तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इजरेलले गाजाको सीमा क्षेत्रका सहरहरू चौबीस घण्टाभित्र खाली गराउने
इजरेली सेनाले गाजाको सीमा नजिकका सहरहरूमा बस्ने सबै बासिन्दाहरूलाई आगामी चौबीस घण्टाभित्र त्यस क्षेत्रबाट अन्यत्र सारिने बताएको छ।
उसका अनुसार प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको हो।
दक्षिणी इजरेलका विभिन्न क्षेत्रमा दोस्रो दिन पनि दुई पक्षबीच भिडन्त जारी छ र त्यहाँ चार सयभन्दा बढी प्यालेस्टिनी बन्दुकधारीहरू मारिएको र कैयौँलाई गिरफ्तार गरिएको इजरेली सेनाले जनाएको छ।
गाजास्थित प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरेलले गरेको हवाई हमलामा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र करिब दुई हजार घाइते भएको बताएका छन्।
हिजबुल्लाह समूहले तीनवटा इजरेली चौकीमा रकेट आक्रमण गरेपछि इजरेली सेनाले लेबननमा पनि आक्रमण गरेको छ।
इजरेलले उक्त आक्रमणमा आफ्ना कम्तीमा तीन सय नागरिकहरू मारिएको र एक हजारभन्दा बढी घाइते भएको बताएको छ।
कति इजरेलीहरूलाई हमास लडाकुहरूले बन्धक बनाएका छन् भन्ने अझै स्पष्ट भएको छैन।
संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को आइतवार आपत्कालीन बैठक बस्दै छ। त्यसमा उक्त सङ्कटबारे छलफल हुनेछ।
अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई सबै खाले उपयुक्त माध्यमबाट सहयोग गर्ने प्रस्ताव गरेका छन्।
अहिलेसम्म के-के भयो?
- स्थानीय सञ्चारमाध्यमका अनुसार इजरेली सेना र प्यालेस्टिनी लडाकुबीच दक्षिणी इजरेलका कैयौँ भागहरूमा लडाइँ जारी छ।
- इजरेली सेनालाई उद्धृत गर्दै आएका समाचारहरू अनुसार उसले देशको दक्षिणी भागका धेरैजसो क्षेत्रहरू हमासको कब्जाबाट फिर्ता ल्याउन सफल भएको छ र गाजाको सीमा नजिक लडाइँ जारी छ।
- ब्रिटेनस्थित इजरेली दूतावासले एकजना ब्रिटिश नागरिक बेपत्ता भएको पुष्टि गरेको छ। उनी गाजाको सीमा नजिकै नृत्य महोत्सवमा सुरक्षाकर्मीका रूपमा काम गरिरहेका थिए र त्यसै बेला त्यहाँ आक्रमण भएको थियो।
- दक्षिणी इजरेल र गाजा क्षेत्रमा ४०० भन्दा बढी प्यालेस्टिनी लडाकुहरू मारिएका र दर्जनौँलाई नियन्त्रणमा लिइएको आईडीएफका प्रवक्ताले टाइम्स अफ इजरेललाई बताएका छन्।
- हालसम्म कम्तीमा ३०० इजरेलीहरू मारिएका छन् र दर्जनौँ अपहरणमा परेका छन्। टर्कीस्थित इजरेलको दूतावासले आफ्नो देशको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।
- इजरेली हवाई हमलामा गाजा स्ट्रिपमा कम्तीमा ३१३ व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।
- इजरेली अधिकारीहरूले देश "अझै युद्धमा रहेको" र अझै पनि इजरेली क्षेत्रलाई हमासको कब्जाबाट पूर्ण नियन्त्रण लिने प्रयास गरिरहेको बताएका छन्।
- इजरेलमा अध्ययन तथा सिकाइका लागि गएका १२ जना नेपाली विद्यार्थीहरू पनि सम्पर्क विहीन भएको नेपालका परराष्ट्रमन्त्रीले संसद्लाई जानकारी गराएका छन्।
- गाजा नजिकैको इजरेली भूमिस्थित एउटा कृषि फर्ममा कार्यरत १७ जना नेपालीमध्ये तीन जना घाइते भएको र दुई जना सुरक्षित रहेको तर १२ जना सम्पर्कविहीन भएको जानकारी उनले दिएका हुन्।
- केही नेपालीहरू पनि उक्त द्वन्द्वमा परेर हताहत भएको हुनसक्ने नेपालको परराष्ट्र मन्त्रालयको भनाइ छ।
इजरेली प्रधानमन्त्रीको चेतावनी
इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उच्च रक्षा अधिकारीहरूसँग छलफल गरी सुरक्षा स्थितिको मूल्याङ्कन गरिरहेको बताइएको छ।
उनले बदला लिने र हमासका सबै सैन्य तथा सरकारी क्षमतालाई नष्ट गर्ने चेतावनी दिएका छन्।
उनले गाजाका बासिन्दाहरूलाई आफ्नो घर छोडेर शरण लिन भनेका छन्।
नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै गाजामा इजरेलले विद्युत, इन्धन र सामानहरूको आपूर्ति बन्द गर्ने जनाइएको छ।
इजरेली अधिकारीहरूले बिजुली काटिदिएपछि शनिवार राति नै गाजा अन्धकार बनेको थियो।
इजिप्टसहित इजरेलले सुरक्षाको कारण देखाउँदै सन् २००७ यता गाजा स्ट्रिपमा नाकाबन्दी लगाएको छ।
इजरेलले गाजामाथिको हवाई क्षेत्र र त्यहाँको तटीय क्षेत्रमा पनि नियन्त्रण कायम राखेको छ र उसले सीमाबाट के समान लैजान दिने वा नदिने निर्धारण गर्छ।
इजरेली सेना र हमास विद्रोहीहरूबीच लडाइँ जारी रहँदा प्रधानमन्त्री नेतान्याहुले आफ्ना नागरिकहरूलाई एउटा ‘लामो र अप्ठेरो युद्ध’ मा प्रवेश गरिएको बताए।
उनले ‘हमासले गरेको नृशंस आक्रमणले युद्ध थोपरिदिएको’ भन्दै केही घण्टामा पहिलो चरणको लडाइँ समाप्त हुने र त्यसमा इजरेली भूमिमा रहेका अधिकांश विद्रोहीहरू समाप्त पारिने बताए।
हमासले इजरेलको दक्षिणी क्षेत्रमा शनिवार घुसपैठ गरेको थियो र त्यसयता उसले ३०० भन्दा बढीको हत्या गरेको छ।
इजरेलले गरेका जबाफी हवाई हमलामा ४०० जना भन्दा बढीले ज्यान गुमाएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। ती आक्रमणमा १,००० भन्दा बढी मानिस घाइते भएका छन्।
इजरेली सेनाले उल्लेख्य रूपमा आफ्ना नागरिक र सैनिकलाई बन्धक बनाइएको उल्लेख गरेको छ।
त्यसमा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरू रहेको उसको भनाइ छ।
एक जना सैनिक प्रवक्ताले कतिपय जीवितै रहेको र कतिपय मारिएको हुनसक्ने बताए।
गम्भीर तनाव
यसैबीच संयुक्त राज्य अमेरिकाको हवाई सेवा नियामक निकायहरूले इजरेली हवाई क्षेत्रमा उडान भर्दा ‘एकदमै सावधानी’ अपनाउन अमेरिकी वायुसेवा र विमान चालकहरूलाई अनुरोध गरेको छ।
अमेरिकी विदेशमन्त्रालयले पनि इजरेलमा रहेका आफ्ना नागरिकलाई चनाखो हुन र सुरक्षा बढाउन भनेको छ।
बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोवेनका अनुसार पुस्तौँपछि सीमापारिबाट आफूले भोगेको सबैभन्दा गम्भीर आक्रमणलाई लिएर इजरेल आश्चर्यमा परेको थियो।
उनका अनुसार महिनौँदेखि प्यालेस्टिनी सशस्त्र समूह र इजरेलबीच तनावले विस्फोटक रूप लिन सक्ने जोखिम प्रस्ट देखिएका थिए।
इजरेली र प्यालेस्टिनीहरूको तनाव वेस्ट ब्याङ्कमा केन्द्रित थियो जून भूगोल जेरुसलेम र जोर्डनको बीचमा पर्छ।
उक्त भूमि इजरेलले सन् १९६७ यता अधीनस्थ गरेको छ र त्यहाँ वर्षभरि हिंसा र मुठभेड भएका थिए।
सशस्त्र प्यालेस्टिनीहरूले इजरेली सैनिकहरू र त्यहाँ बसेका यहुदीहरूलाई आक्रमण गरेका र इजरेली सेनाले कैयौँ कारबाही गरेका विवरणहरू आएका थिए।
तर कसैले पनि हमासले गाजाभन्दा बाहिर यस्तो जटिल र संयोजित कारबाही गर्ला भन्ने नठानेको बीबीसीका अन्तर्राष्ट्रिय मामिला सम्पादक बोवेन बताउँछन्।
एक जना हमासका कमान्डर मोहमद डिफले उक्त समूहले 'अति भनेको अति हो भन्न चाहेको' बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।