तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ताइवानमा भूकम्प जाँदा पहाडबाट 'गोलीजसरी ढुङ्गा बर्सियो'
- Author, रुपर्ट विङ्फील्ड-हेयस र केली अङ
- Role, ह्वालिएन र सिङ्गापुर
ताइवानमा उद्धारकर्ताहरूले बुधवार भूकम्प गएपछि विभिन्न ठाउँमा फसेका ६०० जनासम्म पुग्न प्रयास भइरहेको जनाएका छन्।
उक्त टापुमा २५ वर्षयताको शक्तिशाली भूकम्पका कारण धनजनको क्षति भएको छ भने सयौँ मानिस घाइते भएका छन्। भूकम्पका कारण ताइवानका पहाडहरूमा पहिरो पनि गएको छ।
उक्त विपत्तिबाट बच्न सफल भएका कोइलाखानीमा काम गर्ने एक व्यक्तिले त्यहाँ भूकम्पपछि पहिरो जाँदा "गोली बर्सिए जस्तो" भएको बताएका छन्।
ह्वालिएन सहरनजिकै केन्द्रबिन्दु भएको भूकम्पका कारण कम्तीमा नौ जनाको मृत्यु भएको थियो।
सुरुङमार्गहरू र एउटा राष्ट्रिय निकुञ्जनजिकै फसेका केही मानिसलाई हेलिकप्टर प्रयोग गरेर उद्धार गरिएको थियो। तर ३४ जना अझै हराइरहेका छन्।
फसेका मानिसको सङ्ख्या बढ्यो
भूकम्पका कारण अलपत्र परेका वा फसेका मानिसको सङ्ख्या ६६० पुगेको छ।
पर्वतीय क्षेत्रमा फोन चल्न थालेपछि कति मानिस समस्यामा परेका छन् भन्ने विवरण अद्यावधिक भएको हो।
ती सबैजसो एउटा विकट ठाउँमा रहेको होटलका अतिथि र कर्मचारीहरू छन्। उनीहरू बाटोमा क्षति पुगेका कारण आफू फसेको ठाउँबाट अन्यत्र जान सकेका छैनन्।
अधिकारीहरूले यतिखेर उनीहरूको उद्धार गर्ने उपयुक्त उपायबारे विचार गरिरहेका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार ती क्षेत्रमा फसेका दर्जनौँ मानिसहरूले पाऊन् भनेर हेलिकप्टरबाट खाद्यसामग्री खसालिएको छ।
"पहाडमा गोली जसरी ढुङ्गा बर्सिन थाल्यो, हामीले भाग्ने ठाउँ नै पाएनौँ। सबै जना बालुवाका बोरापछाडि छेकिनका पुगे," एक व्यक्तिले ताइवानको केन्द्रीय समाचारसंस्थासँग भने।
मृत्यु भएका नौ जनामध्ये तीन जना थारोको राष्ट्रिय निकुञ्जतिर जाने मार्गमा भएका पदयात्री थिए।
ह्वालिएननजिकै प्रसिद्ध खोँचको नाममा उक्त राष्ट्रिय निकुञ्जको नामकरण गरिएको हो।
अहिले के हुँदै छ
प्रभावित क्षेत्रको राजधानी ह्वालिएन सहरमा सहायताको प्रयासलाई तीव्रता दिइएको छ।
सहायताकर्मीहरूले एक्स्काभेटर र अन्य ठूला उपकरणका सहायताले क्षतिग्रस्त भवनहरू भत्काउन थालेका छन्।
बीबीसीले बिहीबार बिहान कारजत्रा आकारका ठूल्ठूला ढुङ्गालाई रेलमार्ग नजिकैबाट हटाउँदै रेलसेवा छिटो खुलाउने प्रयास गरेको देखेको थियो।
उक्त सहरमा अवस्थित प्रसिद्ध दशतले यूरेनस भवन भूकम्पका कारण ढल्किएको छ। परकम्पका कारण त्यो भत्कोस् भनेर त्यसलाई आड दिने प्रयास पनि गरिएको छ।
आफ्नो बिरालोलाई बचाउन फर्किएकी एक शिक्षिकाको त्यहाँ मृत्यु भएको थियो।
भूकम्पको त्रास
भूकम्प जाँदा उक्त भवननजिकै भएका सु सिउ-यूएले बीबीसीसँग भने, "भवन यसरी हल्लिरहेको थियो कि म मुस्किलले हिँड्न सकेँ। म एकदम डराएँ। मलाई मेरा खुट्टा अब मेरो बसमा छैनन् जस्तो लाग्यो। धन्य, मेरा सहकर्मीहरूले मलाई ताने र हामी जोगिन सक्यौँ।"
"बाहिर निस्कँदै गर्दा हाम्रो भवनमा निकै धुलो आइरहेको थियो... हामीले [पछि] थाहा पायौँ कि बाटो पारिको भवनबाट त्यो आएको रहेछ जुन आंशिक रूपमा भत्किएको पाइयो," ५० वर्षे सुले भने।
ह्वालिएनकी अर्की बासिन्दाले भूकम्पपछि आफ्नो घर अस्तव्यस्त भएको बताइन्।
ओसन साईले बीबीसी चाइनिजसँग भनिन्, "कपडाको र्याक र होचो दराज ढल्दा म भर्खर बिउँझिँदै थिएँ।"
"भूकम्पले अझ बलियो गरी हल्लाउँदै थियो अनि मलाई आफ्ना सरसामानबारे चिन्ता लाग्छ थाल्यो। धन्य, मोटरसाइकल ढल्नुबाहेक अरू खासै क्षति भएन।"
२०० भन्दा बढी परकम्प
बुधवार ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ।
त्यसपछि २०० वटाभन्दा बढी परकम्प गएका छन्। तीमध्ये दर्जनौँ ६.५ म्याग्निट्यूड वा बढीका थिए।
परकम्पका कारण खोजी र उद्धारकार्यमा अवरोध पुगेको थियो।
अधिकारीहरूले अझ केही दिन परकम्प आउन सक्ने बताएका छन्।
बुधवार भूकम्प गएपछि सुनामीको खतरा भएको भन्दै ताइवान, जापान र फिलिपिन्सले चेतावनी जारी गरेका थिए। तर पछि ती चेतावनी फिर्ता गरियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।