केटाहरू 'पोर्न, अन्लाइन गेम र जुवामा रमाउन थाले': ग्यारथ साउथगेट

बीबीसीको वार्षिक 'रिचर्ड डिम्बल्बी लेक्चर'मा प्रवचन दिँदै सर ग्यारथ साउथगेट
तस्बिरको क्याप्शन, सर ग्यारेथ साउथगेट इङ्ग्ल्यान्डको पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी र पूर्वप्रबन्धक हुन्
    • Author, ग्रेस डीन
    • Role, बीबीसी न्यूज

इङ्ल्यान्डको राष्ट्रिय पुरुष फुटबल टोलीका भूतपूर्व प्रबन्धक सर ग्यारथ साउथगेटले युवावस्थाका पुरुषहरूले गेमिङ, अन्लाइन जुवा र पोर्नमा समय खेर फालिरहेको बताएका छन्। उनले वर्तमान समयमा 'अन्लाइन इन्फ्लुअन्सर'बाहेक अरू उत्कृष्ट अनुकरणीय व्यक्तित्वको खाँचो रहेको औँल्याएका छन्।

बीबीसीको वार्षिक 'रिचर्ड डिम्बल्बी प्रवचन' मा सहभागी हुँदै उनले यूकेले विशेष गरी युवा र युवा पुस्ताका पुरुषहरूलाई उनीहरूको जीवनमा उपयुक्त निर्णय लिनका लागि सहयोग गर्न तथा विफलताको डरबाट बाहिर निस्किने वातावरण बनाउन थप काम गर्नुपर्ने बताए।

त्यस क्रममा व्यावसायिक खेलजीवनबाट आफूले विश्वास र पूर्ववत् अवस्थामा फर्किन सक्ने क्षमताबारे सिकेको विषयमा पनि चर्चा गरे।

ग्यारथ साउथगेट को हुन्?

सर ग्यारथ साउथगेटले इङ्ग्ल्यान्डका विभिन्न फुटबल क्लबबाट खेलेका थिए। उनी मैदानमा डिफेन्डर र मिडफील्डरका रूपमा देखा पर्थे। उनी सन् १९९५ देखि २००४ सम्म इङ्ग्ल्यान्डको राष्ट्रिय टोलीमा थिए।

सन् २०१६ मा राष्ट्रिय टोलीको प्रबन्धक नियुक्त भएका उनले सन् २०१८ को विश्वकपमा इङ्ग्ल्यान्डलाई सेमिफाइनलसम्म र सन् २०२२ मा क्वार्टर-फाइनलसम्म पुर्‍याए। उनले सन् २०२० र २०२४ को यूरो कपको फाइनलमा आफ्नो टोलीलाई पुर्‍याउन भूमिका निर्वाह गरेका थिए।

गत जुलाईमा यूरो कपमा स्पेनसँग इङ्ल्यान्ड पराजित भएको दुई दिनपछि उनले पद छाडेका थिए।

उनलाई इङ्ग्ल्यान्डको टोलीलाई पुन: सशक्त र सक्रिय बनाएको श्रेय दिइन्छ। उनलाई गत डिसेम्बरमा राजा चार्ल्सले 'सर' को उपाधि प्रदान गरेका थिए।

ख्यातिप्राप्त कार्यक्रम प्रस्तोता रिचर्ड डिम्बल्बीको सम्झनामा सन् १९७२ देखि वार्षिक प्रवचन आयोजना हुन्छ। त्यसमा प्राज्ञ, व्यावसायिक क्षेत्रका नेता र अन्य चर्चित व्यक्तित्वहरू बोल्छन्।

अहिलेका राजा चार्ल्स तृतीय आफू राजकुमार हुँदा यो प्रवचनमा वक्ताका रूपमा आएका थिए।

त्यस्तै विश्वकै धनीमध्येमा पर्ने प्रविधि उद्यमी तथा परोपकारी कार्यकर्ता बिल गेट्स र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टिन लगार्ड पनि यो कार्यक्रममा वक्ता बनिसकेका छन्।

'विषाक्त इन्फ्लुअन्सर'

स्मार्टफोन चलाउँदै

सर ग्यारथले युवावस्थाका धेरै पुरुषहरूले कुनै पनि विषयको मार्गदर्शनका लागि शिक्षक, खेल प्रशिक्षक वा युवा पुस्ताका नेताहरूको सल्लाह लिनुको साटो अन्लाइन सर्च गर्न थालेको आशङ्का व्यक्त गरे।

उनले अन्लाइनमा युवाका लागि नयाँ खानका अनुकरणीय पात्रहरू भएको तर ती पात्रहरू उनीहरूका निम्ति उपयुक्त चाहिँ नभएको बताए। "त्यहाँ निर्दयी, चतुर र विषाक्त इन्फ्लुअन्सरहरू छन् र उनीहरूको प्रमुख उद्देश्य भनेकै आफ्नो फाइदा मात्र हुन्छ," उनले भने।

"उनीहरू जानीजानी केटाहरूलाई आकर्षित गर्ने विभिन्न तरिका प्रयोग गर्दै सफलताको मापन पैसा र प्रभुत्वका आधारमा हुन्छ भन्ने विश्वास दिलाउन खोज्छन्। कसैको पनि शक्ति भनेको कहिल्यै आफ्नो भावना उजागर नगर्नु हो भन्ने र यो विश्व महिलाहरूसहितको हो भन्ने मान्यता विपरीतको धारणा विकास गराउने प्रयत्न गर्छन्।"

सर ग्यारथको यस्तो अभिव्यक्ति नेटफ्लिक्समा 'एडलेसन्स' शृङ्खाले विश्वव्यापी चर्चा पाएका बेला आएको हो। उक्त चार भागको शृङ्खला यो साता विश्वका ७१ देशमा सबैभन्दा धेरै हेरिएका शृङ्खलामा परेको थियो।

त्यसमा एउटी किशोरीलाई छुरा प्रहार गरेर हत्या गरिएको घटनापछिको परिस्थितिलाई देखाइएको छ। हत्यापछि ती किशोरीकै विद्यालयमा पढ्ने १३ वर्षे किशोर पक्राउ पर्छन्।

उक्त शृङ्खलामा केही किशोरमा सामाजिक सञ्जाल र स्त्रीद्वेषी इन्फ्लुअन्सरहरूको प्रभाव कसरी पर्छ भन्ने देखाउन खोजिएको छ। शृङ्खला निर्माताहरूले त्यसलाई यूकेका स्कूलहरू तथा त्यहाँको संसद्‌मा देखाइनुपर्ने बताएका छन्।

'धेरै युवकहरू एक्लिएका छन्'

सर ग्यारथको मन्तव्य युवामा विश्वास र अनुकूलताको महत्त्वमा केन्द्रित थियो। उनले त्यसका लागि मुख्य तीन कुराको विकास गर्नुपर्ने बताए। ती तीन कुराहरू पहिचान, सम्बन्ध र संस्कृति भएको उनको भनाइ छ।

उनले 'यूके सेन्टर फर सोसिशल जस्टिस' (सीएसजे) नामक थिङ्कट्याङ्कको यसै महिना सार्वजनिक एउटा प्रतिवेदनलाई उद्धृत गरेका थिए। उक्त प्रतिवेदनले किशोरहरू र युवकहरू "सङ्कटमा रहेको" देखाएको छ। त्यसले शिक्षा, रोजगार र तालिम नभएका त्यस्ता पुरुषको सङ्ख्या पनि चकित पार्ने गरी बढेको उजागर गरेको छ।

"धेरै पुरुषहरू एक्लिएका छन्," उनले भने, "धेरै आफ्ना साथीहरू र परिवारसँग पनि खुल्न असहज महसुस गर्छन्। धेरै जनाका उनीहरूलाई प्रगति गर्नका लागि कसरी अघि बढ्ने भनेर सिकाउन सक्ने गुरु, प्रशिक्षक र हाकिमहरू छैनन्।"

"अनि जब उनीहरू कुनै पनि कुराबाट बाहिर निस्कन खोज्छन् त्यस बेला युवकहरू एक्लैले सङ्घर्ष गर्नुपर्छ।"

"युवकहरू आफ्ना भावना व्यक्त गर्न र कुराकानी गर्न हिचकिचाउँछन्। उनीहरू मार्गदर्शनका लागि अन्लाइन सर्च गर्न थाल्छन् र अस्वस्थकर गतिविधिहरू जस्तै गेमिङ, अन्लाइन जुवा र पोर्नोग्राफीजस्ता विकल्प छान्न पुग्छन्।"

'मलाई पहिला थाहा थिएन'

उनका अनुसार युवकहरूले काममा विफल भएर आफ्ना गल्तीबाट सिक्ते पर्याप्त अवसर पनि पाउँदैनन्।

उनले भने, "मेरो विचारमा यदि हामीले अहिले बालकहरूको जीवन एकदमै सहज बनाइदियौँ भने युवावस्थामा उनीहरूको जीवन निकै कठिन बन्न पुग्छ।"

"धेरै युवकहरू विफल हुने डरमा छन् किनभने उनीहरूसँग अनुभव प्राप्त गर्ने र त्यसबाट बाहिरिने सीमित विकल्प मात्र हुन्छन्। उनीहरू प्रयास गरेर विफल हुने नभई गर्दै नगरी विफल हुन्छन्।"

"यदि मैले फुटबलबाट मेरो जीवनमा केही सिकेको छु भने त्यो सफलता भनेको निर्णायक गोलभन्दा धेरै हो," उनले भने, "तपाईँ कठिन परिस्थितिमा त्यसलाई कसरी सामना गर्नुहुन्छ वास्तविक सफलता त्यो हो।"

सर ग्यारथ साउथगेट

तस्बिर स्रोत, PA Media

सन् १९९६ को यूरो कपमा सेमिफाइनल खेलमा आफूले पेनाल्टीमा गोल गर्न नसक्दा इङ्ल्यान्डले जर्मनीसँग हारेको प्रसङ्ग कोट्याउँदै उनले त्यसले उनलाई परिभाषित नगर्ने बताए।

उनले भने, "त्यो पीडाले अहिले पनि मलाई सताउँछ र मलाई लाग्छ त्यसले सधैँ नै सताउने छ।"

"त्यो पेनाल्टी गुमाउनु भनेको मेरा लागि निश्चय नै महत्त्वपूर्ण क्षण थियो। त्यसले मलाई अझ बलियो र पहिलेभन्दा उत्कृष्ट व्यक्ति बनायो।"

"त्यसले मलाई गहिरोसँग हेर्न बाध्य बनायो र एउटा भित्री विश्वास तथा पूर्ववत् अवस्थामा फर्किने ज्ञान दियो। मलाई त्यस्तो कुरा हुन्छ भन्ने पहिला कहिल्यै थाहा थिएन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।