अमेरिकी 'इन्फ्लुअन्सर' जो संसारमा धेरै बच्चा जन्मिऊन् भन्ने चाहन्छन् र ह्वाइट हाउस आफ्नो पक्षमा भएको ठान्छन्

तस्बिर स्रोत, Malcom and Simone Collins
- Author, स्टेफनी हेगर्टी
- Role, जनसङ्ख्या संवाददाता
अमेरिकाको पेन्सल्भेनियास्थित १८औँ शताब्दीमा बनेको पुरानो घरमा सिमोन कलिन्सको काखमा उनका चारमध्ये एक सन्तान खेलिरहेको छ। यतिखेर बिहानको ८ः३० बजेको छ र उनी अलि थकित देखिन्छिन् – उनी कैयौँ व्यवसाय सम्हाल्छिन्, एउटा प्रतिष्ठान हेर्छिन् र अहिले उनको गर्भमा पाँचौँ सन्तान छ। उनी र पति माल्कम थप सन्तान जन्माउन इच्छुक छन्।
"कम्तीमा सात," उनले भनिन्, "मेरो स्वास्थ्यले दिएसम्म, १२ पाउन पाए त निकै गजब हुन्थ्यो।"
संसारमा धेरै बच्चा जन्मनुपर्छ नत्र मानव सभ्यता नाश हुने जोखिम हुन्छ भन्ने यी ३७ र ३८ वर्षका अमेरिकी दम्पतीको विश्वास छ। घट्दो जन्मदर समाजका निम्ति ठूलो समस्या भएको विश्वास गर्ने समूहका निम्ति यी दम्पति उदाहरणीय बनेका छन्। उनीहरू ठूलो परिवार नै यसको समाधान रहेको ठान्छन्।
'इन भिट्रो फर्टिलाइजेशन' (आईभीएफ) प्रक्रियाका क्रममा विशेष विधि प्रयोग गरेर भ्रूणलाई परीक्षण गरी तिनको बौद्धिक स्तरबारे सुरुमै थाहा पाउने सकिने उनीहरूको दाबी छ।
"बौद्धिक स्तर जाँच्ने कसी 'आईक्यू'बारे आनुवंशिक छनोट गर्न यी अध्ययनले हामीलाई सघाउँछन्," उक्त दम्पतीले सन् २०२३ मा पहिचान गोप्य राखेका एक पत्रकारलाई बताएका थिए। "बौद्धिक स्तरमा आफू कोही एक जनाभन्दा कमसल हुन सक्ने सन्तान हामी रोज्दैनौँ।"

तस्बिर स्रोत, Getty Images
यो वर्षको सुरुमा ह्वाइट हाउसमा डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हाल्न फर्किएपछि उनीहरूले आफ्ना अभियानलाई अर्को चरणमा लगेका छन्। कलिन्स दम्पतीको दृष्टिमा वर्तमान ह्वाइट हाउसका केही अधिकारीहरूलाई तिनका सम्भाव्य साझेदार ठान्छन् – र यसको पूर्ण फाइदा उठाउने उनीहरूको उद्देश्य छ।
चौध सन्तानका पिता ठानिएका इलोन मस्कले जन्मदर घट्नुलाई "मानव सभ्यताले सामना गरेको हालसम्मकै सबभन्दा ठूलो खतरा" भनेका छन्। उनले टेक्ससस्थित 'पप्युलेशन वेल्बीङ इनिशटिभ'लाई एक करोड डलर चन्दा दिएका छन्। उक्त संस्थाले जन्मदर, परिवारको हेरचाह अनि जनसङ्ख्या वृद्धिको भविष्यबारे अनुसन्धान गर्छ।
विविध धारका समूह
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि प्रजननबारे खुला सम्बोधन गरेका छन्। ज्यानुअरीमा आयोजित एक गर्भपतनविरोधी र्यालीलाई सम्बोधन गर्दै उनले भने: "म संयुक्त राज्य अमेरिकामा धेरै बच्चा जन्मिऊन् भन्ने चाहन्छु।"
जन्मदर घटेको कुरा सर्वविदित तथ्य हो। तर यो शताब्दीको अन्त्यसम्ममा अधिकांश देशहरूमा जनसङ्ख्या सङ्कुचित हुँदै जाने प्रक्षेपण संयुक्त राष्ट्रसङ्घले गरेको छ। समाज तथा अर्थतन्त्रहरूमा तिनको गम्भीर प्रभाव पर्ने छ।
कतिपय मानिसहरू उक्त परिवर्तनसँग हामी समयक्रममा अनुकूल हुन्छौँ भन्ठान्छन् तर 'प्रोन्याटलिस्ट' भनिने धेरैभन्दा धेरै बच्चा जन्मिऊन् भन्ने चाहने अभियानकर्मीहरू चाहिँ धेरै आशावादी छैनन्।
तर यदि यो विषय साँच्चिकै सङ्कट बनेको हो भने यसबारे सबैथरी राजनीतिक रङ्गमा भिजेका मानिसहरू उत्तिकै चिन्तित हुनुपर्छ।

तस्बिर स्रोत, Getty Images
यद्यपि अमेरिकामा चाहिँ प्रोन्याटलिस्टहरू लगभग सबै दक्षिणपन्थी धारका छन्।
गत सप्ताहान्तमा टेक्ससमा दोस्रो नेटल कन्फरेन्समा करिब २०० मानिस सहभागी भए।
त्यहाँ अमेरिकाको दक्षिणपन्थी धारमा समाहित दुई भिन्न स्वभावका प्रोन्याटलिस्टसँगै परम्परावादी क्रिश्चियनहरू अनि 'टेक राइट' भनिने सिलिकन भ्यालीका स्टार्ट-अप संस्कृतिका उपज 'लिबर्टेरिअन'हरूको फैलँदो समूह पनि देखा परे।
"आफ्ना दर्शन, धार्मिक आस्था, पारिवारिक संरचनामा नितान्त भिन्नता भएका मानिसहरूको यो गठबन्धन हो," माल्कमले भने। "एउटा कुरामा चाहिँ हामी एकमत छौँ कि हाम्रो मूल शत्रु सहरकेन्द्रित 'लेफ्टिस्ट यूनिफाइङ अर्बन मोनोकल्चर' हो।"
तर यो गठबन्धनमा केही मतभिन्नताहरू पनि छन्।
परम्परागत धार्मिक दक्षिणपन्थी धारका मानिसहरूमाझ आईभीएफजस्ता विधिको उपयोगबारे द्विविधा छ। उनीहरू भ्रूण परीक्षणसँग सहमत छैनन् अनि कतिपयले समलिङ्गी विवाह तथा अभिभावकत्वको विरोध गर्छन्।
अनौठो गठबन्धन
"जन्मदर निकै कम छ भन्ने एउटा मुद्दामा सहमत मानिसहरूको यो अनौठो गठबन्धन हो। तर यसको समाधानबारे भने उनीहरूका सुझाव तथा उपाय आनका तान फरक छन्," अर्थशास्त्री क्याथरीन पकालुकले भनिन्। उनी आठ सन्तानकी आमा हुन् र अरू छ सौतेनी सन्तान छन्।
उनीहरूबीच सबभन्दा विभाजनकारी विषय चाहिँ 'टेक राइट' समूहले धेरै ध्यान दिने गरेको अनुवंशको उपयोग हो। गत वर्षको प्रोन्याटलिस्ट सम्मेलनका कैयौँ वक्ताहरूको आबद्धता उचाइ र बौद्धिक स्तरसम्बन्धी भ्रूणको आनुवंशिक परीक्षण गर्ने कम्पनीहरूसँग थियो।
यो विषयले सबै खालका राजनीतिक सोच राख्ने मानिसहरूलाई असहज बनाउँछ।
"बच्चाहरूलाई कुनै उपभोग्य सामानजस्तो व्यवहार गर्ने विषयले म चिन्तित छु," दक्षिणपन्थी झुकाव राख्ने अमेरिकन एथिक्स एन्ड पब्लिक पोलिसी सेन्टरका अनुसन्धानकर्ता प्याट्रिक टी ब्राउनले भने। "त्यसले अप्ठेरो ठाउँमा हामीलाई पुर्याउँछ।"
हालैको सम्मेलनमा सहभागी केही मानिस चाहिँ जातीय भिन्नतालाई जन्मजात वा स्वाभाविक मान्ने 'रेस रीयालिस्ट' समूहका सदस्य थिए। तीमध्ये एक जनाले बौद्धिक स्तर र जातबीच सम्बन्ध रहेको दर्शाउने आपत्तिजनक दृष्टिकोण प्रकाशित गरे। उनले भनेका कुराहरू असत्य भएको कैयौँ वैज्ञानिकहरूले बताएका छन्।
अनुवंशविज्ञ एडम रदर्फर्डले त्यसमा उपयोग गरिएको तथ्याङ्कलाई "मिथ्या र जातिवादी, अनि सत्यको खोजमा रहेका जोकसैका सामु वैध वैज्ञानिक प्रमाणका रूपमा प्रस्तुत गर्नै नसकिने स्तरको नमुनामा आधारित" भने।
"यी दाबी वैज्ञानिक जातिवादको पुरातन विचारप्रति पुनर्समर्पण हुन्।"
यो अभियानमा सामेल यस्ता अतिवादी विचारधाराका कारण पनि कतिपय मानिसहरू आफूलाई प्रोन्याटलिस्ट भन्न रुचाउँदैनन्। तीमध्ये क्याथरीन पकालुक पनि एक हुन्।
"मलाई लाग्छ कतिपय मानिस यूजेनिसिस्ट (आनुवंशिक छनोटका समर्थक) वा श्वेत सर्वोच्चतावादी छन्," उनले भनिन्।
"मलाई त्यो घीनलाग्दो र अस्वीकार्य लाग्छ। त्यस्ता मानिससँग जोडिने मेरो कुनै रुचि छैन।"
ट्रम्प प्रशासनको नीति कस्तो

तस्बिर स्रोत, Getty Images
उसोभए के यो समूहका कुरा अमेरिकी सरकारमा रहेका सबभन्दा शक्तिशाली मानिसहरूले साँच्चिकै सुन्ने छन्?
प्रारम्भिक सङ्केतहरूमा ट्रम्प प्रशासनले परिवारलाई प्राथमिकता दिने देखिएको छ। फेब्रुअरी १८ मा ट्रम्पले आईभीएफको पहुँच सुधार्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरे जसमा "परिवार गठनको महत्त्वलाई सम्मान" गर्ने तथा "आमा तथा बुबाहरूलाई सन्तान प्राप्तिमा सहजता" दिलाउनेतर्फ राज्यको नीति केन्द्रित हुनुपर्ने उल्लेख थियो।
यसबाट प्रोन्याटलिस्टहरू उत्साहित भएका छन् र यसले भावी दिनको सङ्केत गर्ने उनीहरूको आशा छ।
"तपाईँ मलाई सोध्नुहुन्छ भने हो अहिले ह्वाइट हाउसमा प्रोन्याटलिस्टहरू छन् जसले (सोहीबमोजिमका) नीतिहरू बनाउँदै छन्," माल्कमले भने, "उदाहरणका लागि इलोन र जेडी भान्स।"
तत्कालै आफ्ना अभियानले कुनै ठोस परिणाम दिइहाल्ने माल्कम र सिमोनलाई लाग्दैन – तर आफ्ना कुरा सुन्ने मानिस भएकोमा उनीहरू विश्वस्त छन्।
"हामीले ट्रम्प प्रशासनलाई कार्यकारी आदेशहरूका मस्यौदा लेखेर दिएका छौँ," सिमोनले भनिन्।
उनीहरूले बालबालिका हेरचाहसम्बन्धी विभिन्न नियमहरू हटाउने अनि धेरै बालबालिका अट्ने गरी गाडीमा बालबालिका राख्न मिल्ने कार सीटको छनोट गर्न पाउनेजस्ता प्रस्ताव गरेका छन्।
हालसम्म राष्ट्रपति ट्रम्पले जारी गरेका कार्यकारी आदेशहरू हेर्न उक्त आईभीएफसम्बन्धी आदेशबाहेक अरू यो विषयसँग प्रत्यक्ष सम्बन्धित पाइँदैन।
तर ज्यानुअरीमा यातायातमन्त्री सन डफीले एक परिपत्र जारी गर्दै कुनै पुरस्कार दिँदा "राष्ट्रिय औसतभन्दा धेरै विवाहदर तथा जन्मदर भएका समुदायलाई" प्राथमिकता दिन भनेका थिए।
प्रोन्याटलिस्टका विचारहरू नीतिमा कसरी परिणत होलान् भन्ने स्पष्ट छैन।
"ट्रम्पको ह्वाइट हाउसमा प्रोन्याटलिस्टहरूको साँच्चिकै बलियो प्रभाव छ। यहाँनेर एउटा असाधारण प्रश्न चाहिँ कसरी यो विषय परिवार नियोजनलाई नियन्त्रण गर्ने प्रयत्नसँग जोडिएला अनि कसरी बालबालिका हेरचाहमा गरिने खर्चबारेका बहसलाई यसले प्रभाव पार्ला भन्ने हुन्छ," समाचार वेबसाइट 'भक्स'की नीति संवाददाता रेचल कोहनले भनिन्।
प्याट्रिक ब्राउन त्यसमा असहमत छन्। "यदि तपाईँ क्यापिटल हिल (अमेरिकी संसद् परिसर)मा जानुहुन्छ र कङ्ग्रेस सदस्यसँग कुरा गर्नु हुन्छ वा अमेरिकाभरिका राज्यका गभर्नरहरूसँग कुरा गर्नुहुन्छ भने तिनले सायदै यसलाई समस्या ठानिरहेका छन्।"
उनका अनुसार "इन्टर्नेटको प्रोत्साहन" भनेको सफल आन्दोलनको प्रोत्साहन नहुन सक्छ। "उक्साहट वा उग्र व्यवहारले ध्यानाकृष्ट हुन्छ। त्यसले क्लिक र फलोअर बढ्छ।"
"तर मेरो विचारमा त्यसरी राजनीतिक संरचना बदल्न भने सकिन्न।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








