भूउपग्रहबाट प्राप्त तस्बिरमा उत्तर कोरियाले सीमामा 'पर्खाल' बनाएको देखियो

भूउपग्रहबाट खिचिएका तस्बिरमा देखिएका सीमा पर्खालका केही भाग
तस्बिरको क्याप्शन, भूउपग्रहबाट खिचिएका तस्बिरमा देखिएका सीमा पर्खालका केही भाग
    • Author, जेक हर्टन
    • Role, बीबीसी भेरिफाई
    • Author, यी मा
    • Role, बीबीसी भेरिफाइ
    • Author, ड्यान्यल पालुम्बो
    • Role, बीबीसी भेरिफाई

उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमानजिकै कैयौँ ठाउँमा पर्खालजस्तो देखिएको संरचना बनाइरहेको भूउपग्रहबाट खिचिएका ताजा तस्बिरहरूले देखाएका छन्।

बीबीसी भेरिफाईले विश्लेषण गरेका ती तस्बिरहरूले 'डीएमजी' भनिने असैनिकीकृत क्षेत्रभित्र ठाउँहरू खाली गराइएको पाइएको छ। त्यसलाई विज्ञहरूले दक्षिण कोरियासँग लडाइँ रोक्न उत्तर कोरियाले गरेको सहमतिको उल्लङ्घन हुन सक्ने बताएका छन्।

डीएमजी भनेको उत्तर र दक्षिण कोरियाबीच झन्डै चार किलोमिटर चौडा असैनिकीकृत मध्यवर्ती क्षेत्र हो। ती दुई देशले विगतको युद्धपछि शान्ति सम्झौता नगरेकाले प्राविधिक रूपमा युद्ध चलिरहेको मानिन्छ। डीएमजी पनि दुई भागमा बाँडिएको छ। प्रत्येक देशले आफ्नो भागको डीएमजी नियन्त्रण गर्छ।

अहिले देखा परेका ताजा गतिविधिलाई विज्ञहरूले 'अस्वाभाविक' मानेका छन्। दुई देशबीच तनाव चर्किएको अवस्थामा त्यस्ता गतिविधिहरू भएका छन्।

"यतिबेला हामी उत्तर कोरिया सम्भवतः आफ्नो सैन्य उपस्थिति सबल पार्दै सीमा क्षेत्रमा सुदृढ बन्दोबस्त गर्न चाहन्छ भन्ने केवल अनुमान लगाउन सक्छौँ ," सोलस्थित एनके न्यूजका पत्रकार श्रेयश रेड्डीले भने।

निर्माण कार्य देखाउने भूउपग्रहबाट खिचिएका दुई तस्बिर

उत्तर कोरियाले ती क्षेत्रमा केकस्ता परिवर्तन भएको छ भनेर जान्ने क्रममा बीबीसी भेरिफाफले सीमाको सात किलोमिटर लामो भागको उच्च गुणस्तरको भूउपग्रह तस्बिर मगाएको थियो।

ती तस्बिरमा सीमाको पूर्वी भागमा करिब एक किलोमिटर दूरीमा कम्तीमा तीनवटा खण्डमा डीएमजीनजिकै अवरोधहरू खडा गरेको देखिन्छ।

सीमाका अन्य खण्डहरूमा पनि थप अवरोधहरू निर्माण गरिएको हुन सक्ने सम्भावना प्रबल छ।

त्यस्तो निर्माण कहिले सुरु गरियो भन्ने स्पष्ट जानकारी छैन। तर ती संरचनाहरू सन् २०२३ को नोभेम्बरमा त्यही ठाउँको भूउपग्रहबाट खिचिएको तस्बिरमा देखिँदैनन्।

“मेरो व्यक्तिगत विश्लेषण के छ भने उनीहरूले पहिलो पटक ती ठाउँहरूलाई अलग गर्ने गरी अवरोध बनाएका हुन्,” सोलस्थित असान इन्स्टिट्यूट फर पोलिसी स्टडिजका सैन्य एवं रक्षाविज्ञ डा उक याङले भने।

पुरानो र ताजा स्थिति देखाउने भूउपग्रहबाट खिचिएका दुई तस्बिर

“सन् १९९० ताका, उत्तर कोरियाले युद्ध भएमा प्रवेश गर्न सक्ने ट्याङ्कहरूलाई रोक्ने उद्देश्यले पर्खालहरू बनाएको थियो। तर अहिले चाहिँ ती पर्खाल दुई-तीन मिटर अग्ला छन्। ती ट्याङ्क रोक्ने पर्खाल होइनन्,” डा याङले भने।

“पर्खालको आकार हेर्दा ती अवरोधक (ट्याङ्क रोक्ने) मात्र नभईकन पूरै क्षेत्रलाई विभाजन गर्ने उद्देश्यले बनाइएको देखिन्छ,” भूउपग्रहबाट प्राप्त तस्बिर विश्लेषण गरेका डा याङले बताए।

साथै डीएमजीको उत्तर कोरियाली भागमा ठाउँठाउँमा जमिन खाली गराइएको प्रमाण पनि देखिन्छ।

जमिन खाली गराइएको देखिने दुई तस्बिर

सिमानाको पूर्वी भागको ताजा भूउपग्रह तस्बिरमा भर्खरै बनाइएको बाटोजस्तो देखिन्छ।

डीएमजीको उत्तरी सीमाको स्पष्ट नक्सा बनाउने क्रममा हामीले सीमा नक्साङ्कनमा बीबीसीको अनुसन्धान प्रयोग गर्‍यौँ। किनभने उपलब्ध सीमा नक्साहरूमा थोरै भिन्नताहरू पाइन्छन्। तर हामीले भेटेका सबै नक्सामा डीएमजीभित्र जमिन खाली गराउने काम भइरहेको देखिन्छ।

दक्षिण कोरियाली सेनाको जोइन्ट चीफ अफ स्टाफ्स (जेसीएस)का एक अधिकारीले हालै दिएको अन्तर्वार्तामा सेनाले त्यहाँ भइरहेको गतिविधि "रणनीतिक बाटोहरूको सुदृढीकरण, विस्फोटक पदार्थ बिच्छ्याउने कार्य तथा जमिनमा सफाइ (खाली पार्ने) कार्य"सँग सम्बन्धित भएको पाएको बताएका छन्।

“त्यसरी जमिन खाली पार्ने कार्यका सैनिक वा गैरसैनिक दुवै पक्ष हुन सक्छन्”, कोरिया यूनिभर्सिटीका अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी प्राध्यापक किल जु बानले बताए।

"त्यसो गर्दा दक्षिण कोरियाका सैन्य गतिविधि अवलोकन गर्ने चौकी बनाउन सहज हुनुका साथै कोही सीमा पार गरेर दक्षिणतर्फ जान लागेको छ भने पनि थाहा हुन्छ," उनले भने।

उत्तर कोरियाली नेता किम जङ् अन र दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति मु जे-इन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उत्तर र दक्षिण कोरियाका नेताहरूले पछिल्लोपटक सन् २०१८ मा भेटेका थिए

“डीएमजीमा संरचना बनाउनु अस्वाभाविक हो र पूर्वसहमतिबिना त्यसो गर्नु भनेको लडाइँ रोक्ने सम्झौताको पनि उल्लङ्घन हुन सक्छ,” सेन्टर फर स्ट्रटीजिक एन्ड इन्टरन्याश्नल स्टडिजमा एशिया तथा कोरियासम्बन्धी वरिष्ठ उपाध्यक्ष प्राध्यापक भिक्टर चा भन्छन्।

कोरियाली युद्ध सन् १९५३ मा एउटा सहमतिसँगै रोकिएको थियो। त्यसमा दुवै पक्षले "डीएमजीभित्र, त्यहाँबाट वा त्यसविरुद्ध कुनै शत्रुतापूर्ण कारबाही नगर्ने" वाचा गरेका थिए। तर त्यो युद्धपछि कुनै अन्तिम शान्ति सम्झौता भएन।

वर्षौँदेखि कोरियाको पुनरेकीकरण असम्भवजस्तो देखिए पनि सन् २०२४ सुरु हुनुभन्दा अगाडिसम्म उत्तर कोरियाली नेताहरूले त्यसलाई आफ्नो घोषित लक्ष्य मान्थे। तर यो वर्षको सुरुमा किम जङ अनले एकीकरणको चाहना त्यागेको घोषणा गरे।

कतिपय विज्ञहरूले उक्त टिप्पणीलाई “अभूतपूर्व” भन्दै त्यसले महत्त्वपूर्ण नीतिगत परिवर्तन ल्याएको बताए। किम जङ अनले दक्षिण कोरियालाई "मुख्य शत्रु" भने।

त्यसयता उत्तर कोरियाले दुई देशको एकताका प्रतीकहरूलाई पनि हटाउन थालेको छ। एकीकरणका स्मारकहरू भत्काउन थालेको छ भने सरकारी वेबसाइटहरूबाट पुनरेकीकरणका सन्दर्भहरू मेट्न थालेको छ।

“उत्तर कोरियाका निम्ति दक्षिणबाट हुने आक्रमण रोक्न थप अवरोधहरू आवश्यक थिएन। तर पनि उसले ती अवरोध निर्माण गरेर आफू पुनरेकीकरणको विपक्षमा रहेको सन्देश दिन खोजेको छ,” लन्डनस्थित किङ्स कलेजको युरोपियन एन्ड इन्टरन्याश्नल स्टडिजका प्रमुख डा रामोन पचेको पार्दोले भने।

कतिपय विज्ञहरूले पनि यी गतिविधि किम जङ अनका अन्य कामकारबाहीसँग मेल खाने बताउँछन्।

“उत्तर कोरियाले अमेरिका वा दक्षिण कोरियासँग वार्ता गर्न चाहेको भान पनि पारेको छैन। साथै वार्ताबारे जापानका ताजा प्रयासलाई पनि नकारिदिएको छ,” अक्सफर्डस्थित कोरियाली प्रायःद्वीपका अनुसन्धाता डा एड्वर्ड हावेलले भने।

“रुससँग न्यानो बन्दै गएको उसको सम्बन्धका माझ यदि यो वर्ष दुई कोरियाबीच उक्साहटपूर्ण गतिविधि बढेछन् भने अनौठो नमाने हुन्छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।