मिङ्मा डेभिड शेर्पा: 'दोहोर्‍याएर कमैले चढ्ने' केटूको चुचुरोमा सर्वाधिक छ पटक पुगेका नेपाली

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

विश्वको दोस्रो सर्वोच्च शिखर केटूसँग मिङ्मा डेभिड शेर्पाको लोभलाग्दो शान जोडिएको छ।

पाकिस्तानमा अवस्थित ८,६११ मिटर अग्लो यो हिमाललाई उनले जसरी शायदै अरू कसैले चिनेको होला।

ताप्लेजुङका यी ३४ वर्षे नेपाली शेर्पा उक्त हिमालको चुचुरोमा सबैभन्दा धेरै - छ पटक - पुगेका छन्।

आधार शिविरदेखि चुचुरोसम्म सबैभन्दा छिटो पुग्ने प्रयासमा लाग्दा उनले त्यो १४ घण्टा २० मिनेटमा पूरा गरेका थिए। जति बेला उनी धेरैलाई आश्चर्यमा पार्दै एकै याममा दुई पटक केटू आरोहण गरेका थिए।

सामान्यत: चारदेखि पाँच दिन लगाएर केटू आरोहण हुनेगर्छ। सबैभन्दा छिटो १२ घण्टा २० मिनेटमा चढेको कीर्तिमान नेपालकै छिरिङ शेर्पाको नाममा छ।

मिङ्मा डेभिड जाडोयाममा पहिलो पटक भएको सन् २०२१ को ऐतिहासिक शिखर आरोहण दलमा समेत थिए।

तर आकर्षक रूपमा उनको नाम र मान जोडिएको केटूलाई चिन्ने शब्दावली चाहिँ खासै आकर्षक छैनन्।

तपाईँले यस हिमालका अगाडि खतरनाक, घातक, क्रुर, निर्दयी वा यस्तै कुनै विशेषण जोड्दा त्यो गलत हुँदैन; कम्तीमा धेरैले त्यसै भन्छन्।

मिङ्मा डेभिडकै समेत त्यसमा फरक मत छैन।

"अन्य अग्ला हिमालमा हुने सबै भिन्नभिन्न कठिनाइलाई केटूमा एकै ठाउँ झेल्नुपर्छ, परिस्थिति अनुसार छिटोछिटो निर्णय लिनुपर्छ, आराम गर्ने अवसर कम हुन्छन्," उनले बीबीसीसँग भने।

"यो आरोहणमा धेरै अनुभव लिएपछि मात्र चढ्ने हिमाल हो। जीवनमै दोहोर्‍याएर यो हिमाल निकै कमैले चढ्छन्।"

यस हिमाल चढ्ने क्रममा प्रत्येक चार जनामध्ये एक जनाले ज्यान गुमाउने गरेको तथ्याङ्कले नै केटूबारे धेरै कुरा बताउँछ।

केटूको विशेष मान

हुन त मिङ्मा डेभिड शेर्पाले सर्वोच्च शिखर सगरमाथा नै आठ पटक चढेका छन्। आठ हजार मिटरमाथिको उचाइका शिखरमा ३३ पटक उक्लिसकेका छन्।

सबैभन्दा कम उमेर (३० वर्षमा) मा आठ हजार मिटरमाथिका १४ अग्ला हिमाल चढ्ने विश्व कीर्तिमानसमेत उनकै नाममा छ।

तर आरोहण जगत्‌मा केटूको विशिष्ठताले गर्दा त्यसप्रति विशेष मान रहन्छ।

जब मिङ्मा डेभिडसमेत रहेको एक नेपाली आरोहण दलले झन्डै तीन वर्षअघिको हिउँदमा पहिलो पटक केटू आरोहण गर्‍यो त्यसलाई पर्वतारोहण जगत्‌को 'अहिलेसम्म छुन नसकिएको लक्ष्य'का रूपमा हेरेको थियो।

त्यसलाई बुझ्न कीर्तिमानी कामीरिता शेर्पालाई सुने पुग्छ। त्यस बेलै उनले २४ पटक सगरमाथा आरोहण गरिसकेका थिए।

केटूको हिउँदे सफलताबारे काठमाण्डू पोस्टसँग कुरा गर्दै त्यस बेला उनले सात वर्षअघि सो हिमाल चढेको सम्झँदै 'उक्त हिमालका लागि आफू रिटायर्ट' भइसकेको प्रतिक्रिया दिएका थिए।

कामीरिताको भनाइ थियो: "जाडो याममा केटू। यसबारे मलाई नसोध्नूस्। यतिखेर केटू चढ्ने म कल्पना समेत गर्न सक्दिनँ।"

मिङ्मा डेभिडका सबै पाँचवटा विश्व कीर्तिमान कुनै न कुनै रूपमा केटूसँग जोडिए पनि उनका लागि समेत त्यो हिमालमा असफलता उत्तिकै छन्।

यी कीर्तिमानी आरोहीले समेत वसन्तयाममै तीन पटक केटू आरोहणलाई बीचैमा रद्द गरेका छन्।

"केटू हिमाल चढ्नु जति राम्रो कला हो, आवश्यक पर्दा आरोहण रद्द गरेर फर्कनु समेत अर्को महत्त्वपूर्ण कला हो," हालैको एउटा मध्याह्न काठमाण्डूस्थित आफ्नो आरोहण कम्पनीको कक्षमा उनले सुनाए।

"केटू हिमालमा स्थानीय मौसम प्रणाली यति छिटोछिटो सक्रिय हुन्छ कि त्यसको तयारी गर्ने समय नै पाइँदैन।"

प्राविधिक जटिलताबीच मौसमले पार्ने सकसबारे बोल्दै उनले उदहारण सुनाए।

"जस्तो धवलागिरिको मौसम बिग्रँदा पोखरादेखि नै मौसम बिग्रँदै जाने क्रम देखिन्छ। एकाएक मौसम खराब हुँदैन। तर केटूमा त्यस्तो छैन। वायुको गति समेत त्यसैगरी अनपेक्षित हुन्छ।"

त्यसैले केटूमा आरोहीहरूले आफ्नो गतिलाई त्यहाँको मौसमी अवस्थाअनुसार मूल्याङ्कन गर्दै अगाडि बढ्ने कि फर्कने टुङ्गो गर्नुपर्ने उनी बताउँछन्।

धेरैतिर चट्टानी बरफका धारमा हिँड्नुपर्ने उनी बताउँछन्।

"आरोहणको बाटोमा धेरैतिर तलपट्टि र माथिमाथि कति बेला फुट्ला भन्नेजसरी बरफका ढिक्का हुन्छन्। हाउसेस चिम्नी भन्ने चट्टानबीचको ३० मिटरको एउटा साँघुरो भाग छ जहाँ वर्षौँअघि जडान गरिएको छाडेको फलामे चेनको भर्‍याङमा झुन्डँदै उक्लनुपर्छ," उनी भन्छन्।

"अर्को ब्ल्याक पिरामिड भन्ने ठाउँ छ जहाँ झन्डै ६ सय मिटर लामो ढुङ्गे भागमा कठिन आरोहण गर्नुपर्छ।"

अग्ला हिमाल चढ्दा लगाइने विशेष प्रकारका काँडे जुत्ता र बाक्ला डाउन ज्याकेटबीचको त्यस्तो ठाउँको यात्रालाई निकै अनुभवी आरोहीहरूले समेत 'जीवनकै कठिन' बताउने गरेका छन्।

"नेपालका हिमालमा धेरैजसो भागमा हिउँ मात्र छ। मनास्लु वा सगरमाथामा सुरुवाती केही भागमा हिमनदी छन् तर माथिपट्टि धेरै चट्टानी भाग कमै छन्। केटूमा चाहिँ हेर्ने हो भने कतै चट्टान, कतै हिउँ, कतै बरफजस्ता अनेकौँ विशेषता छन्।"

मिङ्मा डेभिडलाई यी भिन्नभिन्न विशेषताबीच सबैखाले आरोहण सीपका साथ अगाडि बढ्न रमाइलो लाग्दोरहेछ।

"त्यही विशेषताले गर्दा ठाडो खालको यस हिमालमा निकै छिटो उचाइ लिइन्छ। सगरमाथाकै हकमा हेर्ने हो भने धेरैजसो भाग बिस्तारै छड्के हिँड्दै चुचुरोमा पुगिन्छ।"

कतिसम्म जोखिम उठाउने?

डेढ दशकभन्दा कम समयको मिङ्मा डेभिडको आरोहण यात्रामा उनले जे हासिल गरे त्यति नै आकारको कीर्तिमान हासिल गर्ने कामका लागि अघिल्ला पुस्ताका आरोहीहरूले जीवनभरि लगाउँथे।

उनको पहिलो आरोहण नै सन् २०१० मा सर्वोच्च शिखर सगरमाथाबाट सुरु भएको थियो।

त्यसपछिका वर्ष व्यावसायिक आरोहणका लागि सबैभन्दा राम्ररी फस्टाएको समयका रूपमा मानिन्छ।

उनी निर्मल पुर्जाको सबैभन्दा छिटो आठ हजार मिटर उचाइमाथिका १४ अग्ला हिमाल चढ्ने अभियानमा जोडिए जस क्रममा उनले नौवटा हिमाल चढ्न पाए।

सन् २०१९ मा पुर्जाले १८९ दिनमा बनाएको उक्त कीर्तिमान यसै वर्ष क्रिस्टिन हरिला र तेन्जेन लामा शेर्पाले ९२ दिनमा तोडिसकेका छन्।

त्यस बीचमा उनले कहिले सगरमाथामा आठ हजार मिटरमाथिको 'डेथ जोन'बाट त कहिले धवलागिरिमा हुस्सु बीचमा हेलिकप्टरमा झुन्डिएर हिमालमा पुग्दै उनले साहसिक उद्धार गरेका छन्।

"यस बीचमा वर्षौँ म हिमालमै छु। अनेकखाले आरोहीलाई गाइड गर्दै चढेको छु। विभिन्न परिस्थिति सामना गरेको छु। त्यसले मलाई आत्मविश्वास मात्र दिएको छैन, हिमाललाई चिन्न सिकाएको छ," उनी भन्छन्।

"वसन्तयाममा हिमाल चढ्नु छ भने जाडोयामबाटै त्यसको तयारी थाल्नुपर्छ। त्यस बेला कति/कस्तो हिउँ पर्‍यो, त्यसपछिको वायुको प्रवृत्ति कस्तो थियो, गर्मी कस्तो भयो भन्नेजस्ता कुराले पहिल्यै हिमपहिरोको जोखिम कस्तो होला भन्ने आकलन गर्न सकिन्छ।"

तर हिमालमा जति नै राम्रो तयारीबीच समेत दुर्घटनाहरू हुन्छन्। हिमालमा ठूल्ठूला कीर्तिमान बनाउनेहरू पनि हिमालमै बिलाएका छन्। कहिलेकाहीँ सामान्य तयारीकैबीच पनि मानिसहरू चुचुरो पुगेका छन्।

मिङ्मा डेभिडलाई आरोहणमा ल्याएका र उनलाई आरोहणका आधारभूत ज्ञान सिकाएका दोर्जे खत्री सन् २०१४ मा सगरमाथाको खुम्बु आइसफलमा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका थिए।

त्यसको अर्को वर्ष उनी सगरमाथा आधार शिविरमै हुँदा भूकम्पले त्यहाँ हिमपहिरो ल्याएर दर्जन बढीको ज्यान लियो।

"त्यस बेला म साँच्चिकै आरोहण छोडेर अर्को काममा लागौँ भन्ने सोचमा पुगिसकेको थिएँ," उनी भन्छन्।

तर उनको मनमा त्यस बेला खेलिरहेको द्वन्द्वमा उनले अन्ततः हिमाल नै रोजे।

अहिले उनको पहिचान खतरनाक हिमालको नायकका रूपमा छ। तर त्यही पहिचानमा रमाउने उनका शुभेच्छुकहरू उनको सुरक्षाका लागि चिन्तित पनि भइरहन्छन्।

मिङ्मा डेभिडको यसमा आफ्नै बुझाइ छ। उनी आफू सगरमाथा आधार शिविरमा रहेको सन् २०१५ को समय सम्झन्छन्।

"भूकम्प जाँदा निकै नाजुक हुने खुम्बु आइसफलमा २०० जना जति मानिसहरू थिए जसमध्ये धेरै बाँच्नु असम्भव होला भन्ने मलाई लागेको थियो। तर सामान्य बेला नै जोखिमयुक्त उक्त ठाउँमा भूकम्प जाँदा नि कोही केही भएनन्," उनी भन्छन्।

"बरु आधार शिविरमा सुरक्षित ठानिएका कैयौँ साथीले ज्यान गुमाए।"

मृत्युकै कुरा गर्दा उनको स्मृतिमा आफ्नै भाइ समेत बारम्बार आउँछन्।

कर्साङ तेञ्जिङ शेर्पा जहिल्यै मिङ्मासँग आरोहण जान खोज्दैनथे।

"भाइले हिमालमा दुवैलाई केही भइहाले परिवारको बिजोग हुन्छ भनेर सधैँ चिन्ता लिन्थ्यो," उनी भावुक बने।

"तर काठमाण्डुमै हाम्रो अफिसमा आगलागी हुँदा उसको ज्यान गयो। मृत्यु लेखिएको भए घरमै समेत टर्दो रहेनछ र खुम्बु आइसफलमै भए पनि बाँचिँदो रहेछ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।