कोभिड: कोरोनाभाइरुस सङ्क्रमणको उपचारमा प्रयोग भइरहेका औषधि कुन-कुन हुन्?

कोभिड बिरामी

तस्बिर स्रोत, Getty Images

    • Author, जेम्स ग्यालहर
    • Role, बीबीसी विश्व सेवा

कोरोनाभाइरसविरुद्ध बनेका खोपहरूले महामारीलाई केही हदसम्म कम गरे पनि यो सङ्क्रमणको उपचारका लागि औषधिको माग उत्तिकै छ।

खोपबाट विकास हुने प्रतिरोधात्मक क्षमतामा ह्रास आउँदै जाने र विश्वका कतिपय ठाउँहरूमा खोपको पहुँच नै नहुने जस्ता समस्या छन्।

ओमिक्रोनजस्ता नयाँ उत्परिवर्तित भेरिअन्टहरुले औषधिको पनि तयारी गरिरहनुपर्ने पक्षलाई जोड दिएको छ।

कुन-कुन औषधि उपलब्ध छन्?

अहिले धेरै वटा औषधि बनिसकेका छन् जसले भाइरस वा हाम्रो शरीरलाई लक्षित गरेर यसको उपचारमा मद्दत गर्छन्।

  • एन्टी-न्फ्लेमेटरी औषधिले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई आवश्यकताभन्दा बढी प्रतिक्रिया जनाउनबाट रोक्छ।
  • एन्टी-भाइरल औषधिले कोरोनाभाइरसलाई हाम्रो शरीरभित्र थप वृद्धि हुन कठिन बनाउँछ।
  • एन्टीबडी थेरापीले हाम्रो रोग प्रतिरोधी प्रणालीको नक्कल गरेर भाइरसमाथि आक्रमण गर्छ।

यी सबै औषधि सङ्क्रमणको विभिन्न चरणमा आवश्यक हुने उपचारमा प्रयोग हुन्छन्।

यिनीहरू असाध्यै सस्तोदेखि निकै महँगोसम्म छन्।

केही उपचार त नयाँ भेरिअन्टको लागि अरूभन्दा निकै प्रभावकारी पनि छन्।

एन्टी-न्फ्लेमेटरी औषधि

जब हामीलाई कोभिड लाग्छ हाम्रो शरीरले आक्रमण भएको जनाउ दिन रसायनहरूको ठुलो मात्रा निष्कासन गर्छ।

यो रसायन सूचकलाई इन्फ्लेमेशन अर्थात् जलन भनिन्छ। यो हाम्रो प्रतिरोधात्मक क्षमतालाई प्रयोग गरी कोभिडविरुद्ध लड्न महत्त्वपूर्ण छ।

तर भाइरसबाट छिट्टै मुक्ति पाउन सकिएन भने यो नियन्त्रण बाहिर जान्छ र फोक्सोलगायत हाम्रो महत्त्वपूर्ण अङ्गलाई क्षति गर्न र मृत्युको मुखमा पुर्‍याउन सक्छ।

यस्तो इन्फ्लेमेशन रोक्ने स्टेरोइड कोभिड सुरु हुनुभन्दा अगाडिबाटै प्रयोगमा थियो।

डेक्सामेथासोन कोभिड भएका मानिसहरूको ज्यान बचाउन सक्ने प्रमाणित भएको पहिलो औषधि हो।

यो श्वासप्रश्वासमा समस्या भएका गम्भीर बिरामीहरूलाई दिइन्छ।

यसले अक्सिजन प्रयोग गर्नुपर्ने अवस्थाका बिरामीको मृत्यु हुने जोखिमलाई घटाएर पाँच जनामा चार जनालाई बचाउन सकिने बताइएको छ।

भेन्टिलेटरमा रहेका मध्येमा पनि तीन जनामा दुई जना बचाउन सकिने अध्ययनहरूले देखाएका छन्।

अस्पतालको शैय्यामा एक महिला

तस्बिर स्रोत, Getty Images

यो निकै सस्तो भएका कारण ब्रजिलदेखि चीनसम्म विश्वभरि यो पहिलो प्राथमिकताको औषधि भएको छ।

स्टेरोइड हाइड्रोकोर्टिसोनजस्ता अरू एन्टी-इन्फ्लेमेटरी औषधिहरूले पनि कोभिडविरुद्ध काम गरेका छन्।

त्यसबाहेक टोसिलिजुम्याब र सरिलुम्याबजस्ता थप परिष्कृत र अझ कोभिडलक्षित एन्टी-इन्फ्लेमेटरी औषधिहरू पनि विकास भएका छन्।

टोसिलिजुम्याब चीन, भारत र अस्ट्रेलियाका अस्पतालहरूमा व्यापक प्रयोग भइसकेको छ।

यी औषधिहरू पनि प्रभावकारी छन् तर डेक्सामेथासोनको तुलनामा १०० गुणा बढी महँगा छन्।

यही कारणले यिनीहरूको प्रयोगमा प्रतिबन्ध जस्तै छ। यद्यपि यी औषधिहरू आइसीयु बेडको खर्चभन्दा सस्तो छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ओमिक्रोन: विद्यार्थीलाई पढाइ छुट्ने चिन्ता र श्रमिकलाई रोजगारी गुम्ने डर

एन्टी-इन्फ्लेमेटरी औषधिहरू यो रोगको पछिल्लो चरणको उपचारका लागि प्रभावकारी छन्।

तर दमको उपचारमा प्रयोग हुने बडेसोनाइडले जोखिमपूर्ण अवस्थाका मानिसहरूलाई कोभिड लक्षणहरू सुरु हुनासाथ प्रयोग गर्दा छिटो निको हुन मद्दत गर्ने देखिएको छ।

एन्टी-भाइरल औषधि

एन्टी-भाइरलले कोरोनाभाइरसले हाम्रो शरीरमा थप भाइरसहरू विकास गर्ने क्षमतामा आक्रमण गर्छ।

यस्ता औषधिले हाम्रो शरीरमा भाइरसको मात्रा कम राख्छ जसकारण हाम्रो प्रतिरोधी क्षमतालाई थोरै भाइरसहरूसँग जुध्न सहज हुन्छ।

पाक्सलोभिड पाँच दिनसम्म दिनमा दुई पटक खाने चक्की हो। यसको उत्पादक फाइजरका अनुसार यसले जोखिम समूहका वयस्कहरूमा अस्पताल भर्ना हुने र मृत्यु हुने जोखिम ८९ प्रतिशतसम्म कम गर्छ।

मोल्नुपिराभिरले भाइरसलाई उसका आफ्नै नमुनाहरू बनाउनबाट रोक्छ। यसको उत्पादक मर्कका अनुसार यसले अस्पताल भर्ना हुने र मृत्यु हुनसक्ने जोखिमलाई आधा कम गर्छ।

हातमा चक्कीहरू

तस्बिर स्रोत, Getty Images

पाक्सलोभिड र मोल्नुपिराभिर दुवै लक्षण देखिनासाथ प्रयोग गर्दा प्रभावकारी मानिन्छन्।

फाइजरले सन् २०२२ को अन्त्यसम्म आठ करोड व्यक्तिलाई पुग्ने पाक्सलोभिड बनाउने अपेक्षा गरेको छ।

उसले ९५ वटा न्यून आय भएका देशहरूलाई यो लागत मूल्यमै उत्पादन र बिक्रीका लागि अनुमति दिनेछ।

मर्कले भारतीय साधारण औषधि कम्पनीहरूलाई मोल्लुपिराभिर उत्पादन गरेर १०० वटा न्यून आय भएका देशहरूलाई सस्तोमा वितरणका लागि अनुमति दिने जनाएको छ।

एन्टीबडी थेरापी

तेस्रो विधि भनेको शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने र भाइरसमाथि आक्रमण गर्न मद्दत गर्ने तरल औषधि दिनु हो।

यिनीहरू कोरोनाभाइरसको बाहिरी आवरणमा टाँसिन्छन् र शरीरको प्रतिरोधात्मक क्षमताबाट नष्ट गर्नका लागि निशाना बनाउँछन्।

कोरोनाभाइरसबाट आक्रमण भइसकेपछि शरीरले पनि आफ्नै प्रतिरोधी क्षमता विकास गर्छ।

यसको सबैभन्दा प्रभावकारी पक्ष भनेको प्रयोगशालामा अध्ययन भएर आउनु र बिरामीहरूमै परीक्षण गरेर विकास गरिनु हो। यसलाई मोनोक्लोनल थेरापी पनि भनिन्छ।

यस्ता थेरापीहरू आफैँ प्रतिरोधी क्षमता बनाउन नसक्ने गम्भीर अवस्थाका बिरामीहरूका लागि आरक्षित गरिएका हुन्छन्।

  • रिजेनेरोन र रोचले बनाएको रोनाप्रिभले अस्पताल बसाइको अवधि छोट्टाउन र मृत्यु कम गर्न सहयोग गर्छ।
  • जिएसकेले बनाएको सोत्रोभिम्यावले अस्पताल भर्ना हुने जोखिम कम गर्नुका साथै उच्च जोखिम भएका वयस्कहरूमा मृत्युको सम्भावना ७९ प्रतिशतले कम गर्छ।

जति सक्दो छिटो औषधि चलाउन सुरु गरिन्छ त्यसको सफलताको सम्भावना उतिनै राम्रो हुन्छ।

कतिपय देशहरूमा अर्को एन्टीभाइरल रेम्डिसिभिर पनि प्रयोग भइरहे पनि विश्व स्वास्थ्य सङ्गठनले अस्पताल भर्ना भइसकेका बिरामीहरूमा यो अलिअलि वा केही पनि प्रभावकारी नहुने भन्दै सचेत गराएको छ।

नयाँ भेरिअन्टविरुद्ध कुन औषधीले काम गर्छ?

भाइरसका सबै भेरिअन्टहरूविरुद्ध एन्टी-इन्फ्लेमेटरीले राम्रो काम गर्नुपर्छ किनभने यिनीहरू भाइरसलक्षित नभएर हाम्रो आफ्नै शरीरलक्षित हुन्।

दक्षिण सुडानमा एक पुरूषलाई खोप लगाइँदै

तस्बिर स्रोत, Getty Images

भाइरससँग धेरै मिल्दो अवस्थासँग निर्भर रहने भएका कारण मोनोक्लोनल प्रतिरोधी विधि नयाँ भेरिअन्टहरूविरुद्ध प्रभावकारी भए/नभएको विषयमा चिन्ता व्यक्त गरिएको छ।

यदि नयाँ भेरिअन्ट अत्यधिक उत्परिवर्तित भएको अवस्थामा यो विधिको औषधि सैद्धान्तिक रूपमै कमजोर रहन्छ।

यद्यपि उत्पादक जिएसकेले ओमिक्रोन भेरिअन्टविरुद्ध गरिएको परीक्षणमा पनि उसको थेरापी प्रयोगशालाको परीक्षणमा प्रभावकारी देखिएको छ।

एन्टी-भाइरलहरू हालसम्म देखिएका भेरिअन्टहरूविरुद्ध लड्न सक्ने आकलन गरिएको छ।

ओमिक्रोनमा देखिएको कुनै पनि उत्परिवर्तनले औषधिले काम गर्ने क्षमतामा असर नगर्ने बताइएको छ। तर व्यापक रूपमा औषधिको प्रयोग बढ्दै जाँदा भाइरसहरू पनि औषधि सहन सक्ने बन्ने सम्भावना रहन्छ।

अरू कस्ता औषधि छन्?

कोभिडको सम्भावित उपचारका लागि ठुलो सङ्ख्यामा फरक-फरक औषधिहरू बन्ने देखिए पनि कुनैकुनै औषधिहरूबीच हुने भिन्नता नै छुट्टाउन कठिन छ।

आइभरमेक्टिनले काम गर्ने कुनै प्रमाण नभए पनि विश्वका धेरै स्थानमा यसको प्रयोगलाई प्रवर्द्धन गरिएको छ।

कोभिडबाट निको भएका व्यक्तिहरूको रगतबाट दिइने प्लाज्मा थेरापी राम्रो भनिए पनि यसले मृत्यु घटाएको छैन।

औलो र एचआईभीको उपचारमा प्रयोग हुने औषधिले काम गर्ने अनुमान गरिए पनि यसले काम गरेको छैन।