कोरोनाभाइरस: भेरिअन्ट पत्ता लगाउने जीन सीक्वन्सिङ के हो र त्यो कसरी गरिन्छ?

तस्बिर स्रोत, Reuters
कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिएको खबरमाझ भाइरसको नयाँ प्रकार चिन्ने विधि जीन सीक्वन्सिङबारे चर्चा भइरहेको छ।
पहिले नेपालमा जीन सीक्वन्सिङ नहुने गरेकोमा अहिले हुन थालेको अधिकारीहरूले जानकारी दिएका छन्।
उनीहरूका भनाइमा नयाँ भेरिअन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै जीन सीक्वन्सिङलाई तीव्र पार्न लागिएको छ।
जीन सीक्वन्सिङबारे चासोहरू व्यक्त भइरहेका बेला बीबीसी न्यूज नेपालीले विज्ञ र अधिकारीहरूसँग कुराकानी गरेर जीन सीक्वन्सिङ के हो र त्यो कसरी गरिन्छ भन्ने जानकारी खोजेका छौँ।
जीन सीक्वन्सिङको आवश्यकता
जनस्वास्थ्य अधिकारी र सूक्ष्मजीव विज्ञका अनुसार सबैभन्दा पहिले कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउनका लागि व्यक्तिको स्वाबको नमुना सङ्कलन गरिन्छ।
सङ्कलित नमुनाको प्रयोगशालामा परीक्षण गरेर भाइरसको सङ्क्रमण छ कि छैन भन्ने पत्ता लगाइन्छ।
तर त्यसरी भाइरस पत्ता लगाउने सबै प्रयोगशालाले कुन भेरिअन्टको भाइरस हो भन्ने पत्ता लगाउन सक्दैनन्।
त्यसका लागि थप प्रविधि र सामग्रीको आवश्यकता पर्छ।
प्रविधि, आवश्यक सामग्री र जनशक्ति पनि उपलब्ध प्रयोगशालाले पनि हरेक नमुनाको परीक्षण गर्दा कुन भेरिअन्ट हो भन्ने हेर्दैनन् किनकि त्यो निकै खर्चिलो हुन्छ।
कुन भेरिअन्ट हो भनेर हेर्नका निम्ति भाइरसको डीएनए वा आरएनएमा रहेका तत्त्वहरू (जसलाई विज्ञानको भाषामा न्यूक्लिओटाइड भनिन्छ) को क्रम (सीक्वन्स) हेर्नुपर्ने हुन्छ।
त्यस्तो जाँच गर्ने विधि नै जीन सीक्वन्सिङ भएको विज्ञहरू बताउँछन्।

तस्बिर स्रोत, Science Photo Library
नेपालमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित विश्वविद्यालयहरूमा रहेका केही प्रयोगशालाहरूले जीन सीक्वन्सिङ गरेर भाइरसको अध्ययन गरिरहेको बताइएको छ।
जीन सीक्वन्सिङ के हो?
त्रिभुवन विश्वविद्यालय सूक्ष्म जीवविज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा पूर्वप्रमुख डा. मेघराज बञ्जाराका अनुसार जीन सीक्वन्सिङमा भाइरसमा रहेको न्यूक्लिओटाइडको क्रम (सीक्वन्स) लाई हेरेर त्यसमा परिवर्तन भए/नभएको पत्ता लगाइन्छ।
उनका अनुसार हरेक जीवमा विभिन्न खाले न्यूक्लिओटाइड हुने गर्छन्।
कोरोनाभाइरस आरएनए भाइरस भएकाले त्यसमा एडेनिन (adenine), युरासिल (uracil), साइटोसिन (cytosine) र ग्वानिन (guanine) जस्ता तत्त्वहरू रहने बञ्जाराले बताए।
यीनै न्यूक्लिओटाइडलाई बुझाउन छोटकरीमा एयूसीजी भनिन्छ र जीन सीक्वन्सिङमा एयूसीजीको क्रम अर्थात् सीक्वन्स कस्तो छ भनेर हेर्ने गरिन्छ।
भाइरस उत्परिवर्तन भएर त्यस्तो क्रममा रूपान्तरण भएको देखियो भने नयाँ भेरिअन्ट बनेको पत्ता लाग्छ।
बञ्जारा भन्छन्, "कम्युटरको किबोर्डमा लहरै अक्षर र अङ्कका किहरू राखिएजस्तै मिलेर आरएनएमा पनि विभिन्न तत्त्वहरू मिलेर बसेका हुन्छन्। किबोर्डमा २६ वटा अक्षर भए तर यसमा (आरएनए) चाहिँ चारवटा तत्त्वका सीक्वन्स हुन्छ।"
भाइरसमा उत्परिवर्तन भएपछि सीक्वन्समा परिवर्तन आउने बञ्जाराले बताए।

"कम्युटरको किबोर्डका किहरूलाई जुन क्रममा मिलाउनु पर्ने हो त्यो क्रममा नमिलाउँदाको जस्तो अवस्था उत्पन्न भई सीक्वन्स परिवर्तन भयो भने उत्परिवर्तन भयो भन्ने थाहा हुन्छ," उनले थपे।
त्यसरी भाइरस परिवर्तन भएपछि त्यसबाट उत्पन्न हुने प्रोटिन पनि परिवर्तन हुने उनी बताउँछन्।
जस्तो कोरोनाभाइरसको सतहमा स्पाइक प्रोटिन हुन्छ। सीक्वन्स परिवर्तन हुँदा भाइरसले बनाउने स्पाइक प्रोटिन पनि परिवर्तन हुने उनी बताउँछन्।
त्यसबाट पर्ने असरबारे बञ्जाराले भने, "छुट्टै खालको प्रोटिन बनेपछि हाम्रो शरीरले पहिलेको भाइरसलाई जुन प्रतिक्रिया देखाइरहेको थियो र प्रतिरक्षा प्रणालीले जुन भाइरसलाई चिन्थ्यो, नयाँ भाइरसलाई चाहिँ नचिन्ने हुनसक्छ।"
त्यसले रोग निदान र उपचारमा पनि समस्या उत्पन्न हुनसक्ने उनी बताउँछन्।
जीन सीक्वन्सिङ किन?
भाइरसमा हुने आनुवंशिक तत्त्वलाई मानिसको औँलाको छापजस्तै मानिने र त्यसलाई 'मोलिक्युलर फिङ्गरप्रिन्ट' भनिने बञ्जारा बताउँछन्।
त्यस्ता तत्त्वको सीक्वन्स भाइरसपिच्छे फरक हुने भएकाले त्यसलाई हेरेर कुनै भाइरस सुरुकै अवस्थाको हो वा उत्परिवर्तित हो भन्ने पत्ता लगाउन सकिने उनले बताए।
"हामीले सीक्वन्सिङ गर्यौँ भने कुनै भाइरसमा उत्परिवर्तन भएको छ कि छैन अनि अहिलेका निदान र उपचारका विधि तथा खोपले काम गर्छन् कि गर्दैनन् भनेर पत्ता लगाउन सजिलो हुन्छ," उनले भने।
उनी खोप तथा औषधि कति प्रभावकारी हुन्छन् भन्ने जानका लागि पनि भाइरसको जीन सीक्वन्सीङ गरेर उसको उत्परिवर्तनबारे जानकारी लिनुपर्नेमा जोड दिन्छन्।
उनी प्राकृतिक रूपमा नै भाइरस उत्परिवर्तन हुने गरेकाले यो अनौठो नभएको बताउँछन्।

सूक्ष्म जीवहरू पनि प्राकृतिक रूपमा नै रहन चाहने भए पनि वातावरणीय प्रभावका कारण उत्परिवर्तन हुने गरेको उनले बताए।
त्यस्ता वातावरणीय प्रभावमा खोप र औषधिहरू पनि पर्छन्।
खोप तथा औषधिले भाइरसलाई विकास हुन नदिने र भाइरसले त्यो औषधि वा खोप पचाउँदै आफूलाई अस्तित्वमा ल्याउने प्रयास गर्दा स्वरूप परिवर्तन गर्ने गरेको बञ्जाराको भनाइ छ।
कतिपय अवस्थामा प्राकृतिक रूपमै भाइरस आफैँ परिवर्तन हुने भए पनि त्यो प्रक्रिया केही लामो हुने गर्छ।
नेपालले कहाँ हुन्छ जीन सीक्वन्सिङ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा गत भदौदेखि सरकारी स्तरमा जीन सीक्वन्सिङ सुरु भएको छ।
तर अहिले पनि केही नमुना नेपालमा र केही विदेश पठाएर पनि सीक्वन्सिङ हुने गरेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए।
उनले भने, "जीन सीक्वन्सिङका लागि हामीले नमुनाहरू हाम्रो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र हामीसँग सम्झौता भएअनुसार पब्लिक हेल्थ इङ्ग्ल्यान्डमा पठाएर गर्ने प्रबन्ध मिलाएका छौँ।"
गत भदौमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागको प्रयोगशालामा कुल ४२ वटा नमुनाको जीन सीक्वन्सिङ गरिएको थियो।
कोरोनाभाइरसको नयाँ भेरिअन्ट आउने जोखिम बढेको भन्दै अहिले जीन सीक्वन्सिङलाई तीव्र पार्न लागिएको पनि अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुणा झाका अनुसार प्रयोगशालाले पहिले मासिक रूपमा जीन सीक्वन्सिङ गर्दै आएकोमा अब साप्ताहिक रूपमा गर्ने तयारी गरिएको छ।
त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि विभिन्न निकायसँग मिलेर जीन सीक्वन्सिङ गर्दै आएको सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए।
उनले परिषद्ले एउटा टोली बनाएर नयाँ भेरिअन्टको जोखिमलाई मध्यनजर गर्दै काठमाण्डू विश्वविद्यालयसँगको सहकार्यमा फेरि जीन सीक्वन्सिङ गर्न लागिएको बताए।
जानकारहरूका अनुसार नेपालमा जीन सीक्वन्सिङ गर्ने क्षमता भएका प्रयोगशालाहरूमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिभुवन विश्वविद्यालय र काठमाण्डू विश्वविद्यालयमा रहेका प्रयोगशाला हुन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पनि जीन सीक्वन्सिङ गर्न मिल्ने प्रविधिको प्रयोगशाला रहेको तर हाल प्रयोगमा नरहेको बताइन्छ।
त्यस्तै निजी क्षेत्रका केही प्रयोगशालासँग पनि जीन सीक्वन्सिङको प्रविधि रहेको प्रयोगशाला सञ्चालकहरूले बताएका छन्।









