तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मनीषा कोइराला: हीरामन्डीले दिएको चर्चा र उनको भावुक पोस्ट
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
सन् १९९० को दशककी एक चर्चित अभिनेत्री मनीषा कोइराला उनको मुख्य भूमिका रहेको वेब सिरिज 'हीरामन्डी: द डायमन्ड बजार' को सफलतासँगै अहिले पुनः चर्चामा आएकी छन्।
३५ वर्ष लामो आफ्नो अभिनय यात्रामा मनीषा अभिनेत्रीका रूपमा चर्चाको शिखरमा पुगेको र समयक्रममा निकै तल पनि झरेको टिप्पणी हुँदै आएको छ।
नेपालबाट भारतको निकै प्रतिस्पर्धात्मक सिने जगत्मा २० वर्षकै उमेरमा प्रवेश गरेकी उनको कलाकारका रूपमा आरोह तेज मानिन्थ्यो।
बलिवुडमा प्रवेश गरे लगत्तै अभिनयका चर्चामा आएकी उनले सुरुदेखि नै चर्चित निर्देशक सुवास घई, विधुविनोद चोपडादेखि एक से एक अभिनेता शाहरूख खान, सलमान खान, आमिर खान, अनिल कपुर, नाना पाटेकरसँग सहकार्य गर्ने मौका पाइन्।
करिअर ग्राफ जुन रफ्तारमा ९० को दशकमा उकालो चढिरहेको थियो सन् २००० को दशकयता ओरालो झर्दै गयो।
उनले अभिनय गरेका चलचित्र नचल्ने मात्रै भएनन्, उनका बारेमा सञ्चारमाध्यममा थुप्रै विवादित कुरा सार्वजनिक भए।
कुनै बेला रक्सीले मातेकै अवस्थामा उनले अन्तर्वार्ता दिने गरेका खबर सार्वजनिक भएका थिए।
खासगरी सन् २०१० को दशकमा उनको जीवन उतारचढावयुक्त देखिन्छ।
सन् २०१० को उत्तरार्द्धमै भएको विवाह दुई वर्ष नहुँदै सम्बन्ध विच्छेदमा टुङ्गियो।
त्यसको केही महिनामै उनलाई चौथो चरणको क्यान्सर देखिएको सार्वजनिक भयो। त्यसबेला जीवन मरणको दौसाँधमा रहँदा जीवनकै काला दिनहरू बेहोरेको उनी बताउने गर्छिन्।
हीरामन्डीमा कसरी पाइन् मनीषाले यो भूमिका?
चौथो चरणको गर्भाशयको क्यान्सरलाई जितेकी मनीषा सन् २०१४ यता धेरैजसो काठमाण्डूमै उमेर ढल्कँदै गएका आफ्ना आमाबुवासँग बस्दै आएकी छन्।
क्यान्सर निको भइसकेपछि पनि डियर जिन्दगी, लस्ट स्टोरिज, सञ्जु लगायतमा अभिनय गरिसकेकी मनीषा पछिल्ला वर्षहरूमा उनकै भनाइमा आफूलाई चित्त बुझेका भूमिका मात्रै गर्छिन् र कम 'भाग दौड' गर्छिन् र प्रकृतिसँग रमाउने अनि 'सेल्फ केयर' मा ध्यान दिन्छिन्।
यसअघि अर्का चर्चित निर्देशक राजकुमार हिरानीको सञ्जु चलचित्रमा रणवीर कपुरकी आमाको भूमिकामा मनीषा देखिँदा उनको अभिनयको धेरैले तारिफ गरेका थिए।
त्यसको सफलतापछि काठमाण्डूमा रहेको घरमा उनी आफ्नो एउटा सोखका रूपमा रहेको बगैँचाको काम गर्दै गरेको देखिएकी थिइन्।
मनीषाले विभिन्न अन्तर्वार्तामा बताए अनुसार कोभिड पछाडिको समयमा उनी फुर्सदमा आफूलाई मन पर्ने काम गरेर घरमै बस्ने गरेकी थिइन्। त्यही बेला बलिवुडमा छुट्टै पहिचान बनाउन सफल निर्देशकका रूपमा लिइने सञ्जय लीला भन्सालीले उनलाई फोन गरे।
सन् १९९१ मा भन्साली जब आफू चलचित्र निर्देशनमा ‘खामोशी: द म्यूजिकल’बाट 'डेब्यू' गर्दै थिए, उनले अभिनेत्रीका रूपमा मनीषालाई नै मुख्य भूमिका दिएका थिए।
त्यति बेला मनीषा चर्चामा रहेकी अभिनेत्री थिइन्, जसले केही चर्चित र दर्शकले मन पराएका चलचित्रहरूमा अभिनय गरेर प्रशंसा कमाइसकेकी थिइन्।
भन्सालीले भने त्यसअघि मनीषासँग विधु विनोद चोपडाको १९४२: अ लभ स्टोरी चलचित्रमा काम गरेका थिए।
तिनै भन्सालीले तीन दशकको चलचित्र निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन्। उनले निर्देशन गरेको चलचित्रमा अभिनय गर्ने रहरबारे बलिवुडका हस्ती कलाकारहरूले सार्वजनिक अभिव्यक्ति दिने गर्छन्।
ठूलो पर्दाका चलचित्रमा भव्य दृश्य देखाउने र चाहे स्टेज होस् वा कलाकारको पोसाक त्यसमा कुनै सम्झौता नगर्ने भनेर चिनिएका भन्सालीको सिर्जनात्मकताको बलिवुडमा धेरै चर्चा हुने गर्छ।
उनै भन्सालीले आफूले बनाएको मध्येकै सबैभन्दा महँगो वेब सिरिज हिरामन्डीमा प्रमुख भूमिकामा रहेकी पात्र मल्लिका जानको भूमिका मनीषालाई दिए।
भन्सालीले ओटीटी प्लेटफर्ममा हात हालेको यो पहिलो पटक हो। आफूले पहिला निर्देशन गरेको चलचित्रमा मनीषालाई लिएका भन्सालीले पहिलो वेब सिरिजमा पनि उनैलाई लिएका छन्।
सञ्जय लीला भन्सालीले उनलाई हीरामन्डीको स्क्रिप्ट पढ्न भन्दै मल्लिका जानको भूमिकामा अभिनयका लागि प्रस्ताव राखेको मनीषाले हालैको एउटा अन्तर्वार्तामा बताएकी छन्।
भन्सालीलाई आफ्नो मिल्ने साथी बताउने मनीषालाई त्यो ठूलो खुसी दिने समाचार थियो।
हीरामन्डी वेब सिरिजको प्रचारप्रसार गरिरहँदा भारतीय एनडीटीभीलाई दिएको एउटा अन्तर्वार्तामा उनले भनेकी छन्, "म काठमान्डुमा रहेको घरमा बगैँचामा काम गर्दै थिएँ। त्यो समय सञ्जयले मलाई अभिनयका लागि प्रस्ताव गर्लान् भनेर मैले असाध्यै कम आशा गरेकी थिएँ वा अपेक्षा नै गरेकी थिइनँ।
‘हीरामन्डी: द डायमन्ड बाजार’ नेटफ्लिक्समा सार्वजनिक भए लगत्तै ट्रेन्डिङमा नम्बर १ हुन सफल भयो।
सार्वजनिक भएदेखि नै आठ एपिसोड रहेको उक्त श्रृङ्खला हेरिसकेकाहरूले सञ्जय लीला भन्सालीको निर्देशन र त्यसमा अभिनय गरेका मनीषालगायतका कलाकारको प्रशंसा गरिरहेका छन्।
प्रमुख भूमिका निभाएकी मनीषाको अभिनयको दिग्गज कलाकारदेखि नयाँ पुराना दर्शकहरूले पनि प्रशंसा गरिरहेको देखिन्छ।
हीरामन्डीको सफलतापछि मनीषाको भावुक पोस्ट
नेटफ्लिक्सले हीरामन्डीको सफलतापछि 'सक्सेस पार्टी' आयोजना गरेको थियो।
त्यसयता यसै साताको सुरुमा मनीषाले सामाजिक सञ्जालमा एउटा लामो स्टेटस लेखेर दर्शकप्रति कृतज्ञता व्यक्त गरेकी छन्।
“क्यान्सरपछि र उमेर ५० पार गरेपछि मेरो जीवन यस्तो होला भनेर मैले कहिल्यै कल्पनै गरेकी थिइनँ। हीरामन्डी एउटा महत्त्वपूर्ण फड्को बनेको छ,” उनले सामाजिक सञ्जालहरूमा लेखेकी छन्।
“अहिले वाह वाही पाइरहँदा छायाङ्कन सुरु गर्नु अगाडिको मेरो दुबिधा र चिन्ता बिर्सन सक्दिनँ। क्यान्सरबाट निको हुँदै गरेको मेरो शरीरले छायाङ्कनको सघन कार्यतालिका, गह्रुँगा लुगा, गहना र भूमिकाले मागे अनुसार सूक्ष्म र हेर्दा खेरी अति सहज देखिने अभिनयका लागि मेरो शरीरले सक्ला र भन्ने लागेको थियो।”
उनले उक्त पोस्टमा हीरामन्डीमा उनको असाध्यै सराहना गरिएको एउटा दृश्यमा गरिएको मिहिनेतको पनि उनले उल्लेख गरेकी छन्।
पानीको फोहोरामा खिचिएको दृश्य छायाङ्कनका लागि उनले १२ घण्टाभन्दा बढी समय पानीमै बस्नु परेको र त्यसले क्यान्सरपछिको आफ्नो शरीरको परीक्षण गरेको उनले बताएकी छन्।
उनले अन्तिममा लेखेकी छन्, "तपाईँहरू जसलाई उमेर, बिमारी वा अन्य धक्काले लाग्छ कि समय आयो र गयो, कहिल्यै हार नमान्नूस ! के कुराले पर्खिरहेको छ भन्ने तपाईँलाई थाहा नहुन सक्छ! म तपाईँको प्रेम र उदारताका लागि असाध्यै कृतज्ञ छु।"
रेखालाई प्रस्ताव गरिएको मल्लिका जानको भूमिकामा मनीषा
हीरामन्डीको प्रचारप्रसारका क्रममा 'फिल्मीज्ञान' यूट्यूब च्यानललाई दिइएको एउटा अन्तर्वार्तामा मनीषा कोइरालाले मल्लिका जानको भूमिका १८/२० वर्षअगाडि दिग्गज कलाकार रेखालाई प्रस्ताव गरिएको खुलाएकी छन्।
हीरामन्डी हेरेपछि रेखाले आफूलाई भोलिपल्ट फोन गरेर दिएको प्रतिक्रिया उद्धृत गर्दै कोइरालाले अन्तर्वार्तामा भनेकी छन्, "बच्चा, म त प्रार्थना गरिरहेकी थिएँ कि यदि मैले यो भूमिका गरिनँ भने तिमीले गर। मेरो प्रार्थना सही भयो र तिमीले अद्भुत अभिनय गरेकी छौ। जीवनमा तिमी धेरै कुराबाट गुज्रिएकी छौ र तिमीले यो भूमिकामा ज्यान दिएकी छौ (जान डाल दि है)"
सन् १९८१ मा उमराव जान चलचित्रमा यौनकर्मीको भूमिका निभाएर निकै प्रशंसा पाएकी रेखाका यी शब्दले आफ्नो आँखामा आँसु आएको मनीषाले अन्तर्वार्तामा बताएकी छन्।
"त्यो स्तरको कलाकारबाट आशीर्वाद पाउनु र यी शब्द सुन्नु अरू नै केही अनुभूति हो। मेरा आँखामा आँसु आयो," उनले उक्त अन्तर्वार्तामा भनेकी छन्।
भारत स्वतन्त्र हनुअघिको लहोरमा रहेको हीरामन्डीकी तवाइफ(यौनकर्मी) को यो भूमिकाका लागि उर्दु भाषा र बोलाइ अनि चालचलन बनाउन निकै अभ्यास गर्नुपरेको मनीषाले बताएकी छन्।
उनले अन्तर्वार्तामा यो पनि भनेकी छन् - उनकी एक कलाकार साथीले मल्लिका जानको अभिनय मनीषाले गरे पनि स्वर भने रेखाले दिएको ठानेको उनले उल्लेख गरेकी छन्। रेखाको उर्दु भाषामा निकै दक्खल रहेको बताइन्छ।
रेखाबाहेक मनीषा कोइरालापछि अभिनयमा प्रवेश गरेकी अभिनेत्री प्रीति जिन्टाले पनि प्रशंसा गरेकी छन्।
हीरामन्डी हेरिसकेपछि "दिल से" चलचित्रमा मनीषासँगै पहिलो काम गरेकी जिन्टाले मनीषाको पोस्टमा प्रतिक्रिया जनाउँदै लेखेकी छन्, "मैले तिम्रा लागि हेरेँ र तिमीले असाध्यै राम्रो गरेकी छौँ। तिमी असाध्यै प्रतिभाशाली छौ र त्यो भन्दा पनि बढी असल मानव हौ। दिल से मा काम गर्दा तिमी कति उदार थियौ भन्ने कुरा म कहिल्यै बिर्सने छैन। मैले मेरो फिल्म यात्रा सकारात्मक नोटमा सुरु गरे। म सुपरस्टारसँग काम गरिरहेकी छु भनेर तिमीले मलाई कहिल्यै पनि महसुस गर्न दिएनौँ।"
दिल से प्रीति जिन्टाले अभिनय गरेको पहिलो चलचित्र हो।
प्रीति जिन्टाको प्रतिक्रियालाई उद्धृत गर्दै फिल्म फेयरले पनि आफ्नो एक्स (ट्विटर) ह्यान्डलमा लेखेको छ, "हामी प्रीति जिन्टासँग सहमत छौँ। मनीषा कोइरालाले हीरामन्डीमा उत्कृष्ट अभिनय गरेकी छन्।"
चौथो चरणको क्यान्सर भएर बाँच्न सफल भएकी मनीषाले सन् २०१८ मा प्रकाशित आफ्नो पुस्तक 'हिल्ड'मा लेखेकी छन्- "मलाई बाँच्छु कि मर्छु वा अब कति बाँच्छु भन्ने नै थाहा थिएन। मेरो मनमा लागिरहन्थ्यो म मर्न चाहन्नँ।"
त्यो अवस्थाबाट गुज्रिएकी मनीषाले आफूले दोस्रो जीवन पाएको बताउने गरेकी छन्। क्यान्सरबाट बाँच्न सकेका कारण मात्रै होइन कि अभिनयमा पाएको सफलतालाई पनि जोडेर उनले हालै दिएको एउटा अन्तर्वार्तामा उनले यस्तो बताएकी छन्।
काठमाण्डू फर्किए लगत्तै पत्रकारको एउटा प्रश्नमा उनले एमएनएमसँग भनेकी छन्, "राम्रो निर्देशकसँग काम गरेर धेरैले स्याबासी दिएपछि यो दोस्रो जीवन जस्तै भएको छ।"
करिब १ सय वटा चलचित्रमा अभिनय गरिसकेकी छन्। खासगरी शौदागर, १९४२: अ लव स्टोरी, बम्बे, अग्निसाक्षी, खामोशी: द म्युजिकल, गुप्त, दिल से, मन, सञ्जुजस्ता चलचित्रमा उनको अभिनयको निकै तारिफ हुँदै आएको छ। अहिले हीरामन्डीमा उनको अभिनय हेरेपछि धेरैले 'सानदार फिर्ती' भन्ने प्रतिक्रिया दिएका छन्।
आलोचना
तर उनै मनीषा कोइराला हीरामन्डीका कारण चर्चामा उचाइमा पुगिरहँदा उनको अभिनयको तारिफ गर्नेले उनलाई कतिपयले राजनीतिक टिप्पणी नगर्न सुझाएका छन्।
पछिल्ला वर्षहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यक्रमहरूमा सार्वजनिक रूपमा देखिने र अभिव्यक्ति दिने मनीषालाई त्यसबाट टाढा रहन र अभिनयमै केन्द्रित रहन दर्शक र प्रशंसकहरूले सुझाएका हुन्।
एक्समा आफूलाई बाबाजी भनेर चिनाउने प्रयोगकर्ताले लेखेका छन्, "हिरामण्डी हेरेर सकेँ, मलाई त बबाल लाग्यो ! त्यसमा पनि मनीषा कोइरालाको अभिनय र अवार सबैभन्दा बबाल! मनीषाजीले राजनीतिक टिप्पणी, त्यसमा पनि ताइँ न तुइँको नेपाली राजतन्त्रको पैरवी छोडेर आफूलाई एक्टिङमै फोकस गरे हामी दर्शकलाई कति खुसी लाग्दो हो! समग्रमा हिरामण्डी मेरो लागि १० मा ९!"
गत आमचुनावका बेला राप्रपाका कतिपय चुनावी कार्यक्रममा उपस्थित भएर मनीषाले भाषण नै गरेकी थिइन्।
राजतन्त्रबारे उनले दिने अभिव्यक्तिबारे पनि कतिपयले टिकाटिप्पणी गर्ने गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।