द गाम्बिया र इन्डोनेशिया घटना: नेपालका कफ सिरप कति सुरक्षित

तस्बिर स्रोत, Getty Images
इन्डोनेशिया र गाम्बियामा खोकीको झोल औषधिका कारण कैयौँ बालबालिकाको मृत्यु भएको विवरण आएपछि नेपाली औषधि नियामक निकायका अधिकारीहरूले नेपालमा पनि सजगता अपनाउनुपर्ने बताएका छन्।
झन्डै १०० बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधि बेच्न प्रतिबन्ध लगाइएको छ।
त्यसअघि द गाम्बियामा ७० बालबालिकाको मृत्यु भएको घटनामा खोकीको औषधिको सम्बन्ध रहेको पाइएको थियो।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भारतमा उत्पादित खोकी रोक्ने औषधिहरूलाई गाम्बियामा भएका घटनासँग जोड्दै खोकीका चारवटा औषधिबारे विश्वव्यापी चेतावनी जारी गरेको थियो।
इन्डोनेशियाको घटनापछि नेपाली अधिकारीहरू के भन्छन्?
नेपालको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले नेपालमा झोल ओषधिहरूका कारण कुनै समस्या नदेखिएका भए तापनि इण्डोनेशिया र द गाम्बियाका घटनाका कारण आफूहरू सजग भएको बताए।
उनले भने, "इन्डोनेशिया औषधि नियमन गर्ने विषयमा हाम्रो भन्दा राम्रो गुणस्तर मापदण्ड कायम गर्ने देशमा पर्छ। यस्तो जोखिम जहाँबाट कच्चा पदार्थ ल्याइयो त्यहाँबाट नै आउँछ। त्यही भएर के गर्ने भनेर हामी आन्तरिक छलफलमा नै छौँ।"
उनले थपे, "हाम्रोमा कुनै समस्या त देखिएको छैन। तैपनि अलिकति सजग गराउनुपर्ने अवस्था देखिएको छ।"
द गाम्बियामा बालबालिकाको मृत्यु भएपछि डब्ल्यूएचओले मेइडन फार्मास्युटिकल्सले उत्पादन गरेका सिरपहरूबारे प्रश्न उठाएको थियो।
उसले ती सिरपहरूमा डाईएथलीन ग्लाइकोल र एथलीन ग्लाइकोलजस्ता पदार्थ "अस्वीकार्य मात्रा"मा रहेको जनाएको थियो।
साथै ती सिरपका कारण गाम्बियामा बालबालिकाको ज्यान लिने खालको मृगौला सम्बन्धी घातक स्वास्थ्य समस्या देखा परेको हुनसक्ने उसको भनाइ थियो।

तस्बिर स्रोत, Getty Images
इन्डोनेशियाका अधिकारीहरूले सिरप औषधिमा मिर्गौलामा गम्भीर असर पार्ने अक्यूट किड्नी इन्जरी (एकेआई) गराउने पदार्थहरू फेला परेको उल्लेख गरेको भएपनि प्रतिबन्ध लगाइएका औषधि विदेशबाट आयात गरिएका हुन् वा स्थानीय उत्पादन हुन् भन्ने कुरा स्पष्ट पारिसकेको छैन।
नेपालको औषधि व्यवस्था विभागका सूचना अधिकारी केसीले डाईएथलीन ग्लाइकोल प्रयोग गरेर नेपालमा औषधि नबनाइने जानकारी दिए।
तर कतिपय विज्ञहरूले भारतसँग खुला सिमाना भएको र चिकित्सकहरूको परामर्श विना नै खोकीका औषधिहरू किन्ने प्रचलन व्याप्त रहेको भन्दै सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्।
औषधि उत्पादक के भन्छन्?
सन् २०२१ मा नेपालमा उत्पादन भएका औषधिबारे गरिएको एउटा अध्ययनले कफ नियन्त्रणसँग सम्बन्धित सिरप, ट्याब्लेट र क्याप्सुलको मान्यताप्राप्त मिश्रणको ७९ प्रतिशत माग राष्ट्रिय उद्योगहरूले पूर्ति गर्ने उल्लेख गरेको थियो।
औषधि उत्पादकहरूको छाता सङ्गठन नेपाल औषधि उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीले नेपालमा उत्पादन हुने खोकीका औषधि सुरक्षित रहेको बताए।
उनले भने, "हाम्रो त्यस्तो खालको मिश्रणहरू छैन। मलाई लाग्छ उनीहरूको मिश्रणमा नै समस्या भएको हो। हाम्रो औषधि व्यवस्था विभागले विशेष प्रकारको नियम नै बनाएको हुनाले हाम्रो सुरक्षित नै छ।"

तस्बिर स्रोत, WHO
उनका अनुसार नयाँ खालको मिश्रण सहितको औषधि बनाउन औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ।
त्यसको अनुगमन गर्ने प्रणाली पनि स्थापना गरिएको भन्दै उनले नेपालमा परीक्षण र गुणस्तर कायम गर्न चुनौती नदेखिएको टिप्पणी गरे।
अति तीव्र गतिमा विस्तार भइरहेका फार्मास्युटिकल कम्पनीहरूले भारतमा औषधि उत्पादन गर्ने गर्छन्।
संसारभर औषधि निर्यात गर्ने भएकाले भारतलाई विश्वको औषधि उत्पादनको 'पावर हाउस' समेत भन्ने गरिन्छ।
द गाम्बियाको घटनापछि भारतको नियामक निकायले प्रश्न उठेका औषधिबारे अनुसन्धान थालेको बताएको थियो।
चिकित्सकको सल्लाह बिना खोकीका औषधि सेवन नगर्न सिफारिस
बाल स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष डाक्टर गणेश राई जथाभाबी रुघा, खोकीका औषधि सेवन गर्ने हानिकारक प्रवृत्ति नेपालमा रहेको बताउँछन्।
उनले भने, "हाम्रोमा घ्यार घ्यार गर्दा खाने, दम हुँदा खेरी खाने, ब्रोङ्काइटिस हुँदा खानेलाई पनि कफ सिरपमा नै गनिन्छ। रुघाखोकी र भाइरसले असर गर्दा पनि कफ सिरप नै लिने गरिन्छ। एलर्जीमा पनि कफ सिरप लिने र दिने चलन छ जुन गलत हो।"
उनका अनुसार चिकित्सकको सल्लाह बेगर कफ सिरप बिरामीले लिनु हुँदैन।

तस्बिर स्रोत, AFP
डाक्टर राईले भने, "कुनै कफ सिरपमा एलर्जीको दवाई मिसिएको हुन्छ। कुनैमा पारासिटामोल मिसिएको हुन्छ। कुनैमा रुघा कम गर्ने दवाई मिसिएको हुन्छ। कुनैमा खोकी कम गर्ने दवाई हुन्छ। यी चिजहरूलाई राम्रो बनाउन कुनै कुनैमा अल्कोहल पनि मिसाइएको हुन्छ। विभिन्न तत्त्व हुनाले कफ सिरपको साइड इफेक्ट बढ्ता हुने गर्छ।"
उनका अनुसार कफ सिरपले मुटुको धड्कन बढाउने, कफलाई सुख्खा बनाउने, सास फेर्ने नलीलाई ठूलो बनाइदिने जस्ता जोखिम देखिन्छ।
कम्पनी र मिश्रण अनुसार फरक फरक प्रयोजन हुने भन्दै उनले मनलाग्दी हिसाबले फार्मेसीहरूबाट कफ सिरपहरू किन्न नहुने बताए।
उनले भने, "हामी बिरामीलाई एकदमै कम कफ सिरप लेख्छौँ। जनभावी कफ सिरप किनेर खानुहुँदैन भनेर हामीले जान्नुपर्छ।"
उनले नेपालमा जुन सुकै ठाउँमा विभिन्न प्रकारका कफ सिरप खरिद गर्न पाइने भएकाले त्यसमा कडाइ गरिनुपर्ने धारणा राखे।
डाक्टर राई जस्ता कतिपय चिकित्सकहरूका अनुसार कफ सिरपको सट्टा आयुर्वेदिक र घरेलु औषधि प्रयोग गरी पनि रुघा खोकी ठिक पार्न सकिन्छ।
उनले भने, "हामीसँग तुलसीको पात, अदुवा, बेसार, मह मिसाएर खाने अभ्यास पनि छ। डब्ल्यूएचओले घरेलु उपचारको पनि सिफारिस गरेको छ त्यही भएर मेरो विचार चाहिँ त्यसै कफ सिरप लिनु हुँदैन। त्यसको कम भन्दा कम प्रयोग गर्नुपर्छ।"








