नेपाल र चिनियाँ सेनाबीचको संयुक्त अभ्यासमा अत्याधुनिक निगरानी उपकरण पनि प्रदर्शित, अर्थ के?

तस्बिर स्रोत, chinamil.com
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
चीनको चोङचिङमा जारी नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त अभ्यासका क्रममा अत्याधुनिक ‘गुप्तचर निगरानी उपकरणहरू’ प्रयोगमा ल्याइएका विवरणहरू सार्वजनिक भएको छ।
यसै साता सुरु भएको उक्त अभ्यासमा सानो बल जस्तो आकार भएको निगरानी गर्ने ड्रोनलाई चिनियाँ अधिकारीहरूले पहिलो पटक सार्वजनिक गरेका चिनियाँ मुखपत्र द ग्लोबल टाइम्सले जनाएको छ।
सगरमाथा मैत्री नामक यो सैन्य अभ्यासको जोड विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन र प्रतिआतङ्कवादजस्ता विषय रहेको नेपाली सेनाले जनाएको छ।
खोज तथा उद्धारलगायत कैयौँ कारबाहीहरू मानवीय स्रोतबाट मात्रै नहुने भएकाले प्रविधिमा पनि जोड दिइएको सैनिक अधिकारीहरू बताउँछन्।
संयुक्त सैनिक अभ्यासमा के भइरहेको छ
चिनियाँ सेनाको समाचार सेवाका अनुसार पहिलो दिनको सैन्य अभ्यासमा दुवै देशका सैनिक टोलीले संयुक्त रूपमा गोली प्रहारको अभ्यास गरेका थिए।
संयुक्त प्रतिआतङ्कवाद कारबाहीको उद्देश्यले पेस्तोल, राइफल र अन्य साना हतियारहरू त्यस क्रममा प्रयोग गरिएको थियो।
त्यसपछिका दुई दिनमा विशेष खालको ‘शुटिङ’ र ‘इन्डोर ट्याक्टिकल’ तालिम अघि बढाएको विवरण आएका छन्।
‘शहरी इलाकामा संयुक्त प्रतिआतङ्कवाद कारबाही’मा केन्द्रित रहेको भनिएको यो अभ्यासमा ड्रोन अपरेशनदेखि प्रतिआतङ्कवाद रणनीति, आपत्कालीन उद्धार, विशेष फौजी कारबाहीमा साना हतियारको प्रयोग र संयुक्त प्रतिआतङ्कवाद अभ्यासहरू समेटिएको चाइना मिलिटरी डट कमले जनाएको छ।

तस्बिर स्रोत, chinamil.com
अक्टोबर १ सम्म चल्ने उक्त संयुक्त अभ्यासमा दुई देशका सेनाले विपद् न्यूनीकरण साथै भूकम्प, हिम पहिरो र पहिरोको उद्धार जस्ता विषयमा अनुसन्धान र ज्ञानको आदानप्रदान हुने भनिएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसी भन्छन्, “यो हाम्रो चीनसँगको नियमित सैन्य अभ्यास हो। कोभिड महामारीका कारण अवरुद्ध भएको थियो। अहिले फेरि सुरु भयो। हाम्रोतर्फबाट १९-२० जना यसमा सहभागी छन्। अनुभव र विज्ञता आदानप्रदान साथै मानवीय सहयोग तथा उद्धार, प्रतिआतङ्कवाद, शान्ति स्थापना यस्तोमा यो बढी लक्षित छ।”
सन् २०१७ को एप्रिलमा दुवै देशका १३-१३ जना विशेष फौजहरूलाई सहभागी गराएर नेपालमा यो संयुक्त सैन्य अभ्यास थालिएको हो।
त्यसयताका दुई संस्कारण नेपालमा र योसहित दुई संस्करण चीनमा आयोजना भएका छन्।
अघिल्लो पटक नेपालमा भएको अभ्यासमा दुवैतर्फका १६ जना मूल सहभागी र ६ जना उनीहरूलाई निर्देशन दिने सदस्यहरू सहभागी रहेको एउटा सैनिक अभिलेखले देखाउँछ।
रोबट कुकुर र बलजस्तो ड्रोनको चर्चा
यसपटको सैन्य अभ्यासको उद्घाटन समारोहको चर्चा चिनियाँ सञ्चारमाध्यमहरूमा उल्लेख्य रूपमा गरिएको छ।
चीनको सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले भनेको छ, संयुक्त अभ्यास थालिएको दिन चिनियाँ सेनाले विभिन्न तीन समूहमा २० वटाभन्दा बढी उपकरण प्रदर्शन गरेको थियो।
त्यसमा साना हतियार, प्रतिआतङ्कवाद कारबाहीमा निगरानीका लागि प्रयोग गरिने विभिन्न उपकरण तथा गुप्तचर गतिविधिमा प्रयोग गर्न मिल्ने उपकरणहरू थिए।
उक्त समारोहको विशेष आकर्षण गुप्तचर गतिविधिमा प्रयोग गर्न मिल्ने एउटा विशेष प्रकारको रोबट कुकुर, पर्खालभन्दा पछाडिको भागको देखिने ‘वाल रेडार’ र क्यामेरा अनि सेन्सरसहितको बलको आकारको ड्रोन रहेको सो खबरमा जनाइएको थियो।

तस्बिर स्रोत, chinamil.com
सीसीटीभीले संयुक्त अभ्यासमा ती सामग्रीले थप फौजी सामर्थ्य उपलब्ध गराउने जनाएको छ।
बेइजिङमा आधारित एक जना सैन्य विश्लेषकले नाम उल्लेख नगर्ने सर्तमा ग्लोबल टाइम्सलाई उक्त सानो बल आकारको ड्रोनलाई शहरी क्षेत्रमा जमिनमा कम ध्वनिमा गुडाउन सकिने र त्यसलाई पहिचान गर्न शत्रुलाई कठिन हुने उल्लेख गरेका छन्।
जारी सैन्य अभ्यासमा देखिएको प्रविधिको उक्त प्रयोगबारे बीबीसीले नेपाली सेनाका प्रवक्तालाई सोधेको थियो।
त्यसको जबाफमा उनले भने, “अभ्यासहरू गर्नु अगावै योजना बनाउन प्रारम्भिक छलफलहरू हुन्छ र के विषयमा केन्द्रित हुने भन्ने निर्धारण गरिन्छ। हामीले हरेक क्षेत्रमा प्रविधिलाई समावेश नगरी नहुने भइसकेको छ। उद्धार खोज जस्ता काममा पनि प्रविधि चाहिने भयो, त्यसले गर्दा अलिकति जोड दिइएको होला।”
चिनियाँ विज्ञ के भन्छन्?
चीनको सिचुआन विश्वविद्यालयस्थित इन्स्टिट्यूट अफ साउथ एशिया स्टडीजमा नेपाल अध्ययन केन्द्रका उपनिर्देशक गाओ ल्याङ चीन र नेपालबीच गहिरो रक्षा सहकार्य रहेको र त्यसमा सैन्य सामग्रीको कारोबारदेखि शान्ति सैनिकबीचको सहकार्यसमेत बिस्तार हुँदै गइरहेको ठान्छन्।
उनले भने, “दुई देशबीचको १,४१५ किलोमिटर लामो सीमालाई ध्यान दिने हो भने दुई मुलुकमा सेनाको सहकार्य अपरिहार्य छ। दुवै देशको सुरक्षाका लागि मात्र नभई यो क्षेत्रको शान्ति र स्थिरताका लागि पनि त्यसले सकारात्मक प्रभाव पार्न सक्छ।”
उनले सैन्य सामग्री, सुरक्षा फौजको तालिम र गैर परम्परागत चुनौतीहरूसँग सामना गर्न संयुक्त प्रतिकार्य लगायतमा त्यस्तो सहकार्यको सम्भावना रहेको बताए।
ड्रोनलगायतका अत्याधुनिक प्रविधिको उत्पादनमा चीन अग्रणी रहेको उल्लेख गर्दै उनले सैन्यबाहेक अन्य प्रयोजनका लागि नेपालमा त्यस्तो ठूलो बजार रहेको जनाए।

तस्बिर स्रोत, COURTESY OF GAO LIANG
खासगरी भारत र केही पश्चिमा देशहरूले नेपाली सुरक्षा निकायहरूमा चिनियाँ प्रभाव देखिँदा त्यसलाई नरुचाउने गरेका कतिपय विश्लेषकहरूले बताउने गरेको पाइन्छ।
अघिल्लो महिना सकल दर्जालाई सम्बोधन गर्दै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय कूटनीतिमा सैनिक कूटनीतिको महत्त्वपूर्ण भूमिका रहेको बताएका थिए।
उनले सैनिक कूटनीतिमार्फत् मित्रराष्ट्रहरूबाट पारस्परिक सम्बन्धसँगै सैनिक तालिम र सामग्रीहरूसहित दुईपक्षीय सैन्य अभ्यासहरूलाई प्राथमिकतामा राखेर भूमिका खेल्नुपर्नेमा जोड दिए।
सन् २०११ यता सुरु भएको सूर्यकिरण नामक नेपाल भारत संयुक्त सैन्य अभ्यासमा हालसम्म ८,६५० भन्दा बढी सैनिकहरूले भाग लिइसकेका छन्।
संयुक्त राज्य अमेरिकाको फौजसँग नेपाली सेनाले गर्दै आएको ब्यालेन्स नेल र टिक नेल नामक अभ्यासमा हालसम्म शिक्षक र शिक्षार्थीसहित ४,८०० फौजहरूले सहभागिता जनाइसकेको तथ्याङ्क पाइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








