नेपालमा अभ्यास गरिएको 'मातृभाषामा विद्यालय शिक्षा'ले भाषा संरक्षणमा पार्ने प्रभाव 'अस्पष्ट'

मेचे भाषा
तस्बिरको क्याप्शन, मेचे भाषाको एक पाठ्यपुस्तक
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

पछिल्लो जनगणनामा नेपालभर १२४ भाषा बोलिने पाइए तापनि त्यसमा पुस्तान्तरणको अभाव हुँदा तिनको भविष्य सङ्कटमा पर्ने जोखिम रहेको भाषा आयोगका अध्यक्षले बताएका छन्।

आधारभूत विद्यालय शिक्षामा मातृभाषालाई समेट्नुको अर्थ उनीहरूको सिकाइ प्रभावकारी गराउनुसँगै त्यस्ता भाषाको संरक्षण गर्ने काम गर्ने भए पनि अझै मातृभाषा अध्ययनको महत्त्वबारे स्पष्टता नभइरहेको आयोगका अध्यक्ष गोपाल ठाकुर बताउँछन्।

"हाम्रो मानसिकतामा एक भाषिकताले ठूलो ठाउँ बनाएको छ। अब त मुख्य भाषा नेपालीलाई नै पनि अङ्ग्रेजीले विस्थापित गरिरहेको देख्न थालिएको छ," ठाकुर भन्छन्। "त्यसैले मातृभाषाको माध्यममा कहीँ पनि पढाइ सुरु भएको छैन। मातृभाषाको विषय पनि धेरै ठाउँमा एकदुई वर्ष सुरु हुने तर निरन्तरता नपाउने अवस्था छ।"

नेपालमा परम्परागत विद्यालयका रूपमा गुम्बा, गुरुकुल र मदरसामा मातृभाषामा पढाउन सकिने संस्थागत प्रावधान विगतदेखि नै रहेको शिक्षा मन्त्रालयका प्रवक्ता बताउँछन्।

"गुरुकुलमा संस्कृत, गुम्बामा गोम्पा र मदरसामा उर्दू भाषा पढाइ हुने गरेको छ। व्यावहारिक रूपमा आवश्यकता महसुस हुँदा तिनको माथिल्लो तहसम्मै पढाइ भइरहेको अवस्था छ," शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा भन्छन्।

तर भाषा आयोगका अध्यक्ष नेपालका हकमा तिनलाई मातृभाषा मान्नेनमान्नेमै प्रश्नहरू रहेको बताउँछन्।

"उर्दू हाम्रो हकमा मातृभाषा नहुन पनि सक्ने सम्भावना छ, गुम्बामा पढाइ हुने तिब्बती भाषा नेपालका भोटबर्मेली समुदायका भाषाको माउ भाषा हुन सक्ने भए पनि त्यसले ती सबैलाई समेट्ने कुरा आंशिक रूपमा मात्र सत्य हो। संस्कृतले सबैलाई समेट्छ भन्ने कुरा पनि आंशिक रूपमा मात्र सत्य हो।"

कसरी पढाइ भइरहेछ?

अमेरिकामा नेपाली विद्यार्थीलाई कखरा सिक्ने कक्षाहरू सञ्चालन हुन थालेका छन्
तस्बिरको क्याप्शन, अमेरिकामा नेपाली विद्यार्थीलाई कखरा सिक्ने कक्षाहरू सञ्चालन हुन थालेका छन्

राष्ट्रिय शिक्षा नीति २०७६ ले आधारभूत तहसम्मको शिक्षा आवश्यकताअनुसार मातृभाषामा दिन सकिने व्यवस्था गरेपछि स्थानीय सरकारहरूले त्यससम्बन्धी निर्णय गरेर कार्यान्वयनमा लैजान सक्ने व्यवस्था छ।

त्यसबाहेक प्राथमिक तहसम्म मातृभाषामा पढाउन सकिनेबारे समेत कानुनी प्रावधान बनेसँगै कैयौँ मातृभाषामा पाठ्यक्रम तयार पारेर प्रयोगमा ल्याइएको अवस्था छ।

त्यसै गरी मातृभाषालाई स्थानीय विषयका रूपमा पढाउन सकिने व्यवस्था समेत छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र र यूनिसेफ मिलेर गरेको 'नेपालमा बालबालिकाको सिकाइ उपलब्धिमा भाषाहरू र भाषिक नीतिहरूको प्रभावको बुझाइ' नामक अध्ययनले विद्यालय शिक्षाको प्रभावकारिताका लागि बहुभाषिक शिक्षणमा जोड दिएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता सापकोटा थप्छन्, "सबै कक्षा, विषय र पाठ अध्यापनका बेला हुने विभिन्न मातृभाषाका विद्यार्थीअनुरूप बहुभाषिक अध्यापन गराउने शिक्षक तयार पार्ने सरकारी नीति छ।"

तर बहुभाषिक क्षमतायुक्त शिक्षकहरू तयार पार्ने काम चुनौतीपूर्ण भएको बताइन्छ।

भाषा आयोगका अध्यक्ष चाहिँ नेपालमा बहुभाषिक अध्यापनबारे बुझाइको कमी रहेको बताउँछन्।

"बहुभाषिक कक्षाको शिक्षकले धेरैवटा भाषा जान्नैपर्छ भन्न खोजिएको होइन। विकल्पका रूपमा कुनै कुराको तस्बिर देखाएपछि विभिन्न मातृभाषाका विद्यार्थीहरू आफैले त्यसमा देखाइएका कुरालाई आफ्नो भाषामा भन्न थाल्छन्। त्यस्तो तरिकामार्फत् बरु शिक्षकले सिक्ने गर्छन्," भाषा आयोग अध्यक्ष ठाकुर भन्छन्।

"तर एउटा कक्षामा अर्को भाषा बोल्न नहुनेजस्तो परिपाटी बनेपछि विद्यार्थीहरूको सिकाइ यता न उताको भइरहेको छ।"

शिक्षामा भाषाको विविधता

नेपालमा बोलिने सबै भाषा राष्ट्रिय भाषाहरू हुने र हरेक समुदायलाई आफ्नो लिपि संरक्षण गर्ने अधिकार हुने संवैधानिक व्यवस्था छ।

"नेपालमा लिपि भएका भाषाको विषय वा पाठ्यक्रम बनाएर पठनपाठन गर्न र त्यसमा दस्ताबेजीकरण गर्न सहज हुन्छ। भाषिकाका हकमा लिपि नहुँदा बहुभाषिक स्वरूपमा मात्र सम्बोधन गरिन्छ," शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा भन्छन्।

उनी काठमाण्डू र ललितपुर महानगरमा नेपाल भाषा पढाउने अभियान सुरु हुँदा शिक्षक अभाव नभएको अवस्था देखिनु यसतर्फको बाटोका लागि सुखद पक्ष भए तापनि उनीहरूलाई तालिमको आवश्यकता पर्ने बताउँछन्।

विद्यालय भवन

नेपालमा १२४ वटा भाषा बोलिने भए पनि २१ वटा भाषा मात्र १ लाख भन्दा धेरैले बोल्ने 'मुख्य भाषा'का रूपमा छन्। देशका करिब ९५ प्रतिशत जनसङ्ख्याले २१ वटा मातृभाषा बोल्छन् भने सबैभन्दा धेरै अर्थात् करिब ४५ प्रतिशत मानिसहरू नेपाली भाषा बोल्छन्।

शिक्षा प्रवक्ता सापकोटा भन्छन्, "बत्तीस वटा जति भाषाका पाठ्यक्रम बनेका देखिन्छन्। हामी बढीभन्दा बढी भाषामा पाठ्यक्रम बनाउन लागिपरेका छौँ।"

आधारभूत तहमा मातृभाषाबाट अध्यापन गर्न सक्दा त्यो प्रभावकारी र दिगो अध्यापन हुन्छ भन्ने भए तापनि माथिल्लो तहमा मातृभाषाको माग महसुस नगरिएको सापकोटा बताउँछन्।

विसं २०७६ सालमा ल्याइएको राष्ट्रिय पाठ्यक्रम प्रारूपमा आधारभूत तहमा शिक्षण माध्यमको भाषा मातृभाषा वा नेपाली हुने प्रावधान राखिएको छ।

नागरिक शिक्षाजस्ता राष्ट्रिय पहिचानसँग सम्बन्धित विषय बाहेक अन्यमा अङ्ग्रेजीलाई शिक्षण माध्यमका रूपमा प्रयोग गर्न सकिने बताइएको छ।

शिक्षा आयोगले प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० मा शिक्षणको माध्यम भाषाका रूपमा नेपाली, मातृभाषा, संस्कृत र अंग्रेजी हुन सक्ने सिफारिस गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।