'इन्फ्लुअन्सर' बन्न कति कठिन छ? शून्य 'फलोअर' भएका तीन जनाको निष्कर्ष यस्तो

- Author, यास्मिन रुफो
- Role, बीबीसी न्यूज
सामाजिक सञ्जाल एउटा त्यस्तो ठाउँ हो जहाँ मानिसहरू लाइकदेखि आफूलाई अरूले याद गरून् भनेर लड्छन् र रातारात भाइरल हुने सपना देख्छन्।
केही भाग्यमानी मानिसहरूका लागि यो एउटा लोभलाग्दो बाटो हो जहाँ सन् २०२७ सम्ममा सर्जकहरूको आम्दानी ५०० अर्ब डलर बराबरको हुने ठानिन्छ। तर धेरैका लागि यो दुविधायुक्त र अक्षम्य ठाउँ हो जहाँ को देखिने र को नदेखिने भन्ने 'एल्गरिदम'ले निर्णय गर्छ।
त्यसो भए यो तोड्न कति गाह्रो छ? कुनै सामाजिक सञ्जाल नभएका तीन जनाले केवल तीन महिनाको अन्तरालमा आफ्नो प्रतिभालाई सामाजिक सञ्जालमा देखाएर एउटा चुनौतीको सामना गरे।
मस्तिष्कघात भएर बाँच्न सफल एमिली माटोका भाँडा बनाउने काम गर्छिन्। अलुन इतिहासकार हुन् र डान्य नाट्यकर्मी हुन्।
उनीहरूले सामाजिक सञ्जालमा आफ्ना दर्शकहरू खोज्ने प्रयास गरे जहाँ उनीहरूले अनलाइनमा नाम कमाउन भावनात्मक रूपमा कति उतारचढावहरू हुन्छ भनेर भोगे।
'प्रतिक्रियाहरू के आए भनेर हेर्नु थेगी नसक्नु'

माटोका भाँडा बनाउनुअघि एमिली मञ्जमा प्रस्तुति दिने सपना देख्थिन्।
तर २६ वर्षकै उमेरमा मस्तिष्कघात भएपछि उनका लागि सबै कुरा फेरियो र, उनको पहिलेजस्तो गहिरो तहको बौद्धिक बुझाइ रहेन।
भाँडा बनाउने कामले उनलाई जीवनमा नयाँ उद्देश्य थियो र उनले सिर्जनात्मक रूपमा आफूलाई जसरी अभिव्यक्त गरिन् त्यो एक प्रकारले थेरपीजस्तै भयो।
एमिली विरलै सामाजिक सञ्जालको प्रयोग गर्थिन् तर "आफूजस्तै अवस्थामा भएका अन्य मानिससम्म पुग्न, उनीहरूलाई प्रेरणा दिन र समर्थन गर्न" टिकटकमा खाता खोल्ने निर्णय गरिन्।
उनको पहिलो भिडिओमा जम्मा दुई भ्यूज आएको छ। र त्यसपछि उनले माटाका भाँडाहरू र आफ्नो बिरालोबारे बनाएका भिडिओहरूले पनि राम्रो भ्यूज ल्याउन सकेनन्।
हप्तौँको मौनता र दुविधापछि एमिलिले माटोका भाँडाहरू बनाउँदा त्यसले कसरी आफ्नो जीवन बचायो भन्ने बारेमा बनाएका भिडिओ हजारौँ मानिससम्म पुगे।
मस्तिष्कघात भएर बाँच्न सफल अन्यले उनको सामग्रीको प्रशंसा गर्दै मेसेजहरू पठाए।
आफूले पार्न सकेको प्रभावप्रति उनी गर्व गर्छिन्। "त्यो प्रतिक्रिया हजारौँ लाइक्सहरू भन्दा धेरै अर्थपूर्ण थिए किनभने त्यो अर्को मानिसको पनि कथा थियो र त्यो बढी मूल्यवान् हो।"
भिडिओको सफलता एउटा अनपेक्षित भारका रूपमा आयो। किनभने प्रतिक्रियाहरू हेरिरहनुपर्ने जिम्मेवारी थेगिनसक्नुगरी आए।
एमिली आफ्ना सामाग्रीहरू आधिकारिक बनाउनका लागि सङ्घर्ष गर्थिन्। प्रत्येकपटक क्यामरामा बोल्दा उनलाई प्रस्तुति दिएजस्तै महसुस हुन्थ्यो।
"मलाई आफैँमाथि न्याय गरिरहेको जस्तो महसुस भएन र मैले जे बनाइरहेकी थिएँ त्यसबाट म निराश थिइनँ," उनले भनिन्। "मलाई आफू फर्जीजस्तो महसुस भयो।"
मस्तिष्कघातबाट निको भएकाजस्ता संवेदनशील शीर्षक सम्बोधन गर्नुको अर्थ एमिलीका लागि ज्यादै जोखिमपूर्ण लाग्यो।
"त्यहाँ गल्तीका लागि ठाउँ हुँदैन र गलत अर्थ लाग्ने केही पनि कुरा तपाईँ भन्न चाहनुहुन्न र यसको बारेमा निरन्तर सोच्न गाह्रो हुनसक्छ," उनले भनिन्।
यो नयाँ प्रयोग गरिरहँदा पछिल्ला दिनमा एमिली आफ्नो व्यक्तिगत जीवनमा असर गरिरहेको अवस्थाको सामना गरिरहेकी छिन् र सामग्री बनाउन उनलाई चुनौती भइरहेको छ।
उनले सामाजिक सञ्जालबाट ब्रेक लिने निर्णय गरेकी छिन् तर उनी भविष्यमा फर्किन सक्नेछिन्।
'भ्यूजको पछाडि दौडिँदा यसले तपाईँको स्वमूल्यमा असर पार्नसक्छ'
अलुन इतिहासका एकजना वरिष्ठ लेक्चरर हुन् जसले प्रारम्भिक आधुनिक चिकित्सामा विशेषज्ञता हासिल गरेका छन्। उनले दाह्रीको सांस्कृतिक इतिहासको अनुसन्धान गर्न बषौँ समर्पित रहे।
उनले यो विषयमा सामाजिक सञ्जालमा कुरा नभएको महसुस गरे।
उनी प्रयोगको हिस्सा हुन सहमत भए। उनले मानिसहरूलाई यसबारे जानकारी दिन एकजना प्राज्ञको रूपमा उनको कर्तव्य समेत रहेको महसुस गरे।
उनी किन इतिहासलाई माया गर्छन् भन्नेबारे उनको पहिलो भिडिओमा केही सय भ्यूजहरू आएका छन् र यसले उनलाई हरेक केही दिनमा पोस्ट गर्न उत्प्रेरित गर्छ।

उनका भिडिओहरूले राम्रै गर्छन्। तर कुनै पनि १,००० भन्दा धेरै भ्यूज पाएका छैनन्। यसले गर्दा उनलाई हताश बनाउँदै लगेको छ र सङ्ख्याको पछाडि दौडिनुपर्दा उनलाई भावनात्मक रूपमा पनि गाह्रो भएको छ।
"यसले तपाईँको स्वमूल्यमा असर गर्न थाल्छ," उनले स्वीकार गरे। "यदि तपाईँको भिडिओमा भ्यूज आएन भने तपाईँ आफूले केही गलत गरिरहेको वा मानिसहरूले मन नपराएको सोच्न थाल्नुहुन्छ।"
अन्त्यमा उनले एउटा भिडिओमा १०,००० भन्दा बढी भ्यूजहरू पाए। तर पनि उनले आफूले सोचेको उत्साह महसुस गरेनन्।
"म सक्रिय रूपमा धेरै भ्यूजहरू चाहिरहेको थिएँ तर मैले मेरो शैक्षिक निष्ठा गुमाएँ। मैले सीमा पार गरेँ र केही जानकारीलाई अति सरलीकृत गरेँ र म अब आफूलाई पहिलाजस्तै निष्ठावान् महसुस गर्दिनँ।"
दुई महिनामा अलुनले हरेक दिन टिकटकमा सामाग्री पोस्ट गर्दै आएका छन्। तर हालै उनले एलोपेसियाका कारण कपाल र आँखीभौँको रौँ कम भएको बारेमा क्रूर र द्वेषपूर्ण टिप्पणीहरू पाउन थालेका छन्।
"मैले सोचेको भन्दा ती टिप्पणीहरूको सामना गर्न मलाई गाह्रो भइरहेको छ," उनी स्विकार्छन्। "यसले मलाई मेरो उपस्थितिको बारेमा बढी सचेत गराएको छ।"
उनले ट्रोलहरूको सामना गर्ने र आफ्नो अवस्थाको व्याख्या गर्दै भिडियो बनाउने निर्णय गरे।
त्यही समयमा उनले पढाउने विश्वविद्यालयले उनले बनाएका भिडिओहरू शेअर गर्न थाल्यो जसमा सम्भावित विद्यार्थीहरूसम्म उनको पहुँचलाई द्रुत गतिमा पुर्यायो।
"मैले जम्मा ३,५०,००० भ्यूजहरू पाएको छु र मेरा प्राज्ञिक लेखहरू वर्षमा केही सय पटक पढिन्छ," उनी भन्छन्।
सामग्री सिर्जना गर्नाले उनको पेसालाई प्रतिस्थापन गर्दैन तर यसले निश्चित रूपमा विस्तार गर्दछ। र अलुन निरन्तर अनलाइन पोस्ट गर्नेमा प्रस्ट छन्।
'यसले अत्यधिक समय लिन्छ र यो लत जस्तै लाग्छ'
नाट्यकर्मी र निर्माता डान्यका लागि यो चुनौतीलाई उल्टो छ। उनी प्रस्तुति दिन अभ्यस्त छिन्। तर अनलाइनमा नभई प्रत्यक्ष दर्शकहरूको अगाडि।
उनी पनि सामाजिक सञ्जालको प्रयोगमा सामेल हुन्छिन् किनभने उनी मानिसहरूलाई एकै ठाउँ ल्याउन चाहन्छिन्।
मानिसहरू लामो समयदेखि अनलाइनमा भएका कारण व्यक्तिगत सम्बन्ध गुमाइरहेका छन् भन्ने चिन्ता उनलाई लाग्छ।

डान्य युट्युब डाउनलोड गर्छिन् र एमिली र अलुनको दाँजोमा उनका सामाग्रीहरू सुस्त र लामा छन्। उनको पहिलो भिडिओ ८ मिनेट लामो छ।
उनी निरन्तर रूपमा पोस्ट गर्छिन् जसमा ध्यान गर्ने तरिकादेखि कविताका कुराहरू छन्। तर उनका भिडिओहरूमा त्यति धेरै भ्यूजहरू ओइरिएका छैनन्।
यसका बाबजुद उनी धमाका मच्चाइरहेकी छन्।
"यो एकदमै रमाइलो छ र अब अर्को के शेअर गर्ने भनेर म सोचिरहन्छु," उनले भनिन्।
उनको उत्सुकता धेरै लामो रहँदैन र छिट्टै उनी सामाजिक सञ्जालको प्राविधिक पक्षको जालोमा फसेको महसुस गर्छिन्। उनले कसरी लाखौँ फलोअर्सहरू प्राप्त गर्ने भन्ने पुस्तक पनि किनेकी छन्।
उनले एक महिनामा ५० वटा भिडिओहरू पोस्ट गरेकी छन् र यसले मस्तिष्कलाई थकाउने उनी स्विकार्छिन्।
"यसले मेरो अत्यधिक समय लिन्छ र म यसैमा जिइरहेकी छु। यो एउटा लागुऔषध वा कुलतजस्तै लाग्छ," उनी स्विकार्छिन्। "म यसले पिसिएकी छु किनभने हरेक दिन म सामग्रीको बारेमा सोचिरहेकी हुन्छु।"
तेस्रो महिनामा पुग्दा उनको भ्यूजको सङ्ख्या बिस्तारै बढ्दै गएको छ र उनले थुप्रै किसिमका टिप्पणीहरू प्राप्त गर्छिन्।
अलुनजस्तै उनले पनि सामाजिक सञ्जालमा आफ्नो उपस्थिति बढ्दा कसरी आफ्नो कामलाई मद्दत मिल्छ भन्ने बुझेकी छन्। उनी आफ्ना प्रदर्शनी र कार्यशालाहरूबारे थप टिकटहरू बिक्री गरिरहेकी छन्।
डान्यले भ्यूजहरूलाई व्यक्तिगत रूपमा नलिने कोसिस गर्छिन् र यसले दिने प्रशंसा कम भए पनि अहिले गरिरहेको प्रयोगभन्दा बढी गर्न सफलताको आशा नै उनका लागि पर्याप्त छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








