तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
निमा रिन्जी शेर्पा: अठार वर्षीय शेर्पा किशोरको 'फोर्टीन पीक' कीर्तिमानको राज
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
थर शेर्पा भए पनि कीर्तिमानधारी आरोही निमा रिन्जीको कथा आम शेर्पा आरोहीको भन्दा फरक छ।
अठार वर्षे किशोरावस्थामै सबैभन्दा कान्छा आरोहीका रूपमा संसारका ८,००० मिटरमाथिका १४ अग्ला हिमालको चुचुरोमा पुगेका सङ्खुवासभाको मकालुका निमा, त्यहाँ जन्मिएका मात्रै हुन्।
लेकका उकाली-ओराली नभई काठमाण्डूकै समथरमा उनको बाल्यकाल बित्यो र राजधानीकै सुविधा सम्पन्न स्कुलमा उनले आफ्नो विद्यालय शिक्षा पूरा गरे।
उनी ‘शेर्पा गाइड’ होइनन्, बरु आफूलाई ‘माउन्टेन एथ्लिट’ भनेर चिनाउँछन्।
हिमाल आरोहणसँग पर्यायजसरी नाम जोडिएका अधिकांश कीर्तिमानी शेर्पाका अनुभूति सुन्दा रोजीरोटीका लागि काम गर्दागर्दै कीर्तिमान बनिरहेका पाइन्छन्।
निमा त्यस मामिलामा भाग्यमानी निस्किए, र उनका हरेक पटकका हिमाल आरोहण दुर्लभ कीर्तिमानका हिस्सा बने।
सङ्घर्ष त उनका बुवा, ठूला बुवा र काकाहरूले आम शेर्पाहरू जसरी नै गरे।
तर पनि हिमालीभन्दा फरक राजधानीको परिवेशमा हुर्केका निमा रिन्जी समेत अन्ततः हिमालमै फर्किए।
त्यसरी पनि फरक परिवेशबाट अघि बढेर विश्व पर्वतारोहणमा लोभलाग्दो नाम बन्नुपछाडिको उनको कथा रोचक छ।
आफ्नो पछिल्लो कीर्तिमानको चर्चा सेलाउन नपाउँदै निमा रिन्जीले मनास्लु हिमालमा सहयोगी शेर्पाहरूबिनै इटलीका सिमोने मोरोसँग मिलेर हिमालको सबैभन्दा कठिन मानिने समयमा पहिलो 'हिउँदे आरोहण'मा जुट्ने घोषणा गरेका छन्।
छोटो योजनामै लामो यात्राको कीर्तिमान
नेपालको कानुन अनुसार १६ वर्ष पुगेपछि मात्र आरोहणमा जान पाइन्छ।
निमा रिन्जीले हिमाल चढ्ने सपना त्यही कानुनी उमेरको आसपास अर्थात् एसईईको परीक्षा दिने बेला मात्र सोचेको बताउँछन्।
त्यस बेला उनलाई हिमाल चढ्ने हुटहुटी निकै जोडतोडले लागेको थियो - एसईई परीक्षा सकेको भोलिपल्ट उनी मनास्लु हिमाल आरोहणको यात्रामा हिँडेका थिए।
“एसईईको तयारीका बेला मेरो मनमा हिमाल राम्ररी पसिसकेको थियो,” निमाले बीबीसीसँग भने।
“सुरुमा आरोहणमा मेरो खास उद्देश्य भिडिओ र फोटो खिच्ने थियो। त्यहाँको कथा भन्ने, त्यसलाई राम्रो गरी प्रस्तुत गर्ने भन्ने थियो।”
हिमाल चढ्न थालेपछि भने आफू झन्झन् आरोहणप्रति मोहित हुँदै गएको उनी बताउँछन्।
तर के कसैले हिमाल चढ्ने सोच्दैमा त्यति छिटो वा त्यति कम अनुभवकै भरमा त्यो सम्भव छ?
निमा रिन्जीको हकमा त उनी एउटा वा दुईवटा हिमाल चढेका पनि होइनन्।
हिमालय पर्वत शृङ्खलाअन्तर्गतका चीन, नेपाल र पाकिस्तानमा पर्ने १४ वटा अग्ला हिमालका चुचुरामा उनी पुगिसके।
ती अग्ला हिमालका आआफ्नै जटिल र मौलिक विशेषताबीच उनले आफूलाई निरन्तर र सकुशल अगाडि बढाउन सके।
'फोर्टीन पीक'को मान
'फोर्टीन पीक' भनेर चिनिने अग्ला हिमालका चुचुरोमा सबैभन्दा कान्छा आरोहीका रूपमा उनी दुई वर्ष १० दिन लगाएर पुगेका हुन्।
ती हरेक हिमालको चुचुरोमा पुग्न त्यहाँको ८ हजार मिटर माथिको 'डेथ जोन'मा हावापानी अनुकूलको छोटो समय अर्थात् 'समिट विन्डो'को भरपूर सदुपयोग गर्नुपर्ने हुन्छ।
हुन त व्यावसायिक आरोहणको पछिल्लो समयमा क्रिस्टिन हरिला र तेञ्जेन लामा शेर्पाले ३ महिनामै त त्यसअघि निर्मल पुर्जाले ७ महिनामा ती १४ हिमाल आरोहण पूरा गरेका रेकर्ड छन्।
तर त्यसअघिका कीर्तिमानलाई हेर्दा पनि फोर्टीन पीकको चुनौती छर्लङ्ग हुन्छ।
त्यसअघि करिब ७ वर्ष समय लगाएर दक्षिण कोरियाली आरोही चाङ होले ती हिमाल चढेका थिए। त्यसअघि इटलीका राइनहोल्ड मेस्नर फोर्टीन पीक पूरा गर्न १६ वर्ष लगाएका थिए।
कान्छा आरोहीका रूपमा यसअघि मिङ्मा डेभिड शेर्पाले ३० वर्षको उमेरमा 'फोर्टीन पीक'को कीर्तिमान राखेका थिए।
हजारौँले सर्वोच्च शिखरको सफल आरोहण गरेका छन्। तर 'फोर्टीन पीक' गर्नेहरू विश्वभर करिब ४ दर्जन आरोही मात्र छन्।
शेर्पा हुनुको 'मनोवैज्ञानिक ढाडस'
हठात् आरोहणमा देखा परे पनि “खेलकुदमा सानैदेखि आफ्नो लगाव”ले आफूलाई सहज बनाएको हुनसक्ने उनको ठम्याइ छ।
त्यसबाहेक शेर्पा हुनुको 'मनोवैज्ञानिक शक्ति'ले समेत सधैँ ढाडस दिइरहेको उनको विश्वास छ।
तर हिमालकै हकमा भने १५ वर्षको हुँदा मात्र उनी आमादब्लम आधारशिविर पुगेका थिए।
उनका बुवा टासी लाक्पा शेर्पा एन्टार्क्टिकाको साउथ पोल अभियानका लागि तयारीमा थिए। जसक्रममा उनले बुवासँग खुम्बु क्षेत्रमा पदयात्रा गरेका थिए। त्यही नै उनको मुख्य पदयात्रा थियो।
“छुकुङ गाउँबाट एउटा पास गरेर लबुचे निस्किएका थियौँ। ७ घण्टाको पास बाबुछोराले ४ घण्टामा सक्यौँ। त्यो खुम्बु यात्रा एकदम रमाइलो भयो।”
खुम्बुमा गरेको पहिलो पदयात्रामा खासै गाह्रो नभएपछि आफूलाई हिमाल आरोहणप्रतिको आत्मविश्वास एक्कासि बढेको उनी बताउँछन्।
मनास्लुमा संयम, सगरमाथामा हतार
१४ वटा हिमाल चढ्ने यात्रामा प्रसिद्ध आरोहीहरू भए पनि तन्दुरुस्ती र सक्रियताका हिसाबले आफू राम्रो देखिएको निमा रिन्जी सम्झन्छन्।
“अरू शेर्पा दाइहरूले तिमी त बलियो रैछौ भन्दा म दङ्ग परेको थिएँ। कतै आफूलाई बढ्तै आत्मबल चाहिँदा म त शेर्पा पो हुँ त भन्ने अनुभूतिले पनि मलाई ढाडस दिन्थ्यो,” आफ्नो आरोहण अभियानको नाम 'शेर्पा पावर' नै दिएको उनी सुनाउँछन्।
उनी एसईई सकिएपछि मनास्लु चढ्ने बेलाको एउटा क्षण सम्झन्छन्।
मनास्नुलाई आठ हजार मिटरको सहजमध्येमा हेर्ने गरिए तापनि त्यस बेला चाहिँ पहिलोपटक ‘ट्रु समिट’ भनिने परिमार्जित रूपमा ठम्याइएको हिमालको नयाँ चुचुरोमा चढिँदै थियो।
त्यसैले सन् २०२२ को आरोहण याम उक्त हिमालका लागि इतिहासमा व्यस्त समय थियो।
“त्यस बेला हिमपहिरो निकै आएको थियो। सय जनाभन्दा बढीले आरोहण रद्द गरेका थिए भने ३ जनाले त ज्यान नै गुमाए। विन्डो (आरोहण अनुकूल मौसम) साँघुरो भएपछि ४०० वटामध्ये १०० जना पनि गरेनन्,” उनी सुनाउँछन्।
“हामी छिटो छिटो चुचुरोमा पुग्यौँ। क्याम्प टु, क्याम्प थ्री र सोझै चुचुरोमा पुग्यौँ। तर मैले दबाव चाहिँ लिइनँ।”
दोस्रो हिमालका रूपमा मनास्लु चढेको एक महिनाभित्रै उनले आमादब्लम चढेका थिए। फोर्टीन पीक अन्तर्गत नपर्ने भए पनि उक्त हिमाल प्राविधिक रूपले कठिन मानिन्छ।
तैपनि निमा रिन्जीले आफू रक र आइसक्लाइम्बिङमा राम्रो भएकाले खासै गाह्रो नभएको सम्झन्छन्।
सगरमाथा र लोत्से उनले एकसाथ आरोहण गरेका थिए।
"सगरमाथा आरोहण गरेको दश घण्टामै म ल्होत्से पनि चढ्न सकेँ," उनी भन्छन्।
“संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा चुचुरोमा पुग्दा पनि ल्होत्से पनि चढ्नु छ भन्ने सोचले त्यसको खासै रमाइलो लिन पाइनँ। त्यतिखेर हामी धेरै जनाभन्दा अगाडि लागेर सुनसान हिमालमा मध्यराततिर सगरमाथा पुगेका थियौँ।”
रातको २ बजे सगरमाथा चुचुरोमा पुगेका उनी बिहान ११ बजेतिर ल्होत्सेको चुचुरोमा थिए।
पाकिस्तानका पाँच हिमाल
पाकिस्तानमा सामान्यतः वर्षमा एउटा याममा मात्र हिमाल चढिन्छ।
त्यही मौसमी मौलिकताबीच उनी पाकिस्तान पुग्दा एक महिनाभित्रै एकसाथ पाँच वटा हिमाल चढेका थिए।
त्यसबेला १४ वटा अग्ला हिमाल झन्डै ३ महिनामै चढेर दुर्लभ कीर्तिमान बनाउने क्रिस्टिन हरिला, तेञ्जेन लामाजस्ता जब्बर आरोहीसँग हिमाल चढ्न पाएका थिए उनले।
त्यसबाहेक त्यहाँ पुग्दा ‘वास्तविक स्वरूपको’ हिमाल चढेको अनुभूति भएको उनी सुनाउँछन्।
“नेपालमा जसरी गाउँहरूमा पुग्दै, होटलमा बस्दै आधार शिविर पुगेर हिमाल पुग्न सकिँदैन त्यहाँ। त्यहाँ सबैतिर क्याम्प बनाउँदै अगाडि बढ्नुपर्ने हुन्छ। खास आरोहण अभियान त्यहाँ अनुभूति हुन्छ,” निमा रिन्जी भन्छन्।
“पुरानो जमानाको आरोहणजस्तो समयमा पुगिन्छ त्यहाँ, जहाँ कुनै कुरा तयारी अवस्थामा हुँदैन। सबै थोक आफैले जुटाउँदै, आपसी सम्बन्धहरू कसिलो बनाउँदै घोडा खच्चडमा अगाडि बढ्नुपर्छ।”
त्यसको तुलना नेपालको सगरमाथासँग गर्न नमिल्ने उनको ठम्याइ छ।
सगरमाथामा सबैभन्दा राम्ररी डोरी टाँगिने भएकाले र त्यहाँ धेरै व्यवस्थित तरिकाले आरोहण अभियान सञ्चालन गरिने भएकाले धेरैले सगरमाथालाई सहज ठान्ने गरेको उनको विश्लेषण छ।
तर पाकिस्तानका हिमाल धेरै चट्टानी भएकाले प्राविधिक दृष्टिले पनि कठिन र ढुङ्गा खसिरहने हुँदा जोखिमयुक्त रहने गरेको उनको अनुभव छ।
“केटूमा पहिलो शिविरमा रकफल हुने भएर हेलमेट लगाएर सुत्नुपर्ने। डोरीमा झुन्डिएरै अगाडि बढ्नुपर्ने,” उनी भन्छन्।
त्यहाँका जी वान जीटू हिमालमा रहेका बरफका दरार सगरमाथाको खुम्बु आइसफल भन्दा धेरै जोखिमयुक्त लागेको उनी बताउँछन्।
“फोर्टीन पीकको बेला मैले खास हरेक चरणमा केही बढ्ता चुनौती उठाउँदै आफ्नो क्षमता जाँचेको थिएँ। मनास्लुपछि एक पटकमा दुई हिमाल चढेँ, त्यसपछि एक पटकमा पाँच वटा हिमाल सकेर घर फर्किएँ।”
धवलागिरिमा एक्लो हुने र चोयुमा अतिरिक्त अक्सिजन नलिने प्रयास
नेपालको धवलागिरि हिमालमा भने उनी आधार शिविर पुगेको तीन दिनमै चुचुरो पुगेका थिए।
“त्यहाँ मैले आफ्ना धेरैजसो सामानगरी २५ किलो जतिको झोला बोकेर अगाडि बढेको थिएँ,” उनी भन्छन्।
“चोयु र शिशापाङ्मा जाने क्रममा चोयुमा धेरैजसो काम एक्लै गर्ने गरी हिमाल चढेको थिएँ।”
चोयु हिमालमा त अक्सिजनबिना नै आरोहण गर्ने योजना बन्यो।
तर त्यहाँ उनले आफ्ना बुवाको कम्पनीमार्फत् हिमाल चढ्न आएका आरोहीहरूलाई गाइड समेत गर्दै थिए।
७,६०० मिटरको उचाइसम्म बोतलमा राखिने अतिरिक्त अक्सिजनबिना अगाडि बढ्दा अक्सिजन लिनेहरू आफूभन्दा अगाडि गएपछि उनले अक्सिजन लिनै पर्ने अवस्था बनेको निमा रिन्जी सुनाउँछन्।
शिशापाङ्मामा गतवर्ष दुखद् घटना भएर आरोहण रोकियो जस क्रममा विश्व प्रसिद्ध आरोही तेञ्जेन लामा शेर्पा सहितका आरोहीले ज्यान गुमाए।
अन्नपूर्णमा आरोहणको सुरुमै डोरी टाँग्ने टोलीमा उनी थिए जस क्रममा उनले अतिरिक्त अक्सिजनसमेत नलिएको उनी बताउँछन्।
“डेढ वर्षमा पहिलो हिमालदेखि अक्सिजनबिनै छिटो छिटो हिमाल चढ्न सकेँ,” निमाले शिशापाङ्माको सफल आरोहण गर्नुअघि बीबीसीसँग उत्साहित हुँदै भनेका थिए।
“२५ वर्षमा मैले के के गर्न सकुँला भन्ने सोचेर आफैप्रति धन्य छु।”
घर नै आरोहण पाठशाला
सानैदेखि नै शेर्पा भन्ने बित्तिकै उनलाई धेरैले हिमालका बारेमा सोध्न थालिहाल्थे। तर दुई-तीन वर्ष अघिसम्म उनी आफैलाई व्यावसायिक पर्वतारोहणका पक्षबारे पर्याप्त थाहा थिएन।
घरमै कीर्तिमानी आरोही भए पनि कहिल्यै कसैले हिमाल चढ्न हौस्याएनन्। उनका बुवा टासी लाक्पा शेर्पाको नाममा बिना अक्सिजन सगरमाथा आरोहण गर्ने कान्छा आरोहीको विश्व कीर्तिमान छ।
उनका ठूलाबुवा मिङ्मा शेर्पा सबै १४ अग्ला हिमाल आरोहण गर्ने पहिलो दक्षिण एसियाली हुन् जसले पहिलो प्रयासमा ती सबै हिमालको सफल आरोहण गरेका थिए।
उनका अर्का ठूलोबुवा दावा शेर्पाले समेत फोर्टीन पीक गरेका छन्। मिङ्गमा र दाबाको नाममा ‘फोर्टीन पीक’ गर्ने पहिलो दाजुभाइको विश्व कीर्तिमान छ।
उनी आफ्ना बुवाले ‘साहसिक खेल’ क्षेत्रमा लाग्न हौस्याउने गरेको र नेपालमा बसेर पर्यटन, पर्वतारोहणमा काम गर्नका लागि यहाँको विशेषता र सम्भावना बताउने गरेको सम्झन्छन्।
नेपालका ठूला आरोहण सञ्चालन गर्ने कम्पनीको नेतृत्व गरेका उनका बुवा र ठूलोबुवावाहरूले धेरै आरोहण दुर्घटना झेल्नेदेखि त्यसमा कठिन उद्धार गरेका छन्।
उनीहरूको जीवन र दैनिकीबाट सिकेको कुरा उनी एक स्वरमा भन्छन्: “दोस्रो मौका हुँदैन, हिमालमा।”
हिमपहिरो, मौसमजस्ता अपत्यारिला कुराले कुरा बिगार्दा तेञ्जेन लामा जस्ता उम्दा आरोहीले समेत ज्यान गुमाएको उनले नजिकबाट देखेका छन्।
निमा रिन्जीले नयाँ पुस्ताका हिमाल आरोहण गर्न चाहनेहरू सम्झँदै उनीहरूले गाइड सबथोक ठान्ने भूल गर्न नहुने बताउँछन्। त्यसबाहेक आत्म अनुसाशनले धेरै कुरा सपार्ने उनी बताउँछन्।
“स्वस्थ शरीर र मस्तिष्कबाट धेरै कुरा व्यवस्थापन हुन्छ। त्यसो भनेर म दिनदिनै जीमखाना जाने पनि गर्दिनँ। तर दिनदिनै उठ्ने बित्तिकै केही मिनेट पुशअप गर्छु,” पर्वतारोहणबाहेक फुटबलका सौखिन उनले भने।
उनले हिमालमा बन्ने मित्रता र सम्बन्ध निकै बलियो हुने र त्यहाँ वास्तविक मानिसको परिचय खुल्ने कुराले आफूलाई लोभ्याउने गरेको बताउँछन्।
“त्यहाँ कसैका कुन्ठा, पद र शक्तिको अर्थ हुँदैन। त्यहाँ सामूहिकता, अरुप्रति गरिने वास्तविक रेखदेख र प्रेमको पहिचान हुन्छ। किनकि त्यहाँ कोही ठूलो सानो हुँदैन। त्यहाँ सबैको धरातल समान हुन्छ।”
'फोर्टीन पीक' अन्तर्गतको आफ्नो अन्तिम हिमालका रूपमा शिशापाङ्माको चुचुरोमा पुगेपछि उनले त्यही भाव आफ्नो एक भिडिओमार्फत् दोहोर्याएका थिए।
एक किशोरका रूपमा संसारभर व्याप्त 'युद्ध र जातीय भेदभाव'बीच रहेको भन्दै उनले सीमा बिर्सेर माया फैलाउन आह्वान गरेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।