पुरुष कमाउन हिँडेसँगै घरको नेतृत्व गर्दै भारतीय महिला

तस्बिर स्रोत, Prem Boominathan
- Author, दिव्या आर्य
- Role, बीबीसी हिन्दी
"अहिले त सबैले मलाई मेरै नामले चिन्छन्," भारतको अति गरिब राज्य बिहारस्थित आफ्नो साधारण घरमा बसेर उषा देवीले भनिन्।
"पहिचान भनेको सानो कुरा होइन," ३८ वर्षीया उनले दृढतापूर्वक भनिन्।
"पहिला पहिला पुरुषहरू आफ्नो नामबाट चिनिन्थे, अहिलेचाहिँ महिलाहरू पनि आफ्नो नामैबाट चिनिन्छन्।"
उषा देवीले १५ वर्षको उमेर पढाइ छोडेर विवाह गर्नुपर्यो। छोरा पाउनुपर्ने परिवारको इच्छाका कारण उनी पटक पटक गर्भवती भइन्। त्यसैकारण उनले जीवनमा आफूले सोचेजस्तो गर्न पाइनन्।
कामको खोजीमा श्रीमान् अन्यत्र जानुपरेपछि तीन छोरी र एक छोराकी आमा उषा देवी आफैँले घर र सन्तानहरूको हेरचाह गर्नुपर्ने भयो।
उनी सासुससुराबाट छुट्टिएर गाउँमै अर्को छुट्टै घरमा सरिन्।
अहिले उनी आफैँ पैसा कमाउँछिन्, परिवारका सबै निर्णयहरू गर्छिन् अनि घरमूली बनेकी छन्।
संयुक्त राष्ट्रसङ्घले महिलाको नेतृत्व रहेको घरबारे कुनै निश्चित व्याख्या गरेको छैन। तर आमरूपमा वयस्क पुरुष नभएको र घरखर्चमा योगदान नगर्ने परिवारका महिलाहरू घरमूली हुन्।
अर्थशास्त्री र जनसङ्ख्याविद्का अनुसार "घरमूली" भन्नाले जसले घरखर्चका लागि पैसा कमाउँछ र परिवारभित्र निर्णयहरू गर्छ उसैलाई बुझिन्छ।
विवाहित महिलाको हकमा जब श्रीमान् घरबाट अन्यत्र जान्छन् वा छ महिना वा त्योभन्दा बढी बस्दैनन् महिलाहरूलाई घरमूलीका रूपमा गनिन्छ। यो प्राय: स्वघोषित हो।
गाउँ र साना सहरहरूबाट दुख:का कारण पुरुषहरू बसाइँसराइ गर्ने क्रम दोहोरिइरहँदा यसले महिलालाई घरको नेतृत्व गर्ने अवसर दिएको छ।

तस्बिर स्रोत, Prem Boominathan
समाजशास्त्री तथा जनसङ्ख्याविद् प्राध्यापक सोनाल्डे देसाई यो अवसरका कारण महिलाहरूलाई आफ्नो सासुससुराको घरबाट बाहिर छुट्टै घरमा बस्ने क्षमता दिएको बताउँछन्।
श्रीमान्कै घरमा बस्दा त्यहाँ ससुरा, जेठाजु वा देवरजस्ता पुरुष सदस्यसँग निर्भर हुनुपर्ने बाध्यता रहने उनी ठान्छन्।
"जुन घरमा महिलाहरू आफैँ स्वतन्त्र रूपमा घर चलाउन सक्छन्, हामीले उनीहरूमा निर्णय गर्ने क्षमतामा आएको वास्तविक परिवर्तन देखेका छौँ। आर्थिक जिम्मेवारी, खेती गर्न र व्यवस्थापन गर्न पनि आफैँ सक्छन्," प्राध्यापक देसाई भन्छन्।
भारतको राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार विगत तीन दशकमा महिलाले चलाउने घरको अनुपात झण्डै दोबर पुगेको छ।


पितृसत्तात्मक परिवारमा आन्तरिक बसाइँसराइले यो परिवर्तनमा ठूलो योगदान पुर्याएको छ।
यो प्रवृत्ति बढ्दो रूपमा रहेको देखिएको छ।
भारतको पछिल्लो दशकको जनगणनाले देखाए अनुसार ४५ करोड मानिसहरूले आन्तरिक रूपमा बसाइँसराइ गरेका छन्।
गएको दशकमा भएको यो ४५ प्रतिशत वृद्धि हो। त्यही अवधिमा भएको १८ प्रतिशत जनसङ्ख्या वृद्धिदर भन्दा यो निकै धेरै हो।
कोभिड-१९ का कारण देखिएको गरिबी र रोजगारीको खुम्चिँदो अवसरका कारण आउँदा वर्षहरूमा यो अझै वृद्धि हुने अनुमान प्राध्यापक देसाईको छ।
स्वतन्त्र र आत्मविश्वासी उषा देवी अहिले उनको गाउँमा महिलाहरूको नेतृत्व गर्छिन्।
उक्त समूहको प्रमुखका रूपमा उनले सहज रूपमा ऋण लिन गरिब महिलाहरूलाई सरकारी योजनाहरूमा आवद्ध गराउँछिन्।
महिलाहरूको यो समूहले प्रत्येक साता बैठक गर्ने गरेको छ र उनीहरू प्रत्येकले भारतीय १० रूपैयाँ जम्मा गर्छन्।
यसरी जम्मा गर्ने रकमबाट उनीहरूले कोष बनाएका छन् र ब्याङ्कमा राखेका छन्।
त्यसैबाट ऋणहरूका लागि आपत्कालीन कोषबाट पैसा झिक्ने वित्तीय निर्णयहरू पनि उनीहरू आफैँ गर्छन्।

तस्बिर स्रोत, Prem Boominathan
मैले सहभागिता जनाएको एउटा बैठकमा उनीहरूबीच हाँसो पनि उत्तिकै थियो र असहमतिहरू पनि उत्तिकै थिए।
अनौपचारिक यस्तो सञ्जालमा परिवार र पुरुषहरूको सहभागिता थिएन।
"हामी सबैले एक अर्कालाई नामैबाट चिन्छौँ। साक्षर अन्य सदस्यहरूको मद्दतबाट मैले आफ्नो नाम लेख्न र आर्थिक कारोबार चलाउन सिकेकी छु," मुन्नी देवीले भनिन्।
शोभा देवी त्यस्तै एक समूहकी सदस्य हुन् जो साक्षर छन्। उनको पनि सानै उमेरमा विवाह भयो तर उनले भने पढ्न पाइन् अनि उषाको अनुपस्थितिमा उनको जिम्मेवारी सम्हाल्छिन्।
"मेरा श्रीमान्ले पठाउने पैसा धेरैजसो पर्याप्त हुँदैन त्यसैले साह्रो गाह्रो पर्दा हामी एकअर्कालाई मद्दत गर्छौँ," उनले भनिन्।
"पैसाको व्यवस्थापन कसरी गर्ने भनेर मलाई थाहा भएकोले खर्च गर्नेबारे पनि म नै निर्णय गर्छु।"
शोभा देवी त्यस्तो समूहमा पर्छिन् जो आफ्ना श्रीमान्भन्दा बढी शिक्षित महिलाहरूमा पर्छन्।
भारतको मानव विकास सर्वेक्षणका अनुसार सन् १९८० को दशकमा विवाह हुने जोडीमा जम्मा ५ प्रतिशत महिलाहरू आफ्ना श्रीमान्भन्दा बढी शिक्षित थिए। सन् २००० र सन् २०१० मा त्यो प्रतिशत बढेर २० पुगेको थियो।
"हामीले घरमूलीको रूपमा कसले धेरै कमाउँछ भन्दा पनि कसले घरका लागि निर्णय गर्न सक्छ भन्ने कुरा बुझ्यौँ भने यस्ता शिक्षित महिलाहरू बढ्दो रूपमा शक्तिशाली भइरहेको जस्तो लाग्छ," प्राध्यापक देसाईले भने।
११ वर्षअघि उषा देवीले कमाउन थालेपछि र आफ्नो अध्ययनमा खर्च गर्न थालेपछि उनले कलेज डिग्री लिइन्। सन् २०१२ मा उनले एउटा गैरसरकारी संस्थामा काम गर्न थालिन्। उनी घरघरमा गएर आमा र शिशुको स्वास्थ्यसम्बन्धी तथ्याङ्क सङ्कलन गर्थिन्।
उनले सन् २०१६ मा आफ्ना श्रीमान् रञ्जितको समर्थनमा महिलाहरूको समूह बनाइन्। रञ्जितले भने १० वर्ष हुँदा विद्यालय पढ्न छोडेका थिए। आफ्नी श्रीमती कति "चलाख" भइन् भन्ने देखेर आफूले विद्यालय शिक्षा छोडेर गल्ती गरेको महसुस गर्ने गरेको उनले बताए।
"मेरी श्रीमतीले आफैँलाई शिक्षित नबनाएकी भए मेरा सन्तान पनि म जस्तै हुने थिए। उनीहरूको भविष्य उनीहरूकी आमाकै कारण राम्रो बनाउने मौका मिल्यो," उनले भने।

तस्बिर स्रोत, Prem Boominathan
महिला पुरुषको परम्परागत भूमिका भएको देशमा हुर्किएका पुरुषले गरेको यो स्वीकारोक्ति एउटा दुर्लभ दृष्टान्त हो।
बसाइँसराइका कारण केही तरिकाले घरमा पुरुषको नियन्त्रण खुकुलो हुँदै गएको र श्रीमतीहरूमा धेरै भर पर्नुपर्ने अवस्था बनाएको छ।
दक्षता भएका केही सीमितका लागि मात्रै जागिर भएको गाउँमा बसेर कमाइ गर्न रञ्जितलाई कठिन थियो। त्यसैले दक्षिणी राज्य तमिलनाडुमा निर्माण कम्पनीमा काम गरेर घरमा पैसा पठाउन पाउँदा उनी गर्व महसुस गर्छन्।
घरमा आफ्नो एकाधिकार बढ्दो भए पनि उषा देवी, शोभा देवी तथा मैले भेटेका अन्य महिलाहरू अहिले पनि आफूहरूलाई श्रीमान्भन्दा पछाडि नै ठान्छन्।
"म महान् होइन, उनी हुन्। उनले मलाई साथ नदिएका भए म कहिल्यै अगाडि बढ्न सक्दिनथेँ," उषा देवीले भनिन्।
तर उनकी छोरी रश्मी र अन्य धेरै महिलाका लागि भने उनी आदर्श हुन्।
"मैले मेरी आमामा आएको परिवर्तन देखेको छु र मलाई लाग्छ म उहाँजस्तै बन्न सक्छु।"
रश्मीले ट्युशन कक्षा चलाउँछिन् र घरको आम्दानीमा त्यसले सघाउ पुर्याउँछ। उनले आफू प्रहरी बन्ने सपना पूरा गर्न पनि पैसा जम्मा गरिरहेकी छन्।
यो उनको उद्देश्यमात्रै होइन, उनकी आमाजस्तै उनी पनि अन्य मानिसका लागि प्रेरणा बन्न सक्छिन् भन्ने उदाहरण हो।
"पुरुषहरूले मात्रै घर चलाउन सक्छन् भन्ने गाउँलेहरूले सोच्नु हुँदैन," उनले भनिन्। "महिलाहरूले पनि सक्छन् - यदि उनीहरूको हुर्काइ त्यस्तै भयो र उनीहरूलाई थप स्वतन्त्रता दिइयो भने त्यो सम्भव छ।"








