औषधिः नियमित पारासिटामोल सेवनले 'रक्तचाप उच्च हुन सक्ने चेतावनी'

तस्बिर स्रोत, Getty Images
उच्च रक्तचाप भएका बिरामीले लामो समयसम्म नियमित पारासिटामोल औषधि खाँदा त्यसले ह्रदयघात र मस्तिष्कघातको जोखिम बढ्न सक्ने एक अध्ययनले देखाएको छ।
एडिनबरा विश्वविद्यालयका अध्ययनकर्ताहरूले बिरामीलाई दीर्घकालीन रूपमा पारासिटामोल खान सिफारिस गर्नुअघि डाक्टरहरूले यसको जोखिम र फाइदालाई विचार गर्नुपर्ने बताएका छन्।
उनीहरूले टाउको दुख्दा र ज्वरोका लागि पारासिटामोल खाँदा भने सुरक्षित हुनेमा जोड दिएका छन्।
अन्य विज्ञहरूले यो अध्ययनको नतिजालाई बलियोसँग पुष्टि गर्न यस विषयमा थप धेरै मानिसमा लामो अवधिको अध्ययन आवश्यक भएको बताएका छन्।
सामान्य दुखाइ कम गर्ने औषधिका रूपमा पारासिटामोल विश्वभर व्यापक प्रयोग गरिन्छ। यसको फाइदा प्रमाणित नभए पनि दिर्घकालीन दुखाइको समस्या कम गर्नका लागि पनि सिफारिस गर्ने गरिएको छ।
सन् २०१८ मा स्कटल्यान्डमा पाँच लाख जनालाई पारासिटामोल सिफारिस गरिएको थियो।
यूकेमा मात्रै ३३ प्रतिशत जनसङ्ख्यालाई उच्च रक्तचापको समस्या छ।
एडिनबरा विश्वविद्यालयको अध्ययनले ११० जना स्वयंसेवीहरूलाई समेटेको थियो जसमध्ये दुई तिहाइ उच्च रक्तचापको समस्या भएका व्यक्ति थिए।

तस्बिर स्रोत, Getty Images
अध्ययनको परीक्षणमा उनीहरूलाई दुई साता दैनिक चार पटक एक ग्राम पारासिटामोल सेवन गर्न लगाइएको थियो र अर्को दुई साता उनीहरूलाई सेवन नगर्न भनिएको थियो।
परीक्षणले पारासिटामोलले रक्तचाप बढाएको देखियो जुन ह्रदयघात र मस्तिष्कघातको सबैभन्दा महत्त्वपूर्ण कारक हो।
अध्ययनकर्ताहरूले चिकित्सकहरूलाई विरामीको लागि नियमित पारासिटामोल सेवन गर्न दिँदा सकेसम्म थोरै मात्रा दिन र रक्तचाप एवम् मुटुसम्बन्धी रोगबारे चनाखो रहन सुझाव दिएका छन्।
"ज्वरो र दुखाइ कम गर्न छोटो अवधिको लागि पारासिटामोल सेवन गर्ने विषयमाथिको यो अध्ययन होइन, त्यसो गर्नु हुन्छ," प्रमुख अध्ययनकर्ता डा. इयन म्याकइन्टायरले भने।

तस्बिर स्रोत, Getty Images
लन्डन विश्वविद्यालयका डा. दीपेन्दर गिलले सर्कुलेशन जर्नलमा प्रकाशित अध्ययनले "श्वेत स्कटिश जनसङ्ख्यामा रक्तचाप थोरै तर महत्त्वपूर्ण वृद्धि भएको" देखाएको तर "धेरै कुरा थाहा नभएको" बताए।
"पहिलो कुरा त जुन रक्तचाप वृद्धि भयो त्यो लामो समय रहन्छ कि रहँदैन भन्ने स्पष्ट छैन," उनले भने।
"दोस्रो कुरो पारासिटामोलका कारण वृद्धि भएको रक्तचापले मुटुसम्बन्धी समस्या बढाउन कारक हुन्छ वा हुँदैन भन्ने निश्चित छैन।"
अमेरिकामा गरिएको एउटा ठूलो अध्ययनले पारासिटामोलको दीर्घकालीन प्रयोग र ह्रदयघातको जोखिमबीच सम्बन्ध रहेको पाए पनि त्यसकै कारण ह्रदयघात हुने कुरा प्रमाणित गर्न सकेको थिएन।
अन्य साना अध्ययनहरूले पनि यो सम्बन्धलाई प्रमाणित गर्न सकेका छैनन्।

तस्बिर स्रोत, Getty Images
एडिनबरा विश्वविद्यालयको टोलीले पारासिटामोलको प्रयोगले रक्तचाप कसरी बढ्छ भनेर पत्ता लगाउन नसकिएको तर अध्ययनले नियमित पारासिटामोल सेवनका बारेमा पुनर्विचार गर्नुपर्ने देखाएको बताएको छ।
पारासिटामोललाई अन्य प्रकारका दुखाइ कम गर्ने औषधिभन्दा सुरक्षित ठानिन्छ।
अध्ययनलाई सहायता गरेको ब्रिटिश हार्ट फाउन्डेसनले पारासिटामोल जस्ता सुरक्षित ठानिएका औषधिहरूको आवश्यकताबारे बिरामी र चिकित्सकहरूले बरोबर पुनर्विचार गर्नुपर्ने बताएको छ।
स्ट्रोक एसोसियसनका डा. रिचर्ड फ्रान्सिसले "पारासिटामोलको जोखिम र फाइदा हेर्नका लागि लामो अवधिको स्वस्थ्य जनसङ्ख्यामा अध्ययन" आवश्यक रहेको बताएका छन्।








