नेपालका एकतिहाइ घरका मुली महिला, घरजग्गा जोड्ने क्रम पनि बढ्यो

तस्बिर स्रोत, RSS
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा महिला घरमुलीहरूको सङ्ख्या १३ वर्षमा ५० प्रतिशतले बढेको पाइएको छ। केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो राष्ट्रिय जीवनस्तर सर्वेक्षण अनुसार नेपालमा महिला घरमुली भएका परिवारहरू ३७.१ प्रतिशत छन्।
यसअघि सन् २०१०-११ मा गरिएको जीवनस्तर सर्वेक्षणमा महिला घरमुली भएका परिवारको सङ्ख्या २६.६ प्रतिशत थियो। तथ्याङ्क कार्यालयले बिहीवार सार्वजनिक गरेको राष्ट्रिय जीवनस्तर सर्वेक्षण २०२२-२३ मा महिला घरमुली रहेका परिवारहरूको सङ्ख्या करिब ५० प्रतिशतले बढेको पाइएको हो।
“अघिल्लो सर्वेक्षण भन्दा प्रतिशतको अङ्कमा १० र सङ्ख्यामा ५० प्रतिशत बढेको पाइएको छ,” तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी हेमराज रेग्मीले भने।
महिलाले घरको व्यवस्थापन गरेका आधारमा महिला घरमुलीको गणना गरिएको रेग्मी बताउँछन्।
त्रिभुवन विश्वविद्यालय स्थित जनसङ्ख्या विभागकी उपप्राध्यापक कमला लामिछाने महिला घरमुली रहेका परिवारको अनुपात बढ्नुमा वैदेशिक रोजगारी प्रमुख कारण रहेको बताउँछिन्।

तस्बिर स्रोत, Getty Images
“घरमुलीको परिभाषाले घरको चाँजोपाँजो र आर्थिक कारोबार मिलाउनेलाई घरमुली भनेको छ,” लामिछाने भन्छिन्
“यो परिभाषा अनुसार विदेशमा भएको मान्छे घरमुली हुँदैन। त्यस कारण धेरै पुरुषहरू बाहिर हुनुहुन्छ र यहाँ महिला हुनुहुन्छ। त्यो गर्दा वास्तविक भन्दा पनि देखिने महिला घरमुलीको सङ्ख्या बढेको छ।”
जनगणनाले पनि घरमा अनुपस्थित रहेका मानिसहरूमा महिलाको भन्दा पुरुषको सङ्ख्या धेरै रहेको देखाएको छ।
विधवा र एकल महिलाले आफ्नो नाममा सम्पत्ति पाउन थालेका कारण पनि महिला घरमुलीको सङ्ख्या बढेको आफूहरूको अध्ययनबाट देखिएको लामिछाने बताउँछिन्।
महिलाको नाममा घरजग्गा राख्ने क्रम पनि बढ्यो

तस्बिर स्रोत, RSS
नेपालमा महिलाको नाममा घरजग्गा राख्ने क्रम एक दशकमा १२६ प्रतिशतले बढेको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ।
पछिल्लो जनगणना अनुसार नेपालमा २३.३ प्रतिशत परिवारमा महिलाको नाममा घर, जग्गा वा घरजग्गा दुवै रहेको पाइएको छ। यस्तो दर अघिल्लो जनगणनामा १०.७ प्रतिशत मात्रै थियो।
तथ्याङ्क कार्यालयले बिहीवार सार्वजनिक गरेको प्रदेशस्तरीय जनसाङ्ख्यिक प्रतिवेदनका अनुसार सबैभन्दा धेरै महिलाको नाममा घरजग्गा हुने प्रदेश कोशी हो। सुदूर पश्चिम प्रदेशमा भने परिवारमा घरजग्गा दुवै नभएका महिलाको सङ्ख्या सबैभन्दा उच्च छ।
केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ११.८ प्रतिशत अर्थात् ७ लाख ८८ हजार ९१७ परिवारमा महिलाको नाममा घर र जग्गा दुवै रहेको देखिएको छ।
महिलाको नाममा जग्गा मात्र भएका परिवार ९.७ प्रतिशत अर्थात् ६ लाख ४३ हजार ६७५ परिवार छन्। अनि महिलाको नाममा घर मात्र भएका परिवार २.३ प्रतिशत अर्थात् १ लाख ५६ हजार ३७६ परिवार रहेका छन्।

तस्बिर स्रोत, RSS
जनगणनामा १ लाख ५ हजार ३२५ परिवारले घरजग्गा कसको नाममा छ भन्ने खुलाएका छैनन्।
“समग्रमा २३.८ प्रतिशत परिवारहरूमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको देखिन्छ। गत २०६८ सालको जनगणनामा देशका कुल परिवारको १०.७ प्रतिशत परिवारहरूमा महिलाको नाममा घर र जग्गा दुवै रहेको देखिएको थियो भने महिलाको नाममा जग्गा मात्र भएका परिवारहरू ९ प्रतिशत रहेको थियो,” तथ्याङ्क कार्यालयको प्रतिवेदनमा भनिएको छ।
महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेका परिवारको सङ्ख्या कोशी प्रदेशमा २८.५ प्रतिशत, गण्डकी प्रदेशमा २८.३ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ११.८ प्रतिशत रहेको तथ्याङ्क कार्यालयले जनाएको छ।
किन बढ्यो महिलाको नाममा सम्पत्ति राख्ने प्रचलन

तस्बिर स्रोत, RSS
जनगणनाको तथ्याङ्कबारे अध्ययन गरिरहेकी त्रिभुवन विश्वविद्यालय स्थित जनसङ्ख्या विभागकी उपप्राध्यापक लामिछाने यसमा प्रमुख चार कारण रहेको औँल्याउँछिन्।
“एक त महिलाको नाममा घरजग्गा किन्दा केही छुट पाइन्छ त्यो पनि एउटा कारण हो। अर्को हिजोका दिनमा महिलालाई सम्पत्तिमा पहुँच दिनु हुँदैन भन्ने मान्यतामा परिवर्तन आएको छ,” लामिछाने भन्छिन्।
“त्यसबाहेक हाम्रो पारिवारिक संरचना पनि पहिलेको संयुक्त परिवारबाट सानो परिवारतिर गएको देखिन्छ। त्यसमा पुरुषहरूले आफूले किनेको सम्पत्ति महिलाको नाममा राख्दा संयुक्त परिवारको अंशमा हिसाब गर्नु पर्दैन भनेर पनि श्रीमतीको नाममा राख्ने गरेको देखिएको छ।”
राज्यले महिलाका नाममा जग्गा किन्दा सरकारलाई तिर्नुपर्ने करमा ठाउँ अनुसार १.२५ प्रतिशतसम्म छुट दिएको छ।
तर खरिद गरिएका सम्पत्ति महिलाको नाममा राख्ने गरे पनि पैतृक माध्यमबाट हस्तान्तर भएका सम्पत्ति महिलाको नाममा नामसारी गर्ने क्रम निकै कम पाइने गरेको लामिछाने बताउँछिन्।
विगतको तुलनामा महिलाले कमाएर आर्जन गर्ने प्रचलन बढेका कारण पनि महिलाको नाममा घरजग्गा वा सम्पत्ति राख्ने क्रम बढेको अर्को कारण हुनसक्ने देखिएको लामिछानेले बताइन्।
साक्षर महिला बढे तर पुरुषभन्दा धेरै कम

तस्बिर स्रोत, RSS
जनगणनाबाट महिलाहरूको साक्षरता दरमा अघिल्लो जनगणनाको भन्दा १२ अङ्क प्रतिशतले वृद्धि भए पनि पुरुषको तुलनामा महिला साक्षरता दर कम रहेको देखिएको छ।
यद्यपि महिलाको साक्षरता दरको वृद्धिदर भने औसत साक्षरता दरमा आएको वृद्धि भन्दा बढी हो।
तथ्याङ्क कार्यालयका अनुसार अघिल्लो जनगणना भन्दा नेपालको समग्र साक्षरता दर १०.३ प्रतिशतले बढेर ६५.९ बाट ७६.२ पुगेको छ।
जसमा पुरुषको साक्षरता दर ८.५ अङ्क प्रतिशत बढेर ८३.६ प्रतिशत पुगेको छ। अघिल्लो जनगणनामा ५७.४ प्रतिशत रहेको महिलाको साक्षरता दर पछिल्लो जनगणनामा ६९.४ प्रतिशत पुगेको छ। अघिल्लो जनगणना भन्दा उल्लेख्य बढे पनि पुरुषको तुलनामा महिला साक्षरता दर १४.२ प्रतिशत कम देखिएको छ।

तस्बिर स्रोत, RSS
जनगणनाका अनुसार सबैभन्दा धेरै साक्षर महिला बागमती प्रदेशमा ७६ प्रतिशत छन् भने सबैभन्दा कम मधेश प्रदेशमा ५४.७ प्रतिशत छन्।
मधेस प्रदेशमा पुरुष र महिला दुवैको साक्षरता दर अन्य प्रदेशको तुलनामा सबैभन्दा कम रहेको छ।
“साक्षरतामा सबैभन्दा बढी लैङ्गिक असमानता मधेसमा (१७.८%) र सुदूरपश्चिममा (१७.२%) देखिएको छ,” तथ्याङ्क कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
उत्साहित हुनुपर्ने अवस्था हो?

तस्बिर स्रोत, RSS
त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या विभागकी उपप्राध्यापक लामिछाने महिलाहरू धेरै उत्साहित भइहाल्नुपर्ने अवस्था चाहिँ नरहेको बताउँछिन्।
“थोरै प्रतिशत महिलाले मात्रै पुरुष घरमै हुँदा पनि घरको नेतृत्व गरेका छन्। धेरैले अझै पनि पुरुष घर बाहिर बस्ने भएका कारण मात्रै घरमुली बन्न पाएका हुन्,” उनी भन्छिन्।
“तर पनि घरमुली हुँदा महिलालाई स्रोत साधनमाथि पहुँच हुन्छ। त्यसले गर्दा उनीहरूलाई केही न केही गर्ने अवसर चाहिँ दिएको छ।”
यद्यपि स्रोत र पैसा माथिको नियन्त्रण अझै पुरुषहरूमै रहेको लामिछाने बताउँछिन्।

तस्बिर स्रोत, RSS
विसं २०७२ सालमा बनेको नयाँ संविधान र संविधानको कार्यान्वयनका लागि बनेका कानुनहरूले राज्यका हरेक निकायमा महिला सहभागिता बढाउने नीति लिएका कारण पनि महिलाहरूले सम्पत्ति र अवसर दुवै पाएको लामिछानेको बुझाई छ।
“जब मान्छे घरबाट बाहिर निस्कने अवसर पाउँछ उसले केही न केही त सिक्छ नै। त्यो नीतिले महिलाहरूलाई अगाडि ल्याउने काम गरेको थिएन भने यो अवस्था हुने थिएन,” लामिछाने भन्छिन्।
तर सरोकारवालाहरूले भने संविधान र कानुनमा व्यवस्था भए अनुसार सम्पत्ति र सहभागिताको अवसर व्यवहारिक रूपमा अझै पनि सबै महिलाले नपाएको बताउने गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








