चेपाङ भाषाको आफ्नै लिपि 'छैन', कतिपय ध्वनिलाई चल्तीको देवनागरीमा 'उतार्न सकिँदैन'

फ्रेन्च नागरिक म्यारी-क्यारोलिन पोन्स १९ वर्षकी हुँदा पहिलो पटक नेपाल आएकी थिइन्। त्यस बेला एउटा सामाजिक संस्थासँग जोडिएर उनी सिन्धुपाल्चोकको तामाङ बस्ती पुगिन्।
त्यहाँ नेपालीभन्दा भिन्न भाषा बोलिएको सुनेपछि उनलाई उत्सुकता जाग्यो।
‘यो कुन भाषा हो?’ उनले सोधिन् अनि त्यसको जवाफ पाइन्, ‘तामाङ’।
नेपाल घुम्दा गाउँपिच्छे जस्तो फरक फरक भाषा सुनेपछि उनलाई त्यसले आकर्षित गर्यो।
त्यसको कारण थियो- उनी त्यस बेला फ्रेन्च साहित्यमा स्नातक गर्दै थिइन् र अन्तिम वर्षमा भाषा विज्ञान पढेकी थिइन्।
“मैले त्यसै बेला तय गरेँ- भविष्यमा नेपाल आएर कुनै न कुनै भाषाको अध्ययन गर्छु,” उनी भन्छिन्।
केही समय नेपालमा बिताएर उनी त्यस बेला फ्रान्स फर्किइन् र भाषा विज्ञान स्नातकोत्तर पढ्न थालिन्।
स्नातकोत्तरमा उनले मगर भाषाको व्याकरणबारे थेसिस लेखिन्।
त्यसका लागि फ्रान्समै रहेका एक जना नेपाली मगर भाषा जान्ने साथीले सहयोग गरे।
मगर भाषाको व्याकरणसम्बन्धी थेसिस लेख्ने क्रममा उनले स्याङ्जाको निबुवाखर्कमा आएर केही समय अध्ययन पनि गरिन्।
तर उनलाई नेपालमा बसोबास गर्ने राउटेको भाषाको अध्ययन गर्ने रहर थियो।
सोही विषयको प्रस्ताव बनाएर उनले अमेरिकी विश्वविद्यालयहरूमा विद्यावारिधिका लागि पहल गरिन्।
अन्ततः उनले भोट-बर्मेली भाषाका ऐतिहासिक अध्येता स्कट डिलेन्सी मातहत युनिभर्सिटी अफ ओरेगनमा विद्यावारिधि गर्ने अवसर पाइन्।

तस्बिर स्रोत, Marie-Caroline Pons
राउटेको भाषा अध्ययन गर्ने कोसिस
ऐतिहासिक भाषा विज्ञानमा रुचि भएकाले उनले पश्चिम नेपालमा घुमन्ते जीवन बिताउने तथा बसोबास गरिसकेका राउटेहरू बीचको भाषाको भेद के छ भन्नेबारे अध्ययन थालिन्।
तर त्यसका लागि उनले पर्याप्त सामग्री जुटाउन सकिनन् र आफ्नो विद्यावारिधिको विषय नै परिवर्तन गरिन्।
अनि, उनको अध्ययन सोझियो अल्पसङ्ख्यक चेपाङहरूले बोल्ने भाषातर्फ।
सन् २०१७ मा चेपाङ भाषा व्याकरणको अध्ययन सुरु गरेकी उनले गत वर्ष विद्यावारिधि उपाधि प्राप्त गरिन् अहिले पनि उनी चेपाङ भाषाबारे अध्ययन अनुसन्धानमै व्यस्त छिन्।
चेपाङ भाषाको अध्ययन गर्ने क्रममा व्याकरण लेखिसकेकी उनी अहिले उक्त भाषाको शब्दकोश बनाउने अभियानमा जुटेकी छन्।


भाषा छ, लिपि छैन
उनलाई सबैभन्दा खट्केको कुरो छ- चेपाङ भाषाको लिपि छैन अनि कतिपय वर्ण तथा ध्वनिलाई चलनचल्तीको देवनागरी लिपिमा उतार्न ती वर्ण उपलब्ध छैनन्।
"चेपाङ भाषामा पुराना शब्दहरू छन्। पुरानो व्याकरण पनि छ तर लिपि छैन, सायद पहिले भएर लोप भएको हो वा थिएन त्यो अध्ययनकै विषय भएको छ," उनी भन्छिन्।
आफ्नै लिपि नहुँदा अन्य लिपिमा भर पर्नुपर्ने हुन्छ र त्यसो गर्दा कतिपय ध्वनिको सही सही प्रतिनिधित्व हुँदैन भन्ने उनलाई लागेको छ।
तर भाषालाई हराउन नदिनका लागि अन्य लिपिमै भए पनि त्यसलाई लेखिनुपर्ने भएकाले त्यसका लागि पहल गर्नुपर्ने उनको भनाइ छ।
चेपाङ बस्ती भएका गाउँहरूमा डुलेर वृद्ध वृद्धाहरूसँग कुराकानी गरी उनले चेपाङ भाषाका स्वर तथा व्यञ्जन वर्णहरूको सङ्कलन गरेकी छन्।

तस्बिर स्रोत, Marie-Caroline Pons
चेपाङ सहयोगीहरू सन्तोष प्रजा र पवित्रा चेपाङको मद्दतले त्यसलाई अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालामा (आईपीए)मा उतारेकी पनि छन्।
तर कुल २५ घण्टाको रेकर्डिङमा सङ्कलन भएका तीन हजारभन्दा बढी शब्दलाई अब कुन लिपिमा उतारेर शब्दकोशको आकार दिने भन्ने द्विविधा उनमा छ।
त्यसको कारणबारे उनी भन्छिन्, "चेपाङ भाषाका कतिपय ‘ग्लटल’ ध्वनि वा वर्णका लागि देवनागरी भएका वर्ण मात्र पर्याप्त छैनन्। तीनका लागि हामीले थप वर्णका सङ्केत कोर्नुपर्ने हुन्छ," उनले भनिन्।
भाषा शास्त्रीहरूका अनुसार ‘ग्लटल’ ध्वनीहरू उच्चारण गर्दा स्वर यन्त्रमै दबिने वा त्यसैमा बल पर्ने खालका हुन्छन् अर्थात् हामीलाई बाडुली लाग्दा आउने जस्तो ध्वनिमा बोलिन्छन्।
त्यस्ता ध्वनिलाई आईपीएमा नेपालीको तलको थोप्लो नभएको प्रश्न वाचक (?) चिह्न जसरी जनाउने गरिन्छ।
संविधानसभाका सदस्य समेत रहिसकेका नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङ पनि "आफ्नो लिपि नहुँदा जस्तो बोलिन्छ त्यस्तै कुरा देवनागरीमा उतार्न नसकेको" बताउँछन्।
"चेपाङ भाषालाई देवनागरीमा उतार्नु निकै कठिन काम रहेछ," पाठ्यक्रम विकास केन्द्रको सहकार्यमा कक्षा तीनसम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेख्ने कार्यमा संलग्न पनि भएका उनले भने।
त्यसबारे थप उदाहरण दिँदै उनले भने, "जस्तो हामी धनु काँडलाई पनि 'ला' भन्छौँ अनि चन्द्रमालाई पनि 'ला' भन्छौँ त्यसको उच्चारणमा भेद छ त्यसलाई कसरी नेपालीमा छुट्ट्याएर लेख्ने भन्ने समस्या हुँदो रहेछ।"
"त्यस्तै 'ङाँ' भनेको आफू पनि हुन्छ माछा पनि हुन्छ। अब त्यसलाई उच्चारणका आधारमा नेपालीमा फरक पारेर लेख्न अलि मेहनत नै गर्नुपर्ने रहेछ।"
'उपचिह्न थपेर लेख्न सकिन्छ'

त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक राम लोहनीका अनुसार नेपालमा बोलिने मात्र तर लिपि नभएका भाषाहरूका हकमा चलनचल्तीको देवनागरीमा सबै ध्वनिको प्रतिनिधित्व गराउन कतिपय अवस्था नसकिने हुन्छ।
तर त्यसका लागि उपचिह्नहरू थपेर काम चलाउने गरिन्छ।
‘ग्लटल’ ध्वनिकै हकमा पनि ‘अ’को खुट्टा काटेर चलाउने गरिएको छ।
“विशेषगरी भोट-बर्मेली परिवारका भाषाहरूका हकमा यस्ता समस्या हुने गर्छन् तर हामीले कुनैमा तल वा माथि थोप्लो वा धर्को थपेर अथवा अन्य उपचिह्नहरू थपेर पनि काम चलाउने गरिएको छ,” उनले भने।
अल्पसङ्ख्यक समुदायको भाषा लोप नहोस् भन्नका लागि चलनचल्तीको लिपिमै भए पनि त्यसलाई उतार्नु पर्ने र त्यसका लागि ध्वनिको प्रतिनिधित्व नभए पनि उपचिह्न राखेर भए पनि त्यसलाई लिपिबद्ध गर्नुपर्ने उनको सुझाव छ।
भाषा लोप हुने चिन्ता
म्यारीले भन्दा अगाडि पनि कतिपय अध्येताले चेपाङ भाषा र व्याकरणमा काम नगरेका होइनन्।
त्यसै क्रममा रोस कौलीलेले पनि चेपाङ भाषाको व्याकरण र शब्दहरूको सङ्कलन गरेर पुस्तकहरू निकालेका थिए।
"त्यो मकवानपुरको माइसिराङ गाउँको भाषामा मात्र केन्द्रित थियो। तर हाम्रो अन्यत्रका चेपाङले बोल्ने भाषा अलि फरक पनि छ," अध्यक्ष चेपाङ भन्छन्।
"अहिले म्यारीले चाहिँ सबै स्थानमा डुलेर तयार पारेका शब्दहरूका आधारमा लेखेकी रहिछन् त्यसले अधिकांशलाई समेट्न सक्छ।"
सबैभन्दा ठूलो चिन्ताको विषय आफूहरूको भाषा लोप होला भन्ने भएको उनी बताउँछन्।


अध्येता म्यारीका भनाइमा पनि चेपाङ भाषा पहाडी क्षेत्रमा संरक्षित भए पनि तराइ तथा बजार क्षेत्रमा बसोबास गर्ने चेपाङहरूले बोल्न छाडेका छन्।
"युवा पुस्ताले त भाषा बोल्न छाडेका छन्। त्यसको कारण उनीहरूले रोजगारी तथा अध्ययनका लागि नेपाली वा अङ्ग्रेजी अनिवार्य जान्नुपर्ने अवस्था भएर पनि होला," उनी भन्छिन्।
त्यस्तै विद्यालयमा नेपाली पाठ्यक्रम हुनु, बसाइसराइ र अन्य जातिसँग विवाह पनि कारण रहेको गोविन्दराम चेपाङको भनाइ छ।
"अन्तरजातीय विवाह हुँदा पनि छोराछोरीले भाषा नबोल्ने रहेछन् अनि लोप हुने रहेछ," उनी भन्छन्।
त्यो कुरालाई सरकारी विवरणले पनि सङ्केत गर्छ।
दश वर्षअघिको जनगणनामा चेपाङको कुल जनसङ्ख्यामध्ये ७२ प्रतिशतले मात्र आफ्नो भाषा बोल्ने देखाएको थियो।
त्यसबेला करिब ४७ हजारले चेपाङ भाषालाई आफ्नो मातृभाषाका रूपमा उल्लेख गरेका थिए।
तर त्यसबेला चेपाङहरूको जनसङ्ख्या ६८ हजार भन्दा केही बढी रहेको पाइएको थियो।
उनीहरूको देशका २६ जिल्लामा बसोबास रहेको भए पनि चितवन, मकवानपुर र धादिङमा उनीहरूको बसोबास धेरै रहेको पाइन्छ।
सरकारले पछिल्लो जनगणनाको भने जाति, भाषा र धर्मसम्बन्धी विवरण सार्वजनिक गरेको गरिसकेको छैन।

चेपाङहरू फिरन्ते जाति होइनन्
आफ्नो भाषाशास्त्रीय अध्ययनले यसअघि गरिएका कैयौँ दाबीहरू गलत भएको पाइएको म्यारीको दाबी छ।
त्यस्तैमध्ये एउटा हो- चेपाङलाई घुमन्ते जाति भनेर गरिएको दाबी।
"पहिले धेरैले चेपाङलाई पनि राउटेजस्तै घुमन्ते भनेर धेरैले लेख्नुभएको रहेछ। तर चेपाङहरू जङ्गलको नजिकै बस्ने र माछा मार्ने तथा सिकार खेल्ने जाति हो। त्यो त तामाङका हकमा पनि कतिपय स्थानमा मिल्न जान्छ," उनले भनिन्।
"तर उनीहरू घुमन्ते जाति होइनन् किनकि उनीहरूले खेतीपातीमा प्रयोग गर्ने शब्दहरू प्रयोग गर्छन् र ती नेपाली वा अन्य भाषाबाट ल्याइएका होइनन्। उनीहरूका आफ्नै मौलिक शब्दहरू छन्।"
चेपाङ भाषाको अर्को रोचक पक्ष भनेको उक्त भाषामा कैयौँ नेपाली भाषाका शब्दहरू प्रवेश गर्नु तर चेपाङ भाषाबाट नेपाली भाषामा खासै शब्दहरू नजानु पनि हो।
"प्राय: संसारभरि नै शक्तिशाली समूहको भाषा सीमान्त समूहमा लादिन्छ वा त्यस्तो समूहले शक्तिशाली समूहको भाषा नक्कल गर्छन्। नेपाली र चेपाङमा पनि त्यस्तै भएको देखिन्छ," उनले भनिन्।








