको सम्झन्छन्।
पवन कुमारको परिवारका अनुसार उनलाई १५ महिनाको हुँदा उक्त विषालु कफ सिरप दिइएको थियो।
पवन तीन महिना अस्पतालमा भर्ती भए। उनको उपचार अझै पनि चलिरहेको छ।
पवनका पिता शम्भुराम मजदुरी गरेर दैनिक ४०० देखि ५०० रुपियाँ कमाइरहेका छन्।

शम्भुराम भन्छन्, “अहिले यसको आँखाको क्षमता पनि कम भएको छ र एउटा कान पनि खराब भएको छ। चिकित्सकहरूले के भनिरहेका छन् भने जब ऊ ठूलो हुन्छ, उसले कुनै काम गर्न सक्दैन। दौडन सक्दैन र कुनै वजन पनि उठाउन सक्दैन।”
विषालु औषधिकै कारण ६ वर्षका प्रणव ३० दिन भन्दा बढी बेहोस रहे। परिवारका अनुसार अहिले उनले सुन्न र देख्न दुवै गर्न सक्दैनन्।
उनकी आमा प्रिया बर्मा भन्छिन्, “डाक्टरहरू भन्छन् कि उसको मस्तिष्कको, आँखाको, कानको र नसामा क्षति पुगेको छ। उनी फेरि आउँछन् या आउँदैनन् यो पक्का छैन। (उनले भनेका छन् कि यो कुरालाई) भगवानको हातमा छोडिदिऔँ।”
प्रणव एक्लै बस्न सक्दैनन्। उनीसँग अधिकांश समय कोही न कोही हुनु नै पर्छ। नत्रभने उनी कसैले उसलाई एक्लै छोडेर गए कि भनेर डराउँछन्।

तस्बिर स्रोत, BBC
परिवारहरूले बच्चाको उपचारका लागि सरकारको सहयोगको अपेक्षा गरिरहेका छन्। यदि भोलि उनीहरू रहेनन् भने बच्चाहरूले स्वयं आफ्नो हेरविचार गर्न सकून् भन्ने उनीहरूको चाहना छ।
दुई वर्षकी बन्ना, तीन वर्षकी अङ्किता, ११ महिनाकी जाह्नवी, १० महिनाका आइसाटू र एक वर्ष सात महिना पुगेका मूसा अनि कैयौँ अरू नामहरू।
परिवारहरू चाहन्छन् कि दोषीहरूमाथि कानुनअनुसार कडा भन्दा कडा सजाय होस्। तर उनीहरूलाई थाहा छ यो लडाइँ सजिलो हुने छैन।
आफ्ना दुई महिनाका छोरा इफानलाई गुमाएका जाफरउद्दीन भन्छन्, “न्याय पाउनैपर्छ।”
गाम्बिया होस् या जम्मू दुवै ठाउँबाट कफ सिरपकै करण ठूलो सङ्ख्यामा बच्चाहरूको ज्यान गएको आरोप लागेको छ।
अहिले कैयौँ मामिलाको जाँच पूरा भएको छैन। कतिपयमा कारबाहीसमेत हुनसकेको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








