ओमिक्रोन: नयाँ भेरिअन्ट पहिले पत्ता लागेको दक्षिणी अफ्रिकामा के पर्याप्त कोभिड खोप छ?

तस्बिर स्रोत, Getty Images
- Author, रेचल श्रेअर र जेक हर्टन
- Role, बीबीसी रियालिटी चेक
दक्षिणी अफ्रिकामा पहिलो पटक देखिएको ओमिक्रोन भेरिअन्टका कारण विश्वका थुप्रै देशले आफ्ना सीमामा कडाइ गरेका छन् र नयाँ प्रतिबन्धहरू लगाएका छन्।
यूकेका पूर्वप्रधानमन्त्री गोर्डन ब्राउन नयाँ भेरिअन्ट कुनै "अचम्मको कुरा" नभएको र धनी देशहरू खोप बाँड्न विफल हुँदा "यो फर्किएर हामीतिरै आएको" बताएका छन्।
त्यसो भए दक्षिणी अफ्रिकाका देशहरूमा पर्याप्त खोप छ त?
र लक्षित जनसङ्ख्यासम्म खोप पुगेको छ त?
खोप दरको तुलना
विश्वव्यापी औसतमा प्रति १०० जना मानिसलाई १०० भन्दा बढी मात्रा खोप लगाइएको छ। धेरै धनी देशहरूले त्यो औसत नाघेका छन्।
तर दक्षिणी अफ्रिकी देशहरूमा प्रति १०० मानिसलाई औसतमा जम्मा ४२ खोपको मात्राको मात्रै प्रबन्ध गरिएको छ।
अन्य क्षेत्रमा त्यो दर अझै कम छ।
लेसोथोमा प्रति १०० जना मानिसमा ३० भन्दा कम मात्रा दिइएको छ भने नामिबियामा केवल २५ मात्रा दिइएको छ।

आपूर्ति पर्याप्त छ?
खोपका लागि अफ्रिकी देशहरू दुईपक्षीय सम्झौता, दान र खोप वितरणको कोभ्याक्स योजनामा भर परेका छन्।
यो वर्षको सुरुमा कोभ्याक्स अन्तर्गत खोप आपूर्तिका लागि देशहरू सङ्घर्षरत रहे। तर जुलाई र अगस्टमा अवस्थामा सुधार आयो।
अफ्रिकी देशहरूमा खोपको आपूर्ति बढे पनि विश्वव्यापी खोप अभियान गाभीले बिना पूर्वसूचना म्याद गुज्रनै लागेका खोप धेरै दान दिइएको जनाएको छ।
गाभीले एउटा विज्ञप्तिमा यसले खोप अभियान योजना बनाउन ती देशहरूका लागि निकै चुनौतीपूर्ण बनेको बताएको छ।
उदाहरणका लागि दक्षिण अफ्रिकामा गत साता स्वास्थ्यमन्त्रीले खोपको भण्डारणका कारण थप खोपको आपूर्ति ढिला गरिदिए।
त्यहाँका स्वास्थ्य विभागका उपमहानिर्देशकले रोयटर्स समाचार संस्थासँग बोल्दै दक्षिण अफ्रिकासँग एक करोड ६८ लाख खोप भण्डारमा रहेको बताए।
अफ्रिकी कयौँ देशमा खोपको म्याद सकिएका कारण खोपहरू फाल्नुपरेका खबरहरू पनि हामीले समाचार बनाएका छौँ।
एअरफिनिटी अध्ययन परियोजनाले उपलब्ध गराएको तथ्याङ्कले अफ्रिकामा एक अर्ब दुई करोडभन्दा बढी मानिसका लागि ३८ करोड ४० लाख खोप पठाइएको जनाएको छ।
१८ वर्षमाथिका मानिसको सङ्ख्या चार करोड रहेको दक्षिण अफ्रिकामा तीन करोड २५ लाख खोप पठाइएको छ।
२३ लाख जनसङ्ख्या भएको बोत्स्वानामा २४ लाख खोप र २५ लाख जनसङ्ख्या भएको नामिबियामा १० लाख खोप पठाइएको थियो।
खोप किन कम मात्रै लगियो?
खोपको असमान वितरण स्पष्ट रुपमा एउटा समस्या बन्दै आएको छ। तर खोपको आपूर्ति रोक्नुपर्ने तथ्यले त्यहाँ त्यसबाहेक अरू समस्या पनि छ भन्ने देखाउँछ।
दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री जो पाल्अले "मिथ्या सूचना"का कारण खासगरि युवा उमेरका मानिसहरूले खोप लगाउनेबारे यकिन निर्णय गर्न नसकेको बताए।
गलत सूचना वा सही सूचनाको कमीले खोपको सुरक्षाबारे थुप्रै आशङ्काहरू रहेका छन्।
बृहत् रुपमा गरिएका परीक्षणहरूका आधारमा खोप लगाएकामा गम्भीर जटिलता एकदमै दुर्लभ हो। अर्बौँ खोप लगाइसकिएका छन्।
खोपबारेका केही विवरणहरू गलत छन् भने केही चाहिँ सत्यमा आधारित छन्। उदाहरणका लागि खोप लगाएका मानिसलाई पनि कोभिड हुन्छ भन्ने सत्य कुरा हो।
दक्षिण अफ्रिकाको स्वास्थ्य विभागसँग मिलेर गरिएका अध्ययनले त्यसै कारण पनि मानिसहरूलाई खोपले काम गर्दैन भन्ने लागेको पाएको छ।
खोप लगाएपछि कोभिड भए पनि धेरै मानिसहरूमा लक्षण कम देखिन्छ र बिरामीको अवस्था गम्भीर हुँदैन। भाइरसका कारण अस्पतालनै भर्ना हुनुपर्दैन वा मानिसको मृत्यु नै हुने हुँदैन।

तस्बिर स्रोत, Getty Images
ग्रामीण भेगमा खोप पुर्याउने समस्या
मानिसहरूले खोप नलगाउनुमा खोपले पार्नसक्ने असर र सुरक्षा दुई वटा प्रमुख कारण रहेका छन्। तर तेस्रो कारण भनेको चाहिँ खोपको पहुँच हो। खोप केन्द्रसम्म खोप पुग्न लाग्ने समय अर्को कारण हो।
स्वास्थ्य विभागले तयार पारेको प्रतिवेदन अनुसार दक्षिण अफ्रिकाको उत्तर-पश्चिममा रहेका थुप्रै समुदायका मानिसहरूको खोप केन्द्रसम्म सहज पहुँच छैन।
केही क्षेत्रमा खोपको आपूर्तिमा पनि समस्या आएको थियो। खोप लगाउनुपर्ने मानिसहरूको सङ्ख्या बाँकी नै रहँदा ती केन्द्रमा खोप सकिएको थियो।
जोहानेसबर्गस्थित विट्स विश्वविद्यालयमा खोप तथा सङ्क्रामक रोगको अनुसन्धान गरिरहेकी सारा डाउन्सले दक्षिण अफ्रिकामा "खोपविरोधी कुराभन्दा खोप लगाउने अनिच्छा एकदमै धेरै" रहेको बताइन्।
केही क्षेत्रमा यातायातको व्यवस्था नहुँदा वा खराब हुँदा पनि खोप लगाउन कठिन हुने गरेको उनले बताइन्।








